समुद्र मन्थनपछि अमृतको पिण्ड स्थापना भएको धरानस्थित 'पिण्डेश्वर महादेव' | Khabarhub Khabarhub

समुद्र मन्थनपछि अमृतको पिण्ड स्थापना भएको धरानस्थित ‘पिण्डेश्वर महादेव’



धरान– धरानको पिण्डेश्वर बाबाधाम परिसर यति बेला आध्यात्ममय भएको छ । प्राय भक्तजनले गेरु ब्रस्त्र पहिरेका देखिन्छन् । गलामा रुद्राक्षको माला, निधारमा बोलबम लेखेको फेटा, अनि खाली खुट्टा । सबैका हातमा शिवजीलाई चढाउने जलको सानो प्लाष्टिको भाँडो । कसैकसैले तामा वा पित्तलको सानो कलशमा जल बोकेका देखिन्छन् ।

घण्टौँ लामो लाइनमा खालिखुट्टा उभिएर पनि नगलेका जस्ता देखिने बोलबम भक्तजनहरू आफ्नो पालोको पर्खाईमा देखिन्छन् । साउन महिनाको सोमबार विशेष भिड लाग्ने पिण्डेश्वर बाबाधाममा जल चलाउनुको महत्त्व आफ्नै छ । 

यो हिन्दु परम्परासँग जोडिएको छ । यद्यपि, पछिल्लो पछिल्लो केही वर्ष यता भने साउन महिनाका कुनै पनि दिन जल चढाउन सकिने गरी बाबाधाम समितिले मन्दिरको ढोका खुल्ला राखेको अध्यक्ष विकास बनेपालीले बताए । 

उनले भने, ‘साउन महिना शिवजीको महिना मानिन्छ । साउन भरि जुन दिन पनि जल चढाउन सकिन्छ । सोमबार शिवजीलाई पूजा गर्ने बार परेकाले विषेशगरी अलिक भिड भने हुन्छ ।

भिड व्यवस्थापन, प्राथमिक औषधी उपचार, निःशुल्क फलफूल खाजाको व्यवस्था र भक्तजनको सुरक्षाका लागि सिसिक्यामेराको व्यवस्था गरिएको छ ।’ उनले भिड व्यवस्थापनका लागि स्वयंसेवाहरू परिचालन गरेको बताए । 

शिवलिङ्गमा जल चढाउने पालो पर्खेर लामो लाइनमा परिवारसहित भेटिएकी विराटनगर– ३ बस्ने फुलकी यादवले आइतबार साँझ तिरै आएको बताइन् । एक छोरा, श्रीमान् र आफ्ना नन्द पर्ने महिलाका साथ आएकी यादवको समूह पिण्डेश्वर बाबाधामको मुल पुजास्थल पुग्न उत्सुक भएका थिए । उनी र उनको परिवार पिण्डेश्वरमा जल चढाउन आएको यो तेस्रो पटक भएको बताइन् । 

उनले भनिन्, ‘पहिलै दुई पटक आएर शिवलिङ्मा जल चढाइसकेका छौँ । पुरानो भाकल थियो । फेरि जल चढाउन आउने भनेर मनमनमा सोचिएको थियो । भगवान्लाई ढाँट्नु हुँदैन भनेर यो तेस्रो पटक पनि आयौँ ।’ सोमबारका दिन आउँदा पालो नपाइएला भन्ने पिरले एक दिन अघि नै परिवारसहित आएको उनले बताइन् । एक वर्ष अघि आउँदा पालो नपाएर दिन भर लाइनमा उभिनु परेको उनले बताइन् । 

पिण्डेश्वर बाबाधाममा एक दिन अघि नै आएर लाइन लाग्ने यादव परिवार मात्र होइन, भारतको विहारबाट आउने भक्तजनसमेत आइतबार नै आउने गरेका छन् । एक दिन अघि नै भक्तजनहरू बाबाधाममा आउँदो बाबाधाम समितिलाई बर्षायामको बेला व्यवस्थापन गर्न केही समस्या हुने गरेको छ । 

मन्दिरमा चढाएको दान, भेटी, सुनचाँदी भने स्थानीय पुजारीले घर लैजाने गरेको छ । मन्दिर परिसरमा समितिले माइकिङ गरेर संकलन भएको रकम भने समितिको खातामा राखिने र त्यही रकमले मन्दिरको सरसफाइ, जिर्णोद्धार हुने गरेको छ । 

