धादिङमा ब्रोम्दिङ पर्यटन महोत्सव भव्य रुपमा सम्पन्न, घुम्न जानेको संख्या बढ्दै « Khabarhub

धादिङमा ब्रोम्दिङ पर्यटन महोत्सव भव्य रुपमा सम्पन्न, घुम्न जानेको संख्या बढ्दै


१७ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नयाँ पर्यटकीय तथा भर्जिन गन्तव्य ब्रोम्दिङको ब्राण्डिङ र एक्सप्लोर गर्दै ‘ब्रोम्दिङ पर्यटन महोत्सव’ भव्य रुपमा सम्पन्न भएको छ । बुधबार पहिलोपटक प्राकृतिक सुन्दरता र अलौकिक बनावट तथा दृश्यले भरिपूर्ण ब्रोम्दिङ डाँडामा पर्यटन महोत्सव गर्दै २०८० मीटरको उचाईमा रहेको ब्रोम्दिङको ब्राण्डिङ र एक्सप्लोर गरिएको हो ।

बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, अर्थमन्त्री बहादुरसिंह लामा, पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाल, बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण थपलिया (विवेक), नाट्टाका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ, पर्यटन समितिका उपसभापति अच्युत गुरागाईं, नेपाल अटोमोबाइल्स एशोसिएसन (नासा)का कार्यकारी निर्देशक गोविन्द भट्टराई, नाट्टा मधेस प्रदेशका अध्यक्ष मोहन शर्मा, एनटीपी मल्टिमिडिया ग्रुपका अध्यक्ष तथा नेपाल पर्यटन महोत्सवका संस्थापक विष्णु विवेक, एक्सपल्स राइडर्स नेपाल, क्लबका अध्यक्ष कुन्दन श्रेष्ठ, गायक डेभिड शंकर र ब्रोम्दिङकै पत्रकार तथा अभियान्ता चन्द्र तामाङसहित सरोकारवालाले पहिलोपटक आयोजित ब्रोम्दिङ पर्यटन महोत्सवमा पर्यटकका लागि नयाँ र उत्कृष्ट गन्तव्य ब्रोम्दिङको ‘एक्सप्लोर’ गरेका हुन् ।

बेनीघाट रोराङ गाउँपालिका र एनटीपी मल्टिमिडिया ग्रुपले संयुक्त रुपमा आयोजना गरेको ब्रोम्दिङ पर्यटन महोत्सवमा शैलुङ र दामनको विशेषता भएको ब्रोम्दिङ पर्यटकका लागि नयाँ र भर्जिन गन्तव्य घोषणा गरिएको हो ।

ब्रोम्दिङको एक्सप्लोर गर्न काठमाडौँबाट पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाल र नाट्टाका निवर्तमान अध्यक्ष अच्युत गुरागाईको नेतृत्वमा पत्रकार, कलाकार र सरोकारवाला तथा एक्सपल्स राइडर्स नेपाल, क्लबका अध्यक्ष कुन्दन श्रेष्ठको नेतृत्वमा २५ जना राइडर्स तथा भ्लगर ब्रोम्दिङ पुगेका थिए ।

बाठमाडौँबाट दुई वटा स्कार्पियोमा पत्रकार, कलाकार तथा सरोकारवाला र २५ वटा बाइकमा पुगेका बाइक राइडर्सलाई बेनीघाट रोराङ गाउँपालिकाको चालिसे, थमभन्ज्याङ, जरुङ र ब्रोम्दिङमा भव्य स्वागत गरिएको थियो ।

वडाध्यक्ष जीवनसिंह तामाङको नेतृत्वमा स्थानीय सरोकारवाला, आमा समूह, युवा समूह तथा मूल आयोजक समितिले थमभन्ज्याङ, जरुङ र ब्रोम्दिङ डाँडामा टीका र सयपत्री माला लगाएर काठमाडौँबाट पुगेका पर्यटन सरोकारवाला, पत्रकार, कलाकार, भ्लगर र राइडर्सलाई भव्य रुपमा स्वागत गरेका थिए । पहिलोपटक काठमाडाैँबाट गएको सरोकारवालासहितको ब्रोम्दिङ एक्सप्लोर गरेपछि आन्तरिक पर्यटक बढ्ने अपेक्षा गरिएको छ ।

