बागमतीका सुकुम्बासीको अनुभूति : हामीलाई मान्छेजस्तै ठानिएन ! « Khabarhub

बागमतीका सुकुम्बासीको अनुभूति : हामीलाई मान्छेजस्तै ठानिएन !

भुईँमा भर्खरकी सुत्केरी, खानामा गुनासो



काठमाडौं – गत शुक्रबार र शनिबार परेको लगातार वर्षाले देशभर विपत्ति निम्त्यायो । २२८ जनाले ज्यान गुमाएको, २५ जना बेपत्ता रहेको र १५८ जना घाइते भएको गृहमन्त्रालयको पछिल्लो तथ्यांक छ । बाढी र पहिरोको चपेटामा काठमाडौं, ललितपुर र भक्तपुरको शहरी क्षेत्र पनि परेको छ ।

यसै सन्दर्भमा खबरहबको टोली बागमती किनारका सुकुम्बासी बस्तीका मानिसहरुको जनजीवन कसरी गुज्रिरहेको होला भन्ने चासोका साथ बागमती किनाराको स्थलगत रिपोर्टिङमा निस्कियो ।

बल्खुस्थित बागमती किनारका बाढीपीडित सुकुम्बासीलाई कीर्तिपुरको कुमारी क्लबमा राखिएको रहेछ । व्यापारिक प्रयोजनका लागि बनाइएका टिनका टहरामा उनीहरु बसिरहेका भेटिए । उनीहरुले देशमा सरकार रहेको महसुस गर्न नपाएको गुनासो पोखे ।

भुईँमा भर्खरकी सुत्केरी ! श्रीमानको राहदानी बग्यो

नेपालगञ्जकी सुविना महत (२६) एक दिनको सुत्केरी अवस्थामा भेटिइन् । उनी सोमबार बच्चालाई जन्म दिएर मंगलबार शिविरमै फर्किएकी रहिछन् । सुत्केरी सुविनाले भुईँमा एक दिनको बच्चा सुताइरहेकी थिइन्।

सुत्केरी अवस्थामा पनि राहतको खाना खाएर बस्नुपरेको भन्दै उनले चिन्ता व्यक्त गरिन् । सन्तान पाएको भनेर खुसी हुन नपाएको उनले अनुभव सुनाइन् । बच्चा नर्मल अवस्थामै जन्मिएकाले उनलाई अस्पतालले एकै दिनमा डिस्चार्ज गरिदियो र उनी फेरि पुनः चिसो भुँईमा फर्किइन् ।

सुविनाकी आमा सुत्केरी छोरीलाई राम्रो खाना खुवाउन नपाएर छटपटिएकी थिइन् ।

सुविनाले भनिन्, ‘विदेश जान भनेर श्रीमानले पासपोर्ट बनाएका थिए, पासपोर्ट र कागजपत्रसँगै भएको पैसा पनि बगायो । अब के गर्ने होला भनेर श्रीमान अत्तालिएका छन् ।

टहरोसँगै नागरिकता पनि बग्यो

किरण महत (२५) बाँकेबाट काठमाडौैं आएको ७ वर्ष भयो । उनका ४ छोराछोरी छन् । उनी एक महिनाकी सुत्केरी छन् । चारदिन यहाँ केटाकेटीसँग चिसो भुईमा सुत्दा सबै केटाकेटीले ज्वरोले थला परेको उनले सुनाइन् ।

किरण भन्छिन्, ‘यहाँ बस्न निकै कष्ट भएको छ ।’

किरणका श्रीमान् ज्यामी काम गर्छन् । श्रीमान र आफ्नोसमेत बाढीले नागरिकता बगाएर लगेको उनीहरुले बताए ।

उनी भन्छिन्, सम्पत्तिका नाममा त्यही एउटा टहरो र नागरिकता थियो, त्यो सबै बगायो । भाँडाकुँडा बगायो । राहतमा आज खानासमेत आएन ।’

किर‌णले सरकारका मान्छे कहिले आउँछन् ? भनेर प्रश्न गर्दै आफूले बाटो हेरिरहेको बताइन् ।

भनिन्, ‘पहिले पनि बाढी आउँथ्यो तर घर लगेन । योपटक त घरै लग्यो ।’

‘हजुरबुवालाई यो हालतमा देख्दा मुटु खाएको छ’

पुर्खौली घर सिन्धुपाञ्चोक भएकी एनी योञ्जन (२८) टिकटकमा मानिसहरुले सुकुम्बासीलाई ‘बगाएर लगे हुन्थ्यो’ भनेको देखेर आफू विचलित भएको बताइन् ।

