दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


२० पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा फर्किए भारतीय विदेशमन्त्री एस जयशंकर, सर्लाहीको बरहथवामा स्थानीयको प्रदर्शन, एक जनाको मृत्यु, अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री प्रचण्डलाई सफाइ, एमालेले राष्ट्रियसभा निर्वाचनमा १९ सिटमै उम्मेदवारी दिने, एमाले अध्यक्ष ओली भेट्न बालकोट पुगे रवि लामिछानेलगायतका समाचारले प्रमुख स्थान पाए ।

फर्किए भारतीय विदेशमन्त्री एस जयशंकर

नेपालको दुई दिने भ्रमण पूरा गरी भारतीय विदेशमन्त्री एस जयशंकर आज स्वदेश फर्किएका छन । जयशंकरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउदले बिदाई गरे ।

नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन आएका जयशंकरले हिजो उच्चस्तरीय भेटवार्ता गरेका थिए । यस्तै आयोगको बैठकपछि नेपाल र भारतबीच भएका विभिन्न सहमति तथा समझदारी आदानप्रदान भएको थियो ।

सर्लाहीको बरहथवामा स्थानीयको प्रदर्शन, एक जनाको मृत्यु

सर्लाहीको बरहथवा नगरपालिकामा भएको प्रदर्शनमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बरहथवा–५ का जयशंकर शाह रहेको स्थानीयले बताएका छन् ।

स्थानीयले प्रहरीको गोली लागेर मृत्यु भएको बताए पनि यसको पुष्टि भइसकेको छैन । जिल्ला प्रशासन कार्यालय सर्लाहीका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरेका अनुसार मृत्यु भएको जानकारी प्राप्त भए पनि के कारणले मृत्यु भएको हो भन्ने यकिन नभएको बताए ।

बरहथवा प्रदर्शन : सर्लाही प्रशासनले लगायो कर्फ्यू

जिल्ला प्रशासन कार्यालय सर्लाहीले बरहथवा नगरपालिका क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ ।

जिल्ला प्रशासनले प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतीको विषयलाई लिएर भएको विरोध प्रदर्शनका कारण सर्वसाधारणको सुरक्षामा पर्नसक्ने जोखिम र शन्ति भंग हुन जानसक्ने अवस्थालाई लिएर बरहथवा नगर क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको जनाएको छ ।

अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री प्रचण्डलाई सफाइ

अदालतको अवहेलनासम्बन्धी मुद्दामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सफाइ पाएका छन् । २०७३ जेठमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अदालतको अवहेलना गरेको भन्दै प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

उक्त रिटमाथि शुक्रबार सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वर खतिवडा र कुमार रेग्मीको इजलासले प्रधानमन्त्री प्रचण्डलाई सफाइ दिएको हो । सर्वोच्च अदालतले प्रचण्डले अदालतको अवहेलना गरेको ‘मागदाबी नपुग्ने’ आदेश सुनाएको हो ।

जितगढीलाई पर्यटकीय केन्द्रका रुपमा विकास गर्नुपर्छ : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले जितगढीलाई बृहत् बुटवलको पर्यटकीय केन्द्रका रूपमा विकास गनुपर्ने बताएका छन् । उनले जितगढी नेपाली वीरताको ऐतिहासिक केन्द्रका रूपमा रहेकाले यस वरपरका ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक महत्वका क्षेत्रलाई एउटै सर्किटमा जोड्न जरुरी रहेको बताए ।

बुटवल उपमहानगरपालिका–१ स्थित ऐतिहासिक जितगढी किल्ला नेपाली सेनाले आज बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गर्न आयोजना गरेको कार्यक्रममा राष्ट्रपति पौडेलले जितगढीलाई मणिमुकुन्दसेनको दरबार, नुवाकोटगढी, रामापिथेकश क्षेत्र हुँदै सहस्रधारा, लक्ष्मीनगर र हिलपार्कसम्म जोड्न सके यसले देशको पर्यटन विकासमा योगदान पुग्ने बताए ।

एमालेले राष्ट्रियसभा निर्वाचनमा १९ सिटमै उम्मेदवारी दिने

नेकपा एमालेले राष्ट्रियसभाको निर्वाचनमा १९ सिटमै उम्मेदवारी दर्ता गराउने भएको छ ।

