अर्थसंक्षेप : घरजग्गाको कारोबार बढेदेखि पुँजीगत खर्चमा सुध्रिएन सरकारसम्म | Khabarhub Khabarhub

अर्थसंक्षेप : घरजग्गाको कारोबार बढेदेखि पुँजीगत खर्चमा सुध्रिएन सरकारसम्म


३ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : 5 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत वर्षको तुलनामा २०८१ जेठ महिनामा घरजग्गाको कारोबार केही बढेको छ । नेपालमा उत्पादन भएको बिजुलीले वर्षा याममा नेपाललाई नै अपुग भएको छ । आफूलाई चिनियाँ नागरिक बताउने ३७ वर्षीय शेरब ग्याल्मो सुनसहित पक्राउ परेका छन् ।

तीन दिनदेखि आन्दोलित नेपाल पेट्रोलियम ट्यांकर चालक संघ र सरकारबीच सहमति भएको छ । नेपाली बजारमा सोमबार सुनको मूल्य घट्यो । यस्तै, सरकारले पुँजीगत शीर्षकमा गर्ने खर्चको प्रवृत्ति पुरानै अवस्थामा रहेको तथ्यांकले देखाएको छ ।

हेर्नुहोस् आजका मुख्य आर्थिक समाचार :

घरजग्गाको कारोबार बढ्यो, कुन महिनामा कति ?

गत वर्षको तुलनामा २०८१ जेठ महिनामा घरजग्गाको कारोबार केही बढेको छ । गत वर्ष २०८० जेठ महिनामा ५५ हजार ७९ घरजग्गाको लिखत पास भएकोमा २०८१ जेठसम्म ६१ हजार १६१ वटा घरजग्गा र ३० वटा अपार्टमेन्टको लिखत पास भएको भूमि व्यवस्था तथा अभिलेख विभागले जनाएको छ ।

अघिल्लो वर्षको जेठको तुलनामा यो वर्षको जेठमा ६ हजारभन्दा बढी घरजग्गाको लिखत पास भएका हुन् । विभागकाअनुसार २०८० वैशाखमा ४९ हजार ७८२ वटा लिखत पारित भए भने २८ वटा अपार्टमेन्टको लिखत पारित भए ।

विभागको मासिक कारोबार हेर्दा, चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म आइपुग्दा घरजग्गाको कारोबार क्रमशः बढ्दै गएको देखिन्छ । २०८० साउन महिना देखि कात्तिक महिनासम्म घरजग्गाको कारोबार ह्वात्तै घटेको देखिन्छ ।

२०८० साउन महिनामा ३९ हजार २६२ वटा घरजग्गा तथा २९ वटा अपार्टमेन्ट, भदौ महिनामा ३५ हजार ६८६ वटा घरजग्गा तथा ४५ वटा अपार्टमेन्ट, असोज महिनामा ३९ हजार ८८१ वटा घरजग्गा तथा ३८ वटा अपार्टमेन्ट, कात्तिक महिनामा २६ हजार ४६ वटा घरजग्गा तथा २२ वटा अपार्टमेन्टको लिखत पारित भएको देखिन्छ ।

स्वदेशमै पुग्दैन बिजुली, प्राधिकरणलाई निर्यातकै हतारो !

यो सिजन चर्को गर्मीका कारण देशभर विद्युत् खपत बढ्दा नेपाल विद्युत् प्राधिकरणलाई लोड व्यवस्थापनमा सकस पर्‍यो । तराईका जिल्लामा मात्रै होइन, काठमाडौं उपत्यकामा गर्मी अचाक्ली बढेपछि साँझको पिक आवरमा विद्युत् खपत २ हजार १७० मेगावाटसम्म पुग्यो । जुन विगतको भन्दा निकै बढी विद्युत् खपत हो ।

विद्युत् खपत धान्न नसकेर प्राधिकरणले साढे २ सय मेगावाट भारतबाटै आयात गरिरहेको थियो । राष्ट्रिय प्रणालीमा झन्डै ३ हजार २ सय मेगावाटको जडित क्षमता पुगेको छ । तर, देशभर वर्षा नहुँदा हिउँदयामकै अवस्था रहेकाले अहिले १७ सय देखि १८ सय मेगावाट हाराहारी बिजुली उत्पादन भइरहेको प्राधिकरणले जनाएको छ ।

स्वदेशमा उत्पादित र आयातित बिजुलीबाटसमेत लोड व्यवस्थापन नहुँदा साढे २ सय मेगावाट अपुग भएको प्राधिकरणका प्रवक्ता चन्दकुमार घोषले बताए । बिजुली अपुग हुँदा औद्योगिक क्षेत्रका उद्योगहरूले १५ घण्टाभन्दा बढी लोडसेडिङको मार खेप्नुपरेको छ । दिनको ७÷८ घण्टा उपलब्ध हुने बिजुली पनि ‘ट्रिपिङ’ समस्याले उद्योग चलाउन सक्ने अवस्था नरहेको उद्योगीहरूको गुनासो छ ।

