जब अबोध नातिले काखमा लुटुपुटु गराएका निस्प्राण बाजे-बज्यै देखे… « Khabarhub

जब अबोध नातिले काखमा लुटुपुटु गराएका निस्प्राण बाजे-बज्यै देखे…

विपद्‌ग्रस्त क्षेत्रमा एकपछि अर्को सङ्कट !



काठमाडौं- गत शनिबार बिहान ७० वर्षीय चेतमान तामाङ र उनकी पत्नी पुतलीमाया घरको काममा ब्यस्त थिए । दुई छोराका बाबुआमा उनीहरू अलग्गै बस्ने भएकाले बिहानैदेखि घरको काममा जुटेका थिए ।

उनीहरूको मूलकर्म कृषि र पशुपालन थियो । घरमा खसी-बाख्रा पालेका थिए । तीन दिनदेखि परेको अविरल वर्षाका कारण ठाउँ-ठाउँमा क्षति भएको खबर आइरहेको थियो ।

चेतमान र पुतलीमाया बिहानैदेखि व्यस्त भएका बेला माथिबाट पहिरो आएको थाहा पाएपछि बाहिर निस्किए । हेर्दा हेर्दै पहिरोले छोप्न थाल्यो । त्यहीबेला उनीहरूलाई खोरमा रहेका खसीबाख्राको चिन्ता लाग्यो ।

दुवैजना खोरमा रहेका खसीबाख्रा निकाल्न दौडिए । खसीबाख्रा निकाल्न नपाउँदै दुवैलाई पहिरोले छोप्यो । शनिबार पहिरोले पुरेपछि आइतबार उद्धार र खोजतलासका लागि नेपाली सेनासहितको टोली पुग्यो । साथमा रिपोर्टिङका लागि पुगेका पत्रकारहरू पनि थिए ।

सेनाले खोरसँगै पुरिएका चेतमान र पुतलीमायाको शव बाहिर निकाल्यो । दुवै शवलाई घरभन्दा केही बाहिर खुला ठाउँमा छोपेर राखियो । त्यस बेलासम्म उनका नातिले बाजे-बज्यै बितेको थाहा पाएका थिएनन् । सधैँ आफूसँग खेल्ने, माया गर्ने बाजे-बज्यैलाई उनले शनिबारदेखि नै देख्न पाएका थिएनन् ।

जब शनिबारदेखि बेपत्ता बाजे-बज्यैको हलचल नभएको अवस्थामा सेनाले शव खसीको खोरबाट निकाल्यो, तब ती अवोध बालक पनि पछिपछि लागे ।

चेतमान र पुतलीमायाका दुई छोरा छन् । कान्छा छोरा काठमाडौंमा बस्छन् भने जेठा छोरा गाउँमै छन् । तर, चेतमान र पुतलीमाया भने अलग्गै घरमा बस्दै आएका थिए । अलग्गै घरमा बस्ने हजुरबा-हजुरआमाकै काखमा हुर्किएका थिए ती ६ वर्षीय बालक ।

हजुरबा- हजुरआमाले कतिखेर बोलाउनु होला भन्ने आशमा बसेका उनलाई सुरक्षाकर्मीले अलग्गै बस्न भने । घटनास्थलमा जम्मा भएका गाउँलेलाई पनि सुरक्षाकर्मीले शवभन्दा अलिक पर बस्न सुझाए । अरु सबैले सुरक्षाकर्मीको निर्देशन मानेर अलग्गै बसे, तर ती अवोध बालक भने बाजे-बज्यैको त्यो अवस्था हेरेर टोलाइरहे ।

बज्यैको शव यी नाबालकको छैउमै उत्तानो परेर लडेको थियो । उनका हजुरबुवा चेतमानको शव अलिक पर्तिर राखिएको थियो । बाजेको शव हरियो प्लास्टिकले छोपिएको थियो भने बज्यैको शव साडी, चोलोमै देखिन्थ्यो । शवसँगै सेतो कपडा त थियो, तर छोपिएको थिएन ।

