‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी | Khabarhub Khabarhub

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी


१६ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 7 मिनेट


22.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही पात्रबाट चर्चित बने । ‘पशुपति प्रसाद’ फिल्मको हनुमानको भूमिकाले उनलाई फिल्म क्षेत्रमा नयाँ आयाम दियो ।

अहिले रवीन्द्रको परिचय कुशल कलाकारसँगै निर्माताका रुपमा पनि विस्तार भएको छ । उनी निर्माता रहेको फिल्म कुनै फ्लप छैनन् । तर विसं २०५६ मा अभिनय सिक्न जाँदा रवीन्द्रको उद्देश्य कलाकार बन्ने थिएन रे !

तर अभिनय यात्राको उनको बाटो सहज भने छैन । यहाँसम्म आउन उनले दोस्रो नाटकमा पैसा पाउने आशाले पहिलो काम निशुल्क पनि गरे । निर्देशकको रुखो बोलीले आँखाभरि आँसु पार्दै अभिनय गरेको क्षण उनलाई अझै ताजै छ ।

फिल्म बनाउन झोलामा लालपूर्जा बोकेर निर्माता खोज्न बजार डुलेका रवीन्द्रले प्रेमिककाको आमाको गहनासमेत बैंकमा धितो राखेर फिल्म बनाएको प्रसंगसहित केही रोचक कुरा खबरहबसँग सेयर गरेका छन् ।

लाज हटाउन नाटक

काठमाडौंकै प्रसुति गृहमा जन्मेका रवीन्द्र धादिङमा हुर्केका हुन् । स्नातक गर्न काठमाडौं आएपछि लजालु बानी हटाउन सोचले उनी अभिनय सिक्न गएका हुन् ।

उनी स्मरण गर्छन्, ‘मोहन निरौलाको परिवर्तन नेपाललमा सित्तैमा अभिनय सिकाइन्छ भनेर विज्ञापन खुलेको मामाले थाहा पाउनुभएछ । कतै जागिर खान जाँदा अन्तर्वार्ता दिँदा लाज हट्छ भन्ने लागेर पनि त्यहाँ गएको हुँ ।’

०५६ मा असारमा अभिनय सिक्न धाउन लागेपछि उनले पढाई भने पूरा गरेनन् । मोह पस्दै गएपछि उनी अभिनयबाट टाढा बन्न सकेनन् ।
उनी भन्छन्, ‘भाँडाकुटी खेलेको जस्तो, नाटक त रमाइलो लाग्दै गयो । त्यसपछि त छोड्नै मन लागेन ।’

यद्यपि सुरुमा नाटक खेल्दा लाज र डरले डाइलग नै बोल्नै सकस भएको क्षण उनले आज पनि बिर्सिएका छैनन् ।

‘बौद्धमा पहिलो पटक प्रजातन्त्र भन्ने नाटक खेलेको हुँ । मलाई तीन वटा डाइलग दिइएको थियो । मञ्चमा जाँदा मैले डरले केही देखिनँ । आफ्नो भूमिका सकेर मञ्चबाट बाहिरिएपछि लामो सास फेरेको थिएँ ।’ उनी पहिलो पटक नाटक खेल्दाको अनुभव सुनाउँछन् ।

उनका त्यसबेला नाटकका साथीहरु आर्यन सिग्देल, बाबु बोगटी, शंकर बीसीलगायतका हुन् । उनी भन्छन्, ‘विसं २०५७ तिर हाम्रो भेट भएको हो । सबै संघर्ष गर्दै थियौं । कसैको पनि दाह्री आएको थिएन ।’

‘आर्मी बन्न डरले छेक्यो’

उमेर बढ्दै जाँदा पैसा कमाउनु पर्ने दबाब बढेपछि घरबाट आर्मी बन्न हिँडेकोसमेत उनी बताउँछन् । तर जनयुद्ध उत्कर्षका भएकाले बाटैबाट भागेको अनुभव पनि रवीन्द्रसँग छ ।

