अर्थसंक्षेप : बाढीपहिरोले २५ राजमार्ग अवरुद्धदेखि शेयर बजारमा दोहोरो अंकको वृद्धिसम्म | Khabarhub Khabarhub

अर्थसंक्षेप : बाढीपहिरोले २५ राजमार्ग अवरुद्धदेखि शेयर बजारमा दोहोरो अंकको वृद्धिसम्म


२३ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


7.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशभर बाढी र पहिरोका कारण २५ वटा सडक अवरुद्ध भएका छन् । सोमबार मध्यरातदेखि सबै सरकारी खाता एक हप्ताका लागि बन्द हुने भएका छन् । साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) २१.२७ अंकले बढेको छ । नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ राष्ट्रियसभाबाट पारित भएको छ । जल तथा मौसम विज्ञान विभागले २४ घण्टामा  ३४ लाख एसएमएस सर्वसाधारणलाई सम्प्रेषण गरेको छ । र, भारतले पहिलो पटक रुसतर्फ आल्मुनियम निर्यात गरेको पाइएको छ ।

यस्ता छन् आजका प्रमुख आर्थिक समाचारहरु : 

देशभर २५ राजमार्ग अवरुद्ध, ९८ रणनीतिक सडक एकतर्फी

देशभर बाढी र पहिरोका कारण २५ वटा सडक अवरुद्ध भएका छन् । लगातारको वर्षाका कारण ठूला तथा साना सडक तथा राजमार्ग/लोकमार्ग अवरुद्ध बनेका हुन् । सडक विभागकाअनुसार, कुल १९९ वटा सडकखण्ड तथा राजमार्गमध्ये बाढी पहिरोका कारण २५ वटा राजमार्ग अवरुद्ध बनेका हुन् । त्यसमध्ये ९८ वटा राजमार्ग एकतर्फी रूपमा मात्र सञ्चालनमा आएको विभागले जनाएको छ । अवरुद्ध हुनेमा अधिकांश ठूला राजमार्ग खण्डका सडक छन् ।

बाढी र पहिरोका कारण अवरुद्ध हुनेमा कोशी राजमार्गअन्तर्गत संखुवासभाको समाटार, डुम्रे–बेंशीसहर–चामे सडकखण्डमा लमजुङको तिमाङ, कालीगण्डकी करिडोरअन्तर्गत तानसेन–रिडी–कोरला सडकखण्डअन्तर्गत गुल्मीको कनौटा, सोही करिडोरअन्तर्गत म्याग्दीको बैशंरी र अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको कोदारी भन्ने स्थानमा पहिरो जाँदा उक्त सडकखण्ड अवरुद्ध भएका छन् ।

त्यस्तै, सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जाको गैराथोक, कर्णाली राजमार्गअन्तर्गत कालिकोटको गगनेखोला, कालीकोटको हुल्म, कालिकोटको छेका, कान्तिपथ राजपथअन्तर्गत ललितपुरको कार्कीबास, मध्यपहाडी राजमार्गअन्तर्गत सिन्धुलीको कुडुले, मध्यपहाडी राजमार्गअन्तर्गत बागलुङको काउछे मनेवा र भेटेडार–रबि–राँके सडकअन्तर्गत धनकुटाको ओख्रे भन्ने स्थानमा पहिरोले सडक अवरुद्ध बनाएको छ ।

त्यस्तैगरी, तानसेन–रिडी–कोरलाअन्र्तगत बागलुङको दब्लाङभीर, मध्यपहाडी राजमार्गअन्तर्गत सिन्धुलीको सुमनाम बेँशी, तानसेन–रिडी–कोरलाअन्तर्गत मुस्ताङको मार्फाखोला, सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जाको चिउरी, मध्यपहाडी राजमार्गअन्तर्गत डोटीको रामपुर, मध्यपहाडी राजमार्गअन्तर्गत डडेल्धुराको अनारखोली, राप्ती राजमार्गअन्तर्गत सल्यानको डीबी र मध्यपहाडी राजमार्गअन्तर्गत डोटीको रामपुरलगायतका धेरै स्थानमा बाढी र पहिरोले सडक अवरुद्ध पुर्‍याएको छ ।

