दिउसो १ बजेसम्मका मुख्य १० समाचार | Khabarhub Khabarhub

दिउसो १ बजेसम्मका मुख्य १० समाचार


१५ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबीस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । दिउसो १ बजेसम्मका मुख्य १० समाचार यस्ता छन्ः

१. महाअभियोग समितिमा बयान दिन चोलेन्द्रशमशेर सिंहदरबारमा

महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग बयान लिन सुरु गरेको छ । जबरासँग बन्द कोठाभित्र बयान लिन सुरु गरिएको हो । जबरा बैठकमा उपस्थित भएको फोटो र भिडियो खिचिसकेपछि पत्रकारहरूलाई बाहिर पठाइएको छ ।

यसअघि बन्द कोठाभित्र बयान लिने कि खुला भन्नेमा महाअभियोग सिफारिस समितिमा बहस हुँदा बयान लिने काम सुरु गर्न ढिलाइ भएको थियो ।

२.  उपत्यकामा सवारीको अवस्थाबारे चेकजाँच सुरु

चाडपर्व नजिकिएसँगै उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी साधनको अवस्थाबारे चेकजाँच शुरु गरेको छ ।

आज त्रिभुवन विश्वविद्यालयको गेटमा प्रहरी प्रधान कार्यालयका प्राविधिकहरूको सहयोगमा चेकजाँच गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्र भट्टले जानकारी दिए ।

काठमाडौं हुँदै मकवानपुर र वीरगञ्ज चल्ने टाटा सुमो, बोलेरो, माइक्रोबस  र सामान ओसार्ने भ्यानको ब्रेक, स्टेरिङ र इन्जिन आयलको अवस्थाबारे जाँच गरिएको छ । चेकजाँचको क्रममा ३४ वटा सवारी साधनमा त्रुटि भेटिएको एसएसपी भट्टले जानकारी दिए ।

३. ललितपुर महानगरपालिकाको कार्यालय अगाडि निःशुल्क पार्किङ गर्न पाइने

ललितपुर महानगरपालिकाले आफ्नो कार्यालय अगाडि पार्किङ हुने सवारीसाधनबाट उठाउँदै आएको शुल्क हटाएको छ । महानगरको १७औं कार्यपालिकाको बैठकले आजदेखि लागू हुनेगरि महानगरको कार्यालय अगाडि र सडक किनाराको पार्किङ शुल्क हटाउने निर्णय गरेको हो ।  

यसअघि सडक किनारा र महानगरको कार्यालय अगाडि पार्किङ गर्दा सेवाग्राहीले पार्किङ बापतको शुल्क तिर्दै आएका थिए ।

महानगरले सेवाग्राहीबाट नै पार्किङ बापतको शुल्क लिएको भन्दै गुनासो बढेसँगै महानगरको १७औं कार्यपालिकाको बैठकले पार्किङ शुल्क हटाउने निर्णय गरेको महानगरले जनाएको छ ।

४. काठमाडौं वर्ल्ड स्कुलमा झडप 

भक्तपुरको सूर्यविनायक नगरपालिका स्थित काठमाडौं वर्ल्ड स्कुलमा झडप भएको छ । विद्यार्थीहरूको बीचमा हिजोबाट शुरु भएको विवाद झडपमा परिणत भएपछि डीएसपीको नेतृत्वमा प्रहरी परिचालन गरिएको छ ।

गुण्डुमा अवस्थित स्कुलमा गुण्डुका स्थानीय विद्यार्थी र काठमाडौंबाट गएर अध्ययन गरिरहेको विद्यार्थीको बीचमा विवाद भएपछि स्थानीयले कारवाहीको माग गरेर विरोध गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता (डीएसपी) राजु पाण्डेले बताए ।

५. लागूपदार्थसहित पोखराबाट चारजना पक्राउ

जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिकाको दुई स्थानबाट लागूपदार्थसहित चार जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ज्ञान बहादुर खड्काले पोखरा महानगरपालिका–३० पावर हाउस चोक स्थित वडा प्रहरी कार्यालय गगनगौँडाबाट खटिएको प्रहरी टोलीले सवारीसाधन चेकजाँच गर्ने क्रममा पोखरातर्फ आउँदै गरेको बसमा खानतलासी गर्दा लागूपदार्थसहित ४ जना पक्राउ परेको जानकारी दिए ।