बज्यैको शवतिर हेर्दै टोलाइरहेका उनी सायद सोच्दै थिए, ‘बज्यैले मलाई कतिखेर बोलाउनुहुन्छ ?’ आफ्ना प्यारा बाजे-बज्यै अब शवमा परिणत भइसकेको हेक्का उनलाई सायदै थियो । उनी आफ्ना प्रिय बाजे-बज्यैको शव हेर्दै टोलाइरहेका बेला काभ्रेपलाञ्चोकस्थित पत्रकार मोतीराम तिमल्सिनाले तस्बिर कैद गरेका हुन् ।

‘ती बालक ६ वर्षका हुन् । उनको नाम गोप्य राखिएको छ । उनी बाजे-बज्यैको काखैमा खेलेर हुर्किएका रहेछन् । बुवाआमासँग अर्को घरमा बस्ने गरे पनि उनी प्राय: बाजे-बज्यैसँगै हुने रहेछन्’, तिमल्सिनाले भने, ‘आइतबार सुरक्षाकर्मीले शव निकालेपछि खुला ठाउँमा राख्यो । सेनाले अरू सबैलाई हटाए पनि उनी बाजे-बज्यैलाई हेरेर टोलाइरहे। त्यहाँबाट हट्नै मानेनन् । अरूलाई शव वरिपरिबाट हटाउँदा बालक भने मान्दै मानेनन् । त्यहीबेला यो तस्बिर कैद गरिएको हो ।’

सेनाले शव निकालेपछि असोज १४ मा दुवैजनाको दाहसंस्कार भइसकेको छ ।

रोशी फाँटको धानबाली सखाप पारेपछि बिलौना गर्दै वृद्धा। तस्बिर : मोतीराम तिमल्सिना

एकै वडामा ७ जना बिते

बेथानचोक गाउँपालिका-४ मा मात्रै शुक्रबार र शनिबारको पहिरोमा परेर ७ जनाले ज्यान गुमाएका छन् ।

चलाल गणेशस्थानमा दम्पतीसहित गाउँका सातजना पुरिए । अन्यत्रका दुईजनाको पनि यहीँको पहिरोले पुर्दा ज्यान गयो । वडाअध्यक्ष कृष्णबहादुर लामाले गाउँभरी पहिरो मात्रै रहेकाले एउटा टोलबाट अर्कोमा जान पनि मुस्किल रहेको बताए । गाउँमा भएको क्षति अझैसम्म एकीन नभएको उनले बताए ।

‘गाउँभरी पहिरोको कहर छ। पहिरोले गाउँ क्षतविक्षत छ । राहत पर्याप्त मात्रामा भेटिएको छैन । अहिलेसम्म जम्मा डेढ सय बोरा चामल गाउँमा आइपुगेको छ’, उनले भने, ‘यो वडाका १०४८ घर पूरै प्रभावित भएका छन् । ३०० घर बस्नै नसक्ने गरी भत्किएका छन् । घरमा छिर्न नसक्नेलाई एउटा टेन्ट पनि आइपुगेको छैन। केन्द्र र प्रदेश सरकारको नजर अहिलेसम्म परेको छैन ।’

एउटा नगरपालिकाबाट १०० बोरा चामल आइपुगेको उनले बताए। त्यसैगरी बिहीबार मात्रै ५० बोरा चामल नेपाली कांग्रेसका नेताहरू शिवप्रसाद हुमागाईं, मधु आचार्य र गणेश लामासहितले छाडेर गएको पनि उनले बताए ।

‘सकेसम्म राहतका लागि आह्वान गरिरहेको छु । नेट्वर्कको कारणले फेसबुकमा लेख्न सकेको छैन । बाटो सुचारु गर्ने कोसिसमा छु । अहिले १५/१६ वटा एक्साभेटर लगाएर बाटो खुलाउने काम हुँदैछ’, उनले भने, ‘घाइतेहरूमध्ये बिहीबार दुई जनालाई अस्पताल पुर्‍याएका छौँ । पहिरोले किचेका उनीहरूको अवस्था गम्भीर हुँदै गएपछि अस्पताल पठाएका हौँ ।’

अध्यक्ष लामाकाअनुसार गाउँभरी पहिरोका कारण पानीका मूल सुक्न थालेका छन् । ‘पहिरोले अर्को सङ्कट ल्याएको छ । पानीका मूल धमाधम सुक्न थालेका छन् । पानी अभावले अर्को समस्या भइरहकेो छ’, उनले भने, ‘सङ्कटकै बेला एकपछि अर्को सङ्कटले थिचिरहेको छ ।’

