विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


२१ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

आज पुस २१ २०८० या अंग्रेजी क्यालेन्डर अनुसार जनवरी ६, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

उत्तरी इथियोपियामा खडेरी, १८ लाख मानिस प्रभावित
इथियोपियाको उत्तरी क्षेत्र अम्हारामा खडेरीका कारण १८ लाखभन्दा बढी मानिस प्रभावित भएको इथियोपियाली अधिकारीले शुक्रबार बताएका छन् ।

अम्हारा क्षेत्र विपद् रोकथाम तथा खाद्य सुरक्षा आयोगका आयुक्त टेस्फाउ बाटाबलका अनुसार खडेरीका कारण कृषि उत्पादनमा व्यापक क्षति पुगेको र मुलुकका नौ क्षेत्रका १८ लाख ४६ हजार ९८५ जना प्रभावित भएका छन् ।

खडेरीका कारण अम्हारा क्षेत्रका जनावर र मानिस दुवै भोकमरीमा परेका छन् । इथियोपियाली सञ्चारमाध्यमहरूले बेटबेललाई उद्धृत गर्दै लेखेका छन्, ‘खडेरीका कारण भएको क्षति लाई कम गर्न अम्हारा क्षेत्र प्रशासनले प्रभावितहरूको सहयोगका लागि करिब ७७ लाख अमेरिकी डलर छुट्याएको छ ।’

गत शनिबार इथियोपियाका सञ्चारमन्त्री लेजेस टुलुले इथियोपियाका विभिन्न क्षेत्रमा खडेरीका कारण ३८ लाख मानिस प्रभावित भएको बताएका थिए ।

संयुक्त राष्ट्रसंघीय बालकोषको शनिबार सार्वजनिक प्रतिवेदनमा इथियोपियामा जलवायु परिवर्तनको प्रभावका कारण मानवीय अवस्था झनै बिग्रिएको उल्लेख गरिएको छ ।

उडानका क्रममा विमानको झ्याल फुटेपछि‘
अमेरिकाको ओरेगन राज्यमा १७७ जना यात्रु बोकेको अलास्का एयरलाइन्सको विमानलाई शुक्रबार आपतकालीन अवतरण गराइएको छ ।

‘फ्लाइट १२८२’ को विमान पोर्टल्याण्ड अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समयअनुसार साँझ ५ः०० बजे उडेको र विमानमा ‘चालक दलले चापको समस्या भएको रिपोर्ट गरेपछि’ सुरक्षित रूपमा फर्काइएको सङ्घीय उड्यन प्रशासनले जनाएको छ ।

सामाजिक सञ्जालमा पोस्ट गरिएका तस्बिरमा विमानको झ्यालको शिशा फुटेको र छतमा इमर्जेन्सी अक्सिजन मास्क झुण्डिएको देखिएको छ । विमानमा सवार यात्रु काइल रिङ्करले सिएनएनलाई बताएअनुसार उडान भरेको केही बेरमै झ्याल फुटेको थियो ।

अर्का यात्रु भि गुयेनले न्युयोर्क टाइम्सलाई बताएअनुसार उडानका क्रममा आएको चर्को आवाजले उनलाई ब्युँझाएको थियो । राष्ट्रिय यातायात सुरक्षा बोर्ड, एफएए र अलास्का एयरलाइन्सले घटनाको अनुसन्धान गरिरहेको बताएका छन् । ‘छ जना चालक दलका सदस्यसहित १७१ जना यात्रु लिएर विमान पोर्टल्याण्ड अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण गरेको छ,’ एयरलाइन्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

बोइङ ७३७ म्याक्स ९ विमानले क्यालिफोर्नियाको ओन्टारियोका लागि साँझ ५ः०७ बजे उडान भरेको थियो भने करिब २० मिनेटपछि विमानस्थलमा फर्किएको ‘फ्लाइट ट्रयाकिङ वेबसाइट (फ्लाइटअवेयर)ले जनाएको छ ।

फ्लाइटअवेयरका अनुसार यसलाई अक्टोबरमा एयरवर्थी प्रमाणित गरिएको थियो। बोइङले थप जानकारी संकलन भइरहेको र प्राविधिक टोली अनुसन्धानका लागि सहयोग गर्न तयार गरिएको छ ।

बङ्गलादेशमा आम निर्वाचनको पूर्वसन्ध्यामा विपक्षी दलद्वारा दुई दिने आमहड्तालको घोषणा

बङ्गलादेशमा आगामी जनवरी ७ मा हुने आम निर्वाचनको पूर्वसन्ध्यामा प्रमुख विपक्षी दल बङ्गलादेश नेशनलिस्ट पार्टी ९बीएनपी०ले प्रधानमन्त्री शेख हसिनाको ‘अवैध सरकार’को राजीनामाको माग गर्दै शनिबारदेखि ४८ घण्टे देशव्यापी ‘आमहड्ताल’ को आह्वान गरेको छ ।

