बिहान १० बजेसम्मका मुख्य १० समाचार « Khabarhub

बिहान १० बजेसम्मका मुख्य १० समाचार


२५ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबिस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । बिहान १० बजेसम्मका मुख्य १० समाचार यस्ता छन्:

१. गए रातिको वर्षाले उपत्यकाका विभिन्न स्थान डुबानमा
गए रातिको भीषण वर्षाका कारण उपत्यकाका विभिन्न स्थान डुबानमा परेका छन् । रातभरी परेको पानीले काठमाडौँको काँडाघारीको ठूलो बस्ती डुबानमा परेको छ भने त्यहाँको प्रहरी प्रभाग पनि डुबानमा परेको छ । प्रहरी कार्यालयभित्र रहेका खाद्यान्नलगायत सामग्री बाढीले बगाएको छ । कार्यालय पछाडि पार्किङ गरिएका तीन वटा मोटरसाइकल पनि बाढीले बगाएको प्रहरीले जनाएको छ । घरहरु डुबानमा परेपछि सर्वसाधारणको उद्धार गरिएको छ ।

२. आज पनि प्रतिनिधि सभाको बैठक जारी
विभिन्न विधेयकमाथि छलफल गर्न आज पनि प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बस्ने भएको छ । दिउँसो एक बजेका लागि बोलाइएको बैठक छुट्टाछुट्टै बस्ने छ । आजको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभाबाट सन्देशसहित आएको तथ्यांक विधेयक दफाबार छलफलका लागि पेश गर्ने र उक्त विधेयकमा गरिएको संशोधनलाई निर्णयार्थ सदनमा प्रस्तुत गर्ने कार्यसूचि रहेको छ ।

३. परराष्ट्रमन्त्री खड्काले चिनियाँ समकक्षी वाङसँग भेट्दै 
तिन दिने चिन भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री डा नारायण खड्का र चीनका परराष्ट्र मन्त्रीहरूबीच आज भेटवार्ता हुने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खड्का र चिनियाँ समकक्षी वाङ यीबीच द्विपक्षीय वार्ता हुन लागेको हो । चीनको छिङताओ शहरमा हुने वार्तामा नेपाल–चीन सम्बन्धका विभिन्न विषयबारे छलफल हुने बताइएको छ ।

४. मतदाता नामावली अद्यावधिक भदौ १२ देखी 
निर्वाचन आयोगले मंसिर ४ का लागि तय भएको निर्वाचन कार्यक्रमका लागि मतदाता नामावली अद्यावधिक तथा दाबी विरोधको प्रक्रिया भदौ १२ गतेदेखी प्रारम्भ गर्ने भएको छ । आयोगले एक विज्ञप्ति जारी गर्दै भदौ १२ गतेदेखि १९ गतेसम्म मतदाता नामावली अद्यावधिक (दाबी बिरोधसमेत) को कार्यक्रम सञ्चालन हुने जनाएको हो ।

५. मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पुगेकाले मतदान गर्न पाउने
मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पुगेकाले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा मतदान गर्न पाउने भएका छन् । तर त्यसका लागि फोटोसहितको मतदाता नामावलीमा भने नाम भएको हुनुपर्ने  निर्वाचन आयोगले जनाएको छ । गएको साउन १९ गतेसम्म फोटोसहितको मतदाता नामावलीमा नाम समावेश भएकाले मात्रै मतदान गर्न आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

६. निर्वाचन सुरक्षाका लागि गाडी खरिद गर्न प्रस्ताव
प्रहरी प्रधान कार्यालयले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षाका लागि गाडी खरिद गर्नुपर्ने प्रस्ताव गरेको छ । गाडी खरिदका लागि गृह मन्त्रालयमा प्रस्ताव पठाइएको प्रहरी प्रवक्ता टेक प्रसाद राईले बताए । प्रहरीले ठूला साना गरेर ७ सयभन्दा धेरै गाडी खरिद गर्न प्रस्ताव गरेको हो ।

७. असमान तलब वृद्धिको विरोधमा आज सुब्बाहरुले ‘पेन डाउन’ गर्दै
सरकारले असमान रुपमा तलब बढाएपछि नायब सुब्बाहरू केही दिनदेखि विरोधमा उत्रिएका छन् । शाखा अधिकृतभन्दा माथिल्लो पदका कर्मचारीको तलब बजेट वक्तव्यभन्दामा उल्लेख भएभन्दा धेरै बढाइएपछि नायबसुब्बाहरू हिजोदेखि आन्दोलनमा छन् । तलबमान वृद्धि समान हुनुपर्ने उनीहरुको माग छ । नायब सुब्बाहरूले आज बिहान बिहान १० बजेदेखि ११ बजेसम्म पेन डाउन गर्ने भएका हुन् ।

८. हृदयघातका कारण वरिष्ठ छायाँकार विदुर पाण्डेको निधन
वरिष्ठ छायाँकार विदुर पाण्डेको निधन भएको छ । आज बिहान हृदयघातका कारण पाण्डेको निधन भएको हो । पाण्डे लामो समयदेखि फिल्म क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो । १५ सयभन्दा धेरै म्युजिक भिडियो तथा थुप्रै फिल्म एवं डकुमेन्ट्रीहरु खिच्नुभएका पाण्डेले ‘कागबेनी’ फिल्ममा गरेको कामपछि चर्चा चुलिएको थियो ।

९.चीनमा हेनिपा भाइरसबाट ३५ जना संक्रमित
चीनमा जनावरबाट उत्पन्न नयाँ प्रकारको हेनिपा भाइरस देखिएको छ । भाइरसबाट अहिलेसम्म सानडोङ र हेनान प्रान्तमा मानिसहरूलाई संक्रमित गरेको सरकारी सञ्चारमाध्यमले जनाएको छ । पूर्वी चीनका ज्वरोका बिरामीहरूको थ्रोट स्वाब नमूनाहरूमा उक्त भाइरस फेला परेको ग्लोबल टाइम्सले जनाएको छ । यो भर्खरै पत्ता लागेको हेनिपा भाइरस ज्वरोका केससँग सम्बन्धित रहेको बताइएको छ ।

१०. पहिलो टी–ट्वान्टीमा अफगानिस्तान पराजित
घरेलु टोली आयरल्याण्डले अफगानिस्तानलाई पहिलो टी–ट्वान्टीमा पराजित गरेको छ । बेलफास्टमा गए राति भएको खेलमा पाहुना टोली अफगानिस्तानलाई ७ विकेटले पराजित भएको हो । जितसँगै ५ खेलको टी–ट्वान्टी सिरिजमा घरेलु टोलीले १–० को अग्रता बनाएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  १० : ३३ बजे

नेपालको राष्ट्रिय पहिचानको संरक्षणमा सबै जुट्नुपर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपालको राष्ट्रिय पहिचानको

युक्रेनी ड्रोन आक्रमणमा २४ जनाको मृत्यु : रुस

एजेन्सी – रुसको नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी खेरसोन क्षेत्रमा युक्रेनी

महामन्त्रीद्वयले गरे कांग्रेसको नियमित महाधिवेशन स्थगित

काठमाडौं– महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले नेपाली कांग्रेसको नियमित

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

मोरङ–  कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी मिक्लाजुङ गाउँपालिका-५ बस्ने ४६ वर्षीय डिवि