४०० मेगावाट निर्यात हल्ला मात्रै

एकातिर स्वदेशमा मागअनुसारको विद्युत् अपुग छ । अर्कातिर भारतबाट आयात गर्नुपर्ने बाध्यता । यस्तो अवस्थामा पनि प्राधिकरणलाई निर्यातकै हतारो छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत जेठ १४ बाट भारततर्फ ४०० मेगावाट बिजुली निर्यात सुरु गरेको दाबी गरेका थिए ।

श्रीलंकाको अर्थतन्त्रमा सुधारको संकेत

श्रीलंकाले सोमबार पहिलो त्रैमासिकमा कमजोर विदेशी मुद्रा संकटबाट सुधार जारी राख्दै अर्थतन्त्र अपेक्षाभन्दा धेरै बलियो बनेको जनाएको छ ।

जनवरीदेखि मार्चसम्ममा ५.३ प्रतिशत विस्तारले अघिल्लो तीन महिनाको तुलनामा वृद्धि देखिएको छ । गत वर्षको सोही अवधिमा अर्थतन्त्रमा १०.७ प्रतिशत संकुचन थियो । एउटा सर्वेक्षणमा ४.० प्रतिशतको पूर्वानुमान रहेको तर पहिलो त्रैमासिकको सुधारले अनुमान गरिएभन्दा बढी (५.३ प्रतिशत) सुधार देखिएको हो ।

उप–अर्थमन्त्री रञ्जित सियाम्बलापितियाले सरकारले सन् २०२४ मा समग्र वार्षिक वृद्धि २.२ प्रतिशत हुने अपेक्षा गरेको बताए । सबैभन्दा खराब आर्थिक संकटको सामना गरेको दुई वर्षपछि सकारात्मक वृद्धि हासिल गर्न सफल हनु उल्लेखनीय भएको उनले बताए ।

आधिकारिक तथ्यांकले सन् २०२३ को जनवरीदेखि मार्चसम्ममा २४.३ प्रतिशत सङुकुचनको तुलनामा पहिलो त्रैमासिकमा ११.८ प्रतिशतको विस्तारका साथ औद्योगिक क्षेत्रमा तीव्र सुधार देखिएको छ ।

सेप्टेम्बर २०२२ मा मुद्रास्फीति ७० प्रतिशतको शिखरबाट मेमा ०.९ प्रतिशतमा झरेको कारण निर्माण क्षेत्रमा पनि सुधार देखिएको छ । गत हप्ता अन्तर्राष्ट्रिय मुद्रा कोषले श्रीलंकालाई चार वर्षको २.९ अर्ब डलर कर्जा सहयोगको एक भागको रूपमा तीन करोड ३६ लाख अमेरिकी डलर प्राप्त गरेको थियो ।

सुनसहित पक्राउ परेका चिनियाँ नागरिक ग्याल्मोसँग नेपाली नागरिकता

आफूलाई चिनियाँ नागरिक बताउने  ३७ वर्षीय शेरब ग्याल्मो सुनसहित पक्राउ परेका छन्। आफूलाई चिनियाँ नागरिक बताउने  ग्याल्मो भन्ने सोनाम गुरुङको साथबाट प्रहरीले नेपाली नागरिकता फेला समेत पारेको जानकारी दिएको हो ।

उनको साथबाट सोनाम गुरुङको नाममा रहेको नेपाली नागरिकताको प्रमाण पत्र एक थान बरामद भएको नेपालको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिएका छन् ।

आफूलाई चिनियाँ नागरिक बताउने गुरुङले अवैधरुपमा सुन तस्करी गर्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ६० किलो अवैध सुनको थप अनुसन्धान गर्ने क्रममा गुरुङ पक्राउ परेको सीआईबीले जनाएको छ ।

सोमबार बिहान सीआईबीको टोलीले ६ किलो सुनसहित गुरुङलाई बौद्धको तिनचुलीबाट  नियन्त्रणमा लिएको हो । उनको साथबाट ९९९.९ किलो सुन ६ थान, ४८ लाख नेपाली रुपैयाँ र ३ थान मोबाइल बरामद भएको  छ ।

गुरुङ अवैध सुन भन्सार चोरी पैठारी गर्दै आएको खुलेको प्रहरीले जनाएको छ । बरामद सुन र गुरुङ बारे सीआइबीले थप अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जानकारी दिएको छ ।

पेट्रोलियम ट्यांकर चालकको आन्दोलन फिर्ता, सरकारसँग चार बुँदे सहमति

तीन दिनदेखि आन्दोलित नेपाल पेट्रोलियम ट्यांकर चालक संघ र सरकारबीच सहमति भएको छ । चालकहरूको मागबारेमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सोमबार भएको वार्तापछि चार बुँदे सहमतिमा हस्ताक्षर भएको हो ।

