विद्युत् आपूर्ति समस्या १५ दिनमा समाधान हुन्छ : विद्युत् प्राधिकरण « Khabarhub

विद्युत् आपूर्ति समस्या १५ दिनमा समाधान हुन्छ : विद्युत् प्राधिकरण


१० बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले कोशी प्रदेशका सुनसरी मोरङ औद्योगिक करिडोरलगायतका क्षेत्रमा देखिएको विद्युत् आपूर्तिको समस्या अल्पकालीन भएको जनाएको छ । बिनाजानकारी उद्योगहरूको विद्युत् आपूर्ति कटौती गरिएको भन्ने उद्योगीहरूबाट गुनासो आएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले त्यस क्षेत्रमा देखिएको समस्या १०-१५ दिनमा समाधान हुने र समस्यालाई बुझिदिन उद्योगीहरुलाई आग्रह गरे । 

यस वर्ष हिउँरपानी नपरेर शुख्खायाम लम्बिदा नदी प्रवाहमा आधारित जलविद्युत् आयोजनाहरूको विद्युत् उत्पादनमा करिब ३० प्रतिशत गिरावट आएको, धनुषाको ढक्केबर सबस्टेसनबाट थप विद्युत पूर्वतर्फ पठाउन प्रसारण लाइनको क्षमताले नधानेको, सप्तरीको रुपनी सबस्टेसनको बे्रकर चुँडिएको र कटैया–कुशहवा १३२ केभी प्रसारण लाइनमार्फत भारतको बिहारबाट आयात भइरहेको विद्युत् उताबाट कटौती हुँदा माग अनुसार आपूर्ति गर्न समस्या भएको कार्यकारी निर्देशक घिसिङले आइतबार ऊर्जा क्षेत्रका सञ्चारकर्मीहरुलाई जानकारी दिए । 

कार्यकारी निर्देशक घिसिङका अनुसार ताप्लेजुङ, पाँचथर र इलाममा निर्माण भएका जलविद्युत आयोजनाहरूको जडित क्षमता करिब दुई सय मेगावाट भएता पनि हिउँ-पानी नपर्दा अहिले करिब ३० मेगावाट मात्र विद्युत् उत्पादन भई काबेली करिडोर प्रसारण लाइनमार्फत प्रवाह भइरहेको छ । तर, एक दुई दिनदेखि ती आयोजनाहरूबाट विद्युत् उत्पादन बढ्दै गएकोले उद्योगहरूलाई अहिले नियमित विद्युत् आपूर्ति भइरहेको कार्यकारी निर्देशक घिसिङले बताए । 

सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगहरूलाई विद्युत् काटेका छैनौं, लाइटिङ लोडमा मात्र चलाउनु भनेका थियौं, काबेली करिडोरमा उत्पादन बढ्नासाथ उद्योगहरूलाई विद्युत् आपूर्ति दिन सुरु गरिसकेका छौं, अहिले देखिएको अल्पकालीन समस्या हो, ठूलो समस्या हैन’, उनले भने, ‘अब १०-१५ दिनमा पूर्व मनसुन सुरु हुने अनुमान गरिएको, त्यसपछि भएसँगै खोलानालामा पानीको वहाब बढेसँगै विद्युत् उत्पादन बृद्धि हुन्छ, त्यसपछि आन्तरिक रुपमा खपत गरी अतिरिक्त भएको विद्युत् जेठको पहिलो हप्ताबाट भारतर्फ निर्यात सुरु गर्छौं, यस वर्ष करिब १ हजार २ सय मेगावाट विद्युत् निर्यात हुने अनुमान गरेका छौं, निर्यात अनुमतिको स्वीकृतिका लागि भारतीय निकायहरूमा आयोजनाहरूको सूची पठाइसकेका छौं ।’ 

अहिले प्रणालीमा विद्युत्को उच्चतम् माग १ हजार ७ सय ५० मेगावाट पुगेको छ । औसत माग १ हजार ३ सय मेगावाट र आधार माग १ हजार २ सय ७५ मेगावाट रहेको छ । तराईमा गर्मी बढ्दा खेतमा सिँचाइ गर्न सिँचाइको लोड अत्याधिक बढेको छ । झापाको दमकदेखि अनारमनी क्षेत्रको मात्र विद्युत् माग ८० मेगावाट पुगेको छ । 

प्राधिकरणले कुलेखानी जलाशयलाई २४ सै घण्टा पूर्ण क्षमतामा चलाएको छ । आन्तरिक उत्पादनले विद्युत् माग धान्न नसकेपछि दैनिक रुपमा औसतमा ५ सय मेगावाट आयात गरिएको छ ।  गत वर्षभन्दा यस वर्ष जलविद्युत आयोजनाहरूको जडित क्षमता बढेता पनि पानी÷हिउँ नपर्दा देशभित्रको विद्युत् उत्पादनमा करिब ३० प्रतिशत गिरावट आएको छ । प्राधिकरणका विद्युत्गृहहरु बाहेक निजी क्षेत्रका जलविद्युतगृहको विद्युत् उत्पादन जडित क्षमताको करिब १४ प्रतिशत मात्र रहेको प्राधिकरणको अनुमान छ । 

कार्यकारी निर्देशक घिसिङले अगामी वर्षको गर्मी मौसममा अहिलेको जस्तो समस्या आउन नदिन अहिले ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन र हेटौंडा–भरतपुर–बर्दघाट–नयाँ बुटवल २२० केभी प्रसारण लाइन निर्माण जतिसक्दो छिट्टै सम्पन्न गर्ने गरी काम भइरहेको बताए । यी लाइन बनेपछि ढल्केबरबाट पूर्व र पश्चिम विद्युत प्रवाहका लागि प्रसारण लाइनको समस्या नहुने उनले थपे ।

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  ५ : ११ बजे

एसीसी प्रिमियर कप फाइनल : आशिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको चुनौती

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका संयुक्त अरब इमिरेट्स

एसीसी प्रिमियर कप फाइनल : युएईविरुद्ध गुल्सन झाको अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका अलराउन्डर गुल्सन झाले

गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते

काठमाडौँ – नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित

एसीसी प्रिमियर कप फाइनलमा आशिफ शेखको शतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका ओपनर आशिफ शेखले

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध आसिफ शेखले बनाए अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालका ओपनर