‘हेभीवेट’ नेता र मन्त्रीको हारले दिएको शिक्षा | Khabarhub Khabarhub

‘हेभीवेट’ नेता र मन्त्रीको हारले दिएको शिक्षा

‘अब सत्ता र शक्तिमा मात्रै जेलिएका नेतालाई जनताले पत्याउँदैनन्’


११ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सत्तामा प्रधानमन्त्री शेरबहादुर देउवाका दाहिने हात मानिने गृहमन्त्री बालकृष्ण खाँण पराजित भएका छन् । उनी रुपन्देहीमा राप्रपाका नेता दीपक बोहरासँग पराजित भएका हुन् । बहालवाला गृहमन्त्रीलाई हराएको भन्दै बोहराको चर्चा र प्रशंसा भइरहेको छ ।

तर आफ्नै पार्टीको नेतृत्वमा रहेको सरकारमा गृहमन्त्री हुँदा पनि चुनाव हारेको भन्दै खाँणको आलोचना बढ्दो छ । रुपन्देहीमा आफ्नै पार्टीका नेताहरुलाई चिढ्याएर र सत्ताको रवाफ देखाएको आरोपमा खाँण पराजित भएको चर्चा छ ।

तर कांग्रेसभित्र हार्ने ‘हेभीवेट’ नेतामा गृहमन्त्री खाँण बनेका छन् । यस्तै कांग्रेसकै पुष्पा भुसाल पनि अर्घाखाँचीमा हारिन् । गएको संसद्मा अन्तिम समयमा उपसभामुख समेत बनेकी भुसाल कांग्रेसवृत्तमा शक्तिशाली महिला थिइन् ।

देउवा निकट रहेर उनले सत्ता र शक्ति बराबर नै आफ्नो प्रभुत्व जमाएकी थिइन् । तर अर्घाखाँचीमा चुनाव हारेपछि कम्तीमा पाँच वर्ष भुसालको संसदीय यात्रामा ब्रेक लागेको छ । त्यति मात्रै होइन, कांग्रेसका भीमसेनदास प्रधान, उमेश श्रेष्ठ र विश्व पौडेल पराजित भएका छन् ।

यी सबै नेता अहिले नयाँ उदाएको स्वतन्त्र पार्टीका उम्मेद्वारसँग पराजित भएका हुन् । कांग्रेस, माओवादी र एमालेबाट फुटेको नेकपा समाजवादीको साथ हुँदा पनि कांग्रेस उम्मेद्वार पराजित हुँदा यसले धेरै ठूलो हलचल ल्याएको छ ।

यस्तै माओवादीबाट पनि हेभीवेट नेता हारेका छन् । उपमहासचिव गिरिराजमणि पोखरेल, नेताहरु मातृका यादव, पम्फा भुसाल र पूर्व सभामुख ओनसरी घर्ती नै हारेका छन् । उनीहरु केही स्वतन्त्र पार्टी र केही मधेसकेन्द्रित दलका नेताहरुसँग हारेका हुन् ।

प्रचण्ड गोरखा पुगेका कारण हारबाट जोगिएका छन् । चितवनबाटै लडेको भए उनी हार्ने निश्चित रहेको चर्चा अहिले बजारमा छ । एमालेबाट महासचिव शंकर पोखरेल पराजित भएका छन् । वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल पराजित भएका छन् ।

यस्तै शान्ता चौधरी, लेखराज भट्ट पराजित हुँदा नेकपा एकिकृत समाजवादीबाट वरिष्ठ नेता झलनाथ खनाल हार्ने पनि निश्चित जस्तै छ । खासगरि यसपटक नेकपा माओवादी केन्द्र निकै सानो आकारमा खुम्चिएको छ ।

पाँच वर्षअघि ३६ सिट जितेको माओवादीले यसपटक मुश्किलले १८ सिट मात्रै जित्ने सम्भावना छ । पहिलो भएको कांग्रेसले ५० सिट कटाएको छ भने एमालेले ४० सिट कटाएको छ । स्पष्टसँग कुनै पनि दलको बहुमत नहुँदा सत्ता गठबन्धनले आगामी पाँच वर्ष सरकार चलाउनुपर्ने संसदीय अंकगणितको बाध्यता हुनेछ ।

को नेता कहाँबाट पराजित भए ?

अहिले हारेका धेरै नेताहरु पार्टीभित्र शक्तिशाली छन् । कँही न कतै उनीहरु निरन्तर सत्ता र शक्तिको वरपर रहेका थिए । तर सँधै सत्ता र शक्तिकै वरपर हुँदा पनि उनीहरुले आफ्नो मतदाता र आफूले ठूलो काम भने केही पनि गर्न सकेनन् ।

काठमाडौँ २ मा उठेकी ओनसरी घर्ती माओवादीका प्रभावशाली नेता वर्षमान पुनकी पत्नी हुन् । उनी निरन्तर सत्ताको नजिक छिन् । तर सत्तामा हुँदा उनले गृहजिल्ला रोल्पा वा काठमाडौँका लागि केही गर्न सकिनन् । पार्टीभित्र पनि खासै ठूलो योगदान गर्न नसक्ने उनी लगातार अवसर पाइरहेकी महिला हुन् ।

