दिउसो १ बजेसम्मका मुख्य १० समाचार | Khabarhub Khabarhub

दिउसो १ बजेसम्मका मुख्य १० समाचार


२६ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबिस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । दिउसो १ बजेसम्मका मुख्य १० समाचार यस्ता छन्ः

१. निलम्बित प्रधानन्यायाधीश जबरामाथि भोलिदेखि अध्ययन हुने

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोगमाथि भोलिदेखि अध्ययन सुरु हुने भएको छ ।

उपत्यका बाहिर रहेका महाअभियोग सिफारिस समितिका सदस्यहरू काठमाडौं फर्किइसकेकोले भोली पाहिलो बैठक बसेर जबराविरुद्धको महाभियोगमाथि अध्ययन थाल्ने तयारी भएको समितिका जेष्ठ सदस्य रामबहादुर बिष्टले जानकारी दिए ।

भोलि प्रतिनिधि सभाको बैठक नभएकोले समितिको बैठक बोलाइएको भएपनि समय भने तय गर्न बाकी रहेको विष्टको भनाई छ ।

२. चुनावी रणनीतिबारे छलफल गर्न एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै

आसन्न निर्वाचनका लागि सत्ता गठबन्धनका दलहरूले सिट बाँडफाँडको गृहकार्य गरिरहेको बेला नेकपा एमालेले पनि चुनावको तयारी गर्न केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।

अहिले केहिबेरपछि ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्ने बैठकमा समसामयिक राजनीतिका साथै मंसिर ४ मा निर्धारित प्रदेश र प्रतिनिधि सभा निर्वाचनको रणनीति, चुनावी एजेण्डा लगायतका विषयमा छलफल हुने जनाइएको छ ।

३. एउटै चुनाव चिह्न लिएर निर्वाचन लड्न प्रचण्डलाई बाबुरामको प्रस्ताव 

नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर मोर्चा बनाएर एउटै चुनाव चिह्नमा निर्वाचन लड्न प्रस्ताव राखेका छन् ।

भट्टराईले आज माओवादी अध्यक्ष दाहाल र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई भेटेर मोर्चाबारे छलफल गर्नुभएको हो । भट्टराईले मोर्चा बनाउने र एउटै चुनाव चिह्नमा लड्ने प्रस्ताव राखेको सहभागी नेताहरूले बताएका छन् ।

४. निर्वाचनका लागि १ लाख ३० हजार म्यादी प्रहरी आवश्यक

प्रहरी प्रधान कार्यालयले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षाका लागि १ लाख ३० हजार म्यादी प्रहरी आवश्यक पर्ने जनाएको छ । मतदान स्थल र केन्द्र बढ्ने हुनाले स्थानीय तहको निर्वाचनमा भन्दा ३० हजार धेरै म्यादी प्रहरी चाहिने प्रहरी प्रधान कार्यालयको निष्कर्ष छ ।

वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा सरकारले १ लाख म्यादी प्रहरी भर्ना गरेको थियो । प्रतिनिधिसभा र प्रदेशको निर्वाचनमा सबै कारागारमा मतदान केन्द्र रहने हुनाले म्यादीको संख्या बढाउनुपर्ने आवश्यकता देखिएको प्रहरी प्रवक्ता टेक प्रसाद राईले बताए ।

५. मनोहरा खोलाको बाढीले ७५ लाख बराबरको क्षति

काठमाडौँ र भक्तपुरको सिमाना भएर बग्ने मनोहरा खोलामा बुधबार राति आएको बाढीले ७५ लाख बराबरको क्षति भएको छ । बाढीले सुकुम्बासी बस्ती, खोला आसपासका अन्य बस्ती, काँडाघारी प्रहरी प्रभाग, दिव्यश्वरी जग्गा एकीकरण आयोजनाभित्रका विभिन्न संरचनामा क्षति पुगेको जनाइएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बाढीले बङ्गुर, हाँस, कुखुरा लगायतका पशु चौपाया बगाउँदा र खाद्यान्न डुबानमा रु ७५ लाख बराबरको क्षति पुगेको जानकारी दिए ।

६. लुम्बिनी प्रदेश अस्पतालको ठेक्का प्रक्रिया रोक्न आदेश

उच्च अदालत तुलसीपुरले लुम्बिनी प्रदेश अस्पतालको भवन निर्माणको ठेक्का प्रक्रिया रोक्न अन्तरिम आदेश जारी गरेको छ । अस्पतालको भवन निर्माणमा ‘मिलेमतो’ भएपछि उच्च अदालतमा रिट दायर भएको थियो ।