नेपाल पेट्रोलियम ट्यांकर चालक संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल पेट्रोलियम तथा ग्यास श्रमिक संघ र बागमती पेट्रोलियम डिलर्स एशोसियसनले आयल निगमसमक्ष राखेका मागहरूलाई लिएर उक्त सहमति भएको हो ।

सहमतिअनुसार सोमबारदेखि नै ट्यांकर चालक संघले आफ्ना सम्पूर्ण आन्दोलनका कार्यक्रमहरू फिर्ता गरी उपभोक्ताको पेट्रोलियम पदार्थको ढुवानी गर्ने भएका छन् । संघको ७ बुँदे माग लगायत यस क्षेत्रमा देखा परेका समस्याको समाधान गर्ने गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्न निगमका नायव कार्यकारी निर्देशक (बजार व्यवस्था) को संयोजकत्वमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रतिनिधि तथा नेपाल पेट्रोलियम ट्यांकर चालक संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र अखिल नेपाल पेट्रोलियम तथा ग्यास श्रमिक संघका प्रतिनिधित्व हुने गरी एक उपसमिति गठन गर्ने सहमति पनि भएको छ ।

पुँजीगत खर्चमा सुध्रिएन सरकार, प्रतिदिन २ अर्ब बढी बर्खे खर्च गर्ने सम्भावना

सरकारले पुँजीगत शीर्षकमा गर्ने खर्चको प्रवृत्ति पुरानै अवस्थाको रहेको तथ्यांकले देखाएको छ । जसले गर्दा सरकारले चालु आर्थिक वर्ष(आव)को बाँकी रहेको अवधिमा दैनिक २ अर्ब भन्दा बढी खर्च गर्ने संकेत देखिएको छ ।

सरकारले चालु आवमा पुँजीगत खर्च शीर्षकमा ३ खर्ब २ अर्ब ७ करोड ४४ लाख रकम विनियोजन गरेको छ । जसमध्ये चालु आवको ११ महिना अर्थात् जेठ मसान्तसम्म सो शीर्षकमा रहेको रकममध्ये जम्मा १ खर्ब ३४ अर्ब ९७ करोड ९२ लाख अर्थात् जम्मा ४४.६८ प्रतिशत रकम मात्रै खर्च भएको छ ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार विगतमा पनि सरकारले आवको ११ महिना अर्थात् जेठ मसान्तसम्म ४० प्रतिशत वरिपरि मात्रै खर्च गर्ने र बाँकी ३० दिनको अवधिमा त्यसलाई ६० प्रतिशत पुर्याउने गरेको देखिन्छ । जुन प्रवृत्ति लामो समयदेखि कायम रहेको पाइन्छ । त्यसैले सरकारले चालु आवको अन्तिम बर्खे महिना अर्थात् असारको ३० दिन अवधिमा पनि पुँजीगत शीर्षकमा दैनिक २ अर्ब बढी रकम खर्च गर्न सक्ने देखिएको छ ।

अघिल्लो आवको जेठ महिनासम्म पनि सरकारले पुँजीगत शीर्षकमा विनियोजित ३ खर्ब ८० अर्ब ३८ करोड ४५ लाख बजेटमध्ये जम्मा १ खर्ब ५३ अर्ब ८ करोड ४२ लाख अर्थात् ४०.२४ प्रतिशत मात्रै रकम खर्च गरेको थियो ।

सुनको मूल्य घट्यो

नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा ६०० रुपैयाँले घटेको हो । महासंघका अनुसार आज छापावाल सुन तोलामा एक लाख ४२ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा एक लाख ४२ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा २० रुपैयाँले घटेर तोलाको १८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  ६ : ४० बजे

अर्थसंक्षेप : संसदीय समितिले थाल्यो गोर्खा मिडियाको छानबिनदेखि लुम्बिनीको बजेट पारितसम्म

काठमाडौं– क्यानको अनुमति बिना नेपाल वायुसेवा निगमको जहाज मर्मतको लागि

औषधि उद्योग सुधार्न उच्चस्तरीय अनुगमन समिति गठन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले औषधि उद्योग सुधारका लागि

एमालेमा नअटाएका भीम रावलले खोल्लान् नयाँ पार्टी ?

काठमाडौं– डा. भीम रावल पछिल्लो समय नेकपा एमालेको राजनीतिमा ‘न

जनकपुरधाम-अयोध्या रेल सेवा सञ्चालनको तयारी 

जनकपुरधाम– मधेस प्रदेशको राजधानी जनकपुरधामबाट भारतको उत्तरप्रदेशस्थित अयोध्याका लागि रेल

सिरहाबाट भारततर्फ तस्करी गर्न लागिएको मदिरा बरामद

सिरहा – सिरहा जिल्लाको सिरहा नगरपालिका–१५ बुधौरास्थित सीमा इलाकाबाट भारततर्फ