‘छोटो समयको तयारीमा पनि दशैँ र तिहारको समय पारेर पर्यटन बोर्डका उपाध्यक्ष, नाट्टाका निवर्तमान अध्यक्षसहित पत्रकार, भ्लगर, कलाकार र सरोकारवाला पुगेर ब्रोम्दिङको एक्सप्लोर गर्न सफल भएका छौँ’ महोत्सवका संयोजक तथा एनटीपी मल्टिमिडिया ग्रुपका अध्यक्ष विष्णु विवेकले भने, ‘पहिलेदेखि नै उत्कृष्ट रहेको ठाउँ प्रचारप्रसार र ब्राण्डिङ नपुगेर ओझेल परेको भएपनि अब ब्रोम्दिङ भर्जिन गन्तव्य बन्छ । सुर्योदय र सुर्यास्तसँगै सेता हिमालको दृश्यका लागि ‘नयाँ नगरकोट’का रुपमा ब्रोम्दिङ घुम्न काठमाडौँ, पोखरा र चितवनबाट पनि पर्यटक आउने बाटो खुलेको छ ।’

बुधबार दिउँसो पर्यटन सरोकारवाला र राइडर्स पुगेसँगै सुरु भएको ब्रोम्दिङ पर्यटन महोत्सवको उद्घाटन गर्दै बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले ब्रोम्दिङ पर्यटकका लागि आकर्षक र उत्कृष्ट गन्तव्य रहेको भन्दै अब बजेट छुट्याएर चालिसेदेखि ब्रोम्दिङसम्मको बाटो कालोपत्रे गर्ने प्रतिबद्धतासहित थप पूर्वाधार पनि निर्माण गर्ने बताए ।

मनोरम दृश्यसहित सेता हिमश्रृङ्खला देखिने ब्रोम्दिङलाई धादिङ मात्रै नभई प्रमुख पर्यटकीय गन्तव्य बनाउन प्रदेश सरकारले आउँदो वर्षमा बजेट छुट्याएर विकास गर्ने प्रतिबद्धता पनि उनले जनाए ।

‘ब्रोम्दिङ आफैँमा उत्कृष्ट पर्यटकीय गन्तव्य हो । यो महोत्सवले प्रचारप्रसारमा ठूलो सहयोग गर्दै नयाँ पर्यटक आउनेमा विश्वस्त छु’ महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री जम्मकट्टेलले भने, ‘यो महोत्सवले गर्दा पर्यटन क्षेत्रका सरोकारवाला, पत्रकार, भ्लगरसँग आउने मौका मिल्यो । ऐतिहासिक रुपमा एक्सप्लोर भएको यो ठाउँलाई थप प्रचारप्रसार गर्दै प्रमुख पर्यटकीय गन्तव्य बनाउन हामी सबै प्रयास गर्नेछौँ ।’

साथै उनले चालिसेदेखि ब्रोम्दिङसम्मको बाटो पीच गर्ने र मकवानपुरको मनहरीदेखि नयाँ ट्रयाक खोलेर विरगञ्ज, हेटौंडा आउने भारतीय पर्यटकलाई सोझै ब्रोम्दिङ पुग्ने वातावरण बनाउने पनि बताए ।

यस्तै कार्यक्रममा बागमती प्रदेश सरकारका अर्थमन्त्री बहादुरसिंह लामाले चालिसेदेखि ब्रोम्दिङसम्मको बाटो कालोपत्रे गर्ने बजेट छुट्याइसकेको भन्दै चाँडै काम सुरु भएर सम्पन्न हुने विश्वास व्यक्त गरे । आउँदो वर्ष थप बजेट विनियोजन गरेर ब्रोम्दिङको पर्यटन विकासका लागि पूर्वाधार निर्माण गर्ने बताए ।

