बैतडी सडकको दुर्दशा : गाडी तान्न डोजर दौडाउनुपर्ने  « Khabarhub

बैतडी सडकको दुर्दशा : गाडी तान्न डोजर दौडाउनुपर्ने 


२६ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- बैतडीको पुर्चौडी नगरपालिकाको केन्द्रसम्म जोड्ने ढोल्यामोड–हाट सडकखण्ड कालोपत्रेको काम दुई वर्षदेखि अलपत्र परेको छ । दुई वर्षअघि सुरु गरिएको सडक कालोपत्रे काम अहिलेसम्म सम्पन्न गर्न चासो दिइएको छैन । समयमै सम्पन्न नहुँदा वर्षातको समयमा यात्रा गर्न असहज भएको छ ।

हिलाम्य सडकको ठाउँठाउँमा पहिरो गएकाले यातायात व्यवसायीले जोखिम मोलेर सवारीसाधन चलाउनुपर्ने बाध्यता रहेको जिप चालक तिलक धामीले बताए । उनले भने, ‘कालोपत्रे भए एक घण्टाभित्रै पुगिनेमा अहिले करिब चार घण्टा लाग्छ । एक दुई पटक आवतजावत गर्दा गाडीका पाट पुर्जाहरू खराब हुन्छन् । करिब दर्जन ठाउँमा पहिरो गइरहन्छ । सडक गुणस्तरीय नभएकाले भाडासमेत बढी लिनुपर्ने बाध्यता छ ।’

जय पृथ्वी राजमार्गको ढोल्यामोडदेखि पुर्चौडी हाटसम्म १९ किलोमिटर सडक कालोपत्रे गर्न कामको अधुरै रहेको हो । ‘तीन वर्षअघि काम सुरु गरेको ठेकेदारका मान्छे वर्षमा एक महिना मात्रै सडकमा देखिन्छन् । काम भएको छैन । स्थानीय मजदुरलाई काम गराएको पैसा दिएको छैन । हाम्रो ठाउँमा विकास हुने भन्दै सामुदायिक वनबाट गिट्टी बालुवा निःशुल्क प्रयोग गर्न दिने निर्णयसमेत गरेर ठेकेदारलाई सहयोग ग¥यौँ । तर, ठेकेदारको अत्तोपत्तो छैन,’ ढोल्यामोडका शैलेन्द्र धानुकले भने ।

यात्रुहरूले अहिले ढोल्यामोडदेखि पुर्चौडी हाटसम्म १९ किलोमिटरको भाडा ५०० रुपैयाँ तिर्नु परिरहेको छ । वर्षा नभएको समयमा बस सञ्चालन हुने यस सडकमा वर्षामा ४ ह्वील ड्राइभ जिप मात्रै चलिरहेकाछन् । पानी परेको दिन भने ठाउँठाउँमा पहिरो जाने भएकाले पहिरो पन्छाउन जिपसँगै डोजर दौडाउनुपर्ने अवस्था छ ।

वर्षातको समयमा पहिरो जाने ठाउँका लागि एउटा डोजर भाडामा लिएर सडकमै खडा राखेको पुर्चौडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर नेपालीले बताए ।

उनले भने, ‘ठेकेदारको लापरबाहीले सडकको हालत बिग्रिएको हो । ठेकेदार सम्पर्कमा समेत छैनन् । किन अलपत्र छाडेको हो केही बुझ्न सकिएको छैन । अहिले गाडीको पछिपछि डोजर दौडाउनुपर्ने बाध्यता छ ।’

कालोपत्रेको काम सुरु गरेर अधुरो छाडेको ठेकेदारले केही ठाउँमा नाली निर्माण र केही ठाउँमा पर्खाल लगाएर छाडेको छ । तर, ठाउँठाउँमा पहिरो खस्ने भएकाले पहिरोमा दैनिक गाडीहरू फस्ने गरेका छन् ।

ढोल्यामोड–पुर्चौडी सडक कालोपत्रे गर्न ग्वाल्लेक निर्माण सेवाले ठेक्का पाएकोमा निर्माण व्यवसायी दानसिंह रावललाई पेटी ठेकेदार (सब कन्डक्टर)को रुपमा काम दिइएको हो । रावलले वर्षातका कारण काम अवरुद्ध भएको बताए ।

उनले भने, ‘अहिले वर्षातमा काम अवरुद्ध छ । बर्षापछि काम गर्नेछौँ । मेसिनहरू सम्बन्धित् ठाउँमै छन् । आगामी असार मसान्तसम्मको म्याद छ, समयमै काम सक्छौँ ।’ सब कन्डक्टरमार्फत काम गराइरहेका ग्वाल्लेक निर्माण सेवाका सञ्चालक सुरेश चन्दले काम केही दिनमै अघि बढ्ने बताए ।

यता पूर्वाधार विकास कार्यालयले भने उक्त सडकका ठेकेदारले अन्यत्र पनि काम गरिरहेकाले काम अवरुद्ध भएको जनाएको छ । कार्यालयका प्राविधिक नरेश भुलले भने, ‘त्यही ठेकेदारले हाम्रै कार्यालयको काम मेलौलीमा पनि गरिरहेकाले उताको काम सकेपछि पुर्चौडीमा काम गर्नुहुन्छ ।’ १७ करोडको लागतमा केही कामहरू सम्पन्न भइसकेको भुलले बताए ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहीबार  ११ : ४७ बजे

कांग्रेसले गर्‍यो संसदीय दलको नेता चयन प्रक्रिया स्थगित

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि शुक्रबार लागि

पञ्चकन्या गाउँपालिकाले लगाएको चियाको व्यावसायिक उत्पादन सुरु

त्रिशूली– नुवाकोटको पञ्चकन्या गाउँपालिकाले बाझो जग्गामा लगाएको चिया खेतीको व्यावसायिक

नेपाल भानुआटुसँग पराजित

काठमाडौं- आइसिसी महिला टि–ट्वान्टी च्यालेन्ज ट्रफीमा नेपाल भानुआटुसँग पराजित भएको

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन

काठमाडौं– नबिल बैंकले आफ्ना ग्राहकको गोपनीयता भङ्ग गरी बैंकिङ कारोबारसम्बन्धी विवरण

एमाले प्रमुख सचेतकमा सांसद ऐनबहादुर महर

काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी (एमाले) संघीय संसदीय दलले प्रतिनिधिसभाका सदस्य ऐनबहादुर