नाङ्लो बिक्रीबाट मनग्य आम्दानी गर्दै ‘होम्ताङवासी’ « Khabarhub

नाङ्लो बिक्रीबाट मनग्य आम्दानी गर्दै ‘होम्ताङवासी’


२० भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

भोजपुर– हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले बाँसको नाङ्लो बुनेर मनग्य आम्दानी गर्दै आएका छन् । परम्परागत पुर्ख्यौली नाङ्लो बुन्ने पेसा होम्ताङवासीको भरपर्दो आम्दानीको स्रोत नै बनेको छ । 

होम्ताङका अधिकांश स्थानीयले नाङ्लो बुन्दै आएका छन् । स्थानीयले बुनेर तयार गरेर नाङ्लो घरबाट नै ठेकेदारले लैजाने गरेका छन् । अन्य समयको तुलनामा विशेषगरी नाङ्लो भदौ, असोज र कात्तिकमा सबैभन्दा बढी उत्पादन हुने गरेको छ । दसैँ, तिहार, छठलगायत चाडपर्वका अवसरमा तराईमा नाङ्लोको बढी माग हुने स्थानीयको भनाइ छ । 

यो ठाउँका महिला, पुरुष दुवै पक्षले नाङ्लो बुन्ने गरेका छन् । नाङ्लो बुनेर घरखर्च चलाउने गरेको स्थानीय पूजा राईले बताए। आफ्ना घरका सबै परिवार नै नाङ्लो बुन्ने गरेको उनी बताउँछन् । एक महिनामा एक सय ५० वटासम्म नाङ्लो बुन्ने गरेको उनले बताए। नाङ्लो बिक्रीबाट वार्षिक रु दुईदेखि तीन लाखसम्म आम्दानी लिने गरेको उनको भनाइ छ । बुनेको नाङ्लो घरबाट नै प्रतिगोटा रु एक सय १० देखि एक सय २० सम्म बिक्री हुने उनले बताए। 

‘नाङ्लो हाम्रो क्षेत्रको राम्रो आम्दानीको स्रोत हो, घरका सबै परिवारका सदस्य मिलेर नाङ्लो बुन्छौँ । नाङ्लो घरबाट नै बिक्री हुन्छ । यसको बिक्रीबाट वार्षिक रु दुईदेखि तीन लाखसम्म आम्दानी हुन्छ । हाम्रो क्षेत्रका प्रायः सबैले व्यावसायिक रूपमा नाङ्लो बुन्दै आएका छौँ’, उनले भने।

हतुुवागढी–६ होम्ताङको साविक–१ को लङ्खाका करिब ७५ घर, साविक २ का विथारा एक सय ६५ घर, साविक ३ लुम्बुवा एक सय ३५ घर र हालको हतुवागढी–५ साविक ४ सोयागाउँका करिब ४० घरपरिवारले व्यावसायिक रूपमा नाङ्लो बुन्दै आएको हतुवागढी–६ का स्थानीय नाङ्लो व्यवसायी राजेन्द्र राईले बताए। 

राई अनुसारका व्यापारीले भारतसँगै पश्चिम नेपालका विभिन्न ठाउँमा पठाउने गरेको उनको भनाइ छ । होम्ताङका स्थानीयको राम्रो आम्दानीको स्रोतका रुपमा नाङ्लो बुन्ने व्यवसाय रहेको उनको भनाइ छ । यहाँका अधिकांश स्थानीय यो पेसामा आबद्ध रहेकाले राज्यले प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको स्थानीय नाङ्लो व्यवसायी प्रकाश राईले बताए। यसको थप विकास तथा विस्तार गरेर यसमा थप व्यावसायिकता ल्याउन आवश्यक रहेको उनको भनाइ छ ।

‘हाम्रो क्षेत्रका अधिकांश नागरिकले नाङ्लो बुन्ने गर्दछन्’, उनले भने, ‘यसबाट गाउँघरमा मनग्य पैसा पनि भित्रिँदै गरेको छ । यसलाई थप व्यावसायिकता दिनका लागि स्थानीय सरकारले ध्यान दिन आवश्यक छ ।’

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  ६ : ५८ बजे

अष्ट्रेलियामा पाँच हजार लिटिल पेन्गुइनलाई बर्ड फ्लुविरुद्ध खोप लगाइँदै

मेलबर्न- अष्ट्रेलियाको भिक्टोरिया राज्यमा एच–५ एन–१ बर्ड फ्लुको जोखिमबाट लिटिल पेन्गुइनलाई

२६ सय तल झर्यो नेप्से

काठमाडौं– साताको पहिलो दिनको सेयर कारोबारसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

सरकारलाई मनिष झाले भने : गरिबको मात्रै घरटहरा नभत्काइयोस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले जनकपुरधाममा सार्वजनिक जग्गा

ऐन महरले भने- ठक्कर दिई ब्याक गरी किचेर मार्नेलाई कडा कारबाही गरियोस् 

काठमाडौं– नेकपा (एमाले) का सांसद ऐन बहादुर महरले कैलालीको अत्तरियामा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, अर्का घाइते

महेन्द्रनगर– मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।