उद्धार शिविरमा भेटिएकी योञ्जनले भनिन्, ‘अरु मानिसहरुका नजरमा हामी सुकुम्बासी त मान्छे नै पो रहेनछौं ।’

विपतका बेला बालेनलाई राम्रोसँग चिन्न पाएको भन्दै उनी मेयरप्रति पनि असन्तुष्ट देखिइन् । उनले भनिन्, ‘मेयरले हामी सुकुम्बासीलाई गाउँमै फिर्ता पठाइदिने भन्नुभएको रहेछ, हामी गाउँमा गरेर खाने ठाउँ नभएर काठमाडौं आएको हौं ।

बागमती किनारमा ८१ वर्षका हजुरबुवासहित योञ्जनको ६ जनाको परिवार बस्थ्यो । बाढी घरभित्र पस्दाको अवस्था सोध्नेबित्तिकै उनी भक्कानिन थालिन् । उनले निकै बेर आफूलाई सम्हाल्न सकिनन् ।

सम्हालिएर भनिन्, ‘शुक्रबारको दिन कामबाट घर फर्कँदा बाढी पसिसकेको रहेछ । म जानै सकिनँ । त्यहाँ उद्धार टिम पुगेको रहेछ । घरको सबैको प्यारो जेनी (कुकुर) हजुरबुवाले जिद्धी गरेर आफैसँग ल्याउनुभयो । उनीहरुले मान्छे कसरी जोगाउने भैराखेका बेला कुकुर छोडदिनू भनेछन् ।’

एनीको घर अब बस्न लायक छैन । उनी एनजीओमा काम गर्छिन् । उनी भन्छिन्, ‘मेरो तलब जम्मा १८ हजार छ । यत्रो पढेर पनि परिवारलाई विपतमा केही गर्न सकिनँ । अब के गर्ने भनेर झनै अत्यास लागेको छ।’

शिविरमा उनलाई रुघाको ज्वरो आएको रहेछ । जचाउँन गएर पनि पालो नआएपछि उभिन नसकेर फर्किएको उनले सुनाइन् ।

अहिले आफूहरु बसेको स्थान देखाउँदै एनीले भनिन्, ‘पाँचजना भन्दा बढी सुत्न नमिल्ने ठाउँमा २५ देखि ३० जना बस्नुपरेको छ । पानी खान पनि हारालुछ हुन्छ । यत्रो वर्ष दुःख गरेका हजुरबुवालाई यो हालतमा देख्दा मुटु खाएको छ ।’

पैसा पनि बगायो

रौतहटका समिर महत घर बनाउने मिस्त्री हुन् । सुकुम्बासी बस्तीमा रहेको टहरो बगाएपछि उनी ७२ वर्षकी आमा, तीन छोराछोरी र श्रीमतीसहित सेल्टरमा बसिरहेका भेटिए ।

राहतमा दिएको खानाले पेट नभरिएपछि चिउरा किनेर खाएको उनले सुनाए । सेल्टरमा फेर्ने लुगा, शौचालय र पानीको निकै समस्या भएको उनले गुनासो गरे ।

समिरका अनुसार उनका तीनै बच्चालाई ज्वरो र बान्ता आउन थालेको छ । आमालाई पनि ज्वरो आएको छ ।

ओढ्ने र ओछ्याउने न्यानो कपडाको व्यवस्था गरिदिन समीरले सरकारसँग आग्रह गरे । उनले भने ‘दश हजार रुपैयाँ बाढीमै गयो, केटाकेटीका लागि केही गर्न सकेको छैन । मेरो परिवारका लागि पहल गर्दिनुहोला ।’

माओवादीमा लागियो, प्रचण्डले पनि हेरेनन्

पीडितहरुलाई राखिएको टहरामा गोरखा बारपाकका रामकुमार तामाङ (३८) पनि भेटिए । गरिबीका कारण पढ्न नपाएको बताउने तामाङले ज्याला मजदुरी गरेर सुकुम्बासी बस्तीमा घर बनाएको तर बाढीले बगाएको बताए ।

बाढीबाट विस्थापित रामकुमारले भने, ‘अहिले हामीलाई ओढ्ने, ओछ्याउने र पानी तत्काल आवश्यक परेको छ । निजी संस्थाले बरु धर्म छोडेका छैनन् तर सरकार कहाँ छ, थाहा छैन ।’

रामकुमारका दुई सन्तान र श्रीमतीसहित चारजनाको परिवार छ । राति १२ बजे उद्धारकर्मीहरु पुग्दा एकतला घर डुबाएर उनीहरु दोस्रो तलामा बसेर जोगिएका थिए । उनले भने, ‘सुकुम्बासी बस्तीमा मेरो दुई तलाको बाँसको घर थियो, सबै बगाएर लग्यो ।’

