डकेन्द्रको पहिचान : छोराछोरी गायक, बाबु हेडसर ! | Khabarhub Khabarhub

डकेन्द्रको पहिचान : छोराछोरी गायक, बाबु हेडसर !

यो पहिचानको जनमत संग्रह हो, म धर्मगुरुको छाया हुँ : लिम्बू



काठमाडौं– आगामी बैशाख १५ गते हुने उपनिर्वाचनमा इलामबाट २० जना उम्मेदवार मैदानमा छन् । यसअघि खबरहबले नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ र नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काको प्रोफाइल पाठकसमक्ष पस्किइसकेको छ । यहाँ चाहिँ पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्र लिम्बु (थेगिम) को हुन् भन्नेबारे छोटो चर्चा गर्न लागिएको छ ।

इलाम क्षेत्र नम्बर २ त्यस्तो क्षेत्र हो, जहाँ किरात धर्मगुरु फाल्गुनन्दको जन्म भएको थियो । हाल जीवित रहेका धर्मगुरु आत्मानन्द लिङदेनको जन्म पनि यहीँ भएको हो । त्यति मात्र होइन, वामपन्थी नेता शहीद रत्नकुमार बान्तवाको जन्म पनि यही क्षेत्रमा पर्छ ।   

किरात धर्म साहित्य उत्थान संघको संयोजकबाट करिब दुई दशकको संलग्नता छाडेर प्रतिनिधिसभाको चुनावमा होमिएका डकेन्द्र लिम्बू यहीँको माटोमा भिजेका प्रौढ उम्मेदवार हुन् ।

कोशी प्रदेश नामाकरण विरुद्धको संघर्ष समितिको संयोजक भएर काम गरेका उनले आन्दोलनको बलमा चुनाव जित्ने रणनीति बनाएको उनका समर्थकहरूको दाबी छ । 

यो पनि- 

गणितीय भ्रममा अल्झिएको इलामको उपचुनाव

उपचुनावमा मुख्य प्रतिस्पर्धी मानिएका नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलबाट बलिया उम्मेदवार उठेका छन् । तर, पहिचानवादी स्वतन्त्र उम्मेदवारका रूपमा मैदानमा आएका डकेन्द्र भने दलका उम्मेद्वार भन्दा अलि फरक छन् ।

डकेन्द्र आफूलाई पहिचानवादीहरूको सच्चा र साझा उम्मेदवार दाबी गर्छन् । आफ्नो उम्मेदवारीलाई उनी ‘पहिचान पक्षको जनमत संग्रह’ को रूपमा व्याख्या गर्छन् । साथै आफू धर्म गुरु आत्मानन्द लिङदेनको छाया मात्र रहेको र उनकै आशीर्वाद लिएर चुनावी मैदानमा आएको उनको भनाइ छ ।  डकेन्द्र खबरहबसँग भन्छन्, ‘दलहरूले स्वार्थमा काम गरे, म जनपक्षीय काम गर्न मैदानमा निस्किएको छु ।’

पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रको चुनावी रणनीति र जित्ने दाबीबारे पछि चर्चा गरौंला, अहिलेचाहिँ उनी को हुन् भन्ने चर्चा गरौं–

को हुन् थेगिम

थेगिम इलामको फाकफोकथुम–३ आमचोकस्थित रातमाटे गाउँमा २०१८ साल जन्मिएका हुन् । आर्थिक रुपमा उनको परिवार राम्रै मानिन्छ । हजुरबा जबरध्वज थेगिम स्थानीयमाझ चर्चित थिए । बाबु असारसिंह थेगिम पनि राम्रो छवि भएका मानिन्थे । डकेन्द्रका बुबा प्रधानपञ्चसमेत बने । यही कारण थेगिम परिवारमा जन्मिएर डकेन्द्रलाई शिक्षा दीक्षाका लागि कुनै रोकतोक भएन ।

एसएलसी सकेपछि डकेन्द्र गाउँकै आमचोक स्कुलमा शिक्षक भए । त्यसपछि उनी प्रवीणता प्रमाणपत्र तहको अध्ययनका लागि ०३५ सालमा महेन्द्ररत्न बहुमुखी क्यापमा भर्ना भए । 