पूर्वप्रधानमन्त्री खालिदा जियाको नेतृत्वको बीएनपीले आइतबार हुने आमनिर्वाचन बहिष्कार गर्ने निर्णय गरेको छ । पार्टीले निर्वाचनको पर्यवेक्षणका लागि अन्तरिम गैर–दलीय तटस्थ सरकार गठनको वकालत गरिरहेको छ, जुन मागलाई प्रधानमन्त्री हसिना नेतृत्वको सरकारले अस्वीकार गरेको छ ।

ढाका ट्रिब्युनका अनुसार शनिबार बीएनपीले देशभर जुलुस निकाल्ने, जनअभियान चलाउने र ‘प्रतिपक्षीहरूलाई बाहिर राखी गरिन लाएको’ निर्वाचनको विरोधमा पर्चा वितरण गर्नेछ ।

हडतालको दोस्रो दिन आइतबार हुने निर्वाचनले यस पहिले नै विश्वव्यापीरूपमा ध्यान आकर्षण गरिसकेको छ । बिएनपीका संयुक्त वरिष्ठ महासचिव रुहुल कबिर रिजवीले बिहीबार दिउँसो भर्चुअलमाध्यममार्फत गरेको पत्रकार सम्मेलनमा राष्ट्रव्यापी हडतालको घोषणा गरेका थिए ।

उनका अनुसार शनिबार बिहान ६ बजेदेखि सुरु हुने हडताल सोमबार बिहान ६ बजेसम्म चल्नेछ । यसैबीच, बिएनपीले घोषणा गरेको आन्दोलनप्रति बङ्गलादेशका अन्य केही प्रमुख विपक्षी दलले पनि प्रतिवद्धता जनाएका छन् ।

बिएनपीले सरकारको राजीनामा, अक्टोबरको अन्त्यदेखि पक्राउ परेका आफ्ना नेता तथा कार्यकर्ताको रिहाई र पार्टी प्रमुख खालिदा जियाको बिनाशर्त रिहाइको माग गरेको छ । रिजवीको घोषणालगत्तै लिबरल डेमोक्र्याटिक पार्टीले पनि शनिबार बिहान ६ बजेदेखि ४८ घण्टा हडताल गर्ने बताएको ढाका ट्रिब्यूनले जनाएको छ ।

बीएनपी र सरकारविद्धको आन्दोलनमा समान धारणा राख्ने दलहरूले अक्टोबर २९ देखि गरेको यो पाँचौं हडताल हो । विपक्षी दलहरूले यस अवधिमा १२ चरणमा २३ दिनसम्म देशव्यापी विरोधका कार्यक्रम गरेका छन् ।

कङ्गोमा भारी वर्षाका कारण तीन सय जनाको मृत्यु
प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा भारी वर्षाका कारण आएको बाढीमा कम्तीमा तीन सय जनाको मृत्यु भएको एक मन्त्रीले बताएका छन् ।

सामाजिक मामिला, मानवीय कार्य र राष्ट्रिय ऐक्यबद्धता मन्त्री मुटिङ्गा मुतुइशायीले विपद् कम्तिमा ४३ हजार सात सय ५० घरहरू भत्किएको बताएका हुन् ।

उनले सरसफाइ र सफा पानीको अभावमा महामारीको जोखिमबारे पनि चेतावनी दिए ।

मन्त्रीले कङ्गोली अधिकारीहरूलाई मानवीय टोलीहरूलाई सहयोग गर्न अन्तराष्ट्रिय एकताको लागि आह्वान गर्दै पीडितहरूलाई मद्दत गर्न तुरुन्तै कोष जारी गर्न आग्रह गरे ।

अस्ट्रेलियामा माइक्रोलाइट विमान दुर्घटना, पाइलटको मृत्यु
पश्चिमी अस्ट्रेलियाको व्हिटबेल्ट क्षेत्रमा माइक्रोलाइट विमान दुर्घटना हुँदा ६९ वर्षीय पाइलटको मृत्यु भएको छ ।

पश्चिमी अष्ट्रेलियाको प्रहरी बलले शनिबार जनाए अनुसार बिहान ११ बजेपछि सो दुर्घटना भएको हो ।

पाइलटलाई गम्भीर चोट लागेको र घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनाबारे अनुसन्धान जारी छ ।

बङ्गलादेश : रेलमा आगलागी हुँदा चार जनाको मृत्यु
बङ्गलादेशको राजधानी ढाकामा शुक्रबार राति एउटा यात्रुवाहक रेलमा आगलागी हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ ।

स्थानीय सञ्चारमाध्यमले बेनापोल एक्सप्रेस यात्रुवाहक रेलमा राति ९ः०५ बजे अज्ञात समूहले आगजनी गरेको जनाएका छन् । स्थानीय समय अनुसार राजधानीको गोपीबाग क्षेत्रमा भएको आगलागी राति १०ः२० बजे नियन्त्रणमा आएको थियो ।