नेपालमा बोलवमको सुरुआत

हिन्दु अध्यात्म र धर्मसँग जोडिएको बोलवमको सुरुआत धरानको विजयपुर डाँडाको परिसरमा रहेको पिण्डेश्वर बाबाधामबाट भएको मानिन्छ । समुद्र सतहदेखि १ हजार ५ सय ६० फुट उचाइमा रहेको पिण्डेश्वर बाबाधाम धरानको भानुचोकबाट करिब सवा किलोमिटरको दुरीमा छ ।

एक पीढी उचाइमा रहेको उक्त धाममा भारतका विभिन्न प्रान्त, विषेशगरी विहार र पश्चिम वंगालका भक्तजनहरू जल चढाउन आउने गरेका छन् । पिण्डेश्वर मन्दिरको बारेमा स्कन्ध पुराणमा व्यापक चर्चा गरिएको आधारमा पथिक कवि लक्ष्मीप्रसाद आचार्यले बाबाधाम बारेमा खोज अनुसन्धान गरेका थिए । 

उनले हिन्दी भाषामा समेत पुस्तक प्रकाशन गरेपछि ०३९ साल साउन ४ गतेको सोमबारदेखि पिण्डेश्वर मन्दिरमा जल चढाउन सुरु भएको हो । 

त्यसबेला पाचसात जना स्थानीय भक्तजन गेरु वस्त्र धारण गरेर ‘बोलबम बोलबम’ भन्दै भजन गाउँदै साउनको प्रत्येक सोमबार बराहक्षेत्र मन्दिर नजिकैको कोशी र कोकाह नदीको संगमस्थलको पानी चढाएका थिए ।
 
धरानको शिवालय (पिण्डेश्वर बाबाधाम) मा जल चढाउने चलन सुरु भएपछि नेपालका अन्य शिवालयमा पनि साउन महिनाको प्रत्येक सोमबार जल चढाउने चलन बसेको मानिन्छ । 

यसअघि नेपालका शैव हिन्दु धार्मिक तीर्थयात्रीहरू भारतका विभिन्न शैव धाममा पुग्ने गरेका थिए । तर पथिक कवि आचार्यले धरानको पिण्डेश्व बाबाधामको बारेमा व्यापक प्रचार गरेपछि भारतीय भक्तजनहरू पिण्डेश्वर बाबाधाममा आउन थालेको हो । 

पौराणिक ग्रन्थमा के छ पिण्डेश्वरको बारेमा ?

हिन्दु धर्मग्रन्थमा वर्णन गरिए अनुसार कश्यप ऋषिका दुई पत्नी थिए । पहिलो पत्नी दिती र दोस्रो पत्नी अदिति थिए । ती मध्ये दितीबाट दैत्यहरू (राक्षस) र अदितिबाट आदित्य देवता जन्मे । दिती र अदितिका सन्तानहरूबीच अमर बन्ने उद्देश्यले अमृत निकाल्नका लागि समुद्र मन्थन गरे । समुद्र मन्थनको घट्नाबाट पिण्डेश्वर बाबाधामको अस्तित्व रहन गएको हो ।

पौराणिक ग्रन्थको वर्णन अनुसार दिती र अदितिका सन्तान (दैत्य र देवता) ले समुद्र मन्थन गर्दा सुरुमा कालकुट विष उत्पन्न भयो । उक्त विषलाई भगवान् शिवले आफ्नो कण्ठ (घाँटी)मा राखे । कालकुट विषपछि निस्केको अमृतलाई भगवान् विष्णुले देवताहरूलाई मात्र पिउन अवसर दिएर अमर बनाए ।

तर दैत्यलाई विष्णुले मोहिनी अप्सराको रूप धारण गरेर लट्ठ पारेर अलमल्याएर अमर बन्न दिएनन् । बाँकी रहेको अमृतको छोक्रालाई देवताहरूले पिण्ड जस्तो बनाइ रुद्राक्षरण्य (रुद्राक्षको जंगल) क्षेत्रमा स्थापित गरेकाले पिण्डेश्वर बाबाधाम नामकरण भएको बताइन्छ ।

उक्त मन्दिर कहिले, कसले स्थापना गरेको हो भन्ने कतै उल्लेख गरिएको इतिहास हालसम्म नपाइएकाले पुजारीहरूले स्वयम् भगवान्ले निर्माण गरेको भन्ने गरेका छन् । मुख्य मन्दिर मुगलकालिन गुम्बज आकारमा रहेको र त्यसमा प्रयोग भएका प्रस्तरहरु (ढुङ्गाका गाह्रो) भने सेनकालिन प्रस्तर सँग मिल्दो जुल्दो छ । 

