डिभिजन वन कार्यालयकै मिलेमतोमा काठ लुकाइयो | Khabarhub Khabarhub

डिभिजन वन कार्यालयकै मिलेमतोमा काठ लुकाइयो


१६ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा– परशुराम नगरपालिका–५ परिगाउँमा रहेको भुवनेश्वर नमुना माविको हाताभित्र कटान गरिएको रूखको काठ लुकाइएको छ । गत ३ माघमा डिभिजन वन कार्यालय डडेल्धुराको अनुमतिविना काटिएको रूख वनकै मिलेमतोमा लुकाइएको हो ।

भवन र मैदान बनाउने निहुँमा व्यक्तिगत स्वार्थको लागि कटान गरिएका सिसम, हल्दु, साल र खयरका सयौ रूख कटान गरी लुकाइएको स्थानीयको भनाइ छ । विद्यालय परिसरमा रूख कटान गरेका ठूटासमेत डोजर प्रयोग गरेर माटोले पुरिएको छ ।

आठ/दश रूख कटान भएको देखाउनको लागि मात्र रूखका ठूटा छोडिएको छ । रूख कटान भएको तीन दिनपछि मात्र प्रारम्भिक रिपोर्ट सार्वजनिक गरेको डिभिजन वनले आठवटा सिसम र दुई वटा हल्दुका रूख कटान गरिएको रिपोर्ट सार्वजनिक गरेको छ ।

तर, त्यस क्षेत्रका स्थानीय भने डिभिजन वनले गलत रिपोर्ट सार्वजनिक गरेको बताउँछन् । विद्यालय हाता भित्रका साल र खयरका रूख कटान गरिएको भए पनि अनुसन्धानको रिपोर्टमै नभएको विद्यालय व्यवस्थापन समिति सदस्य केशव नाथ बताउँछन् ।

उनले विद्यालय व्यस्थापन समितिमा समेत कुनै निर्णय नै नगरी रूख कटान गरी लुकाइएको बताए । ‘यहाँ सयभन्दा बढी सिसम, हल्दु, साल र खयरका रूख थिए । तर, आज छैनन् । रूख कटान भएको थाहा पाएपछि दोस्रो दिन वनको टोली यहाँ आएको थियो। साँझ डोजर चलेर सबै लुकाइयो,’ उनले भने ।

ईलाका वन कार्यालयलाई जानकारी गराएको र रेञ्जर विद्यालयमा पुग्दासमेत जानकारी गराई रूख कटान गरिएको विद्यालयका प्रध्यानाध्यापक डम्बर थ्वालले बताए ।

‘वडा अध्यक्ष मिनबहादुर चन्दको अध्यक्षतामा बैठक बसी रूख कटान गर्ने र कटान गरेका रूख व्यवस्थापन गर्ने जिम्मा पनि उनलाई नै दिइएको थियो । वनले भने रूख कटानको आदेश दिएको थिएन्,’ उनले भने ।

डोजर प्रयोग गरी लुकाइएको काठ वनकै साँठगाँठमा अन्यत्र सारिएको आशंका स्थानीयको छ । आफ्नै हातले साल र खयरका रूख रोपेको केसी नाथ बताउँछन् । उनी भन्छन्, ‘यसमा वनको मिलेमतो छ । नत्र अवैध रूपमा किन रूख काटिए ?’

अवैध रुख कटान गरी बिक्रीसमेत गरिएको गुनासो आएपछि वन कार्यालयले अनुसन्धान गरेको थियो । तर, रूख कटानमा संलग्न भएका भनिएका परशुरामधाम सब डिभिजन कार्यालय जोगबुडाका प्रमुख सन्तोष भट्टलाई अनुसन्धान अधिकृत तोकी अनुसन्धान गरिएपछि स्थानीय झन् आक्रोशित भएका छन् ।

कटान गरिएको काठको परिणाम सिसम ४५ क्युफिट र बाँकी हल्दु गरी १८८ दशमलव ८० क्युफिट रहेको भट्टले बताएका थिए । अहिले विद्यालय हाताभित्र उक्त काठ पनि छैन । अनुसन्धानपछि रातभरि डोजर प्रयोग गरी काठ लुकाइएको विद्यालय व्यवस्थापन समिति सदस्य नाथको भनाइ छ ।

काठको ठूटा नापेरै एकिन परिणाम निस्किन्छ: ठाकुर
प्रध्यानाध्यापक डम्बर थ्वाल र विद्यालय व्यवस्थापन समिति अध्यक्ष खड्का बोहरालाई मंगलबार वन कार्यालयले नियन्त्रणमा लिएको थियो।

अदालतबाट म्याद थप गरेर हिरासतमा राख्न निवेदन पेस गर्दा अदालतले स्वास्थ्य परीक्षण गरेर ल्याउन निर्देशन दिएपछि उनीहरूको स्वास्थ्य परीक्षण गर्दा कोरोना पोजेटिभ देखाएपछि दुवै जनालाई चार जनाको जिम्मा जमानीमा छोडिएको छ।

प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति अध्यक्षलाई चार जनाको जिम्मा जमानीमा छोडिएको डिभिजन वन कार्यालय डडेल्धुराका वन अधिकृत रणेन्द्र सिंहले बताए।

‘प्रारम्भिक रिपोर्टअनुसार मुद्दा अगाडि बढाएका थियौं । अदालतबाट म्याद थप गरेर हिरासतमा राख्न निवेदन पेस गर्दा अदालतले स्वास्थ्य परीक्षण गरेर ल्याउन निर्देशन दिएपछि उनीहरूको स्वास्थ्य परीक्षण गरियो । स्वास्थ्य परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि दुवै जनालाई छोडिएको छ,’ उनले भने ।

उनीहरूको सम्पर्कमा आएका कर्मचारी होम आइसोलेसनमा बसेको डिभिजन वन कार्यालयका प्रमुख रामविचारी ठाकुरले बताए।

उनले भने, ‘हाम्रो अनुसन्धान अधिकृत कोरोना पोजेटिभ भएर आइसोलेसनमा हुनुहुन्छ । थप विवरण आएको छैन । काठको ठूटा नापेरै भए पनि एकिन परिणाम निस्किन्छ ।’

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  २ : ०० बजे

बाजागाजासहित भालेश्वर मन्दिरमा फूलपाती भित्र्याइयो

काठमाडौं – चन्द्रगिरीस्थित ऐतिहासिक महत्वको भालेश्वर मन्दिरमा फूलपाती भित्र्याइएको छ

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

कैलाली – घोडाघोडी नगरपालिका–१ जनकपुरमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

गहवामाई मन्दिरमा डोलायात्रासहित फूलपाती भित्र्याइयो

पर्सा – वीरगञ्जस्थित गहवामाई मन्दिरमा डोलायात्रासहित आज फूलपाती भित्र्याइएको छ

सुदूरपश्चिममा एक सय ६२ जुवाडे पक्राउ

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले दसैँ, तिहार र छठ

नोबेल साहित्य पुरस्कार दक्षिण कोरियाली लेखक हान काङलाई

स्टकहोम – मानसिक र शारीरिक यातनाका साथै ऐतिहासिक घटनाहरूबीच पत्राचारका