‘माओवादीलाई नेतृत्व दिने सहमति भएको छैन’ | Khabarhub Khabarhub

‘माओवादीलाई नेतृत्व दिने सहमति भएको छैन’


४ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चुनावको नतिजा आइरहँदा अबको नेतृत्व कसले गर्ने भन्नेमा रस्साकस्सी चलिरहेको छ। सत्ता गठबन्धन भित्र नै नेतृत्वको विषयमा विवाद छ। अर्कोतिर नेपाली कांग्रेस गठबन्धनलाई जोगाएर अगाडि बढ्ने पक्षमा छ। नेकपा (एमाले) जसरी भए पनि गठबन्धन भत्काएर नयाँ समीकरण बनाउने क्रममा लागिरहेको छ। राष्ट्रपति, उपराष्ट्रपतिलगायतका पदमा पनि राजनीतिक दलबीच शक्ति बाँडफाँटमा कुरा मिल्न सकिरहेको छैन। संसदीय दलको नेता को बन्ने भन्ने विषयमा पनि नेपाली कांग्रेस भित्र हानथाप चलिरहेको छ। समसामयिक राजनीतिक विषयमा आधारित भएर नेपाली कांग्रेसका नेता एवम् तनहुँ क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य शंकर भण्डारीसँग नयन सापकोटाले गरेको कुराकानीको सम्पादित अंश :

सत्ता गठबन्धनले बहुमत ल्याउन नसकेको यो चुनावलाई कसरी हेर्नु भएको छ ?
अहिलेको नतिजालाई सन्तोषजनक रूपले हेर्न सकिएन। अहिले सरकार कसरी बनाउने भन्ने बारेमा मात्र कुरा छ। अब पाँच वर्षको लागि हामीले स्थायी सरकार बनाउने छौँ भनेर जनतासँग वाचा गरेका थियौँ। अब सत्ताको बाँडफाँटमा छलफल गर्दा यो प्रतिबद्धतालाई बिर्सनु हुँदैन।

नयाँ राजनीतिक दलहरूको आगमनलाई कसरी हेर्नु भएको छ ?
म पनि पहिला नयाँ व्यक्ति नै भएर आएको हुँ। त्यसमा उहाँहरूलाई स्वागत गर्नु पर्दछ। नेपाली कांग्रेस जस्तो पार्टी जुन एकल बहुमत राख्नु पर्ने पार्टी हो। तर एकता गर्दा पनि हामीले बहुमत ल्याउन नसक्नु भनेको हाम्रो कमजोरी हो। हामीले चुनावमा पनि दुई सिट बहुमत नपुगेको गठबन्धनलाई अब दुई सिट पुर्‍याएर बहुमत प्राप्त गर्न सक्दैनौँ। अब पार्टीका आन्तरिक कुरा पनि सुधार्न सकेनौँ भने नेपाली कांग्रेस पार्टीको भविष्य अझ बढी समस्यामा पुग्नसक्छ। यो शैलीले मुलुकमा नयाँ राजनीतिक संकट आउन सक्छ।

दुई सिटका लागि तपाईंहरूले अध्यादेश नै ल्याउनु भयो ?
नेपाली कांग्रेसको नेतृत्वले अध्यादेश ल्याएको हो। त्यसको लागि मैले धेरै बोल्नु आवश्यक छैन। त्यसमा हामीले सफल तरिकाले चुनाव सम्पन्न गरेका थियौँ। मुलुकको शान्ति र स्थायित्वतर्फ लैजाने हो यस्ता विषयमा विवाद हुने थिएन।

सत्ता समीकरणको लागि ३२ सिटको माओवादीलाई नेतृत्व दिने सहमति अगाडि नै भएको हो?
हामी मिलेर जाने भनेर सहमति भएको हो। आधिकारिक रूपमा माओवादी केन्द्रले नेतृत्व गर्ने सहमति भएको छैन। तर यो गठबन्धन अगाडि बढाउने प्रतिबद्धता हामीले जनतासँग गरेका छौँ।