विजयपुरमा समेत राजधानी बनाएको नेपालमा सेनकाल र भारतमा मुगलकालको समय एउटै भएकाले सम्भवतः सेनकालमा उक्त मन्दिर निर्माण भएको अनुमान गरिएको छ । सेनकाल भन्दा पहिले विजयपुर क्षेत्र याक्थुङ लिम्बूहरूको पुर्खा आठ राजा (येत्हाङ) र दश राजा (थिबोङ याक्थुङहाङ)हरुले शासन गरेको इतिहास पाइन्छ । 

बोलबम भन्दै जल चढाउने पिण्डेश्वर बाबाधाममा विसं १८८५ मा राजेन्द्र विक्रम शाह र मुख्तियार भीमसेन थापाले र विसं १९०९ मा जंगवहादुर राणाले चढाएका घण्टी रहेका छन् ।  

धरानमा धार्मिक पर्यटनको अवस्था

धरानसँग धार्मिक पर्यटनको सम्भावना प्रशस्त छ । विजयपुर डाँडाको आसपासमा रहेका ऐतिहासिक, पौराणिक, पुरातात्त्विक स्थलहरूको संरक्षण गर्दै प्रचार प्रसार गर्न सकेमा धार्मिक पर्यटन बढाउन सकिने प्रशस्त सम्भावना छ । थप रमणीय र पर्यटक मैत्री वातावरण सृजना गर्न सके धरानले धार्मिक पर्यटनबाट मनग्गे आम्दानी गर्न सक्छ । 

धरानसँग पिण्डेश्वर मन्दिर छ, पिण्डेश्वर मन्दिरदेखि करिब ४ सय मिटरको दुरीमा दन्तकालि मन्दिर छ । दन्दकालि मन्दिरबाट करिब सात सय मिटरको दुरीमा बुढासुब्बा मन्दिर छ । त्यसभन्दा अलिक पर पञ्चकन्या जंगलकोबीचमा लिम्बुवानकालिन विजयपुरको दरबारको भग्नावशेष छ । यी ऐतिहासिक, धार्मिक पौराणिक क्षेत्रबाट लाभ लिन भने धरान चुकेको छ । 

पिण्डेश्वर बाबाधाममा साउन महिनाभरिमा कम्तीमा तीन लाख बोलबम भक्तजनहरू आउने गरेका छन् । तर स्थानीय सरकारले तीन लाख  भक्तजन आएर पिण्डेश्वर शिवालयमा जल चढाउँदा तीन करोड रुपैयाँको आर्थिक कारोबार हुने वातावरण भने सृजना गर्न सकेको छैन । 

पिण्डेश्वर बाबाधाममा ४० को दशकदेखि नै बोलबम भक्तजनहरू जल चढाउन आउन थाले भने ५० को दशकदेखि बढी भिड लाग्न थालेको हो । तर पनि भक्तजनहरू खाली खुट्टा आए झैँ धरान सधैँ खाली मै रमाइरहेको छ । 

पिण्डेश्वर बाबाधाममा आउने तीन लाख भक्तजन मध्ये साउन भरीमा कम्तीमा २५ हजार भक्तजन त भारतबाट आउने अनुमान गरिएको छ । स्थानीय स्तरबाट न पिण्डेश्वर शिवालयलाई ब्राण्ड बनाउन सकेका छन् न भक्तजनलाई बाबाधामको चिनो भनेर बिक्री नै गर्न सकेको छ, शिवाय प्रसाद । 

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  ६ : १८ बजे

ट्रम्पले छ लाख चिनियाँ विद्यार्थीलाई अमेरिका प्रवेश गर्न दिने

वाशिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार अमेरिकाले चीनबाट छ

गौतमबुद्ध र पोखरा विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्नेबारे छलफल

काठमाडौं– भैरहवाको गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित रुपमा अन्तर्राष्ट्रिय

तीजको दिन झिनो अंकले बढ्यो नेप्से

काठमाडौं– हरितालिका तीजको दिन नेपाल स्टक एक्सचेञ्ज नेप्से झिनो अंकले

सिमलटारी–सौतामारे–मच्छी सडक निर्माणमा ढिलाइ

गुल्मी– मदनभण्डारी राजमार्गअन्तर्गत गुल्मीको सिमलटारीबाट प्यूठानको मच्छीसम्मको सडक निर्माणमा ढिलाइ

भेरी अस्पतालमा निःशुल्क डाइलायसिस सेवा

नेपालगञ्ज– भेरी अस्पतालमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीले निःशुल्क