दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


५ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

आज दिनभर सुदूरपश्चिमका कानूनमन्त्री सिंहको मृत्यु, अमेरिकाविरुद्ध नेपालको उत्कृष्ट जित, विशेष अदालतद्वारा चुडामणि शर्मासहित तीन जनालाई ९ वर्षभन्दा बढी कैद सजाय, राष्ट्रपति पौडेलको मुटुमा स्थायी पेसमेकर राखियोलगायतका समाचारले प्रमुख स्थान पाए ।

सुदूरपश्चिमका कानूनमन्त्री सिंहको मृत्यु

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा परी मृत्यु भएको छ । उनको कोहलपुर मेडिकल कलेज, नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मंगलबार धनगढीबाट बझाङ जाँदै गरेका मन्त्रीको गाडी दुर्घटनामा परेको थियो । दुर्घटनामा उनकी श्रीमती अमृतादेवी र भाउजु जानकीको घटनास्थलमा मृत्यु भएकोमा सिंहको उपचारको क्रममा ज्यान गएको हो ।

अमेरिकाविरुद्ध नेपालको उत्कृष्ट जित

आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा अमेरिकालाई पराजित गरेको छ । जिम्बावेको ताकशिंगा स्पोट्र्स क्लबमा मंगलबार भएको खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको हो । टस हारेर ब्याटिङ गरेको अमेरिकाले नेपाललाई दुई सय आठ रनको विजयी लक्ष्य दिएको थियो ।

जबाफी ब्याटिङ गरेको नेपालले ४३ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । नेपालका लागि भीम सार्कीले सानदार अर्धशतक बनाए । उनले ११४ बलमा ७७ रनको महत्वपूर्ण योगदान गरे । त्यस्तै दीपेन्द्र सिंह ऐरीले ३९ रन बनाए भने कुशल भुर्तेलले ३९ र रोहित पौडेलले १६ रन बनाएका थिए ।

विशेष अदालतद्वारा चुडामणि शर्मासहित तीन जनालाई ९ वर्षभन्दा बढी कैद सजाय

विशेष अदालतले कर फर्छ्यौट आयोगका तत्कालीन पदाधिकारी चुडामणि शर्मासहित तीन जनालाई ९ वर्षभन्दा बढी कैद सजाय सुनाएको छ ।

शर्मा र उमेशप्रसाद ढकाललाई ९ वर्ष तथा लुम्बध्वज महतलाई ९ वर्ष एक महिना कैद सजाय सुनाइएको हो ।

राष्ट्रपति पौडेलको मुटुमा स्थायी पेसमेकर राखियो

राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा स्थायी पेसमेकर राखिएको छ । उनलाई ७२ घण्टाको नियमित निगरानीका क्रममा मुटुको चाल बेलाबखतमा कम हुने देखिएपछि विशेषज्ञको राय परामर्शमा पेसमेकर राखिएको हो ।

त्रिभुवन विश्वविद्यालय चिकित्सक शास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार राष्ट्रपति पौडेलको शरीरमा सफलतापूर्वक पेसमेकर राखिएको अस्पतालका कार्यकारी निर्देशक प्रा डा रत्नमणि गजुरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नवीन सोच देशको सामाजिक रुपान्तरणका निम्ति अपरिहार्य : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवीन सोच राष्ट्र र जनताको पक्षमा सामाजिक रुपान्तरणका निम्ति अपरिहार्य हुने बताएका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा आज आयोजित प्रतिभा डबली कार्यक्रमलाई सम्बोधन गर्दै उनले सामाजिक रुपान्तरणका लागि नयाँ सोच जरुरी रहेको बताएका हुन् ।

प्रधानमन्त्री दाहालले भने, “मैले विगतदेखि कहिले विद्रोहमा, कहिले शान्ति सम्झौतामा त कहिले संविधानसभामा र अहिले पनि फेरि एउटा नयाँ ध्रुवीकरण र प्रक्रियाका निम्ति सामाजिक रुपान्तरणको अभियानमा जारी राखेको पहल पनि नवीन सोचका कारण नै सम्भव भएको हो ।” उनले हरदम आफ्नो विचार, सोच र शैलीलाई सृजनात्मक ढङ्गले विकास गर्ने व्यक्तित्वलाई  आफूले सधैँ उच्च मूल्याङ्कन गर्ने गरेको बताए ।

समाजवादी मोर्चाका दलहरुको अस्तित्व संकटमा : एमाले सचिव भट्टराई

नेकपा एमालेका सचिव योगेश भट्टराईले समाजवादी मोर्चामा रहेका दलहरुको अस्तित्व संकटमा रहेको बताएका छन् ।

मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सचिव भट्टराईले समाजवादी मोर्चा बनाएका माओवादी, जसपालगायत दलहरु अस्तित्वको संकटमा रहेको बताएका हुन् ।

सरकारले नेपाल-चीन सीमानाको तातोपानीमा सीमा चिह्न पुनःस्थापनाका लागि टोली गठन गर्ने

सरकारले नेपाल-चीन सिमानाको तातोपानी झ्याङ्मोमा सीमा चिह्न पुनःस्थापनाका लागि नेपाली टोली गठन गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल चीन सिमानाको तातोपानी झ्याङ्मोस्थीत सीमा चिन्ह स्तम्भ ५३ (१) लाई यथास्थानमा संयुक्त रुपमा पुनःस्थापनाका लागि नेपाली टोली गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

