म्याग्दीको बेनीमा दुई सय वर्ष पुरानो बर्खेनाच प्रदर्शन | Khabarhub Khabarhub

म्याग्दीको बेनीमा दुई सय वर्ष पुरानो बर्खेनाच प्रदर्शन


२ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दी सदरमुकाम बेनीमा दुई सय वर्ष पुरानो बर्खेनाच देखाइएको छ ।

दुई सय वर्षअघि बेनीमा बस्ती बसेदेखि नै घण्टाकर्ण चर्तुदर्शीदेखि हरितालिका तीजको दिनसम्म एक महिनाको अवधिमा विभिन्न मौलिक नाच देखाइने गरेको हो । बेनीको सङ्गमचोकमा सोमबार साँझ बर्खेनाचको समापन गरिएको हो ।

बर्खेनाचअन्तर्गत तीजको दिनमा दानवीय स्वरूपको लाखेलाई भगवान् श्रीकृष्णले बध गरेपछि असत्यमाथि सत्यको विजयी हुने सन्देशसहित बर्खेनाच समापन गरिएको नेपाल भाषा मंकाखलः म्याग्दीका पूर्वअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

लाखे र श्रीकृष्णको लडाइँ झल्काउने नाच अवलोकन गर्न सङ्गमचोकमा बजारवासीको भीड लागेको थियो । यस वर्ष बर्खेनाचअन्तर्गत लाखे, हनुमान, घोडा, गोरु, रोपाइँ, नागनागिनी, धानको बाला र जोगीनाच देखाइएको थियो ।

बर्खेनाचमा परापूर्वकालमा समाजमा दुःख दिएको र विकृति फैलाएको घण्टाकर्ण नामको राक्षसको हत्यापछि राक्षसकी श्रीमतीले पति वियोगमा गरेको चरित्रलाई देखाउने गरिन्छ । 

जनैपूर्णिमा र त्यसको भोलिपल्ट दुई दिन वर्षभरि दिवङ्गत भएका व्यक्तिहरूको सम्झनामा नागनागिनी नाच देखाइएको थियो ।

मंका खलः अन्तर्गतको ल्याम्ह पुचःको अगुवाइ र मैजु खलःको व्यवस्थापनमा बर्खेनाच देखाइएको हो । परम्परागतरूपमा देखाइँदै आइएको बर्खेनाचलाई संरक्षण गर्दै हराएर जाने अवस्थामा पुगेका नाचलाई समेत बर्खेनाचमा निरन्तरता दिइएको छ । यस वर्षको बर्खेनाचमा करिब दश वर्षपछि धानको बाला नाच देखाइएको हो ।

मंका खलःले दुई सय वर्ष पुरानो बर्खेनाचको निरन्तरताका लागि नयाँ कलाकारलाई तालिम दिएको छ । विभिन्न नाचमा ४० जनासम्म कलाकार सहभागी हुने गर्छन् । 

आधुनिकताको प्रभावले मौलिक र रैथाने संस्कृति लोप हुँदै गइरहेको सन्दर्भमा बेनीको बर्खेनाचलाई जीवन्त राखिएको नेपाल भाषा मंका खलः म्याग्दीका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताए ।

बेनी नगरपालिकाको आर्थिक सहयोगमा युवायुवतीलाई बर्खेनाचसम्बन्धी तालिम दिइएको छ । गत भदौ १८ गतेदेखि सुरु भएको तालिम सोमबार सम्पन्न भएको हो ।

बर्खेनाच यहाँका नेवार समुदायको सांस्कृतिक पहिचानका रूपमा रहे पनि पछिल्लो समय यसको निरन्तरता र संरक्षणका लागि अन्य समुदायको समेत सहभागिता हुन थालेको छ । बर्खेनाचमा मृदङ्ग र मादलको तालमा नृत्य देखाउने गरिन्छ । सबैजसो नाचमा परम्परागत समाजको चित्रण गरिएको हुन्छ ।

प्रकाशित मिति : २ आश्विन २०८०, मंगलबार  ९ : १२ बजे

बेनी बजार चिनाउने माध्यम : ‘सङ्गीत, संस्कृति र प्रकृति’

म्याग्दी– कालीगण्डकी र म्याग्दी नदीको दोभानमा अवस्थित बेनी बजारको चिनारी

पृथ्वीराजमार्ग सडक विस्तार : पूर्वी खण्डमा ७४ प्रतिशत प्रगति

तनहुँ– पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तार कार्यले तीव्रता पाएको छ ।

जब अमिरले भने- ‘माँकसम म रोमान्टिक छु, विश्वास नभए मेरो दुई पत्निलाई सोध्नू’

काठमाडौं – बलिउड नायक अमिर खान अहिले फिल्म प्रचारमा दौडिरहेका

जनशक्ति अभावले अल्लो उद्योग बन्द

पर्वत– विभिन्न सेवा सुविधाको खोजीमा गाउँबाट बसाइँसराइ बढ्दै गएपछि पर्वतको

ऐतिहासिक ‘घरपझोङ किल्ला’ भग्नावशेषमा परिणत

म्याग्दी– संरक्षणको अभावमा मुस्ताङको ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत भएको