चितवनको केरामा पानामा टिआर–४ को उच्च जोखिम « Khabarhub

चितवनको केरामा पानामा टिआर–४ को उच्च जोखिम


११ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

चितवन– जिल्लामा लगाइएको केरामा पानामा (टिआर–४) को उच्च जोखिम देखिएको छ । छिमेकी जिल्ला नवपुरको त्रिवेणीमा लगाइएको केरामा यो रोग देखिएसँगै यहाँ पनि उच्च जोखिम भएको हो ।

केरामा रोगको उच्च जोखिम भएपछि व्यवसायीलाई केरा आयात गर्दा सावधानी अपनाउन अनुरोध गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनले व्यवसायी र कृषकबीचको अन्तरक्रिया आयोजना गरी केरा र बिरुवा आयात गर्दा सावधानी अपनाउन अनुरोध गरेको हो ।

केरामा लाग्ने पानामा टिआर–४ नियमनका लागि सिफारिस गरिएको प्राविधिक आचारसंहिता पूर्णरूपमा पालना गरेमा यो रोग भित्रन नसक्ने भन्दै कार्यालयले किसान र व्यवसायीलाई नियमको पालना गर्न अनुरोध गरेको छ । जिल्लामा अहिलेसम्म नदेखिएको भए पनि यहाँ यसको सङ्क्रमण हुने जीनाइन जातका केरा लगाइएकाले सावधानी अपनाउन कार्यालयले आग्रह गरेको हो ।

कार्यालयले छिमेकी जिल्लामा आइसकेका कारण यो जिल्ला पनि उच्च जोखिममा रहेको जनाएको छ । कार्यालयका सूचना अधिकारी ईन्द्रप्रसाद ढुङ्गानाले अहिलेसम्म जिल्लामा यो रोगको सङ्क्रमण नदेखिए पनि सावधानी अपनाउन अनुरोध गर्नुभयो । केराको बगानमा जैविक सुरक्षा प्रणाली अपनाउने, केरा आयात गर्दा क्रेटमा वा प्याकिङ गरेर मात्र आयात गर्न, बगैँचामा रहेको घाँस काटेर बगैँचा बाहिर लैजान नहुने, केरा फल ढुवानी गर्दा एकद्वार प्रणाली अपनाउने, केरा बगानबाट पानी बाहिर बगेर जान नदिने, नयाँ बगैँचा स्थापना गर्दा सावधानी अपनाउनुपर्ने, सङ्क्रमित क्षेत्रको नर्सरीबाट केराको बेर्ना बाहिर जान नदिनेजस्ता १८ वटा आचारसंहिता कार्यान्वयन गर्नुपर्ने उनले बताए।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइका केरा जोनका संयोजक विष्णुहरि पन्तले यो रोग केराको कोभिडभन्दा पनि डरलाग्दो हुने भन्दै उच्च सतर्कता अपनाउन सके रोकथाम गर्न सकिने बताए । उनले भने, ‘जिल्ला भित्रने केराहरू पात र डाँठबिना भित्र्याउनुपर्छ ।’ माटो, केराको डाँठ र पातबाट सर्ने भएकाले केरा आयात गर्दा यी कुरामा ध्यान दिनुपर्ने उनको भनाइ छ ।

उनले थपे, ‘अब हामी चाँडै नै नाकामा जाँच सुरु गर्छौँ ।’ केरा लिएर बाहिरी जिल्लाबाट आएका ढुवानीका साधनलाई १० प्रतिशत बिल्चिङ पाउडरले निसङ्क्रमण गर्न नाका–नाकामा काम सुरु गर्न लागिएको उनले जानकारी दिए।

