महोत्तरीमा सुरक्षा व्यवस्था सुदृढ | Khabarhub Khabarhub

महोत्तरीमा सुरक्षा व्यवस्था सुदृढ


२ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- मतदानपूर्वको स्थिर समय सुरु भएपछि उम्मेदवारले निर्वाचन प्रचारप्रसार  रोकिएका छन् । दलका प्रतिनिधि र सबै उम्मेदवार आन्तरिक छलफलमा जुटेका देखिँदो छ । आगामी आइतबार सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि बिहीबार मध्यरातदेखि खुला प्रचार अवधि सकिएर स्थिर समय सुरु भएपछि सबैको ध्यान मतदानमा पुगेको छ ।

जिल्लाका सबै क्षेत्रमा सुरक्षागस्ती बढेको छ । आम मतदाताले भयरहित वातावरणमा मतदान गर्न पाउने गरी सुरक्षा व्यवस्था सुदृढ गरिएको जिल्ला प्रशासन कार्यालय र सम्बद्ध सुरक्षा निकायले जानकारी दिएका छन् । ‘हामीले जिल्लाभरिका सबै मतदानकेन्द्रको पटकपटक अनुगमन गरेर आवश्यक सुरक्षा प्रबन्ध सुदृढ गरेका छौँ’, जिल्ला सुरक्षा समितिका अध्यक्षसमेत रहनुभएका प्रमुख जिल्ला अधिकारी  दीपक पहाडीले भने, ‘आम मतदातासँग ढुक्क भएर मतदान गर्न हाम्रो अपिल छ ।’ जिल्लाका कुनै भेग, क्षेत्र वा बस्तीमा अवाञ्छित गतिविधि हुन नपाओस् भन्नेमा स्थानीय प्रशासन र सुरक्षा निकाय सचेत, सजग र सक्रिय रहेको उनको भनाइ छ ।

जिल्लामा सुरक्षा प्रबन्धका लागि करिब पाँच हजार सङ्ख्यामा सुरक्षा जनशक्ति परिचालित गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ । जिल्लामा जम्मा दुई सय ५८ मतदानस्थल र चार  सय ९९ मतदानकेन्द्र छन्  । सैनिक ब्यारेक र कारागारमा गरी दुई अस्थायी मतदानकेन्द्रसहित मतदानकेन्द्रको जम्मा सङ्ख्या पाँच सय एक रहेको छ । 

सबै ठाउँमा मतदान प्रयोजनका सामग्रीसहित मतदानकर्मी जनशक्ति पुगीसकेका जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लाभरिका यी मतदानकेन्द्रमा चार हजार पाँच जना कर्मचारी (मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य आवश्यक जनशक्ति) परिचालित गरिएको मुख्य निर्वाचन अधिकृत हेमबहादुर सेनले जानकारी दिए ।

मतदान केन्द्रको स्वयंसेवी सुरक्षा प्रबन्धका लागि अस्थायी प्रहरी (म्यादी प्रहरी) र अन्य आवश्यक सुरक्षा जनशक्ति प्रत्येक मतदान केन्द्रमा पुगिसकेका प्रजिअ पहाडीको भनाइ छ । निर्वाचन अवधिभरि तीन घेराको सुरक्षा प्रबन्ध गरिएको छ । पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रोमा नेपाली सेना तैनाथ छन् । त्यसैगरी राष्ट्रिय अनुसन्धान कार्यालय महोत्तरीले सुरक्षा व्यवस्था र थप संवेदनशीलताबारे सूक्ष्म निगरानी गरिरहेको जनाइएको छ । 