६. श्रृजनशील लघुवित्तको आईपीओमा आजदेखि आवेदन दिन पाइने 

श्रृजनशील लघुवित्त वित्तीय संस्थाको आज देखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला भएको छ । कम्पनीले तीन करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको आईपीओ जारी गरेको हो ।

कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ३ लाख ९३ हजार ७५० कित्ता साधारण सेयर निष्कासन गरेको हो ।

७. सुन तोलामा ८०० रुपैयाँले घट्यो

साप्ताहिक कारोबारको चौथो दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज सुनको मूल्य तोलामा ८०० रुपैयाँ घटेको महासंघले जनाएको छ । यस्तै, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ कायम भएको छ ।

८. चीनलाई ताइवानको कडा चेतावनी

ताइवानले आफनो आत्मरक्षाका लागि प्रतिआक्रमण गर्ने भन्दै चीनलाई कडा चेतावनी दिएको छ । आफनो भुभागमा चीनियाँ सेना प्रवेश गरे आफनो आत्मरक्षाका लागि लड्न जवाफी आक्रमण गर्ने ताइवानको रक्षा मन्त्रालयले चेतावनी दिएको हो ।

पछिल्लो समय ताइवानको टापुमा चीनले सैन्य गतिविधि बढाएर भु भाग कब्जा गर्न खोजेको आरोप लगाएको छ । पछिल्लो समय अमेरिकी सभामुख न्यान्सी पेलेसीको ताइवान भ्रमणसगैँ चीनले आफनो सैन्य अभ्यास बढाएको छ ।

९.अष्ट्रेलियाद्धारा जिम्बावेविरुद्धको दोस्रो एकदिवसीयमा जित
घरेलु टोली अष्ट्रेलियाले पाहुना टोली जिम्बावेविरुद्धको दोस्रो एकदिवसीयमा जित निकालेको छ । टाउन्सभिल्लीमा आज भएको खेलमा अष्ट्रेलियाले जिम्बावेलाई ८ विकेटले पराजित गरेको हो ।

यस जितसँगै अष्ट्रेलियाले तीन खेलको एकदिवसीय सिरिज एक खेल अगाबै जितेको छ । आईसीसी विश्वकप सुपर लिग अन्तर्गत सिरिजमा अष्ट्रेलियाले २–० को अग्रता समेत बनाएको छ ।

१०. आईसीसी टी–२० विश्वकप ट्रफी भक्तपुरमा सार्वजनिक

आईसीसी टी–२० विश्वकप ट्रफीलाई भक्तपुरमा सार्वजनिक गरिएको छ । आईसीसी ट्रफी टुर अन्तर्गत नेपाल ल्याइएको टी–२० विश्वकप ट्रफीलाई भक्तपुरमा प्रदर्शनीमा राखिएको हो ट्रफी टुरमा नेपाली राष्ट्रिय टिमका पूर्व खेलाडी मेहबुब आलम, शरद भेषावकर, महिला टिमकी कप्तान रुबिना क्षेत्री सहभागी  रहेका छन् ।

अष्ट्रेलियामा आयोजना हुने टी–ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी सोमबार नेपाल आइपुगेको हो  ।क्रिकेटको विश्वकप ट्रफी नेपालमा दोस्रो पटक ल्याइएको हो ।

 

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  १ : २९ बजे

काठमाडौं छाड्नेलाई सुझाव – फूलपातीअघि नै गाउँ जानोस् !

नेपाली नागरिकहरूलाई दशैं माहौले छोप्न थालिसकेको छ । दशैंका बेला

खोलाको सिमानाभित्रका भौतिक संरचना हटाउँदै भरतपुर महानगर

काठमाडौं– चितवनको भरतपुर महानगरपालिकाले पुङ्गी खोलाको सिमानामा परेका भवनहरू भत्काउने

बाबुको हत्या अभियोग छोरा पक्राउ

सिराहा– आफ्ना बाबुको हत्या अभियोगमा औरही गाउँपालिका–३ खजनपुरका शैलेन्द्रकुमार यादवलाई

तनहुँ मालपोतद्वारा ३६ करोड राजस्व संकलन

तनहुँ– मालपोत कार्यालयले आर्थिक वर्ष २०८०-८१ मा रु ३६ करोड

दाङको गँगटे तालमा मोटरबोट सञ्चालन

दाङ– दाङको घोराही उपमहानगरपालिका–१६ बाहुनडाँडामा रहेको गँगटे तालमा स्थानीय वेदबहादुर