केरा उत्पादक सङ्घका पूर्वअध्यक्ष यज्ञ सुवेदीले बाहिरबाट ल्याइने र जिल्लाभित्रबाटै ल्याइने केरालाई समेत प्याकिङ गरेर ल्याउन व्यवसायीलाई अनुरोध गरे। व्यवसायीले समेत यस कुरालाई कडाइका साथ पालना गर्ने बताएका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइका प्रमुख धनबहादुर थापाले भारतबाट गानो ल्याइएका बिरुवामा यो सङ्क्रमण देखिएको बताए। चितवनमा अहिलेसम्म नदेखिए पनि उच्च सावधानी अपनाउन जरुरी रहेको उनको भनाइ थियो । जिल्लामा अन्य जिल्लाबाट गानो ल्याएर किसानले खेती नगरेका कारण अहिलेसम्म देखा नपरेको उनले बताए ।

कृषि ज्ञान केन्द्र चितवनका प्रमुख झलकनाथ कँडेलले महामारी कतिखेर हुन्छ भन्दा पनि हुनै नदिनका लागि आफूहरू लागिपरेको बताए । राज्यका निकायबाट यसलाई भित्रन नदिनका लागि कार्यालय लागिपरेको भन्दै व्यवसायी र किसानले समेत यसमा ध्यान दिनुपर्ने उनले बताए। उनले भने, ‘राज्यका निकायसँग हामीले सल्लाह गरेका छौँ । सावधानी अपनाउनुपर्छ ।’

पानामा (टिआर–४) केरामा लाग्ने एक प्रकारको रोग हो । यो रोग नेपालमा पहिलोपटक टिकापुरमा देखिएको थियो । त्यसपछि अहिले त्रिवेणीमा देखिएको छ । यो माटोमा बस्ने ढुसी भएका कारण एक ठाउँबाट अर्को ठाउँसम्म सजिलै सर्न सक्ने भएकाले किसान, व्यापारी तथा अन्य सरोकारवाला सचेत रहनुपर्ने आवश्यकता देखिएको उनले बताए ।

‘पानामा’ ९टिआर–४० ले खासगरी जिनाइन, विलियम हाइब्रिडलगायत धेरैजसो केराका जातमा आक्रमण गर्ने गर्दछ । जिल्लामा जीनाइन जाताको केराखेती गरिँदै आइएको छ । यो रोग लागेमा सुरुमा पुराना पातको फेद पहेँलो हुने, त्यसपछि पातको किनारा पहेँलिन थाल्ने र पात सुकेर डाँठ भाँचिने गर्दछ ।

जिल्लामा दुई हजार दुई सय पाँच हेक्टर क्षेत्रफलमा अहिले केराखेती हुँदै आएको छ । जसमध्ये चार सय हेक्टर क्षेत्रफलमा जीनाइन केरा लगाइएको छ । प्रधानमन्त्री आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइका अनुसार विसं २०७२र७३ बाट चितवनमा यो जाताको केराखेती गरिँदै आइएको छ ।

कार्यालयका अनुसार हाल चितवनमा सात सय १२ जना व्यावसायिक किसान रहेका छन् । हालसम्म जिल्लामा दुई लाख ८० हजार बोट जीनाइनका बिरुवा वितरण गरिसकिएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहीबार  ८ : ०० बजे

अर्थ मन्त्रालयमा सरुवा र पदस्थापन प्रक्रिया लागू

काठमाडौं – अर्थ मन्त्रालयले पहिलोपटक मेरिटमा आधारित सरुवा तथा पदस्थापन

इजरायली आक्रमणमा सैन्य कमान्डरको हत्या भएको इरानको पुष्टि

एजेन्सी– इरानले इजरायली आक्रमणमा सैन्य कमान्डरको हत्या भएको पुष्टि गर्दै

संविधान संशोधनका लागि अशिम शाह नेतृत्वको कार्यदल, संसद्का सबै दललाई समेट्ने निर्णय

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको संघीय सरकारले संविधान संशोधनका लागि संविधान

संविधान संशोधनको बहसपत्र तयार पार्न कार्यदल गठन गर्ने सरकारको निर्णय

काठमाडौं– सरकारले आगामी चैत १९ गते संघीय संसद्को अधिवेशन बोलाउन

सहकारी क्षेत्रको संकट समाधान गर्न ‘सुशासन मार्गचित्र’

काठमाडौं– सरकारले सहकारी क्षेत्रमा देखिएको संकट समाधान गर्न ‘सुशासन मार्गचित्र,