मतदानस्थलको संवेदनशीलतालाई मध्यनजर गर्दै थप सुरक्षा जनशक्ति परिचालित गरिने जिल्ला सुरक्षा समितिले जनाएको छ । ‘जिल्लाका मतदानस्थलमध्ये एक सय ४३ वटा अति संवेदनशील, एक सय १४ संवेदनशील र एक सामान्यका रुपमा वर्गीकरण गरिएको छ’, प्रजिअ पहाडीले भने , ‘कतै अप्रिय घटना नहोस् भन्नेतर्फ पूर्ण सजगता अपनाइएको छ, संवेदनशीलता वर्गीकरण गरिएअनुसार त्यसको समुचित प्रबन्धमा जनशक्ति परिचालित छ ।’ जिल्लाको भारतसँग सीमा जोडिएको करिब ३९ किलोमिटर दूरीभित्र नियमित सुरक्षा गस्ती भइरहेको पहाडीले जानकारी दिए । 

सीमाक्षेत्रबाट हुने दोहोरो आवतजावत गर्न स्थानीय प्रशासनले बिहीबार मध्यरातदेखि नै पूर्णरुपमा रोक लगाएको छ । सवारी साधनमात्र नभएर सीमाक्षेत्र वारपार गर्न पैदलयात्रीलाई पनि रोक लगाइएको प्रजिअ पहाडीले स्पष्ट पारे ।

सीमाक्षेत्रबाट हुनसक्ने अवाञ्छित गतिविधि रोक्न दुवै (नेपाल-भारत) तर्फ सीमासँग जोडिएका बस्तीमा सुरक्षा पोष्ट खडा गरिएका छन् । भारतीय सुरक्षा अधिकारी र प्रशासकसँग नियमित सम्पर्कमा रहिएको उनको भनाइ छ । मङ्सिर-४ गते बिहान सात बजेदेखि सुरु हुने मतदानको आवश्यक चाँजो र व्यवस्थापन पूरा भएको जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन प्रयोजनको खुला प्रचार अवधि बिहीबार मध्यरातमै सकिएर अब स्थिर समय सुरु भएको हुँदा आचारसंहिताको पूर्ण  पालनाका लागि सम्बद्ध सबैपक्षसँग पटकपटक अनुरोध गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  

जिल्लामा चार प्रतिनिधिसभा र आठ प्रदेशसभा क्षेत्र छन् । दुवैतर्फ गरी दुई सय २९ जना उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ । ती मध्ये क्षेत्र नं १ मा ५५ जना (प्रतिनिधिसभाप्रदेशसभासमेत), क्षेत्र नं २ मा ५६ जना, क्षेत्र नं ३ मा ५९ जना र ४ मा पनि ५९ जना हुन्छन्। यी सबै गरी स्वतन्त्र उम्मेदवारको सङ्ख्या एक सय ३६ रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जिल्लामा यसपटक तीन लाख ९७ हजार ३० मतदाता छन् । जसमा पुरुष दुई लाख १५ हजार एक हजार ३१, महिला एक लाख ८१ हजार आठ सय ९८ र अन्य (तेस्रोलिङ्गी) एक जना रहेका जिल्ला निर्वाचन कार्यालय महोत्तरीले यसअघि नै जानकारी दिइसकेको छ । 

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  १ : १९ बजे

भारतको थोक मुद्रास्फीति नोभेम्बरमा १.८९ प्रतिशतले सङ्कुचित

नयाँ दिल्ली – भारतको थोक मूल्य सूचकाङ्क (डब्लुपीआइ) नोभेम्बरमा १

बुटवलमा औद्योगिक व्यापार मेला हुने

लुम्बिनी – बुटवलमा यही मङ्सिर ३ गतेदेखि औद्योगिक व्यापार मेला

स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन: अध्ययन

काठमाडौं – पश्चिम नेपालमा हालै गरिएको गरिएको एक अध्ययनले स्थानीय

नेपालमा जलवायु परिवर्तनको अवस्थाबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौं – परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालका हिमाली क्षेत्रमा

एकीकृत समाजवादीको बैठक : महासचिव भुसालले तयार गरेको कार्ययोजना पारित

काठमाडौं – नेकपा एकीकृत समाजवादीले महासचिव घनश्याम भुसालले तयार पारेको