पार्टी कार्यालय च्यासलमा शुक्रबार बसेको एमाले सचिवालय बैठकले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारका बारेमा छलफल गर्दै पुष २३ गते १९ वटै सिटमा उम्मेदवारी दर्ता गर्ने निर्णय गरेको हो ।

एमालेमा ६ केन्द्रीय सदस्य थपिए

नेकपा एमालेमा ६ जना केन्द्रीय सदस्य थपिएका छन् । शुक्रबार पार्टी मुख्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले ६ जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो ।

केन्द्रीय सदस्यमा मनोनित हुने ६ मध्ये ५ जना पार्टीको प्रदेश समितिका पूर्वअध्यक्षहरु रहेका छन् । मनोनित हुने प्रदेश पूर्वअध्यक्षमा कोशी प्रदेशका तुलसीप्रसाद न्यौपाने, मधेसका रामअवतार यादव, बागमतीका केशवराज पाण्डे, कर्णालीका विनोद शाह र सुदूरपश्चिमका दामोदर भण्डारी रहेका छन् ।

एमाले अध्यक्ष ओली भेट्न बालकोट पुगे रवि लामिछाने

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । ओलीलाई भेट्न लामिछाने बालकोट पुगेका हुन ।

च्यासलमा एमाले केन्द्रीय सचिवालय बैठक बस्नै लाग्दा ओलीसँग वार्ता गर्न लामिछाने बालकोट पुगेका हुन ।

सरकार काण्डै काण्डमा फसेको भन्दै नेविसंघले माग्यो प्रधानमन्त्रीको राजीनामा

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले प्रधानमन्त्रीको राजीनामा माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ ।

सरकार काण्डै काण्डमा फसेको र भ्रष्टाचारीलाई संरक्षण गरेको भन्दै नेविसंघले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने मागका साथ शुक्रबार सिंहदरबादेखि बालुवाटारसम्म मार्चपास गरेको हो ।

स्वदेशी उत्पादन प्रयोग गर्नुपर्छ : मन्त्री गुरुङ

सहरी विकासमन्त्री सीता गुरुङले स्वदेशी वस्तु तथा सेवाको प्रवर्द्धनका लागि नेपालभित्रकै उत्पादन प्रयोगमा जोड दिनुपर्ने बताएकी छिन् ।

आज भृकुटीमण्डपमा आयोजित ‘नवौँ नेपाल वुड अन्तर्राष्ट्रिय प्रदर्शनी’ अवलोकनपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री गुरुङले नेपालको उत्पादनलाई प्रवर्द्धन गर्ने नीति सरकारले लिएको भए पनि त्यसको प्रभावकारी कार्यान्वयन भने हुन नसकेको बताइन् ।

‘राष्ट्रघाती’ सम्झौता रद्द गर्नुपर्छ : एकीकृत समाजवादी निकट युवा संघ

सत्तारुढ गठबन्धनमा आबद्ध नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले भारतीय दूतावासले २० करोडसम्मका परियोजना बाँड्नसक्ने सम्झौता ‘राष्ट्रघाती’ भएको भन्दै त्यस्तै सम्झौता रद्द गर्नुपर्ने माग गरेका छन् ।

संघका संयोजक कृष्ण विकले विज्ञप्ति जारी गर्दै यस्तो सम्झौताले नेपाल र नेपाली जनताको सार्वभौमिकता र सार्वभौम अधिकारमाथि नै खेलबाडसमेत भएको बताएका छन् ।

हिन्दू राष्ट्र र संवैधानिक राजसंस्था पुनर्स्थापना भएरै छाड्छ : अध्यक्ष थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अहिले मुलुकको व्यवस्था र अवस्था परिवर्तन गर्न आवश्यक भएको बताएका छन् ।

अहिलेको प्रणालीले मुलुकको हित र रक्षा हुन नसक्ने भन्दै अध्यक्ष थापाले हिन्दू राष्ट्र र संवैधानिक राजसंस्था पुनर्स्थापना भएरै छाड्ने दाबी गरे ।

