चिसो बढेसँगै कम्बल वितरण गर्ने तयारी « Khabarhub

चिसो बढेसँगै कम्बल वितरण गर्ने तयारी


२ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – शीतलहर र चिसो बढेसँगै मधेस प्रदेश सरकारले कम्बल वितरण गर्ने तयारी थालेको छ। शीतलहरबाट प्रभावित गरिब, विपन्नको तथ्याङ्क सङ्कलन गरी कम्बल वितरण गर्ने तयारी सुरु गरिएको मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले जानकारी दिए। प्रदेश सरकारले सुरक्षा निकाय सम्मिलित प्रदेश विपद् व्यवस्थापन समितिको बैठकबाट शीतलहरबाट प्रभावित गरिब, विपन्नको तथ्याङ्क सङ्कलन गर्ने र त्यही आधारमा कम्बल वितरण गरिने निर्णय भएको मन्त्री साहले बताए।

“चिसोबाट प्रभावितको लागि न्यानो लुगा र कम्बलको जोहो गरिरहेका छौँ”, मन्त्री साहले भने, “चिसोबाट प्रभावितलाई कम्बल वितरणको तयारी थालेका छौँ, स्थानीय तहसँग समन्वय गरेर काम अघि बढाइनेछ।” यसबाहेक प्रदेश सरकारले चिसोबाट जोगिन सन्देशमूलक सूचनासमेत प्रचारप्रसार गर्दै आएको मन्त्री साहको कथन थियो।

यस वर्ष चिसोको कारण कुनै किसिमको मानवीय क्षति हुन नदिन न्यानो लुगासँगै काठ दाउरा वितरणको कामसमेत अघि बढाउन समन्वय भइरहेको उनले बताए। “शीतलहरबाट जोगिन पूर्वतयारीबारे प्रदेशका आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखसँग प्रत्यक्ष सम्पर्कमा छौँ”, मन्त्री साहले भने, “चिसोबाट जोगिन आवश्यक पर्ने न्यानो लुगा र दाउरालगायतको बन्दोबस्तीमा प्रदेश सरकारले समन्वय गरिरहेको छ।”

विगतमा जाडो बढेपछि चोकचोकमा आगो बाल्न दाउराको व्यवस्था हुँदै आएको छ र यस पटक पनि स्थानीय प्रशासनसँग छलफल गरेर तयारी गरिरहेको मन्त्री साहले बताए।

चिसो बढेसँगै सुरक्षाकर्मीले विभिन्न चोकचोकमा आगो बाल्न दाउरा वितरण थालेका छन्। बर्सेनि चिसोबाट मधेस प्रदेशमा करिब १५ प्रतिशत नागरिक प्रभावित हुने गरेको प्रदेश नीति तथा योजना आयोगको तथ्याङ्कले देखाएको छ। “प्रदेशको कूल जनसङ्ख्यामध्ये करिब १५ प्रतिशत जनसङ्ख्या दलित, विपन्न छन्, ती सबै चिसोबाट प्रभावित हुने गरेका छन्”, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष भोगेन्द्र झाले भने, “अधिकांशसँग चिसोबाट जोगिन ओढ्ने, ओछ्याउने न्यानो लुगा हुँदैन, त्यसैले चिसोबाट कतिपयले ज्यानसमेत गुमाउने गर्छन्।” हरेक वर्ष हुने शीतलहर र चिसोका कारण अनाहकमा सर्वसाधारणले ज्यान गुमाउने गरेका छन्।

यसैबीच विगत केही दिनयता बढेको अत्यधिक चिसो र शीलहरका कारण मधेस प्रदेशका जिल्लाको जनजीवन कष्टकर बनेको छ। चिसोका कारण दूधे बालकदेखि वृद्धवृद्धा बढी प्रभावित भएका छन्। चिसो बढ्दै गएपछि अस्पतालमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास, निमोनियालगायतका बिरामीको चाप बढेको जिल्ला स्वास्थ्य कार्यालय धनुषाले जनाएको छ।

विगत तीन दिनदेखि घाम नउदाउनुका साथै चिसो हावा चलेका कारण सर्वसाधारण आगो बालेर दिन बिताउन बाध्य भएका छन्। चिसो बढेपछि ग्रामीण तथा बजार क्षेत्रमा सर्वसाधारणको चहलपहल र आवागमन पातलिएको छ भने सरकारी कार्यालयमा सेवाग्राहीको चाप घटेको छ। चिसो बढेपछि बजारमा सर्वसाधारणको चहलपहल घटेको जनकपुरधामका व्यापारीले बताएका छन्।

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  ९ : ५० बजे

काठमाडौँमा अवतरण हुन नसकेपछि लखनउ ‘डाइभर्ट’ भयो फ्लाईदुबई

काठमाडौँ- दुबईबाट काठमाडौँका लागि उडेको फ्लाईदुबईको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

कांग्रेसको संस्थापन इतर पक्षले बिपी कोइरालाको स्मृति दिवस छुट्टै मनाउने

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन इतर पक्षले यही साउन ६

मुक्त हरवा चरवाको १० बुँदे बर्दिबास घोषणापत्र जारी

जनकपुरधाम – मुक्त हरवा चरवा समुदायको जलवायु न्याय, सामाजिक समावेशीकरण

बाँकेमा विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन

नेपालगञ्ज – नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रले बाँकेमा विद्युत्

विश्वकप फाइनल : यस्ता छन् मैदानभित्रका सम्भावित ब्याटल

काठमाडाैं – फिफा विश्वकप २०२६ को बहुप्रतीक्षित फाइनलमा आइतबार स्पेन