भारतको केरला राज्य अति गरिबीमुक्त घोषणा, कसरी भयो सम्भव ? | Khabarhub Khabarhub

भारतको केरला राज्य अति गरिबीमुक्त घोषणा, कसरी भयो सम्भव ?


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– शनिबार केरलाका मुख्यमन्त्री पिनरायी विजयनले ‘केरला पिरावी’ को अवसरमा राज्यसभामा केरला राज्य अति गरिबीबाट मुक्त भएको घोषणा गरे ।

विजयनको घोषणासँगै केरला भारतमा अति गरिबीबाट मुक्त हुने पहिलो राज्य बनेको छ । तर, विपक्षी संयुक्त लोकतान्त्रिक मोर्चाले भने ‘खोक्रो घोषणा’ भनेर टिप्पणी गरेको छ ।

मुख्यमन्त्री विजयनले केरला पिरावीलाई केरलाको लागि नयाँ युगको सुरुवात भएको भन्दै यसको घोषणा गर्ने स्थितिसम्म आउनको लागि अवलम्बन गरिएको चार वर्ष लामो प्रक्रियाको विषयमा सुनाएका थिए ।

विपक्षी दलले गरेको ‘खोक्रो घोषणा’ टिप्पणीको प्रतिवाद गर्दै उनले सो अति गरिबी मुक्त परियोजनासम्बन्धी निर्णय सन् २०२१ को पहिलो क्याबिनेटको बैठकबाटै गरिएको बताए ।

विश्व बैङ्कका अनुसार प्रतिदिन ३ अमेरिकी डलर भन्दा कम आयमा बाँच्न बाध्य भइरहेकालाई चरम गरिबीमा बाँचिरहेको भनिन्छ । कुनै व्यक्तिको दैनिक आय वा खर्चको स्तर सो रकम भन्दा तल रहेको छ भने उसलाई अति गरिबीको स्तरमा राखिन्छ ।

भारतको आधिकारिक पब्लिक पोलिसी थिंक ट्यांकले गरिबी निर्धारणको लागि बहुआयामिक सूचकलाई प्रयोग गर्ने गर्छ, जसलाई स्वास्थ्य, शिक्षा र जीवनगुणस्तरको तीनवटा क्षेत्र अन्तर्गत १२ वटा सूचकमा विभाजन गर्ने गरिएको छ ।

तर, केरला सरकारले भने चरम गरिबीमा बाँचीरहेका परिवारलाई पहिचान गर्न यी मापदण्डहरूमा भर नपरेको जनाएको छ । स्थानीय स्वशासन विभागले निश्चित आय, स्वास्थ्य, आवास र खानालाई संकटको कारकको रूपमा निर्धारण गर्दै यी चार वर्गमा प्रत्येक परिवारको आवश्यकतालाई सम्बोधन गर्नेगरी योजना तय गरेको छ ।

विश्व बैंकले अक्टोबर २०२५ को रिपोर्टमा भारतले पछिल्लो दशकमा गरिबी महत्वपूर्ण रूपमा घटाएको उल्लेख गरेको थियो । सन् २०११–१२ मा १६.२ प्रतिशत रहेको अति गरिबी सन् २०२२–२३ मा घटेर २.३ प्रतिशत मा पुगेको छ । जसको अर्थ विश्व बैंकका अनुसार करिब १७१ मिलियन मानिसहरू भारतबाट अति गरिबीको अवस्थाबाट मुक्त भएका छन् ।

विश्व बैंकले यो रूपान्तरण रोजगारीमा भएको वृद्धिको कारण भएको जनाएको छ । सहरी बेरोजगारी आर्थिक वर्ष २०२४/२५ को पहिलो त्रैमासिकमा ६।६ प्रतिशतमा झरेको छ, जुन सन् २०१७/१८ यताकै सबैभन्दा न्यून हो ।

केरलाले सो घोषणा राज्यको ‘अति गरिबी उन्मूलन कार्यक्रम’ अन्तर्गत स्थानीय निकायहरूद्वारा सञ्चालित लक्षित चार वर्षे अभियानपछि गरेको हो ।

यो गरिबी निवारण कार्यक्रम मे २०२१ मा दोस्रो कार्यकालका लागि पदभार ग्रहण गरेपछि पिनारायी विजयन सरकारद्वारा लिइएका प्रारम्भिक निर्णयहरूमध्ये एक हो ।

सन् २०२१ मा सो योजनाको कार्यान्वयनका लागि स्थानीय स्वशासन विभागले करिब चार लाख व्यक्ति (अधिकारी, निर्वाचित प्रतिनिधि र स्वयंसेवक) लाई अति गरिबीको अवस्थामा रहेका मानिसहरू पहिचान गर्ने उद्देश्यले तालिम दिएको थियो ।

सो प्रशिक्षित समूहले १ लाख १८ लाख ३०९ परिवारहरूको पहिचान गरेको थियो, जो राज्यका विभिन्न कल्याणकारी योजनाबाट वञ्चित रहेका थिए । त्यसपछि धेरै चरणको प्रमाणीकरण पछि सो सूची घटाएर ६४ हजार ६ परिवारमा सीमित गरिएको थियो । पछि सो संख्या पनि मृत्यु तथा बसाइँसराइका कारण ५९ हजार परिवारमा झरेको थियो ।

तिनै परिवारलाई ध्यानमा राख्दै केरलाका स्थानीय स्वशासन निकायहरूले खाना, स्वास्थ्य, आवास र शिक्षासँग सम्बन्धित समस्याहरू समाधान गर्न तथा ती परिवारहरूलाई सशक्त बनाउनका लागि विशेष रूपमा तयार गरिएका सूक्ष्म योजनाहरू कार्यान्वयनमा ल्याएका थिए ।

सर्वेक्षणमार्फत फेला परेका ४ हजार ५ घरबिहीन परिवारहरूलाई ‘लाइफ मिसन’ सरकारी योजनाअन्तर्गत आवासको उपलब्ध गराइएको थियो । त्यस्तै, नियमित खाद्य आपूर्तिको पहुँच नभएका २० हजार ६४८ राज्यभरका स्थानीय निकायहरूले खाना व्यवस्था उपलब्ध गराउने काम गरे ।

सो सँगै राज्यले बिजुली, खाना पकाउने ग्यास जडान लगायत आधारभूत सेवा सबै मानिसमा पुर्‍याउने लक्ष्य राखेर काम अगाडि बढाएको जनाएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  १ : ४६ बजे

बनेपामा ‘एक घर, एक धारा’ अभियान

काभ्रे– काभ्रेको बनेपा नगरपालिका–६ स्थित बस्तीहरुमा खानेपानी वितरण थालिएको छ

पत्रकारसँग संवाद गर्दै एमाले महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सोमबार पत्रकारसँग संवाद

वीरगञ्ज नाकाबाट तीन महिनामा आठ अर्ब ७० करोड बराबरका सवारीसाधन भित्रियो

पर्सा– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको तीन महिनामा आठ

‘कफिन’मा टिकेको अर्थतन्त्र : कहिलेसम्म ज्ञानलाई डलरको विनिमयमा तौलिने ?

घडीको टिक टिक,परदेशी अपार्टमेन्टको निस्तब्धता। सिसाको झ्यालमा बुँदाबुँदा पानीका थोपा

झापा गोल्डकप उद्घाटन खेलमा नेपाल पुलिस र चर्च ब्वाइज भिड्ने

काठमाडौं – झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता आज(सोमबार)देखि