उनी स्मरण गर्छन्, ‘बुबा आर्मी भएकाले भविष्य बनाउन आर्मी बन्नको लाथिग बाटो खुला थियो । उहाँले चिनेको मान्छे पनि रहेछन् । तर जनयुद्ध उत्कर्षमा भएकाले ज्यानको माया भयो । जनयुद्धका कारण सेकेण्ड लप्टन हुन सजिलो पनि थियो तर बाटैबाट टाप कसें ।’

पढाइ पनि उत्कृष्ट नभएको अन्य जागिर नखाएको र नाटकको मोह पनि बढ्दै गएकाले अभिनयमै समर्पित हुने निर्णय लिएको उनी बताउँछन् ।
उनी भन्छन्, ‘अन्त्यमा पैसा नै कमाउने हो । पैसा कमाएर गर्ने रमाइलै गर्ने हो यहाँ पैसा नभए पनि रमाइलै छ भन्ने भयो । अब अभिनयलाई नै पेसा बनाउनु पर्छ भन्ने निर्णय लिएँ ।’

तर सहज यात्रा भएकाले उनले यो अभिनयको बाटो रोजेका होइनन् । सुरुवाती दिनका ठक्कर उनलाई एक–एक याद छ । निर्देशकको रुखो बोलीले आँखाका डिलमा भरिएको आँसु खस्न नदिन मन दाह्रो बनाउन गरेका संघर्ष उनले दुई दशक बित्दा पनि बिर्सिएका छैनन् ।

सुटिङका लागि पहिलो पटक पाँच तारे होटलमा जाँदा निर्देशक शम्भु प्रधानको गाली सम्झदै उनी भन्छन्, ‘पुरुष भन्ने टेलिसिरियलमा बाबु बोगटी मुख्य भूमिकामा छानियो । हिरोका साथीको रोलमा मोहन निरौलाले म र अरु ४ जनालाई पठाउनुभयो । नर्मस भएर बिग्रिएपछि शम्भु प्रधानले– ए कहाँबाट क्यारेमबोर्ड खेल्ने केटाहरु उठाएर ल्यायौ भनेर गाली गरे । मलाई त रुन मन लाग्यो । आँखाभर आँसु भयो ।’

निर्देशकको रुखो बोली मात्रै होइन अभिनय गर्दा निकाल्ने डरले पारिश्रमिक समेत नसोधी काम गरेको अनुभव उनीसँग छ । दोस्रो पटक पैसा पाउने आशले पहिलो पटक निशुल्क गरेका काम त उनको गन्तीमै छैनन् ।

उनी भन्छन्, ‘नाटक त गर्‍यो, पैसा सोध्यो भने निकाल्ने हो कि भन्ने डर । एनजीओहरुको नाटकमा पहिलो पटक त्यसै डमी काम गरौं, दोस्रो पटक पैसा हुन्छ भन्ने धेरै थिए । सबैको पहिलो पटक गर्दा गर्दा ५०–६० वटाभन्दा बढी गर्न भ्याइएछ ।’

पैसाभन्दा इमान र इज्जतलाई केन्द्रमा राखेर काम गर्नुपर्छ भन्ने चेतनाले आफूलाई बिचलित हुनबाट रोकेको उनको बुझाइ छ ।

प्रेमिकाको अमूल्य साथ

राष्ट्रिय नाचघरमा भेटेकी पे्रमिका नै उनी आफ्नो संघर्षको खम्बाको रुपमा लिन्छन् । परिवारको खर्चमा रहुन्जेलसम्म कलाकार बनेका केही साथी पलायन हुँदा आफूलाई भने प्रेमिकाले नै काठमाडौंमा टिकाएको उनी सम्झन्छन् ।

‘वृति विकासका लागि अभिनय सिक्न आएकी युवतीसँग प्रेम बस्यो । सन् २००७ मा उनी बेलायत गइन् । नैतिक, आर्थिक लगायत सबै कुरामा प्रेमिकाको साथ, समर्थन थियो ।’ उनी भन्छन् ।

प्रेमिकाको यही समर्थनले फिल्म निर्माण गर्ने हैसियत निर्माण भएको उनको बुझाइ छ ।

अनि बन्यो ‘टलकजंग भर्सेस टुल्के’