अवसर पाएर पनि त्यसको सदुपयोग गर्न नसक्ने उनी अहिले पराजित हुँदा कतिपय माओवादी नेता कार्यकर्ता ‘खुच्चिङ’ भनिरहेका छन् । यस्तै माओवादीकी उपमहासचिव पम्फा भुसाल वर्तमान ऊर्जामन्त्री हुन् । उनी ऊर्जामन्त्री रहेका बेला निरन्तर सत्तामा रहेर धेरै चर्चा पाइन् । तर ललितपुर ३ मा भने उनले कुनै काम गर्न सकिनन् ।

उनले आफ्ना मतदातालाई निरन्तर बेवास्ता गरेकी थिइन् । जसको जवाफ उनले अहिले चुनाव हारेपछि थाहा पाएकी छन् । सरकारमा हुँदा मन्त्री भन्दै गाडीमा झण्डा हल्लाएर हिड्ने मन्त्रीले जनताका लागि काम नगर्दा, उनीहरुको पीर मर्का नबुझ्दा भर्खर राजनीतिमा उठेकी डा.तोसिमा कार्कीबाट उनी पराजित हुन पुगिन् ।

यस्तै माओवादीकै नेता गिरिराजमणि पोखरेल लगातार तीन वर्ष सरकारको शिक्षामन्त्री बने । तर उनले आफ्नै रौतहटका लागि केही गर्न सकेनन् । सरकारमा हुँदा मन्त्री बनिरहने चुनाव आउँदा मात्रै गाउँ फिर्ने उनको बानी यसपटक जनताबाट बहिगर्मित भयो । परिणामस्वरुप चुनाव जित्छु भन्ने उनी हारेका छन् ।

यस्तै ओलीले टपक्क टिपेर महासचिव बनाइएका शंकर पोखरेल पनि दाङबाट पराजित भएका छन् । चार वर्ष लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री बनेका उनी राजधानी सार्न सफल भएपनि त्यसलाई कार्यान्वयन गर्न सकेनन् । लुम्बिनी बसेर काठमाडौँको राजनीति गर्ने उनले जनताको माग सम्बोधन गर्न नसक्दा उल्लेख्य रुपमा पराजित हुन पुगेका छन् ।

यस्तै लगातार शक्तिमा रहेका एमालेकै वरिष्ठ नेता इश्वर पोखरेल काठमाडौँबाटै पराजित भएका छन् । कांग्रेसका युवा नेता प्रदीप पौडेलसँग पराजित भएका उनी पाँच वर्षका लागि सत्ता बाहिर हुने पक्का छ । पैँसा र पावरकै बलमा चुनाव जित्छु भनेर लागेका उनी पराजित भएपछि धेरै युवा राजनीतिज्ञ खुशी भएका छन् । किनकी उनी धेरै लामो समयदेखि सत्तामा रहेपनि काठमाडौँ ५ कै जनताले केही पाउन सकेका थिएनन् ।

यी त केही देखिएका अनुहार मात्रै हुन्, राप्रपाका पूर्वअध्यक्ष कमल थापा, कांग्रेस नेता विजय गच्छेदार, घनश्याम भुसाल लगायतका धेरै नेता हारेका छन् ।

हेभीवेटको हारले सिकाएको पाठ

यतिबेला बुढा भनिएका र लामो समय सत्तामा रहँदा पनि केवल आफ्नो मात्रै स्वार्थपूर्ति गरेका नेताहरु हार्दा युवाहरुमा ठूलो उत्साह छाएको छ । मतदाताले मत परिवर्तन गरेर नेपालमा राजनीतिको श्रृङ्खला नै परिवर्तन खोजिरहेका युवा नेताहरुका लागि अहिलेका हेभीवेट नेताहरुको हारले धेरै पाठ दिएको छ ।

खासगरि चुनाव जितेपछि गाउँ नछिर्ने, सीमित नेताहरुको झुण्डमा रमाउने, कार्यकर्तासँग मात्रै खुशी रहने, जनताको पीडा र दुःखलाई देख्दै नदेख्ने नेताहरुको प्रवृत्ति कम्तीमा यसपटक नराम्रोसँग पराजित भएको छ । युवा नेताहरुको लहर आएका बेला बुढा नेताहरु आफ्नै अलोकप्रियता र उपलब्धीविहीन रहँदा पराजित हुनुपरेको छ ।

यसले युवाहरुलाई पनि पाठ दिएको छ । केवल सत्तामा रमाउने भन्दा जनताको आवश्यकतालाई सम्बोधन गर्न सक्नु अहिलेको आवश्यकता हो । यो आवश्यकता परिपूर्ति गर्न सकेको खण्डमा मात्रै युवा नेताहरुको भविष्य उज्ज्वल छ ।

कम्तीमा अहिलेको यो बुढा नेताहरुको सिण्डिकेट फेरि फर्केर आउँदैन । अन्यथा यो पाठलाई बेवास्ता गर्दै फेरि पुरानै प्रवृत्ति दोहोर्याउँदा युवा नेताहरु पनि नराम्रोसँग पराजित हुनु पर्ने अवस्था आउँछ । यद्यपी यसपटक ठूला भनिएका र हेभीवेट नेताहरुको हारले गर्दा युवा नेताहरु राजनीतिमा उदाउने सुन्दर मौका आएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  १० : ४९ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न