काठमाडौं– दुईतिहाइ बहुमत प्राप्त सरकारका गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणमा मुछिएर विवादमा परेको पनि दुई साता भइसकेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन विभागका प्रमुखका रुपमा लेखकले नै खटाएका सहसचिव तीर्थराज भट्टराईसहितले भिजिट भिसामा जाने नेपालीबाट दैनिक ५० लाखभन्दा धेरै अवैध असुली गरेको आरोपमा पक्राउ परेपछि लेखक पनि मुछिएका हुन् ।
उक्त प्रकरणमा विमानस्थल अध्यागमनले उठाएको रकम लेनदेनमा गृहमन्त्री लेखककै सचिवालयका सदस्यहरू पनि मुछिएको विवरण सार्वजनिक भइसकेको छ ।
कुनै बेला नेपाली कांग्रेस प्रतिपक्षमा हुँदा संसद्मै प्रश्न उठिसकेपछि मन्त्रीले राजीनामा दिनुपर्ने वक्तव्य दिने लेखक आफैंमाथि प्रश्न उठ्दा भने अटेरी गरेर बसेका छन् ।
उनलाई कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीले साथमात्रै दिएका छैनन्, सार्वजनिक रूमै बचाउमा पनि उत्रिएका छन् ।

सोमबार मात्रै प्रधानमन्त्री ओलीले एमाले संसदीय दलको बैठकमै गृहमन्त्री लेखको बचाउ गरे, त्यो पनि चर्को स्वरमा । संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले गृहमन्त्रीको राजीनामाको मागसहित आन्दोलित विपक्षीलाई कडा कटाक्ष गरे ।
‘यस्तो नचाहिँदाो कुरामा संसद्लाई रोकेर, देशको विकासमा अवरोध गर्ने, जनताका प्रतिनिधिलाई निष्प्रभावी गर्ने र असफल बनाउने काममा विपक्षीहरू लाग्नु भएको छ । यो हुँदैन नहुने काम भएको छ’, उनले भने, ‘विपक्षीहरूले केही नपाएर गृहमन्त्रीको राजीनामा मागेका छन् । केही न केही तथ्य र प्रमाणले बोल्नु त पर्यो नि, गृहमन्त्रीलाई छुनु त पर्यो नि, उहाँलाई केहीले छोएको छैन ।’
उता देउवाले पनि सार्वजनिक रूपमै गृहमन्त्रीले राजीनामा दिनुपर्ने कुनै कारण नरहेको तर्क गरिरहेका छन् । बरू गृहमन्त्रीबारे पार्टी बैठकमा प्रश्न उठाउने डा. शेखर कोइरालासहितका नेताहरूमाथि कारबाही हुनुपर्ने दबाब कांग्रेसबाटै आउने गरेको छ ।
गृहमन्त्री लेखकको भिजिट भिसा प्रकरणमा संलग्नता रहेको दाबी गर्दै विपक्षी दलहरू नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले राजीनामा माग गरिरहेका छन् ।
जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट ल्याउन दिएका उनीहरूले गृहमन्त्रीको राजीनामा नआए मंगलबारबाट संसद्मा हुने बजेटमाथिको छलफललाई अवरोध गर्ने बताउँदै आएका छन् ।
विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा माग गर्दै संसद् अवरुद्ध गर्ने बताइरहेका बेला सहमति जुटाउन प्रधानमन्त्री केपी शर्मा ओली प्रयासरत देखिन्छन् । त्यही प्रयासअनुरुप उनले सोमबार शीर्ष नेताहरूको संयुक्त बैठक सिंहदरबारमा राखेका छन् ।
प्रतिपक्षीहरूले गृहमन्त्रीको राजीनामालाई बटमलाइन बनाएपछि ओलीले त्यसलाई छल्ने रणनीति बनाउन लागेका हुन् । उनले संसदीय दलको बैठकमा गृहमन्त्रीको नाममा प्रतिपक्षीले संसद्मा हमला गरेको टिप्पणी गरे ।
‘भोलिदेखि बजेटबारे संसद्मा छलफल हुन्छ । बजेटमाथि छलफलको योजना बनाउन राखिएको आजको यति महत्वपूर्ण बैठकमा नआउने भन्ने हुँदैन’, उनले भने, ‘संसद्मा यत्रो हमला भएको छ । अब हामीले बुँदागत रूपमा, दमदार रूपमा हाम्रा कुराहरू राख्नुपर्ने छ । तर माननीयज्यूहरूको यो किसिमको सहभागिता र उपस्थिति हुँदै भएन ।’