टलकजंग भर्सेस टुल्केमा रवीन्द्र

रवीन्द्र ‘टलकजंग भर्सेस टुल्के’लाई संयोगको मिश्रणले मात्रै निर्माण सम्पन्न भएको फिल्मका रुपमा लिन्छन् । बन्दै आएका नेपाली फिल्म चित्त नबुझेरै सो प्रोजेक्टमा हात हालेको उनी बताउँछन् ।

उनी भन्छन्, ‘हामीले नेपालकै कथा भएको नेपाली फिल्म नै निर्माण गर्ने भन्ने सोचले त्यो फिल्म बनाएको हो ।’

खगेन्द्र लामिछानेले जागिरका कारण ‘टलकजंग भर्सेस टुल्के’ नाटकमा खेल्न नपाउनु फिल्म बन्नुको अर्को कारण रहेको उनको बुझाइ छ ।

उनी थप्छन्, ‘बीबीसीको जागिरले गर्दा खगेन्द्रले नाटक खेल्न पाएन । उसलाई कथा मन परेको रहेछ । खगेन्द्रले यो फिल्ममा मुख्य भूमिका मेरो हुन्छ भने मात्रै स्क्रिप्ट लेख्छु, नभए लेख्दिनँ भन्यो । निश्चल बस्नेतले हुन्छ भनेपछि मात्रै खगेन्द्रले स्क्रिप्ट काम गरेको हो ।’

‘लुट’ हिट भएपछि ठूला लगानीकर्ता छोडेर आफूहरुको फिल्ममा निश्चलले निर्देशन गर्नुलाई भने रवीन्द्र संयोगका रुपमा लिन्छन् ।

उनी भन्छन्, ‘हामीसँग पैसा पनि थिएन । उसका पछि पैसा भएका प्रोड्युसरको लाइन थियो तर उसले हाम्रो इच्छाशक्तिका कारण काम गर्‍यो ।’

प्रेमिकाको आमाको गहना बेचेर फिल्ममा लगानी !

निश्चल बस्नेतले निर्देशन गर्ने भएपछि ‘टलकजंग भर्सेस टुल्के’मा लगानी गर्ने हिम्मत आएको रवीन्द्र बताउँछन् । लालपूर्जा झोलामा बोकेर सह–निर्माता खोज्दै हिडेको समेत अनुभव उनीसँग छ ।

उनी भन्छन्, ‘प्रेमिकाले पठाएको पैसाले तारकेश्वरमा ३२ लाखमा १० आना जग्गा किनेको थिएँ । अनि प्रोड्युसर खोज्न झोलामा लालपुर्जा बोकेर हिडेँ । पैसा उठेन भने यो लालपुर्जाको जग्गा तपाईंको भयो, फिल्मले व्यापार गर्‍यो भने लालपूर्जा फिर्ता दिनू भन्दै हिँडेको हो म ।’

लालपूर्जा नै देखाएर फिल्ममा लगानी गर्न रामकुमार बिनायाँ तयार भएको उनी बताउँछन् । उनी भन्छन्, ‘ऊ चिनेको पैसा भएको भाइ भएर मैले भेटेको थिएँ । तर उसले लालपूर्जा राखेन, फिल्ममा लगानी गर्‍यो । अनि राजकुमार, खगेन्द्र र मैले बराबर पैसा राखेर फिल्म बनायौं ।’

फिल्म निर्माण भएपछि प्रमोसनका लागि पैसा अपुग हुँदा प्रेमिकाको आमाको गहना बेचेको उनको जीवनको अविस्मरणीय क्षण हो ।
उनी भन्छन्, ‘सीता (प्रेमिका)लाई पैसा पुगेन भने आमाको गहना लैजानु भनी । अनि आमासँग गएर सीताले भनेको सुन छ रे चाहियो भनेँ । सुन बैंकमा राखेर ६ लाख लिएँ । अनि फिल्म प्रदर्शनमा आयो ।’

फिल्मले थोरै मात्र नाफा कमाएको थाहा पाएपछि निर्देशक निश्चलले पैसा नलिइ देखाएको उदारताप्रति उनी कृतज्ञ छन् ।