यस्तै पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले ब्रोम्दिङ नयाँ र उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा एक्सप्लोर भएको बताए । अब ब्रोम्दिङलाई विकास गर्न स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले निरन्तर काम गर्नुपर्ने उनले बताए ।

महोत्सवमा नेपाल उद्योग वाणिज्य महासंघ, पर्यटन समितिका उपसभापति तथा नाट्टाका निवर्तमान अध्यक्ष अच्युत गुरागाईंले ब्रोम्दिङ उत्कृष्ट गन्तव्य रहेकाले अब बाटोलाई कालोपत्रे गर्नुपर्ने प्रमुख आवश्यकता रहेको बताए ।

‘म नेपाल र विदेशका धेरै ठाउँ पुगेको छु । तर जुन यहाँको मौसम, प्राकृतिक स्वरुप र ब्रोम्दिङको बनावट छ, त्यो साच्चै नै उत्कृष्ट छ,’ नाट्टाका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ, पर्यटन समितिका उपसभापति अच्युत गुरागाईंले भने, ‘अब यो ठाउँसम्म आउने बाटो कालोपत्रे गर्न सकियो भने यो पर्यटकका लागि साइट सीन गर्ने नयाँ नगरकोट, बन्दीपुर र सराङकोट बन्न सक्छ ।’

यस्तै वडाध्यक्ष जीवनसिंह तामाङले पहिलोपटक यस गाउँको एक्सप्लोर गरिएको भन्दै अब पूर्वाधार निर्माणको काम चरणबद्ध रुपमा गर्दै जाने बताए । यस्तै ब्रोम्दिङका एक्सप्लोरर चन्द्र तामाङले ब्रोम्दिङ भर्जिन डेस्टिनेसनका रुपमा चिनिएको भन्दै अब यसको चरणबद्ध विकास र प्रवद्र्धनका लागि थप काम र कार्यक्रम गर्दै जाने बताए ।

ब्रोम्दिङका विशेषता हेर्न कसरी पुग्ने ?
नागढुंगा–मुग्लिन खण्डको चालिसेबाट झण्डै २२ किलोमीटर उकालो मोटरबाटोको यात्रा गरेपछि पुगिने ब्रोम्दिङ अलौकिक छ । समग्रमा काठमाडौँदेखि ८० किलोमीटर दूरीको यात्रा गरेर ब्रोम्दिङ पुग्न सकिन्छ । समुन्द्र सतहदेखि २०८० मीटरको उचाईमा रहेको ब्रोम्दिङ डाँडाबाट गणेश हिमाल, अन्नपूर्ण, मनास्लु र माछापुच्छे देखिन्छन् । शैलुङका जस्ता थुम्का र दामन तथा सिमभन्ज्याङको जस्तो चिसो हावाले गर्दा ब्रोम्दिङ पर्यटकका लागि नयाँ पर्यटकीय गन्तव्य बनिरहेको हो ।

काठमाडौँदेखि मुग्लिन जाने क्रममा तीन घण्टाको मोटर यात्रामा धादिङको चालिसे पुग्न सकिन्छ । चालिसेबाट उकालो लागेमा बढीमा दुई घण्टामा सिमभन्ज्याङ पुग्न सकिन्छ ।
सिमभन्ज्याङदेखि दुई वटा बाटो छन् । सहज बाटोका लागि सोझै ब्रोम्दिङ जान सकिन्छ । तर होमस्टे लगायत गाउँ र बस्ती हेर्नका लागि जरुङ झर्नुपर्छ । जरुङ तामाङ समुदायका घर भएको बस्ती हो । जहाँ ब्रोम्दिङ जाने पर्यटकलाई स्वागत गर्ने गरिन्छ ।