आइएड सकेपछि उनी दुई वर्ष शिक्षण पेशा गरेर ०३९ सालमा धनकुटा बहुमुखी क्याम्पसमा स्नातक तहका लागि भर्ना भए । ०४२ सालमा उनले  अंग्रेजी र अर्थशास्त्र विषयमा शिक्षा शास्त्र संकायको  स्नातक पूरा गरे ।

पढेर गाउँ फर्किएका डकेन्द्रले ०४३ सालदेखि ०६२ सालसम्म सिंहदेवी मावि आमचोक इलाममा  अंग्रेजी विषय पढाए । यसबीचमा उनी प्रधानाध्यापक पनि बने ।

गाउँमै लामो समय बसेर शिक्षण पेशा गरेका थेगिम आफ्नो जन्मथलोको माटो भन्दा टाढा गएका छैनन् । उनी भन्छन्, ‘त्योबेला गाउँमा अङ्ग्रेजी जान्ने मान्छे सीमित हुन्थे । गाउँका दाजुभाइ दिदीबहिनी सबैले मलाई सोध्नुहुन्थ्यो, मैले पढ्ने उत्प्रेरणा दिन्थेँ ।’ 

लामो समयको अध्यापनबाट बिदा लिइसकेपछि शिक्षामा डकेन्द्रको नाता टुटेन । अझ उनले थप एक दशक स्रोत व्यक्तिका रुपमा विभिन्न विद्यालयमा काम गरे । उनले ०६३ देखि ०७२ सम्म फाकफोक स्रोत केन्द्र र गजुरमुखी स्रोतकेन्द्रमा स्रोत व्यक्तिका रूपमा काम गरे । उनी बल्ल ०७२ सालदेखि सेवानिवृत्त भए । त्यसपछि उनको यात्रा सुरु भयो– धार्मिक, आध्यात्मिक एवं साहित्यिक फाँटमा ।

शिक्षापछि धर्म र अध्यात्म
डकेन्द्र ०६९ सालमा नै किरात धर्ममा औपचारिक रूपमा दीक्षित भएका थिए । थेगिम किरात धर्मको संस्था नालिफूवा देखि किरात धर्म साहित्य उत्थान समितिको विभिन्न तहको पदाधिकारी भइसकेका उनले किरात धर्म साहित्य उत्थान संघको संयोजकका रुपमा लामो समय काम गरे । उनमा सरलपन र शैक्षिक क्षमता देखेपछि धर्मगुरु आत्मानन्द लिङदेनले महत्वपूर्ण जिम्मेवारी दिए ।

लारुम्बाका किरात धर्मगुरु आत्मनन्द्र लिङ्देनबाट दीक्षित भएका थेगिम आफूलाई धर्मगुरुले महत्त्वपूर्ण जिम्मेवारी दिएको बताउँछन् । उनी आत्मनन्द्रका चेला हुन् ।

करिब तीन दशक शिक्षण पेशा र करिब दुई दशक किरात धर्म–साहित्यको उत्थानमा काम गरेका थेगिमका ५ छोरी र २ छोरा गरी ७ जना सन्तान छन् । उनीहरुमध्ये  एक छोरा र एक छोरी गायक–गायिका छन् । जेठा छोरा एकदेव लिम्बू र छोरी सुनिता लिम्बू गायक हुन् । एकदेवले पप र र्‍याप गीत गाउँछन् भने सुनिताले आधुनिक नेपाली गीतहरू गाएकी छन् । उनी लिम्बू भाषाका गीत पनि गाउँछिन् ।

डकेन्द्रले पहिली श्रीमतीको मृत्यु भएपछि दोस्रो बिहे गरेका हुन् । पहिली श्रीमतीबाट एक छोरी जन्मिइन् । हाल ५ छोरीहरूमध्ये २ जनाको विवाह भइसकेको छ । २ जना नातिनीसमेत छन् । अन्य छोराछोरी व्यवसायमा छन् । कान्छा छोरा र छोरी भने विद्यार्थी नै हुन् ।   

म धर्मगुरु आत्मानन्दको छाया हुँ :  थेगिम 
आफूलाई लारुम्बाका धर्मगुरु आत्मनन्द लिङ्देनको साथ र सहयोग भएको डकेन्द्र सुनाउँछन् । इलाम २ का जनताले साथ दिएका बेला आफ्ना गुरुले निर्वाचन लड्न आर्शिवाद र अनुमति दिएको उनको भनाइ छ । 

उनले खबरहबसँग कुरा गर्दै भने, ‘इलाम २ का सम्पूर्ण मतदाताको साथ त छँदै छ । मलाई मेरा आदरणीय गुरुज्यूको विशेष आर्शिवाद छ । म उहाँको अनुमति र साथ लिएर नै मैदानमा आएको हुँ ।’

आफूलाई गुरुले सम्पूर्ण हिसाबले साथ सहयोग र समर्थन गरेको बताउँदै उनले भने, ‘मैले गुरुज्यूको विशेष आर्शिवाद पाएको छु, म उहाँको छाया हुँ ।’

आफूलाई अन्य धर्मावलम्बीहरूको पनि समर्थन रहेको डकेन्द्रको दाबी छ । उनले भने, ‘म त साझा उम्मेदवार भएको छु ।’

पहिचान पक्षधरले जित्ने दाबी
आफूले उपनिर्वाचन जित्ने पक्कापक्की भएको भन्दै डकेन्द्रले इलामको माटोमा आफूजन्मेदेखि नै सेवा गरिरहेको हुनाले जनताले आफ्नो काम प्रष्ट रूपमा देखेको बताए । उनले पढाएका पूर्वविद्यार्थीदेखि अभिभावक र हरेक संस्थामा आवद्ध भएका मानिसहरूको आफूलाई साथ र हौसला भएको दाबी गरे । 

इलामका गल्ली–गल्ली र जनताका घर–घरमा आफूले शिक्षाको प्रचार तथा सेवामा खटिएको सुनाउँदै आफ्नो उम्मेदवारीले इलाम २ का जनता खुसी भएको थेगिमको तर्क छ ।

स्वतन्त्र उम्मेदवार थेगिम कोशी प्रदेशको नाम पहिचानका आधारमा राखिनुपर्ने अडान लिएर उम्मेदवार भएका छन् । उनी पुनः नामकरण संघर्ष समितिका संयोजक समेत हुन् । 

डकेन्द्रलाई धरानका मेयर हर्क साम्पाङले पनि खुलेर साथ दिएका छन् । साम्पाङले सामाजिक सञ्जालका साथै र प्रत्यक्षरूपमा इलाम २ मै पुगेर मतदातासँग डकेन्द्रलाई भोट मागेका छन् । 

एमाले, रास्पवा र कांग्रेसका नेताहरु भने इलामको चुनावमा पहिचान पक्षधर डकेन्द्र प्रतिस्पर्धामा आउन नसक्ने र तीन दलबीचमै प्रतिस्पर्धा हुने तर्क गर्छन् । तर, पहिचान पक्षधरहरु भने डकेन्द्रले चुनाव जित्ने दाबी गर्छन् । के आधारमा डकेन्द्रले चुनाल जित्लान त ? खबरहबको प्रश्नमा उनीको दाबी यस्तो यस्तो छ–

एक– विगतमा पहिचान पक्षधर लिम्बुहरू कहिल्यै मिल्दैनथे । यसपालि मिलेर डकेन्द्रलाई साझा उम्मेदवार उठाएका छन् । जस्तो– माङसेबुङमा वडाध्यक्ष जितेको जनमुक्ति पार्टीले पनि आफ्नो उम्मेदवार उठाएको छैन । चुलाचुलीमा वडाध्यक्ष जितेको संघीय लिम्बुवानले पनि उम्मेदवार उठाएको छैन । दुबै दलको साथ डकेन्द्रलाई छ । इलाममा यी दुई दलको भोट राम्रै छ ।

दुई– माङसेबुङको उपाध्यक्षसमेत जितेको र क्षेत्रमा राम्रै मत रहेको उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले पनि डकेन्द्रलाई नै सघाएको छ । डा. बाबुराम भट्टराईको समाजवादी पार्टीले पनि डकेन्द्रलाई सघाउने निर्णय गरेको छ ।

