कञ्चनपुर बाढी : बाढी पीडितको अझै जङ्गलको बास | Khabarhub Khabarhub

कञ्चनपुर बाढी : बाढी पीडितको अझै जङ्गलको बास


७ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – जिल्लाको शुक्लाफाँटा नगरपालिका–१२ एकान्त टोलका बाढी प्रभावित अझै सामान्य अवस्थामा फर्किन सकेका छैनन्। अहिले यहाँका १५ परिवारको बासस्थान जनजागरण सामुदायिक वन बनेको छ।

बाढीले प्रभावित भएपछि जङ्गलमा त्रिपाल टाँगेर ओत बसेको एकान्त टोलका मेघु बोहरा बताए। ‘घरभित्रको सामान पूरै बाढीले लग्यो, घरका खम्बा मात्रै बाँकी छन्’, उनले भने, ‘घरभरी माटो नै माटो भएको छ, लत्ताकपडा सबै बाढीले लग्यो।’

शुक्रबार राति वनहरा नदीमा आएको बाढीले आफूहरुको बिचल्ली भएको उनको गुनासो छ। ‘यतिका दिन भयो, आजसम्म जङ्गलमै त्रिपाल टाँगेर बसेका छौँ, घर कसरी फर्किने त्यहाँ बाढीले केही राखेको छैन’, उनले भने, ‘ओढ्न, बिछ्यान केही छैन, खानका लागि एक कट्ठा चामल पाएका थियौँ, त्यो सकिएपछि के खाने भन्ने चिन्ता छ।’

जङ्गलमा त्रिपालमुनि बिछ्याउने कपडा नहुँदा समस्या भएको हरिकृष्ण भट्टको गुनासो छ। ‘घर बस्न लायक नै छैन, फेरि के पो हुन्छ भन्ने डरले त्यहाँ गएका छैनौँ’, उनले भने, ‘वर्षभरी खाने खेतको अन्नसमेत माटोमा मिसिएको छ, अब कसरी परिवार पाल्ने, अनिकाल लाग्ने भयो।’

एकान्त टोलमा १५ कट्ठा जग्गामा लगाएको उनको धान खेतीमा वनहरा नदीको बाढीले क्षति पुर्‍याएको छ। ‘धानसँगै बदाम, मास र तिल पनि बाढीले ल्याएको बालुवाले पुरियो, २०६४ सालयता यस्तो बाढी हामीले कहिल्यै देखेनौँ’, उनले भने।

बाढी प्रभावित शुक्लाफाँटा नगरपालिका–११ वनहरा शिविरका सुकुम्बासी पनि बिचल्लीमा परेका छन्। त्यहाँका ३० परिवार पनि नजिकैको जङ्गलमा त्रिपालमुनि रात काटिरहेका छन्। बर्सेनि बाढीको पीडा झेल्दै आए पनि अहिलेसम्म सरकारले आफूहरूलाई नहेरेको वनहराका सुकुम्बासीको गुनासो छ। ‘नदीले उताबाट धकेल्छ, यताबाट वनले धपाउँछ, प्रशासनले बाँच्नुहोस् भन्छ, कहाँ जाने हामी’, स्थानीयबहादुर कामीले भने।

बाढीले घरभित्र माटो भरिएकाले बस्तीमा बस्नै नसकिने अवस्था रहेको मानध्वज लुहार बताए। ‘चामल पाएका छौँ, पकाउनलाई भाँडा छैनन्, कहाँ पकाउने ? कसरी पकाउने ? बस्तीमा पानी पनि छैन’, उनले दुखेसो पोखे। बर्सेनि बाढीले दुःख दिँदै आए पनि अहिलेसम्म यसको दिगो व्यवस्थापन हुन नसक्दा पीडा खेप्नुपरेको देवकी विष्ट बताए।

‘राति एक्कासी बाढी आयो, बालबच्चा काखमा च्यापेर भागे, सरसमान जोगाउन सकिएन’, उनले भने, ‘बाख्रा, लत्ताकपडा कहाँ पुगे, अहिले जङ्गलमा बस्नुपरेको छ, खानलाई अन्न छैन।’

बाढी प्रभावितलाई सुरक्षित स्थानमा सारिएको शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख रणबहादुर महराले जानकारी दिए। ‘बाढीपछिको अवस्थालाई सामान्य बनाउने प्रयास गरिरहेका छौँ, प्रभावितलाई सुरक्षित स्थानमा राखेका छौँ’, उनले भने, ‘उनीहरूको खाने, बस्ने व्यवस्था पनि मिलाएका छौँ।’ बाढी प्रभावितलाई राहत तथा क्षतिपूर्तिका लागि प्रदेश तथा सङ्घ सरकारलेसमेत सहयोग गर्नुपर्ने उनको भनाइ छ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  १२ : १८ बजे

कांग्रेस जनताको परीक्षामा पास भएको पार्टी हो, यसलाई बलियो बनाउनुपर्छ : उपप्रधानमन्त्री सिंह

काठमाडौं– नेपाली कांग्रेसका नेता, पूर्वमहामन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेस पार्टीलाई

पूर्वराजा शाह ७९ वर्षमा लाग्दै, जन्मदिनमा निर्मल निवास खुला गरिने

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाह आगामी असार २३ गते ७९औँ वर्षमा

वन्यजन्तुका लागि पानी खान पोखरी निर्माण

घोडाघोडी– कैलालीका सामुदायिक वनमा वन्यजन्तुलाई पानी खानका लागि पोखरी निर्माण गरिएका

प्रचण्डको गुनासो- सदन खुलाउँदा माओवादीकै कार्यकर्ताले मलाई दु:ख दिए

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल

कुनै एक पार्टीलाई बहुमत ल्याउन कठिन छ : सभापति देउवा

चितवन– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानमा भएको निर्वाचनसम्बन्धी व्यवस्थाका