काठमाडौँ उपत्यकामा विस्तारका सडक सम्पन्न हुने चरणमा « Khabarhub

काठमाडौँ उपत्यकामा विस्तारका सडक सम्पन्न हुने चरणमा


७ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– झन्डै आठ वर्ष पहिले सुरु भएका काठमाडौँ उपत्यकामा विस्तारका सडक सम्पन्न हुने चरणमा पुगेका छन् । सुरुआती वर्षमा जग्गा प्राप्त नहुँदा त पछिल्ला वर्षमा कहिले कोभिड त कहिले निर्माण सामग्रीको अभावलगायतका कारणले लामो समय लागेका यी सडक अब सम्पन्न हुन लागेका हुन् । 

विस्तारको सडक निर्माण कतैकतै थोरै मात्रै बाँकी रहेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाका सूचना अधिकारी महानन्द जोशीले बताएका छन् । उनका अनुसार कुनैमा ओभरले बाँकी, कुनैमा रंग लगाउन त कुनैमा पैदल यात्रु मार्ग बनाउन गरी थोरैथोरै मात्रै बाँकी रहेको छ । उनले भने, ‘ती काम पनि सकाएर ठेक्का टुङ्ग्याउन लागिएको छ ।’

हाल सम्पन्न हुन लागेकामा काठमाडौँ उपत्यकाका तीन जिल्लाका सडक छन् । काठमाडौँमा त्रिपुरेश्वर–कलङ्की–नागढुङ्गा सडक, चाबहिल–साँखु, जोरपाटी–सुन्दरीजल सडक ललितपुरमा ढोलाहिटि–लेले सडक, नख्खु–भैँसेपाटी सडक, कर्मनाशा खोला–गोदावरी सडक, इमाडोल–लामाटार सडक छन् । भक्तपुरमा पेप्सीकोलाबाट सानोठिमी हुँदै सूर्यविनायकसम्मको सडक रहेको छ । 

विगतमा अलि बढी समस्या चाबहिल–साँखु सडकमा रहेको सूचना अधिकारी जोशीले बताए। पहिले समस्या रहेको तिवारी टोल र सल्यानटारमा काम भइसकेको छ । पहिले समस्या भएको चाबहिलदेखि सुन्दरीजल सडक, त्रिपुरेश्वरबाट कलङ्की हुँदै नागढुङ्गा सडक सबै सम्पन्न भइसकेका छन् । उनले भने, ‘कलङ्की–नागढुङ्गामा खानेपानी, बिजुलीले खनेको ठाउँमा मात्रै थोरै काम बाँकी छ ।’

काम बाँकी रहेका सडकमा थली, भैँसेपाटी, ढोलाहिटी–सुनाकोठी रहेका छन् । यिनमा पनि बाँकी काम छिटै सम्पन्न गर्ने आयोजनाको तयारी रहेको छ । सबैले चासोका साथ हेरेको नख्खुबाट भैँसेपाटीसम्मको सडकमा मुख्य काम सकिएर थोरै छेउछाउका काम मात्रै बाँकी छन् । 

निर्माणको काम भइसकेका सडक पनि धेरै हस्तान्तरण हुन बाँकी रहेको सूचना अधिकारी जोशीले बताए। विगत वर्षमा सम्पन्न भइसकेका सडक पनि हस्तान्तरण भइसकेका छैनन् । निर्माणाधीन सडकमा मर्मतसम्बन्धी कुनै काम गर्नुपर्दा सम्बन्धित योजना कार्यालयले र हस्तान्तरण भएपछि डिभिजन सडक कार्यालयले गर्ने गर्छ । उनले भने, ‘अहिले कुनैकुनै सडकमा डिभिजनले हस्तान्तरण नभए पनि मर्मत गरिरहेकाले समस्या आएको छैन ।’

निर्माण कम्पनीले सम्पन्न गरेपछि एक वर्षसम्म त्यो सडक वा पुल मर्मत गर्नुपर्ने हुन्छ । त्यो एक वर्ष सकिएपछि नै ठेक्का सम्पन्न हुन्छ र योजना कार्यालयले सडक हस्तान्तरण गर्छ । अहिले सम्पन्न हुने क्रममा रहेका अधिकांश सडकको विसं २०७१ र विसं २०७२ मा ठेक्का सम्झौता भएको थियो । सुरुका वर्षमा सडक विस्तार हुन नसकेका कारण निर्माण अघि बढ्न सकेको थिएन । आयोजनाले २० र २२ मिटर चौडा गर्ने गरी ठेक्का गरे पनि स्थानीयको अवरोधका कारण सोअनुसार सडक अघि बढ्न सकेको थिएन ।

लामो समय निर्माण अवरूद्ध भएपछि सरकारले सबै सडकमा उपलब्ध चौडाइमै कालोपत्र गर्ने निर्णय गरेको थियो । त्यसपछि पनि कहिले कोभिडका कारणले त कहिले निर्माण सामग्री सजिलै उपलब्ध नहुँदा निर्माण चालू हुन नसकेको आयोजनाले बताउँदै आएको छ । विस्तारका अधिकांश सडक समयमै सम्पन्न नहुनुका कारण एउटै रहेको थियो । नेपाल विद्युत् प्राधिकरण, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, दूरसञ्चार सेवा प्रदायक संस्था लगायतले संरचना त्यहाँबाट सार्न लामो समय लगाएका थिए । 

सरकारले आव २०६३-६४ मा सोल्टीमोड–नागढुङ्गा सडक विस्तार गर्न आयोजनाको सुरु गरेको थियो । काठमाडौँ उपत्यका प्रवेश गर्ने मुख्य नाकामा घन्टौँसम्म जाम हुने समस्या समाधानका लागि यो सडक विस्तार भएको थियो । त्यसपछि काठमाडौँका अरु सडक ललितपुरका चक्रपथसँग जोडिने सडक, भक्तपुरमा पुरानो बाटोको सडक विस्तार अघि बढाएको थियो । यी सडक सम्पन्न हुने लामो समय लागेकाले सरकारले उपत्यकामा थप सडक विस्तारको योजना बनाएको छैन । 

–सञ्चिता घिमिरे रासस

प्रकाशित मिति : ७ असार २०८०, बिहीबार  २ : ५४ बजे

इङ्ग्ल्यान्डलाई हराएपछि मेसीले भने : अर्को उत्कृष्ट खेल खेल्यौं

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले टोलीलाई लगातार दोस्रो पटक

फिफालाई अर्जेन्टिनाविरुद्ध छानबिन गर्न बेलायतको आग्रह

लन्डन – अर्जेन्टिनाका खेलाडीहरूले इङ्ल्यान्डलाई २–१ ले हराएपछि ‘लास माल्भिनास

आजदेखि बृहस्पति अस्त, शास्त्रीय आधारमा काम्य कर्म गर्न निषेध

काठमाडौं – बृहस्पति (गुरु) आजदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा

काठमाडौं – न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं – पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध विशेष