पीपीए गर्न नआएका प्रवर्द्धकलाई प्राधिकरणले रोलक्रमबाट हटायो

नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) गर्न नआएका विभिन्न १५ आयोजनाका प्रवर्द्धकलाई रोलक्रमबाट हटाएको छ । तोकिएको अवधिभित्र निवेदन प्राप्त नभएको, प्राप्त निवेदनमा रीतपूर्वक आवश्यक कागजात र दस्तावेज संलग्न भएकाले पीपीएको प्रक्रिया अगाडि बढाउन नसकिने प्राधिकरणले जनाएको छ ।

आवश्यक कागजात नबुझाएका ती आयोजना अधिकांश नदी प्रवाही प्रकृतिका छन् । विद्युत् व्यापार विभागका अनुसार ती आयोजनाको कूल क्षमता दुई सय १५ मेगावाट छ । प्राधिकरणले माथिल्लो त्रिशूली दोस्रो, एक सय दुई मेगावाट, चमेलिया छटिगाड ८५ मेगावाटलगायत आयोजना छन् ।

पशुपतिको आरती र दीप प्रज्वलनको सूचनामा विकास कोषकाे आपत्ति

बुढासुब्बा डिजिटल प्रालिले पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गङ्गा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न नपाइने भनी प्रकाशित गरेको सूचनाप्रति पशुपति क्षेत्र विकास कोषले आपत्ति जनाएको छ ।

विकास कोष सञ्चालक परिषद्का कार्यकारी निर्देशक लक्ष्मी पुनले आज एक सूचना प्रकाशित गरी बुढासुब्बा डिजिटल प्रालीद्वारा प्रकाशित उक्त सूचनामा कोषको गम्भीर ध्यानाकर्षण भएको बताएकी हुन् ।

गोरखामा फल्यो ९ किलोको एउटै काउली

गोरखा नगरपालिका–७, काँडाघारीस्थित धारापानीका एक किसानले नौ किलोको एउटै काउली फलाएका छन् । स्थानीय एककुमारी बस्नेतको बारीमा फलेको काउलीको थुङ्गा नौ किलोको छ । अहिले बस्नेतले उत्पादन गरेको काउली ‘कृषि, पर्यटन तथा व्यापार प्रवर्द्धन मेला–२०८०’ को प्रदर्शनीमा राखिएको छ ।

“काउली जोख्दा पूरै ११ किलोको थियो, कृषि ज्ञानकेन्द्र गोरखाका प्रमुख नीलकण्ठ पोखरेलले भने, “डाँठ र पात गरी दुई केजी घटाउँदा थुङ्गा मात्र नौ किलोभन्दा बढीको रहेको छ ।” नेपालमा अहिलेसम्मकै सबैभन्दा ठूलो काउली भएको प्रमुख पोखरेलको दाबी छ । यसअघि बागलुङ नगरपालिका–९ तित्याङ थापाथरका पदम खत्रीको खत्री एग्रो फार्ममा आठ किलो आठ सय ८० ग्रामको काउली उत्पादन भएको पाइएको थियो ।

यू-१९ विश्वकप खेल्न जाने नेपाली टोलीको बिदाइ

आईसीसी पुरुष यू–१९ विश्वकप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले आज एक कार्यक्रमको आयोजना गर्दै नेपाली टोलीलाई बिदाइ गरेको हो । नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिष्द (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, क्यानका अध्यक्ष चतुर बहादुर चन्द, सचिव पारस खड्का लगायतले बिदाइ गरे ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ९ : ०६ बजे

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं– संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक बस्दैछ। बैठक दिउँसो सवा १

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं- नेपाली कांग्रेसले आज बिहान बस्ने गरि संसदीय कार्यसमिति र

जबरजस्ती करणीको जाहेरी परेपछि फरार एमाले नेता विदुर शर्मा

काठमाडौं– नेकपा एमाले दोलखाका नेता विदुर शर्मा फरार भएका छन्।

विश्वकपअघि नेपालले अमेरिका र क्यानडासँग अभ्यास खेल खेल्ने

काठमाडौं– नेपालले आईसीसी टी–२० विश्वकपअघि अमेरिका र क्यानडासँग अभ्यास खेल

देशका केही स्थानमा हावा हुरीसहित वर्षाको सम्भावना

काठमाडौं–  हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव