पोखरा – गण्डकी प्रदेशसभामा सदस्य एवम् ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री फणिन्द्र देवकोटा पदमुक्त भएका छन् ।
प्रदेशसभाका सभामुख कृष्णप्रसाद धितालले शुक्रबारको प्रदेशसभा बैठक सुरु हुनेबित्तिकै देवकोटाको सांसद पद गएको सूचना सुनाएका हुन् ।
नेकपा माओवादी केन्द्र संसदीय दलको ह्वीप उल्लंघन गरेर उनले कांग्रेस दलका नेता एवम् मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका थिए । जेठ २८ मा मुख्यमन्त्रीलाई विश्वासको मत दिएका उनी त्यसको भोलिपल्ट मन्त्रीमा नियुक्त भएका थिए ।
माओवादीको चुनाव चिन्ह हँसिया हथौडाबाट २०७९ को चुनाव जितेका देवकोटाले आफू नेपाल समाजवादी पार्टीको सांसद भएको भन्दै अर्को दलको ह्वीप नलाग्ने तर्क गर्दै आएका थिए ।
संविधानको धारा १८० मा प्रदेशसभा सदस्यको पद रिक्त हुनेसम्बन्धी व्यवस्थाबमोजिम स्थान रिक्त रहेको भनी सभामुखले प्रदेशसभा नियमावली २०८० को नियम २०७ अनुसार प्रदेशसभामा जानकारी गराएका हुन् ।
यसरी रिक्त रहेको जानकारी प्रदेश सभा सचिवले प्रदेश मन्त्रिपरिषद् र निर्वाचन आयोगलाई दिएर त्यसम्बन्धी सूचना राजपत्रमा प्रकाशन गर्ने कानुनी व्यवस्था छ ।
सभामुखले सूचना सुनाएसँगै देवकोटाको मन्त्री पद पनि जाने निश्चित छ । तर मुख्यमन्त्रीले चाहेमा उनी ६ महिनाका लागि मन्त्रीमा रहन सक्छन् ।
उनलाई अब न्याय खोज्न सार्वेच्च अलालतको बाटो खुलेको छ । उनले माओवादीको ह्वीप नटेरी फ्लोरक्रस गरेर मुख्यमन्त्रीको पक्षमा मत दिएपछि थिए ।
उनको मतसँगै मुख्यमन्त्री पाण्डेका पक्षमा बहुमत अर्थात ३१ मत जुटेको थियो । त्यसपछि मुख्यमन्त्री पाण्डेले उनलाई मन्त्री नियुक्त गरेका थिए । तर देवकोटाको पद गएपछि मुख्यमन्त्री पाण्डे पनि अल्पमतमा परेका छन् ।
थप समाचार
- गण्डकीमा ‘फ्लोर क्रस’प्रकरण : बाबुरामनिकट सांसदलाई माओवादीले कारबाही गर्ने
- नेसपाले भन्यो : ‘फ्लोर क्रस’ होइन, कानुन बमोजिम नै विश्वासको मत दियौं
- गण्डकीमा फणीन्द्र देवकोटा बने ऊर्जा मन्त्री, दीपक मनाङेलाई यातायातको जिम्मा
- गण्डकीमा ‘फ्लोर क्रस’ले जोगायो कांग्रेसको सरकार, राप्रपा र मनाङेको पनि साथ
- गण्डकीमा ‘फ्लोर क्रस’ले उठाएको प्रश्न, अर्काको चुनाव चिह्नबाट उठ्नेलाई के हुन्छ ?
- गण्डकीमा ‘फ्लोर क्रस’ : माओवादीले देवकोटालाई सोध्यो २४ घण्टे स्पष्टीकरण
- गण्डकीमा ‘फ्लोर क्रस’: देवकोटालाई निलम्बन गर्दै माओवादी केन्द्र
प्रतिक्रिया