उनी भन्छन्, ‘हामीसँग पैसा थिएन । निश्चल पाटनर नै बनेको थियो तर फिल्मले थोरै नाफा कमाएपछि उसले पेट्राल खर्च मात्रै लियो ।’

‘टलकजंग भर्सेस टुल्के’मा रवीन्द्रको निश्चलसँग लिएर अर्को रोचक किस्सा पनि छ । फिल्ममा बाबुसाहेको भूमिका लागि अडिसन पास भएपछि मात्रै निश्चलले रवीन्द्रलाई खेलाउन राजी भएका हुन् रे ।

रवीन्द्र भन्छन्, ‘फिल्ममा अलि कडा स्वभावको पात्र चाहिने । तीन चार जनाको अडिसन दिएपछि मैले पनि अडिसन दिन्छु भने । सुरुमा त पत्याएकै थिएन ।’

कार्यकारी निर्माता पनि भएकाले विभिन्न जिम्मेवारी निर्वाह गर्नुपर्ने बाध्यताले सो फिल्मले राम्रो पाठ सिकाएको उनको बुझाइ छ ।

‘डोको चाहियो, गुन्द्री चाहियो भन्छन्, त्यो पनि लिन पुगेको छु । गाउँबाट ल्याएको सामान पनि पुर्‍याउन आफैँ दौडिएको छ,’ उनी भन्छन्, ‘क्यामेरा देख्यो कि दिनको २२ हजार भाडा भन्ने याद आउने । यतिसम्म कि म जति बेला पनि उपलब्ध भएकाले अरुको सुटिङ नहुँदा मेरो पालो आउँथ्यो ।’

यद्यपि यही फिल्मले आफू र खगेन्द्रलाई कलाकारको परिचय दिएकाले निर्माणको सारा धपेडी बिर्सने बाहाना बनेको उनी बताउँछन् ।

अनुहार छोपेको फिल्मले लिएको चर्चा

‘पशुपति प्रसाद’मा हनुमानको भूमिकामा रवीन्द्र

‘पशुपति प्रसाद’ फिल्म वास्तविक घटनाबाट उत्प्रेरित भएर निर्माण गरिएको रवीन्द्र सुनाउँछन् ।

‘रत्नपार्कको रात्री फुटपाथ पसलमा पश्चिमबाट आएका केटाहरु घुम्दै पुगेछन् । एउटाले पेटी मन परेर टाढा रहेको साथीलाई देखाउन जाँदा चोर भनेर पिटेछन् । उसको त्यही पिटाइले ज्यान गयो,’ उनी भन्छन्, ‘यो घटना चाहिँ हामीलाई फिल्ममा भन्न मन थियो ।’

सुरुमा पशुपति प्रसादको भूमिकामा अफिसमा चिया पुर्‍याउने भाइलाई खेलाउने तय भए पनि ऊ गाउँबाट नफर्किएपछि खगेन्द्रले खेलेको रवीन्द्र बताउँछन् ।

‘त्यो भाइ फर्किएन अनि खगेन्द्रले म आफैँ खेल्छु भन्यो । फिल्म राम्रो बनाउनु पर्छ भनेर आदर्शवादी भएर मलाई नखोलाउँदा नि हुन्छ भनेको थिए तर खेल्न मन थियो’ उनी भन्छन्, ‘सबैको भूमिका रोजियो, मेरो भागमा अनुहार छोप्ने हनुमान पर्‍यो, त्यही पात्र जीवनकै हिट बन्यो ।’

लजिकभन्दा म्याजिक शक्तिशाली

जात्रा फिल्ममा  जोयशको भूमिकामा रवीन्द्र (बीचमा)

रवीन्द्र अनुबन्ध भएका फिल्म प्रायः सबै हिट छन् । उनले निर्माण गरेको पहिलो फिल्म ‘टलकजंग भर्सेल टुल्के’ फरकधारमा बनेको निर्माण भएको भनेर चर्चा पाएको थियो ।

‘पशुपति प्रसाद’, ‘महापुरुष’ र जात्राका तीन श्रृंखलामा दर्शकबाट राम्रो साथ पाएका फिल्म हुन् । केही फिल्ममा उनी मुख्य पात्रमा छन् भने बाँकीमा उनी कलाकारसहित निर्माताको जिम्मेवारी छन् ।

‘किन आफूहरुको सबै फिल्म हिट हुन्छ ?’ भन्ने प्रश्नको उत्तर रवीन्द्र आफैँले खोजिरहेका छन् । उनी प्रश्न गर्छन्, ‘पहिलो फिल्म त संयोग हो भन्ने धेरै कारण छ बाँकी पनि किन हिट भइरहेका छन् ?’