सोमबारदेखि सरकारी खाता रोक्का

सोमबार मध्यरातदेखि सबै सरकारी खाता एक हप्ताका लागि बन्द हुने भएका छन् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्थाअनुसार महालेखा नियन्त्रक कार्यालय (मलेनिका), प्रदेश लेखा नियन्त्रक कार्यालय (प्रलेनिका) र सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) ले सञ्चालन गर्ने खाता बन्द गरिने मलेनिकाका प्रवक्ता ओमप्रसाद रिजालले जानकारी दिए ।

‘सोमबार रातिदेखि स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र), एकल खाता कोष प्रणाली (टीएसए) र कम्प्युटरकृत सरकारी लेखा प्रणाली (सिगास) एक हप्ताका लागि बन्द हुनेछन्’, रिजालले भने, ‘कानुनमै उल्लेख भएको विषय भएकाले मलेनिकाले यस वर्ष प्रलेनिका र कोलेनिकालाई खाता बन्द गर्न परिपत्र गरेको छैन । तर भोलि रातीदेखि बजेट भुक्तानी हुँदैन ।’

संघ, प्रदेश तथा स्थानीय तहको बजेट भुक्तानी निकासाका लागि प्रयोग हुँदै आएका सबै खाता एक हप्ताका लागि बन्द भएकाले भोलिसम्ममा चालु आर्थिक वर्ष २०८०/८१ को बजेट भुक्तानी दायित्व फरफारक गरिसक्नुपर्ने पनि उनले बताए ।

२१.२७ अंकले बढ्यो नेप्से, ६ अर्बको कारोबार

साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज ९नेप्से० २१.२७ अंकले बढेको छ । १ करोड ४० लाख १४ हजार ६२२ कित्ता शेयर कारोबार हुँदा नेप्से २१.२७ अंकले बढेर २१४०.९७ अंकमा पुगेको हो । नेप्सेमा आज भएको कारोबारमा १५० वटा कम्पनीको शेयर मूल्य वृद्धि भएको छ भने ८२ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।

त्यस्तै, आजको कारोबारमा १५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रह्यो । आजको कारोबारमा सिइडिबी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाए भने मैलुङखोला जलविद्युत कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए । आज ८० हजार ८३८ वटा ६ अर्ब २९ लाख ३१ हजार ८५४ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । आइतबार सुनको मूल्य तोलामा एक हजारले बढेर तोलाको १ लाख ४५ हजार ४ सयमा कारोबार भएको छ । यस अघि शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार ४ सयमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ४४ हजार ७ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । चाँदी आज प्रतितोला २० रुपैयाँले बढेर १८९० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

राष्ट्रियसभाबाट लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक पारित

लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ राष्ट्रियसभाबाट पारित भएको छ । आइतबार बसेको बैठकले राष्ट्रियसभाबाट सन्देशसहित लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ सर्वसम्मतिले पारित गरेको हो । उक्त विधेयकलाई पारित गरियोस् भनी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीकोसमेत कार्यभार सम्हालेका प्रधानमन्त्री प्रचण्डका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रस्ताव प्रस्तुत गरेकी हुन् ।

विधेयकमाथिको छलफलका क्रममा सांसदहरूले लगानीको स्पष्ट ढाँचा आउने गरी विधेयकलाई अधि बढाउनुपर्ने धारणा राखेका थिए । छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले लगानी सम्मेलनका क्रममा लगानी सहजीकरण गर्नका लागि लगानी सहजीकरणसम्बन्धी अध्यादेश ल्याइएको र संसदमा प्रतिस्थापन विधेयक ल्याएको बताइन्  ।

एकै दिन ३४ लाख बाढीसम्बन्धी एसएमएस सम्प्रेषण

जल तथा मौसम विज्ञान विभागले २४ घण्टामा  ३४ लाख एसएमएस सर्वसाधारणलाई सम्प्रेषण गरेको छ । विभागले नेपाल टेलिकम र एनसेलसँगको सहकार्यमा शनिबार मध्याह्न १२ देखि आज १२ बजेसम्म मुलुकको विभिन्न स्थानमा परेको वर्षासँगै बाढी तथा पहिरोसम्बन्धी जानकारी दिन ३४ लाख बढीलाई एसएमएस सम्प्रेषण गरेको हो ।

