कमल थापाको निष्कर्ष : कांग्रेस-कम्युनिस्ट अर्थहीन भइसके, अब राष्ट्रवादी धार बलियो हुन्छन् « Khabarhub

कमल थापाको निष्कर्ष : कांग्रेस-कम्युनिस्ट अर्थहीन भइसके, अब राष्ट्रवादी धार बलियो हुन्छन्


१७ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले वर्तमान संघीय, धर्मनिरपेक्ष गणतन्त्रात्मक प्रणाली नै देशमा व्याप्त भ्रष्टाचार र अस्थिरताको मूल कारण भएको बताएका छन्।

सोमबार काठमाडौंमा बसेको राप्रपा नेपालको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा उनले प्रस्तुत गरेका ‘समसामयिक राजनीतिक परिस्थिति तथा राप्रपा नेपालको भावी कार्यदिशा सम्बन्धी कार्यपत्र’मा थापाले हालको व्यवस्था असफल भएको दाबी गर्दै यसको आमूल सुधारको माग गरेका हुन्।

बैठकलाई सम्बोधन गर्दै थापाले भने, ‘संघीय धर्मनिरपेक्ष गणतन्त्रले देशलाई अस्थिर, भ्रष्ट र विभाजित बनाएको छ। यही प्रणालीमा चुनाव गर्दैमा सुशासन र विकास सम्भव हुँदैन।’

उनले भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनलाई भ्रष्टाचार र कुशासनविरुद्धको ऐतिहासिक चेतना र जनआक्रोशको विस्फोटको रूपमा व्याख्या गर्दै भने, ‘यो आन्दोलनले मुलुकमा सकारात्मक परिवर्तनको ढोका खोलेको थियो, तर विदेशी स्वार्थ र यथास्थितिवादी शक्तिले त्यसको भावना अपहरण गरे।’

थापाले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले आन्दोलनलाई दमन गरेर ठूलो गल्ती गरेको बताए। ‘जनताको परिवर्तनको चाहनालाई दमन गरेर ओली सरकारले आफूलाई नै विस्थापित गरायो,’ उनले भने।

थापाले आफूहरूलाई कमजोर संगठनका रुपमा ठान्न नहुने बताए । ‘हामी बलियो विचार भएका पार्टी हौं। भ्रष्टाचार र कुशासनको अन्त्यका लागि जनताको विश्वास जित्न सके हामी अप्रत्याशित परिणाम ल्याउन सक्छौँ’, उनले भने ।

चार धारतिर राष्ट्रिय राजनीति

थापाले नेपालको राजनीति अब चार मुख्य धारमा विभाजित हुने अनुमान गरेका छन् । नेपाली कांग्रेस, कम्युनिस्टहरू, नयाँ वैकल्पिक शक्ति र राष्ट्रवादी/राजावादी शक्ति।

अन्य दलहरू वैचारिक रूपमा स्खलित भइसकेका कारण राष्ट्रवादी धार नै जनताको आकर्षणको केन्द्र बन्न सक्ने उनको तर्क छ ।

उनले भने, ‘राष्ट्रवादी शक्ति एकजुट हुन सके हिन्दू अधिराज्य पुनःस्थापना, सुशासन र भ्रष्टाचारविहीन शासनको मार्ग खुल्नेछ। अहिलेको अवस्थामा यही विचारधाराको मैदान करिब खाली छ।’

बैठकले देशको राजनीतिक परिस्थिति र आगामी फागुन २१ गतेका लागि तय गरिएको आम निर्वाचनलाई ध्यानमा राख्दै राप्रपा नेपालको कार्यदिशा तय गरेको छ।

अभियान

जेन-जी आन्दोलन अधुरो रहेको निष्कर्ष- त्यसको मागलाई पूरा गर्न पार्टीले विभिन्न जनपरिचालन, संघर्ष र आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने।

मंसिरको पहिलो हप्तामा प्रधानमन्त्री र सबै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने।

मंसिर र पुस महिनामा हस्ताक्षर अभियान, ‘मेची–महाकाली जागरण यात्रा’ र काठमाडौंका नगरपालिकामा जनजागरण कार्यक्रम सञ्चालन गर्ने।

‘हिन्दू अधिराज्य किन’ शीर्षकमा देशव्यापी जनसभा आयोजना गर्ने।

वर्तमान संवैधानिक संरचनासहितको निर्वाचन अस्वीकार्य -संघीय, धर्मनिरपेक्ष गणतन्त्र र हालको निर्वाचन प्रणाली कायम रहँदा जनताको अपेक्षा पूरा नहुने ठहर।

समान विचारधारा भएका दलहरूसँग एकता र सहकार्य -हिन्दूवादी, राजावादी, राष्ट्रवादी र भ्रष्टाचारविरोधी शक्तिहरूसँग सहकार्य गरी अघि बढ्ने।

स्वतन्त्र व्यक्तिहरूलाई उम्मेदवार बन्न आह्वान -प्रमुख मागमा सहमत जो कोही स्वतन्त्र व्यक्ति र समूहलाई राप्रपाको तर्फबाट उम्मेदवार बन्न आमन्त्रण।

प्रत्यक्ष निर्वाचित कार्यकारीको विरोध -थापाले प्रत्यक्ष निर्वाचित प्रणाली नेपालजस्तो भूराजनीतिक र सामाजिक संरचनाका लागि घातक हुने बताउँदै जनतालाई सचेत गराउने घोषणा गरे।

बैठकले अध्यक्ष थापाद्वारा प्रस्तुत कार्यपत्रलाई राप्रपा नेपालको आगामी आन्दोलन र निर्वाचन रणनीतिको रूपमा अनुमोदन गरेको छ।

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  ४ : १३ बजे

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक

पहिरोका कारण म्याग्दीका १९ घरमा क्षति

म्याग्दी । पछिल्लो तीन दिनदेखिको निरन्तरको झरीका कारण म्याग्दीको जनजीवन