आगलाागीमा मृत्यु भएकाहरूको तत्काल पहिचान हुन नसकेको ढाका महानगरीय प्रहरी उपायुक्त इकबाल हुसेनले पत्रकारहरूलाई बताएका छन् ।

गाजामा युद्ध अन्त्य गर्न संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता प्रमुखको आह्वान

 संयुक्त राष्ट्रसङ्घका मानवीय मामिलासम्बन्धी उपमहासचिव मार्टिन ग्रिफिथ्सले गाजामा जारी युद्ध अन्त्य गर्न आह्वान गरेका छन्। अक्टोबर ७ मा प्यालेष्टिनी कट्टरपन्थी इस्लामिक समूह ९हमास०ले इजरायलको दक्षिणी सिमानामा गरेको भयानक आक्रमणको तीन महिनासम्म पनि गाजा मृत्यु र निराशाको थलो बनेको उनले शुक्रबार बताएका हुन् । 

उनले भने, ‘हामी गाजाका जनता र यसका खतरामा परेका छिमेकीहरूका लागि मात्र होइन, तर भावी पुस्ताका लागि पनि युद्धको तत्काल अन्त्यको माग गर्दछौँ । युद्धले यी ९० दिनको कहालिलाग्दो हिंसा र मानवतासम्बन्धी सबैभन्दा आधारभूत नियमहरूमाथिको आक्रमणलाई कहिल्यै बिर्सने छैनन् ।’ 

‘यो समय युद्धरत पक्षहरूले नागरिकहरूको सुरक्षा र आधारभूत आवश्यकताहरू पूरा गर्न र सबै बन्धकहरूलाई तुरुन्तै रिहा गर्ने अन्तर्राष्ट्रिय कानून अन्तर्गत आफ्ना सबै दायित्वहरू पूरा गर्ने समय हो,’ उनले भने ।

अन्तर्राष्ट्रिय समुदायले आफ्नो सम्पूर्ण प्रभाव प्रयोग गरेर युद्धरत पक्षलाई युद्धविराम गर्नका लागि दवाव दिने वेला आएको छ । युद्ध भएको करिब तीन महिना बितिसक्दा पनि गाजाको मानवीय अवस्था दयनीय छ । अधिकांश महिला र बालबालिकाहरूसहित करिब २३ हजार मानिस मारिएका छन्, दशौँ हजार व्यक्ति घाइते भएका छन् भने लाखौँ व्यक्ति युद्धका कारण विस्थापित र प्रभावित भएका छन् ।

तापक्रम घटेसँगै विस्थापित परिवारहरू खुला ठाउँमा सुतिरहेका छन् । सर्वसाधारणलाई आफ्नो सुरक्षाका लागि अन्यत्र सार्न भनिएको क्षेत्रमा बमबारी भएको छ । चिकित्सा संस्थाहरू निरन्तर आक्रमणमा परेका छन् ।

आंशिक रूपमा सञ्चालनमा रहेका केही अस्पतालहरू ट्रमाका बिरामीहरूले भरिएका छन्, सबै आपूर्तिहरूको गम्भीर अभाव छ, र सुरक्षाको खोजीमा मानिसहरूल हताश बनेका छन् । जनस्वास्थ्यमा विपत्ति आइपरेको छ । भीडभाड हुने आश्रयस्थलहरूमा ढलहरू बग्दै जाँदा सङ्क्रामक रोगहरू फैलिरहेका छन् । यो अस्तव्यस्तताका बीच दैनिक करिब १८० प्यालेस्टिनी महिलाले बच्चा जन्माइरहेका छन् । 

मानिसहरूले अहिलेसम्मकै उच्च स्तरको खाद्य असुरक्षाको सामना गरिरहेका छन् । भोकमरीको जोखिम नजिकिएको छ । विशेष गरी बच्चाहरूको लागि, विगत १२ हप्ताहरू निकै दर्दनाक बनेका छन् । उनीहरूका लागि कुनै खाना छैन । पानी छैन । विद्यालय छैन ।

प्रकाशित मिति : २१ पुस २०८०, शनिबार  ८ : ०० बजे

इंग्लिस प्रिमियर लिग : पालमरको चार गोलमा चेल्सीको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिगमा कोल पालमर ले पहिलो हाफमा नै चार

बाढी–पहिरो अपडेट : ९९ जनाको मृत्यु, ७२ बेपत्ता

काठमाडौं– भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट अहिलेसम्म ९९

आज सर्वदलीय बैठक बस्दै

काठमाडौं– कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ

आजको मौसम : आंशिकदेखि साधारणतया बदली रहने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज

आज २०८१ साल असोज १३ गते आइतबारको राशिफल

काठमाडौं– आज २०८१ साल असोज १३ गते आइतबार तदनुसार सन्