ओलीले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री लेखकको राजीनामा माग गर्दै आएका माओवादीसहितका विपक्षीले संसद्मा राखेको अवरोध मंगलबारदेखि चिरेर अगाडि बढ्ने बताए । उनले दुई/चारजना उभिँदैमा संसद् अवरुद्ध नहुने पनि भन्न भ्याए ।
संसद्मा देखिएको गतिरोध हटाउन आफूले पहल गरे पनि माओवादी अध्यक्ष प्रचण्ड सम्पर्कमै आउन नचाहेको गुनासो संसदीय दलको बैठकमा ओलीले गरे । तर उनले भनेजस्तो प्रचण्ड कतै गएका थिएनन् । ओलीले नै राखेको तीन दलका शीर्ष नेताको बैठकमा प्रचण्डले सहभागिता जनाए । तर ओलीले त्यसअघि अब प्रतिपक्षीले संसद्मा गर्ने अपरोध र हेपाहा व्यवहार नसहने पनि बताएका थिए ।
‘भोलिदेखि नियमित संसद चलाऊँ भनेर मैले प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड’जीसँग कुरा गर्न खोजेँ तर उहाँ जानीजानी सम्पर्कमा आउनुभएन’, ओलीले भनेका थिए, ‘वार्ता, संवाद नगर्ने अनि सदन बन्द गर्ने मुडमा उहाँहरू हुनुहुन्छ होला । यस्तो व्यवहार सधैँ चल्दैन । संसद् यस्ता नचाहिने कुरामा सधैँ बन्द हुँदैन ।’
ओलीले केही विषय नपाएर गृहमन्त्रीको राजीनामा मागिएको बताएका थिए । ‘गृहमन्त्रीमाथि कुनै उजुरी वा छानबिन चलेको छैन । त्यसकारण यस्ता कुरामा संसद अवरुद्ध हुँदैन’, उनले एमाले सांसदहरूलाई निर्देशन दिँदै भनेका थिए, ‘माननीयज्यूहरु तयार भएर बस्नुस् । भोलिदेखि सदन चल्छ ।’
ओलीले यति साह्रो बचाउ गरेपपछि गृहमन्त्री लेखक तीन दलका शीर्ष नेतृत्वको बैठकमा झुल्किए । अनौठो के छ भने आफैँमाथि भइरहेको शीर्ष नेताको छलफलमै उनी कांग्रेसका तर्फबाट सहभागी भएका छन् ।

प्रधानमन्त्री ओलीले कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष ‘प्रचण्ड’ सँग अवरुद्ध संसद् र बजेटमाथिको छलफल अघि बढाउनबारे राखेको बैठकमा लेखक सहभागी भए । यसअघि पनि उनी शीर्ष नेताहरूको बैठकमा भाग लिन पुगेका थिए ।
प्रधानमन्त्रीको सचिवालयले सञ्चार माध्यमहरूलाई उपलब्ध गराएको तस्बिरमा गृहमन्त्री लेखकसँगै कांग्रेसका तर्फबाट उपसभापति पूर्णबहादुर खड्का र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पनि देखिएका छन् । तर लेखकले निकास दिनु उचित हुने धारणा राखेका कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका नेताहरू यो बैठकमा सहभागी छैनन् ।
लेखक पनि सहभागी तीन दलका शीर्ष नेताको बैठकमा जानुअघि प्रचण्डले सिंहदरबारमै बसेको संसदीय दलको बैठकमा भिजिट भिसा प्रकरणमा उनको राजीनामा नआएसम्म संसद्को अवरोध कायमै राख्ने निर्णय गराएका थिए ।
गृहमन्त्रीको राजीनामा नआएसम्म संसद्को अवरोध कायमै राख्ने निर्णय माओवादी संसदीय दलको बैठकले गरेको जानकारी सांसद माधव सापकोटाले सञ्चारकर्मीहरूलाई दिएका थिए ।
माओवादीसहित रास्वपा र राप्रपाले पनि गृहमन्त्री लेखकको राजीनामाको बटमलाइन छाडेका छैनन् । तर लेखक स्वयम् भने प्रधानमन्त्री र सभापति देउवाको साथ पाएपछि पद नजाने कुरामा ढुक्कजस्तै देखिन्छन् । लेखकसमेत सहभागी शीर्ष नेताको बैठकमा सोमबार प्रचण्डसँगै माओवादी केन्द्रका महासचिव देव गुरुङ, प्रमुख सचेतक हितराज पाण्डे, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव पनि सहभागी थिए । यो बैठकमा भएको निष्कर्षबारे नेताहरूले केही खुलाइसकेका छैनन् ।
प्रतिक्रिया