नाल्दुम–नगरकोट खानेपानी आयोजना : विकल्प खोज्न सिँचाइ प्रभावितको माग « Khabarhub

नाल्दुम–नगरकोट खानेपानी आयोजना : विकल्प खोज्न सिँचाइ प्रभावितको माग


८ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काभ्रे– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–२ नाल्दुमस्थित लुवागाउँ फेदीमा सञ्चालन हुन लागेको नाल्दुम–नगरको लिफ्ट खानेपानी आयोजनाबाट प्रभावित हुने सिँचाइ किसानले उक्त आयोजनाको विकल्प खोज्न माग गरेका छन् ।

किसानले चाखोला जलाधार क्षेत्र संरक्षण सङ्घर्ष समिति निर्माण गरी उक्त आयोजनाबाट चाखोलाको जल सिञ्चित हुने हजारौँ रोपनी जमिनमा सुक्खा हुने जनाउँदै बागमती प्रदेश सरकारसँग विकल्प खोज्न माग गरेका हुन् ।

समितिले उक्त आयोजनामार्फत काभ्रेको पानी भक्तपुरको चाँगुनारायण नगरपालिकालाई वितरण गर्ने योजना बनाएको समेत उल्लेख गर्दै बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री तीर्थ लामालाई ज्ञापनपत्र बुझाएको छ । 

जलाधार क्षेत्रका २८ कुलो–सिँचाइका एक हजार पाँच सयभन्दा बढी किसानको हस्ताक्षरसहित बुझाइएको ज्ञापनपत्रमा सिँचाइमात्र नभई छुट्टै पहिचान भएको खोला र यस खोला आसपासको क्षेत्र पर्यावरणमा समेत गम्भीर असर पर्ने तथा हजारौँ रोपनी जमिन यसै खोलाको सिँचाइ संरक्षित क्षेत्रभित्र भएकाले त्यस मन्त्रालयमार्फत बजेट विनियोजन भई नगरकोट नाल्दुम लिफ्ट खानेपानी आयोजना सञ्चालन हुने जानकारी प्राप्त भएकाले त्यस आयोजनाप्रति ध्यानाकर्षण भएको जनाएका हुन् ।

आयोजना निर्माणस्थल चाखोलाको पानीको मुहानसमेत भएको हुँदा खोलाको बगेको पानी नतान्ने गरी वैकल्पिक स्रोतको व्यवस्थापन गर्न मन्त्रालयको ध्यानाकर्षण गराएको सङ्घर्ष समितिका अध्यक्ष रुद्र लामाले बताए । 

‘बगेको पानीको मुहान फर्काउँदा चाखोला वारिपारिको सम्पूर्ण जमिन खण्डहर बन्न पुग्छ, त्यसैले किसान सबैले बेलैमा विकल्प खोज्न भनेका हौँ’, उनले भने ।

उनका अनुसार उक्त आयोजनाबाट १८ हजार रोपनी भन्दामाथि जमिनमा पानीको अभाव भई सुक्खा हुन्छ । मन्त्री लामाले आफूहरूलाई सरोकारवालासँग विशेष छलफल गर्ने आश्वासन दिएको तामाङले बताए ।

यसैबीच, उक्त आयोजनाको निर्माणाधीन बाँधका कारण पहिरो जान थालेको स्थानीय बताउँछन् । पहिरोका कारण लुवागाउँको बस्तीसमेत जोखिममा पर्ने सम्भावना बढेपछि स्थानीय आतङ्कित भएका छन् । 

हाल लगातार पानी परेसँगै त्यहाँका पाखो भित्तामा विस्तारै तलबाट पहिरो झरेर खेत र बारीमा धाँजा फाट्दै गएको स्थानीय कर्णबहादुर तामाङले बताए । उनले आयोजना सञ्चालन गर्नुपूर्व स्थानीयसँग छलफल नगरेको दुःखेसो पोखे । आयोजनाले मुहानस्थलका प्रभावितलाई क्षतिपूर्ति दिने भने पनि हालसम्म नदिएको तामाङले बताए ।

निर्माणस्थलमा पहिरो जान थालेपछि उपभोक्ता समिति र इन्जिनियर नआएको स्थानीयको भनाइ छ । स्थानीय रिठबहादुर ढकालले पहिरोका कारण आफ्नो आठ रोपनी जमिन जोखिममा परेको बताए । उनले आफ्नो कमाइखाने खेत पहिरोको जोखिममा परेपछि वडा कार्यालयमा जानकारी गराए । 

छब्बीस परिवारको बसोबास रहेको उक्त गाउँमा पहिरोका कारण हाल ११ किसानको खेत र बारीमा क्षति भएको जनाइएको छ ।

आफ्ना खेतबारीमा पहिराले क्षति पुर्‍याएपछि क्षतिपूर्ति दिनुपर्ने र आयोजना सञ्चालन गर्ने नै भए तटबन्ध बाँध्नुपर्नेसमेत स्थानीयको माग छ । 

वडाध्यक्ष राजकुमार मल्लले निर्माणाधीन खानेपानी मुहानमा गएको पहिरोको समस्याबारे जानकारी रहेको बताउँदै नगर कार्यालय तथा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयलाई पहिरो रोकथामका लागि संरक्षण पर्खाल र क्षति भएको बालीका लागि क्षतिपूर्ति दिनुपर्ने माग गरिएको बताए ।

आयोजनाले वर्ष २०८१ भित्र वडा नंं १ र २ का चार सय ८४ परिवारलाई खानेपानी पुर्‍याउने योजना रहेको जनाएको छ  । यसका लागि बागमती प्रदेश सरकारको २७ करोड ३४ लाख ६४ हजार नौ सय लागतमा उक्त लिफ्ट खानेपानी आयोजना निर्माणको काम अगाडि बढाइएको छ ।

आयोजनाको पहिलो चरणको काम १६ करोड ४८ लाख ३४ हजार दुई सयमा सम्पन्न गरिने खानेपानी उपभोक्ता समितिका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए । 

उनका अनुसार मुहान क्षेत्रमा दुई लाख लिटर क्षमताका ट्याङ्की निर्माण, मेसिन राख्ने र सुरक्षा गार्डको आवासलगायतका संरचना निर्माण हुनेछ । 

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  ११ : २४ बजे

नेपाली युवक अमृतलाई लागेको छ तस्करी आरोप, परराष्ट्रमन्त्रीले भने : युद्धअघि नै समातिएका उनी इरानी हिरासतमै छन्

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत

‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’

देउखुरी– घोराही उपमहानगरपालिका-१७ कर्जाहीमा छ वर्ष अघिसम्म जलाशय नहुँदा सुक्खापन

डाक्टरको प्रश्न- भारतबाट चिनी आएन, भाउ बढ्ने भो भनेर चिन्ता गर्ने की चिनी खान कम गर्ने ?    

करिब २५ सय वर्षअघि उखुबाट चिनी बनाउने प्रक्रिया भारतमा सुरु

सभामुखले तीन पटक नाम बोलाउँदा पनि गयल भए रास्वपा सांसद कार्की

काठमाडौं- रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद

नेप्सेमा झिनो अङ्कको गिरावट

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो