प्रचण्डले पाएनन् संसद्को विश्वास : पक्षमा ६३, विपक्षमा १९४ | Khabarhub Khabarhub

प्रचण्डले पाएनन् संसद्को विश्वास : पक्षमा ६३, विपक्षमा १९४

सुरुमा पाएका थिए प्रतिनिधिसभाको करिब शतप्रतिशत मत


२८ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


537
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसद्‍बाट विश्वासको मत पाउन असफल भएका छन् । नेपाली कांग्रेस र एमालेबीच नयाँ समीकरणमा सहमति बनेसँगै उनले संविधानको धारा १०० को उपधारा-२ अनुसार विश्वासको मत लिने निर्णय गरेका थिए ।

प्रधानमन्त्री बनेको १८ महिनामा पाँचौँ पटक विश्वासको मत लिँदा प्रचण्ड संसद्मा आफ्नो पक्षमा बहुमत जुटाउन असफल भएका हुन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उपस्थित सांसद २५८ जना थिए । प्रचण्डले मागेको विश्वासको मतको पक्षमा ६३ मत र हुन्न भन्ने पक्षमा १९४ मत परेको सभामुख देवराज घिमिरेले बताए । उनले मत दिन्न भन्ने पक्षमा १ मत परेको बताए।

प्रधानमन्त्रीको विपक्षमा कांग्रेस, एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, जसपा, जसपा-नेपाल, नागरिक उन्मुक्ति, लोकतान्त्रिक समाजवादी पार्टीसहित उभिए ।

प्रतिनिधि सभामा नेपाली कांग्रेस (८८) र दोस्रो ठूलो दल नेकपा एमाले (७९) सीट छ । राष्ट्रिय प्रजातन्त्र पार्टीसँग १४, जनता समाजवादी पार्टीसँग ७, जनमत पार्टीसँग ६, जनता समाजवादी पार्टी नेपालसँग ५, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र नागरिक उन्मुक्ति पार्टीसँग ४-४ सीट छ।

पाँचौँ पटक विश्वासको मत लिँदा प्रचण्डलाई यस पटक नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा (एकीकृत समाजवादी) को मात्रै साथ मिल्यो । जसमा माओवादीका ३२, रास्वपाका २१ र एकीकृत समाजवादीका १० सहित ६३ सांसद उनको पक्षमा उभिए ।

२०७९ पुस ११ गते तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेका प्रचण्ड यससँगै १८ महिनामा सरकारबाट बिदा भएका छन् ।

यसअघि चार पटकसम्म प्रधानमन्त्रीले सदनमा विश्वासको मत पाएका थिए । एमालेको समर्थन फिर्तापछि असार २१ गते संसद्‍मा पत्राचार गर्दै प्रधानमन्त्रीले विश्वासको मतको कार्यसूची अगाडि बढाइदिन आग्रह गरेका थिए ।

उनी एमालेसँग गठबन्धन गरेर प्रधानमन्त्री भए थिए । पहिलो पटक प्रधानमन्त्रीले सदनमा करिब शतप्रतिशत मत पाएका थिए ।

२०७९ पुस २६ गते प्रतिनिधि सभामा विश्वासको मत लिँदा उनले २६८ मत पाए । उपस्थितमध्ये दुई सांसदले मात्रै विपक्षमा मतदान गरे । कांंग्रेस र एमालेसहित सबै दलले प्रधानमन्त्रीलाई विश्वास दिएका थिए ।

राष्ट्रपति निर्वाचनको समयमा एमाले र माओवादी केन्द्रको गठबन्धन भत्किएपछि प्रचण्डले दोस्रो पटक २०७९ चैत ६ मा विश्वासको मत लिनु परेको थियो । उनले दोस्रो पटक १७२ मत पाए ।

एक वर्षको सत्ता सहयात्रापछि कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग सहकार्य गरे । गठबन्धन फुटेसँगै उनले तेस्रो पटक २०८० फागुन ३० मा विश्वासको मत लिए ।

तेस्रो पटक उनले १५७ मत पाए । यस्तै सरकारमा सहभागी जनता समाजवादी पार्टी (जसपा) नेपाल गत वैशाख २१ गते विभाजन भएपछि एक पक्षले समर्थन फिर्ता लियो ।

त्यसपछि प्रचण्डले २०८१ जेठ ७ गते चौथो पटक विश्वासको मत लिए । चौथो पटक पनि उनले १५७ मत पाए ।

यही असार १७ गते राति नयाँ समीकरणमा जाने निर्णय गरेका ठूला दल कांग्रेस र एमाले विपक्षमा उभिए । यस्तोमा प्रधानमन्त्रीले सदनको बहुमत पुर्‍याउन आवश्यक १३८ मत ल्याउन नसक्दा सत्ताबाट बिदा भएका छन् ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ५ : १६ बजे

विपन्न परिवारलाई चुलो वितरण

चितवन– चितवनको सौराहास्थित सपना भिलेज सोसल इम्प्याक्ट नामको गैरसरकारी संस्थाले

चाडपर्वले आपसी सद्भाव, सहिष्णुता र एकतालाई सुदृढ गर्छ : अध्यक्ष नेपाल

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले इसाई धर्मावलम्बीको महत्त्वपूर्ण

शेयर बजारमा ‘इन्ट्रा डे’ कारोबार : कहाँ पुग्यो योजना ?

काठमाडौं– नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ आएसँगै शेयर बजारको

पोखराको शहीद चोकलगायत क्षेत्रलाई निषेधमुक्त गर्न रास्वपाको माग

पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पोखराको सहिदचोक लगायत क्षेत्रलाई निषेधित

लेटाङका किसान कफीखेतीमा आकर्षित

मोरङ– कफीखेतीबाट प्रशस्त आम्दानी हुन थालेपछि परम्परागत खेतीलाई छाडेर लेटाङका