माओवादी जनयुद्धमा लामो समय हिँडेका रामकुमारले पुष्पकमल दाहाल ‘प्रचण्ड’ पटक– पटक प्रधानमन्त्री हुँदा पनि सुकुम्बासीका लागि केही गर्न नसकेको गुनासो गरे । उनले भने,‘आफू बन्नका लागि मात्रै नेता बन्ने रहेछन् । अब पनि सरकारले राहत दिन्छ भन्ने कुरामा मलाई विश्वास छैन ।’

बाढी पहिरोमा परी घाइते भएकाहरुलाई निःशुल्क उपचार गरिने सरकारले घोषणा गरेको छ । रामकुमार उद्धारका क्रममा ठोक्किएर आफ्नी श्रीमतीको घुँडाको जोर्नी फुस्किएको बताउँछन् । तर, पैसा नभएर उपचार गर्न नसकेको उनले सुनाए ।

तामाङ भन्छन्, ‘पट्टी बाँधेर बसेकी छन्, घर बगाउँदा करिब ३ लाखको धनमाल क्षति भएको छ । केही पैसा थियो, त्यो पनि जोगाउन सकिनँ।

सरकारले हटाउन नसकेको सुकुम्बासी बस्ती बाढीले उखेल्यो भनेर सबैजना मख्ख परिरहेको र तमासा हेरिरहेको रामकुमारको आरोप छ।

 खानामा गुनासो

शिविरमा भेटिएका अधिकांश पीडितले राहतमा दिइएको खाना काँचो र अस्वस्थ भएको गुनासो गरे । सप्तरीका नेत्रराम माउत(२७) ले राहतमा कुहिएको चामलको भात पकाएर ल्याएको आरोप लगाए ।

उनले खबरहबसँग भने, ‘ह्वास्स गन्ध आयो । मुखमा हाल्न नसकिने खाना छ । बाध्यतामा परेकालाई जसले पनि हेप्ने रहेछन् । तर, नखाई सुखै छैन । उनीहरुले पानीमा भिजेको चामल, त्यो पनि आधा मात्रै पाकेको भात खुवाएका छन् ।

उनी भन्छन्, ‘खाना दिने मान्छेको हात पनि सफा छैन । सरसफाइको कत्ति ध्यान नदिई खाना पस्केर दिएका छन् ।’

एनीले पनि एकथरीले एकपोकामा अचार र भुटेको भात मात्रै दिएको बताइन् ।

उनले भनिन्, ‘खाना दिएको फोटो खिच्न पोज दिनसमेत लगाउनुभयो । त्यो देख्दा निकै नरमाइलो हुने रहेछ । उनीहरु आफ्नो राहत बाँडेको प्रोफाइल बनाउन आएको देखियो ।’

सबैले होइन, तर कतिपयले खाना स्वस्थकर नभएको गुनासो गरे ।

उनीहरुले भने, ‘सरकारले केही दिएको छैन, उहाँहरुले खाना दिनुभएको छ, भोकै बस्न परेको छैन । तर मानिसले खाने खाना त पाकेको र स्वस्थ्यकर हुनुपर्‍यो नि ।’

यो पनि-
बाढीले बेहाल बागमतीको सुकुम्बासी बस्ती (तस्बिरहरू)

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  १ : १५ बजे

१५ हजार करोड भन्दा बढीमा बिक्यो राजस्थान रोयल्स

काठमाडाैं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको चर्चित फ्रेन्चाइजी राजस्थान

लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राप्रति नेपालको आपत्ति, दुवै देशलाई पठाइयो कूटनीतिक नोट

काठमाडौं – नेपाली भूमि लिपुलेक हुँदै सञ्चालन गर्न लागिएको कैलाश

अमेरिका–इरान द्वन्द्व अन्त्यका लागि पाकिस्तानी मध्यस्थता प्रयास जारी

इस्लामावाद – पाकिस्तानका लागि इरानका राजदूत रेजा अमिरी मोघादामले अमेरिका–इरान

सुकुम्वासी उठिबासका साक्षी जेष्ठ नागरिक भन्छन्, धनीमानी अर्को ठाउँमा बस्छन्, गरिबले दुःख पाए

काठमाडौं- बालेन सरकारको डोजर आइतबार काठमाडौंस्थित अनामनगर देवीनगर टोलमा पुग्यो

देशका विभिन्न भागमा आगलागी, लाखौंको क्षति

काठमाडौं – देशका विभिन्न भागमा भएका आगलागीका घटनामा रु ३२