समाजवादी मोर्चाप्रति बाबुराम भट्टराईको टिप्पणी– ‘सबैलाई सधैँ ठग्न सकिन्न’

पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सोमबार घोषणा भएको समाजवादी मोर्चाको निर्माणप्रति आशङ्का व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटर मार्फत उनले जालझेलले समाजवादको निर्माण नहुने भन्दै मोर्चा संसदीय अंकगिणत मिलाएर सत्ता बार्गेनिङको अंश बन्न नहुने टिप्पणी गरे ।

चार महिनाको श्रमदानपछि चितवनको रामनगरमा खानेपानी

चितवनको रामनगरमा झन्डै चार महिना श्रमदान गरेर खानेपानी ल्याइएको छ । भरतपुर महानगरपालिका–२९ स्थित खहरे खोलाको पानी ल्याउन भरतपुर महानगरपालिका–१ का स्थानीयले श्रमदान गरेका हुन् । उनीहरूलाई चितवनका विभिन्न क्षेत्रका नागरिकले पनि श्रमदानमा साथ दिएका थिए ।

भरतपुरको रामनगर, ठिमुरा र देवघाट क्षेत्रका बासिन्दालाई पानी खुवाउन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले श्रमदानको सुरुवात गरेका थिए । उनले स्थानीयलाई गरेको वाचाअनुसार नै निर्धारित समयमा खानेपानी ल्याइएको हो ।

बाढीपहिरोको क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी : हालसम्म १० जनाको मृत्यु, २६ बेपत्ता

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गत शनिबारयता आएको बाढीपहिरोबाट भएका क्षतिबारे प्रतिनिधिसभालाई जानकारी दिएका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा गृहमन्त्री श्रेष्ठले शनिबारयता आएको बाढीपहिरोबाट १० जनाको मृत्यु भएको र २६ जना बेपत्ता भएका जानकारी दिएका हुन् । शनिबार राति देखिको अविरल वर्षाका कारण सङ्खुवासभा, ताप्लेजुङ र पाँचथर जिल्लामा बढी  क्षति भएको छ ।

‘भारतीय नक्सामा नेपाली भूमि समेटिएकोबारे भारतसँग छलफल गर्न दूतावासलाई निर्देशन दिइसक्यौँ’

परराष्ट्रमन्त्री एनपी साउदले भारतीय संसदमा रहेको नक्सामा नेपाली भूमि समेटिएको विषयमा भारतीय पक्षसँग छलफल गर्न नयाँ दिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन दिइसकेको जानकारी दिएका छन् ।

मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा मन्त्री साउदले भारतका प्रवक्ता र विदेशमन्त्रीले समेत यस विषयमा बोलिसकेको अवस्थामा पुनः भारतीय पक्षसँग छलफल गरी रिपोर्ट गर्न दूतावासलाइ निर्देशन दिइसकेको जानकारी दिएका हुन् ।

चलाउनेको समर्थन गर्दै त्रिविका प्राध्यापकद्वारा उपकुलपति कार्यालयअगाडि प्रदर्शन

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेको समर्थन गर्दै प्राध्यापकहरुले किर्तिपुरस्थीत उपकुलपतिको कार्यालयअगाडि प्रदर्शन गरेका छन् ।

चलाउनेमाथि सांघातिक हमला गर्नेहरुलाई सरकारले उन्मुक्ति दिन खोजिएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् । उपकुलपति कार्यालयअगाडि अनसन सुरु गरेका चलाउनेप्रति समर्थन जनाउदै प्रगतिशील प्राध्यापक संगठनले प्रदर्शन गरेको हो ।

सेयर बजारमा दोहोरो अंकको गिरावट

पछिल्लो समय निरान्तर बढेको सेयर बजारमा मंगलबार दोहोरो अंकको गिरावट देखिएको छ ।

मंगलबार नेप्से सूचक २६.५७ अंकले घटेर २०६४.८३ विन्दुमा पुगेको छ । मंगलबार ४ अर्ब ११ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । यसअघि लगातार ९ दिनसम्म बढेको सेयर बजारमा सोमबार पनि सामान्य गिरावट देखिएको थियो ।

प्रकाशित मिति : ५ असार २०८०, मंगलबार  ९ : ०० बजे

कालीगण्डकी खोँचमाथिको स्काइ क्याफेमा पर्यटनमन्त्री पाण्डे

कुश्मा– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पर्वतकाे द

नारायणघाट–बुटवल सडक विस्तारले गति लिँदै

नवलपरासी– राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाइएको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत

ट्रम्पसँग वार्ता गर्न वासिङ्टन पुगे नेतान्याहु

वासिङ्टन – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग

लुम्बिनी प्रदेशले आज स्थापना दिवस मनाइँदै

तुलसीपुर– लुम्बिनी प्रदेशले आज आफ्नो स्थापना दिवस मनाउँदैछ । प्रदेशको

राष्ट्रपति पौडेलबाट वसन्त श्रवण

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले श्रीपञ्चमी (वसन्त पञ्चमी)का अवसरमा वसन्त श्रवण