विभागका प्रवक्ता सुनिल पोखरेलले बाढीबाट हुन सक्ने धनजनको क्षति न्यूनीकरण गर्ने लक्ष्यले जनचेतनाका लागि एकै दिनमा ३४ लाखको हाराहारीमा सर्वसाधारणलाई एसएमएस पठाएको जानकारी दिए । ‘बाढीको जोखिम भएका क्षेत्र आसपासमा बस्ने सर्वसाधारणलाई सचेत गराउन हामीले एसएमएस पठाएका हौँ’, उनले भने, ‘सर्वसाधारणको मोबाइलमा एसएमएस पठाएपछि जोखिममा परेका सुरक्षित स्थान जान सक्छन्, जोखिमयुक्त क्षेत्रमा आवतजावत गर्दा सचेतना अपनाउन सकिन्छ भनेर एसएमएस पठाउने गरेका छौँ ।’

विभागका महानिर्देशक डा जगदीश्वर कर्माचार्यले यस वर्ष विभागले मनसुनजन्य घटना तथा जानकारीसम्बन्धी करिब ९० लाख एसएमएस सर्वसाधारणलाई पठाउने योजना बनाएको जानकारी दिए । ‘प्रत्येक दिन बिहान ६ बजे र बेलुकी ६ बजे मौसमी बुलेटिन प्रकाशन गर्छौँ, यसले तीन दिनसम्मको मौसमसम्बन्धी जानकारी दिन सहयोग गरेको छ’, उनले भने ।

भारतद्वारा रुसमा आल्मुनियम निर्यात

भारतले पहिलो पटक रुसतर्फ आल्मुनियम निर्यात गरेको पाइएको छ । भारतीय भन्सारले उपलब्ध गराएको तथ्यांकमा सन् २०२४ को अप्रिल महिनामा रुसतर्फ ४४ हजार ८ सय टन आल्मुनियम निर्यात गरेको उल्लेख छ । रुसी समाचार संस्था स्तुत्निकले जनाएअनुसार यसको मूल्य १ करोड ६५ लाख डलर हुन आउँछ ।

विश्वमा रुस आफैँमा महत्वपूर्ण आल्मुनियमको निर्यातकर्ता मुलुक हो । सन् २०२३ मा रुसले ६ अर्ब ५० करोड डलरभन्दा धेरैको आल्मुनियम निर्यात गरेको थियो । युक्रेनमा जारी युद्धलाई लिएर पश्चिमा मुलुकले रुसमाथि प्रतिबन्ध लगाइरहेको अवस्थामा रुसलाई भारतले आल्मुनियम निर्यात गरेको घटनालाई निकै अर्थपूर्ण रुपमा लिइएको छ ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  ६ : ४१ बजे

निजी क्षेत्र बलियो भए मात्र मुलुकको अर्थतन्त्र बलियो हुन्छ : मन्त्री भण्डारी

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निजी क्षेत्र

एसिया रग्बी सेभेन्समा फिलिपिन्सलाई दोहोरो उपाधि

काठमाडौं – चाइनिज ताइपेईलाई पराजित गर्दै फिलिपिन्सले एसिया रग्बी इमिरेट्स

‘फूड सिस्टम इनोभेसन च्यालेन्ज २०२४’ प्रतियोगितामा नेपाललाई सफलता

ललितपुर – फूड सिस्टम इनोभेसन च्यालेन्ज २०२४’ प्रतियोगितामा नेपालका आशीर्वादराज

अखिल क्रान्तिकारीको स्थगित राष्ट्रिय सम्मेलन मङ्सिरमा हुने

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको

गम्बोरोले पाँच हजार बढी कुखुरा मरे

कैलाली – कैलालीको घोडाघोडी नगरपालिका–८ मा गम्बोरो रोगका कारण पाँच