तीन– माङसेबुङका किरात धर्मावलम्बीहरुले विगतमा एमालेका सुवास नेम्वाङ लगायतलाई सघाउँदै आएका थिए । यसपालि आफ्नै समुदायबाट उनीहरुले डकेन्द्रलाई उम्मेदवारका रुपमा पाएका छन् । त्यसैले त्यहाँ रहेको पाँच हजार भन्दा बढी सामुहिक भोट डकेन्द्रकै पक्षमा खस्ने स्थिति छ ।
चार– हेभेनलीपथ लगायत इलाममा रहेका सबै धर्मावलम्बीहरुले पहिचान पक्षधर डकेन्द्रलाई सघाउने सम्भावना बढी छ ।

पाँच– नेपाली कांग्रेस र एमालेजस्ता पुराना दलप्रति जनताको वितृष्णा छ । उनीहरुभित्र आपसमै अन्तरविरोध र असन्तुष्टि रहेकाले अन्तरघातको सम्भावना छ । त्यो नभए पनि मतदाता नयाँको खोजीमा छन् ।

छ– रवि लामिछानेको रास्वपाको माहौल देशमा राम्रै भए पनि चितवन र इलामका मतदाताको सेन्टिमेन्ट फरक छ । इलाम जिल्ला पहिचानको आन्दोलनको रापतापमा रहेकाले संघीयता र प्रदेशको अधिकारप्रति कमजोर प्रतिवद्धता रहेको दलप्रति मतदाताको आकर्षण कम छ ।

सात– तथापि रास्वपाले कांग्रेस र एमालेका असन्तुष्टहरुको केही मत काट्ने सम्भावना छ, एकीकृत समाजवादीले पनि एमालेलाई नसघाई बेग्लै उम्मदेवार उठाएको छ, यो अवस्थामा ठूला पार्टीको भोट काटिने र पहिचान पक्षधर स्वतन्त्र उम्मेदवारलाई फाइदा हुने अवस्था छ ।

आठ– इलाम २ मा राई, लिम्बु मतदाताको उल्लेख्य उपस्थिति छ । यसपालि किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खाजस्ता संस्थाले पहिचान पक्षधरलाई सघाउने स्थिति छ । यो भएमा डकेन्द्रको बहुमत आउन सक्छ ।

नौ– डकेन्द्र आफैँमा एकजना बौद्धिक एवं सादगी भूमिपुत्र भएको नाताले उनलाई सबै जाति समुदायबाट सहानुभूतिको भोट आउन सक्छ । 

यसरी पहिचानवादी नेताहरुले डकेन्द्रले जित्ने ९ वटा आधारहरु बताए पनि लिम्बु उम्मेदवारहरुको प्रतिस्पर्धाका बीचमा कांग्रेसका डम्बरबहादुर खड्काले पनि फ्याट्ट जित्न सकिने आशा गरेका छन् । एमालेका सुहाङ युवा हुनुका साथै सुवास नेम्वाङप्रतिको सहानूभूतिको भोट उनले पाउने र जित्ने एमाले नेताहरुको दाबी छ । नयाँप्रति माहौल देखिएकाले आफ्नो जित पक्काजस्तै भएको रास्वपाका मिलन लिम्बुको पनि दाबी छ ।
कसले जित्छ, बैशाख १५ सम्म पर्खौं

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  ७ : ५९ बजे

प्रिमियर लिगको उपाधि लगातार चौथो पटक जित्दै सिटीले रच्यो दुर्लभ इतिहास

काठमाडौं- म्यान्चेस्टर सिटीले लगातार चौथोपटक इङ्लिस प्रिमियर लिगको उपाधि जितेको

इरानमा राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना, खोजी जारी

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर आइतबार खराब

जैविक विविधता संरक्षणमा डब्लुडब्लुएफको योगदान प्रशंसनीय : वनमन्त्री सुडी

काठमाडौं – वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले जैविक विविधता

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ

कामठाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो

रविले बोले पनि फुकेन संसदको गाँठो

काठमाडौं- प्रतिनिधिसभा बैठकमा भइरहेको अवरोध हटाउने सत्तापक्ष र प्रतिपक्षको केही