गठबन्धन टिक्न किन जरुरी छ ?
हिजो २०७४ को गठबन्धनमा तीन वर्षमा टुट्यो। गठबन्धन टुटेपछि नागरिकसँग गरेका प्रतिबद्धता पूरा गर्न सकिँदैन। गठबन्धनमा बेमेल हुँदा गठबन्धनले प्राप्त गरेको दुई तिहाइ जनमत विघटन भएको हामीसँग ताजा नजिर छ। यहाँ कांग्रेस बाहेकको अर्को नयाँ गठबन्धन बन्दैन। यो मुलुकको राजनीति संवेदनशील छ। यहाँ विभिन्न किसिमका गतिविधिहरू भइरहेका छन्। सबै नेताहरूले मतादाताको मतको महत्त्व बुझ्नुपर्छ। सबै भन्दा ठूलो दल कांग्रेसको नेतृत्वमा सरकार बन्न सक्ला। तर जनतालाई राहत र आहतको व्यवस्था गर्न सक्नुपर्छ। जनताका माग पुरा गर्न हामीले विगतका कमजोरीलाई सुधार गर्नुपर्छ। विगतमा हामी असफल भएका सवालमा सफल हुनुपर्छ।

यो समय नेतृत्व नै फेर्नु पर्ने बेला हो त ?
कांग्रेस भित्रको बहस चर्चा परिचर्चा एउटा छ। आम राजनीतिक विषयमा टिप्पणी पनि एउटा हुनसक्छ। तर वर्तमान सभापतिले फेरि म संसदीय दलको नेता हुन्छु भनेको अवस्थामा उहाँले कसैलाई मन्त्रीको आश्वासन दिनै पर्दैन। अहिले निर्वाचित सांसदको उपस्थिति हेर्दा उहाँ स्वाभाविक रूपमा संयोजक हुन पाउनु हुन्छ। यदि उहाँले एक पटक अरू साथीको पनि क्षमता हेर्न चाहन्छु भन्नुभयो भने पाउनु हुन्छ।

तपाईं गगन, शेखर र देउवा कसको पक्षमा हुनुहुन्छ ?
एक पटक फेरि पार्टी मेरै नेतृत्वमा अगाडि बढ्छ भनेर सभापति देउवाले भन्नुभयो भने उहाँकै नेतृत्वमा पार्टी अगाडि बढ्छ।

अब सरकारको नेतृत्व कसले गर्दछ ?
अहिलेसम्मका छलफल अनुसार गठबन्धन भित्रको ठूलो दलको हिसाबले नेपाली कांग्रेसको सम्भावना धेरै छ। यसमा देउवा र दाहालमध्ये को प्रधानमन्त्री बन्ने भन्ने सवाल होइन। गठबन्धन भित्रबाट देशको विकास कसले गर्ने भन्ने सवाल महत्त्वपूर्ण छ। हामी पाँच वर्ष कसरी टिक्ने भनेर सहमति गरेर जानुपर्छ। व्यक्तिको र पार्टीको स्वार्थमा लागेर देशलाई विकास हुनबाट रोक्नु हुँदैन।

के कारणले कांग्रेसले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पद छोड्छ ?
कारण भन्दा पनि हामी भित्रको समझदारी महत्त्वपूर्ण कुरा हो। अब पनि हामीले नैतिकता र जवाफदेहिता बोकेनौ भने सबैले प्रधानमन्त्री पदको लागि झगडा गरे भनेर जनतासम्म नकारात्मक सन्देश पुग्छ। माधव, प्रचण्ड, बाबुराम र देउवा सबै प्रधानमन्त्री हुनुभयो। प्रधानमन्त्री भएर मात्र हुँदैन। देउवा, प्रचण्ड, माधव नेपाल, रामचन्द्र पौडेल सबै बसेर मुलुकको गम्भीर अवस्थालाई नहेरेर पदलाई नै सबै ठान्नुभयो भने जनताबाट आलोचित हुनुपर्ने छ।