उक्त रिटमा अदालतले तत्काल प्रक्रिया रोक्न आदेश दिएको हो । निर्माण व्यवसायी बलिभद्र रानाले ठेक्का प्रक्रियामा ‘सेटिङ’ भएको भन्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएर रिट हालेका थिए । अदालतले भदौ १ गते पेसी तोकेर त्यसअघि दुवै पक्षलाई छलफलमा बोलाएको छ ।

७. ब्राउनसुगरसहित ४ जना पक्राउ

झापाको विभिन्न स्थानबाट लागु औषध ब्राउनसुगरसहित ४ जना पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका ३ झोलुङगे पुलबाट भारतबाट नेपाल तर्फ आउँदै गरेका भारत पश्चिम बंगाल दार्जिलिङ थाना खुरीबारी बस्ने ४२ बर्षीय निखिल विश्वासलाई ब्राउन सुगर सहित पक्राउ गरेको हो ।  

८. श्रीलंकाबाट भागेका राजापाक्षे सिंगापुरबाट थाइल्यान्ड जाने

देश छोडेर भागेका श्रीलंकाका पूर्वराष्ट्रपति गोटवाया राजापाक्षे सिंगापुरबाट थाइल्यान्ड जाने भएका छन् । समाचार संस्था रोयटर्सका अनुसार राजापाक्षे आज नै सिंगापुरबाट थाइल्यान्डको राजधानी बैंकक पुग्ने तयारीमा छन् ।

थाइल्यान्डमा राजापाक्षेले राजनीतिक शरण माग्ने नभई केही दिन मात्र बस्ने जनाइएको छ । राजापाक्षेसँग अहिले पनि कूटनीतिक पासपोर्ट भएकाले उनी ९० दिनसम्म थाइल्यान्डमा बस्न सक्ने जनाइएको छ ।

९.श्रीलंकामा राजापाक्षेविरुद्ध सुरु भएको आन्दोलनरत स्थल छाड्दै प्रदर्शनकारी

श्रीलंकामा तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षेविरुद्ध सुरु भएको आन्दोलनरत प्रदर्शनकारीले स्थल छोड्ने घोषणा गरेका छन् ।  आन्दोलन गरिरहेको स्थल छोड्ने भएपनि व्यवस्था परिवर्तन नभएसम्म आन्दोलन जारी रहने आन्दोलनकारीले बताएका छन् ।

श्रीलंका चरम आर्थिक संकटबाट गुज्रिरहेको छ । आन्दोलनकारीले अप्रिल ९ मा गाले फेसमा सरकारविरुद्ध प्रदर्शन सुरु गरेका थिए र ‘गोटा गो होम’ भन्ने नाराका साथ अभियानलाई चलाएका थिए । सामूहिक रूपमा आज गाले फेस विरोध स्थल छोड्ने निर्णय गरेको आन्दोलनकारी समूहका प्रवक्ता मनोज नानायकाराले बताएका छन् । 

१०. क्रिकेटका नवनियुक्त मुख्य प्रशिक्षक प्रभाकर शनिबार नेपाल आउने

नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकर शनिबार नेपाल आइपुग्ने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले मुख्य प्रशिक्षक प्रभाकर शनिबार नेपाल आइपुग्ने जानकारी दिएका हुन् ।

मुख्य प्रशिक्षक पुबुदु दासानायकेले केही साता अघि राजीनामा दिएपछि क्यानले प्रभाकरलाई नियुक्त गरेको हो । क्यानले प्रभाकरसँग एक वर्षे सम्झौता गरेको पनि जनाएको छ ।

 

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहीबार  १ : २६ बजे

पूर्व विशिष्टलाई सुविधा थप्ने सरकारको तयारी छैन : उपप्रधानमन्त्री  सिंह

पाल्पा– उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले पूर्व विशिष्टलाई

आज तरकारी र फलफूलको थोक मूल्य यस्तो छ

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

कार्नीले सम्हाले क्यानडाको सत्ता

क्यानडा – अर्थशास्त्री मार्क कार्नीले क्यानडामा नयाँ प्रधानमन्त्रीको रूपमा सत्ता

कोदोको पिठोबाट गाउँमै बिस्कुट उत्पादन

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा कोदोको पिठोबाट बिस्कुट उत्पादन गर्न

दुनाटपरीले प्लाष्टिकजन्य वस्तुलाई विस्थापित गर्दै

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा दुनाटपरी उत्पादन सुरु गरिएको