जताततै विनाश

तीन दिनसम्म परेको अविरल वर्षाले काभ्रेपलाञ्चोकमा अकल्पनीय क्षति गर्‍यो । खासगरी पनौती, बेथानचोकसहितका पालिकामा भएको क्षतिको हिसाब गरेर साध्य छैन । अहिले पनि जनप्रतिनिधिहरूले क्षतिको विवरण सङ्कलन गगरिरहेका छन् ।

बाढीपहिरोले सडक, सञ्चार र विद्युत् सबै संरचना क्षतिग्रस्त बनाएको छ । अव्यवस्थित खानीले काभ्रेका रोशीसहितका क्षेत्रमा अकल्पनीय विनाश गरेको छ।  यो विनाशको अर्को कारणलाई स्थानीयले अव्यवस्थित प्लटिङ पनि कारण भनेका छन् । रोशीको बाढीले कयौँ हेक्टरको धानखेती बगरमा परिणत भएको छ ।

रोशी खोलाको खानी क्षेत्रको लेदो सोहोरिँदा पनौती नगरपालिका- ७ र८ स्थित सुकुम्बासी बस्ती,  कलेजसहितमा ठूलो क्षति भएको छ । बीपी राजमार्गलाई ध्वस्त गर्ने गरी रोशीले गरेको विनाश पनि अवैध ढुंगा खानी र क्रसर उद्योग कारण निम्तिएको निष्कर्ष स्थानीयको छ।

ठूलो क्षति

बाढीपहिरोबाट काभ्रेमा मात्रै ७० जनाको मृत्यु भइसकेको छ। काभ्रे प्रहरीले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार काभ्रेका विभिन्न १० पालिकाहरूमा बाढीपहिरोबाट ७० जनाको मृत्यु भएको देखिएको हो ।

जसमध्ये ३१ महिला, २५ पुरुष, ८ बालक र ६ बालिका रहेका छन् । काभ्रेमा बाढीपहिरोमा परी काभ्रेमा ७५ घाइते र ६ जना बेपत्ता भएका प्रहरीको पछिल्लो तथ्याङ्कमा उल्लेख छ ।

काभ्रे प्रहरीले बाढीपहिरोमा फसेका ८२४ जनाको हेलिकप्टरबाट र ३ हजार २९९ जनाको अन्य माध्यमबाट उद्धार गरिएको जनाएको छ । प्रहरीका अनुसार काभ्रेमा घाइते भएका मध्ये ५२ जना डिस्चार्ज भइसकेका छन् भने २३ जना उपचाररत छन् ।

प्रहरीले बाढीपहिरोमा परी सबैभन्दा बढी पनौती नगरपालिकामा १८ जना जनाको मृत्यु भएको जनाएको छ । जसमध्ये ८ महिला, ८ पुरुष, १ बालक र १ बालिका रहेका छन् ।

तस्बिरहरू : मोतिराम तिमल्सिना

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहीबार  ६ : १५ बजे

१५ हजार करोड भन्दा बढीमा बिक्यो राजस्थान रोयल्स

काठमाडाैं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको चर्चित फ्रेन्चाइजी राजस्थान

लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राप्रति नेपालको आपत्ति, दुवै देशलाई पठाइयो कूटनीतिक नोट

काठमाडौं – नेपाली भूमि लिपुलेक हुँदै सञ्चालन गर्न लागिएको कैलाश

अमेरिका–इरान द्वन्द्व अन्त्यका लागि पाकिस्तानी मध्यस्थता प्रयास जारी

इस्लामावाद – पाकिस्तानका लागि इरानका राजदूत रेजा अमिरी मोघादामले अमेरिका–इरान

सुकुम्वासी उठिबासका साक्षी जेष्ठ नागरिक भन्छन्, धनीमानी अर्को ठाउँमा बस्छन्, गरिबले दुःख पाए

काठमाडौं- बालेन सरकारको डोजर आइतबार काठमाडौंस्थित अनामनगर देवीनगर टोलमा पुग्यो

देशका विभिन्न भागमा आगलागी, लाखौंको क्षति

काठमाडौं – देशका विभिन्न भागमा भएका आगलागीका घटनामा रु ३२