काठमाडौं – आइसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजअन्तर्गत भइरहेको खेलमा नेपालले स्कटल्याण्डविरुद्ध कसिलो बलिङ गरेको छ । अमेरिकासँगको अघिल्लो खेलमा विकेटविहीन बनेका सन्दीप लामिछानेले पनि जारी खेलमा विकेट लिएका छन् ।
खेलको २५ ओभर सकिँदा ५ विकेट गुमाएको स्कटल्याण्ड यो समाचार तयार पार्दासम्म ३.२६ रनरेटमा ८१ रन जोडेर खेलिरहेको छ । पहिलो ओभरको पाँचौँ बलमै क्यानडाका ओपनर ब्याट्सम्यान चार्ली टिअरको विकेट करण केसीले लिएका थिए ।
सोमपाल कामीले ७.६ ओभरमा एन्ड्रयू उमिदलाई बोल्ड गर्दा ११.५ ओभरमा सन्दीप लामिछानेले ब्रान्डोन म्याक्म्युलेनलाई एलबीडब्यू धरापमा पारे ।
२१.४ ओभरमा आरिफ शेखले माइकल जोन्सलाई रोहित पौडेलको हातबाट क्याचआउट गराए भने २२.४ ओभरमा गुल्सन झाले रिचि बेरिङ्टनलाई आरिफ आरिफ शेखबाट क्याच गराउँदै पेभेलियन फर्काइदिए ।
स्कटल्याण्डविरुद्धको खेल यतिखेर अमेरिकाको डाल्लासस्थित ग्राण्ड प्रेरी क्रिकेट स्टेडियममा भइरहेको छ । जारी खेल आइसीसी विश्वकप लिग-२ त्रिकोणात्मक तेस्रो सिरिजको दोस्रो खेल हो ।
तेस्रो सिरिजको पहिलो खेलमा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको थियो । हालसम्म खेलेका लिग २ का ९ खेलमा ७ हार र १ जित तथा १ खेल रद्द भोगेको नेपालले ३ अङ्क जोडेको छ । स्कटल्याण्डले भने ८ खेलमा ११ अङ्क जोडेको छ ।
प्रतिक्रिया