समग्रमा काठमाडौँदेखि ५ वा ६ घण्टाको यात्रामा ब्रोम्दिङ पुग्न सकिन्छ । ब्रोम्दिङ पुगेपछि बिहानको सुर्योदय र बेलूकीको सुर्यास्त सुन्दर देखिन्छ । अनि मौसम खुलेको समय ब्रोम्दिङबाट अन्नपूर्ण, गणेश हिमाल लगायत हिमश्रृङ्खला देखिन्छन् ।

पहिलोपटक महोत्सव गरेर ब्रोम्दिङको एक्सप्लोर गरेका बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण थपलिया ९विवेक०ले अब आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बनेका कारण पूर्वाधार निर्माण गर्ने चुनौति थपिएको बताए ।

‘पहिलेदेखि यो ठाउँ पर्यटकीय क्षेत्र बनिरहेकै हो । अब यो महोत्सव गरेपछि झन् पर्यटक थपिनेमा विश्वस्त छौँ’ उनले भने, ‘तामाङ बस्तीमा होमस्टे निर्माृण गरेर पर्यटकको बसाई लम्ब्याउने गन्तव्यका रुपमा ब्रोम्दिङको विकास गर्छौँ ।’

नेपाल पर्यटन महोत्सव, ब्रोम्दिङ संस्करण आयोजना गरेर एनटीपी मल्टिमिडिया ग्रुपले नेपाल पर्यटन बोर्ड, नाट्टा, टान, एनफएनसीसीआई, पत्रकार, भ्लगर, बाइक राइडर्स लिएर पहिलोपटक ब्रोम्दिङको ‘एक्सप्लोर’ गरेको अध्यक्ष तथा संयोजक विष्णु विवेकले बताए । ब्रोम्दिङको एक्सप्लोर गर्न सुरुदेखि नै स्थानीय तथा युवा पत्रकार चन्द तामाङले अभियान चलाएका हुन् । उनकै नेतृत्वमा ब्रोम्दिङ पर्यटन विकास समिति पनि गठन भएको छ ।

यसअघि ताप्लेजुङ–दार्चुला बाइक टूर गरिसकेका पत्रकार तथा संयोजक विष्णु विवेक र पत्रकार तथा राइडर्स चन्द्र तामाङले ब्रोम्दिङ एक्सप्लोर गर्न महोत्सव आयोजना गर्ने योजना बनाएका थिए । बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष विवेकले पनि थप साथ, सहयोग र बजेट दिने बचन दिएपछि बुधबार ऐतिहासिक कार्यक्रम गरेर भर्जिन ‘ब्रोम्दिङ एक्सप्लोर’ गरिएको हो ।

आफ्नो गाउँठाउँको प्रचारप्रसार र एक्सप्लोर गर्न पर्यटन सरोकारवाला र आन्तरिक पर्यटक पुगेपछि उनीहरुको भव्य स्वागत गर्दै ब्रोम्दिङका स्थानीयले खुशी व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  ८ : १० बजे

वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलको निधन

जनकपुरधाम– मैथिली साहित्यका अग्रणी स्रष्टा, भाषाविद् तथा शिक्षाविद् डा. राजेन्द्रप्रसाद

कास्की अन्नपूर्णवासीको निःशुल्क स्वास्थ्य बीमा

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षदेखि पालिकाभित्रका सबै नागरिकलाई

रोहित पौडेलको कप्तानी यात्रालाई लिएर पारस खड्का भावुक, भने- ‘हामीलाई तिम्रो अझै खाँचो छ’

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) का सचिव एवं पूर्वकप्तान

कोरोला नाका जोड्ने घमी खोला पुल निर्माण सम्पन्न

मुस्ताङ– उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत जोमसोम–कोरोलानाका जोड्ने मुस्ताङको लो

नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान पदबाट रोहित पौडेलको बिदाइ, क्यानले दियो धन्यवाद

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय पुरुष क्रिकेट