अध्यात्ममा विश्वास गर्ने रवीन्द्र आफ्ना फिल्महरु हिट हुनमा ‘लजिकले भन्दा बढी म्याजिक’ भूमिका रहेको मान्छन् ।

यसबाहेक फिल्म हिट हुनुपछाडि उनले बुझेको कारण कारण हो– असल संगत, निस्वार्थीपन र आफ्नो फिल्मको दर्शक आफैँ बन्ने क्षमता ।

‘हाम्रो टिममा भएका मान्छे असल छन् । प्रदीप भट्टराई यति असल स्वभावको छ कि उसको संगत छोड्नै मन छैन मलाई । म्याक्स दीपेश उस्तै स्वभावको छ ।’ उनी भन्छन् ।

हरिवंश आचार्यसँगको सहकार्यलाई भने उनी ‘म्याजिक’का रुपले लिन्छन् । उनी भन्छन्, ‘उहाँसँग काम गर्न कति मान्छे तयार छन् तर मैले उहाँसँग काम गर्न पाउनुका पछाडि लजिक होइन म्याजिकले काम गरेको छ ।’

बौद्ध धर्मबाट ‘आफूलाई असल संगतमा राख्ने’ चेतना मिलेकाले आफू अहिलेको अवस्थामा पुगेको उनी बताउँछन् । उनी भन्छन्, ‘म राम्रो प्रतिभा भएको तर खराब व्यक्तिलाई फिल्ममा राख्दिनँ । एक वर्षमा मलाई उसको नराम्रो बानी सर्छ भन्ने लाग्छ । फिल्म हिट भएर मलाई आफू फ्लप हुनु छैन ।’

फिल्म हिट हुनुको प्राविधिक पाटो भने आफ्नो फिल्म आफैँ दर्शक भएर हेर्ने टिमको क्षमता रहेको उनको बुझाइ छ ।

‘पहिले हामीले हाम्रो फिल्मले कति कमाउँछ भन्दा पनि दर्शक कति रमाउँछन् भनेर सोच्छौं । आफैँ दर्शक भएर हेर्छौं । कथालाई अहिले परिस्थितिसँग ढाल्न खोज्छौं’ उनी थप्छन्, ‘हाम्रो टिममा नै रचनात्मक बहस हुन्छ । दर्शकबाट आउन सक्ने प्रश्नबारे बढीभन्दा बढी छलफल हुन्छ ।’

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार  २ : ४८ बजे

विश्वदीपले छाडे बाबुरामको साथ

काठमाडौं- भुमिगतकालदेखि नै डा‍‍‍. बाबुराम भट्टराईलाई स्वकीय सचिवका रुपमा साथ

गैँडाको आक्रमणबाट एक युवक घाइते

मकवानपुर– मकवानपुरको मनहरी गाउँपालिका–७ का एक युवक गैँडाको आक्रमणमा परी

विश्वविद्यालय र शिक्षा क्षेत्रमा गम्भीरताका साथ लाग्छु : प्रधानमन्त्री

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू विश्वविद्यालय र शिक्षा क्षेत्र

उत्तर प्रदेशमा मोदी-योगी लोकप्रियताको जाँच

काठमाडौं- बैशाख ७ देखि हुन लागेको भारतको आम निर्वाचनका सन्दर्भमा

लागुऔषध मुद्दामा कञ्चनपुरमा २१६ जना पक्राउ

कञ्चनपुर– बिगत नौ महिनामा कञ्चनपुर प्रहरीले लागुऔषध दुर्व्यसन र ओसारअपासर