सत्ताको नेतृत्वका लागि देउवा र प्रचण्ड नै अगाडि बढेको देखिन्छ। यसको मध्यमार्गी बाटो के देख्नुहुन्छ ?
अब मुलुकलाई जसले परिवर्तन गर्न सक्छ उसलाई नेतृत्व दिनुपर्छ। सरकार, संसद् र राष्ट्रपति सशक्त हुनुपर्ने हो। त्यो भएन र राष्ट्रवादको कुरा गर्ने तर कार्यान्वयन केही पनि नगर्ने भइराखेको छ।

कांग्रसले माओवादी बाहेकको सरकार बनाउन पहल गरेको छ ?
गठबन्धनलाई जोगाएर राख्नु पर्दछ। यो गठबन्धनलाई नै कांग्रेसले बढी ध्यान दिएको छ। राप्रपालाई पनि कांग्रेसले नराम्रो गर्नु हुँदैन।

तपाईंले राप्रपा र राजपालाई घनिष्ठ बनाउन खोज्नु भएको छ हो ?
विचार र सोच एउटै भएका पार्टी मिल्नु पर्दछ भनेर बिपीले पनि भन्नु भएको छ। त्यसैले विचारको आधारमा राप्रपालाई टाढा राख्नु हुँदैन।

बाध्यता बस माओवादीलाई आफैसँग अंगालोमा राख्नु भएको छ होइन ?
हामीले चुनाव अघिदेखि पाँच वर्ष सहकार्य हुन्छ भनेका हौँ। यो विषयमा कांग्रेस र माओवादी गम्भीर भएर देशमा भएको समस्यालाई सुधार गरेर अगाडि बढ्नुपर्छ। कसैको आदेशमा नलागी एक भएर अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता हो।

तपाईं मन्त्री बन्ने लाइनमा हुनुहुन्छ ?
शङ्कर भण्डारी मन्त्री बन्नु अस्वाभाविक होइन। हरेक दृष्टिले मन्त्री बन्न आफूलाई अनुपयुक्त ठान्दिन। जो मन्त्री बने पनि सरकार पाँच वर्षसम्म टिक्नुपर्छ। जनताका सवालमा कसैसँग सम्झौता हुनुहुँदैन भन्ने मेरो मत हो। हामीले पाएको मतको सदुपयोग पदमा पुग्ने सबैले गर्नुपर्छ। -प्रस्तुति: पुष्पाञ्जली बस्नेत

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  १० : ४० बजे

उच्च शिक्षा अध्यादेश जारी गर्ने बागमती प्रदेश सरकारको निर्णय

मनहरी– बागमती प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले प्रदेश उच्च शिक्षा ऐन

राष्ट्रपति पौडेलद्वारा खाद्य स्वच्छता तथा गुणस्तर प्रमाणीकरण

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी कानूनलाई

मलेसियाका समकक्षीसँग गृहमन्त्रीको फोन वार्ता, जीबी राईबारे पनि कुराकानी

काठमाडौं- उपपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले केही दिनअघि मलेसियास्थित समकक्षी

भन्सार विभागमा धर्ना बसेका आजपाका कार्यकर्ता प्रहरीको हिरासतमा

काठमाडौं– भन्सारको लूटकारी व्यवस्थाविरुद्ध आम सम्पर्क मञ्चद्वारा भन्सार विभागमा जारी

ज्ञानुकाको गुनासो- ‘डढेलोले सालको पात बेच्ने र दुना टपरी बनाउनेको रोजीरोटी खोसियो’ 

मन्थली– दिनभर दुनाटपरी बनाएर आफ्नो र आफ्ना बालबालिकाको लागि खर्च