दुई करोड बढीको लगानिमा डेरी व्यवसाय | Khabarhub Khabarhub

दुई करोड बढीको लगानिमा डेरी व्यवसाय


२३ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१० झलारीका ललित हमालले दुई दशकअघि साइकलमा दूध बेच्न सुरु गर्दा धेरैले उनको निर्णयलाई हल्कासँग लिएका थिए । दूध बेचेर पनि कमाइ हुन्छ र ? भनेर अनेक तर्कवितर्क गरिन्थ्यो । तर समयले प्रमाणित गरिदियो, साँचो लगनशीलता र मेहनतले कहिल्यै धोका दिँदैन ।

‘सुरूमा साथीभाइले हाँसो गरे, परिवारले पनि चिन्ता व्यक्त गरे’, ललित भन्छन्, ‘म व्यावसायिक कार्य गर्न दृढ थिएँ, मेहनत गर्छु, केही न केही गर्छु भन्ने अठोट लिएर अगाडि बढेँ, यही अठोटले आज दुग्ध व्यवसायीका रूपमा चिनायो ।’

सुरूमा गाउँगाउँ घुमेर ललितले ५० लिटर दूध साइकलमा बोकेर महेन्द्रनगर बजारमा लगेर बेच्थे। हाल ललितले झलारी बजारमा डेरी व्यवसाय सुरू गरी दैनिक एक हजार १०० लिटर दूध खपत गर्छन्। दुई सय किसानले ल्याएको दूध उनको डेरीमा खरिद हुने गरेको छ ।

दुई करोड ५० लाख डेरी व्यवसायमा उनले लगानी गरेका छन् । डेरीबाट दूध, दही बिक्री गर्ने कार्यसँगै लालमोहन, पेँडा, बालमिठाइ, रसबरी, मिल्क केक, लज, लस्सी, मोही, नौनी र घ्यू उत्पादन गरी बिक्री हुने गरेको छ । वर्षमा रु तीन करोडभन्दा बढी डेरी व्यवसायको कारोबार हुने गरेको छ । व्यवसायकै कमाइबाट उनले रु एक करोड २० लाखमा बजार क्षेत्रमा तीनतले घर निर्माण गरेका छन् । 

उनले भने, ‘दुई दशकअघि व्यवसायी बन्ने सपना सफल भएको छ ।’ डेरी व्यवसायमा पाँच जनालाई उहाँले रोजगारी पनि दिए । 

‘सुरूमा व्यवसाय सञ्चालन गर्दा ५० लिटर दूध बिक्री गर्न पनि समस्या हुन्थ्यो, स्थानीय बजारमा खपत हुँदैन्थ्यो’, उनले भने, ‘महेन्द्रनगर पुर्‍याएर बेच्न थालेपछी खपत बढ्दै गयो, त्यसपछि सय लिटर दूध खरिद गरी बेच्न थालेँ, दूध बिक्री गरेको रु ३० हजार रकमले केही फर्निचर खरिद गरेँ, काउन्टर बनाएँ, भाँडाकुँडा स्थानीयले निःशुल्क दिए, पछि फिर्ता गरेँ ।’

निरन्तर व्यवसाय बढ्दै गएको र त्यसपछि चुलोमा दाउरा बालेर दूध तताउने कार्यसँगै मिठाई बनाउन थालेको उनले बताए। ललितले आम्दानी बढेपछि क्रिम सेप्रेटर मेसिन खरिद गरेँ । फ्रिजको निकै आवश्यक थियो, त्यो पनि खरिद गरेँ । त्यसपछि २०७६ सालमा रु २० लाख पशुपन्छी क्षेत्रीय निर्देशनालयबाट अनुदान रकम पाएपछि व्यवसायलाई अगाडि बढाउन सहज भएको उनी बताउँछन् ।

अहिले बैंकबाट  ८० लाख कर्जा लिएर डेरी मिनी प्लान्ट जडान गरी आधुनिक रूपमा व्यवसाय गर्न थालेको उनले बताए। बैंकबाट लिएको कर्जामध्ये रु २० लाख उनले चुक्ता गरे । सरकारले पारदर्शी रूपमा सहुलियतपूर्ण रूपमा बैंकबाट कर्जा उपलब्ध गराउने कार्यसँगै विद्युत्, मेसिन र आधुनिक प्रविधिको विकासमा सहुलियत पुर्याउनुपर्ने उनी बताउँछन् । प्याकेजिङ, लेबलिङ, स्टोरिङ गर्ने तौरतरिका सिकाउनका लागि तालिम दिनुपर्ने ललितको माग छ । 

ललितले झलारी बजारमा मात्र नभएर कैलालीको धनगढीमा पनि डेरी व्यवसाय सञ्चालन गर्दै आएका छन् । उनका माइला दाजुले धनगढीको डेरी पसल सञ्चालन गर्दै आएका छन् । गुणस्तरीय डेरी प्रोडक्ट उपलब्ध गराउँदै आएकाले ग्राहकको विश्वास बढ्दा कारोबार पनि बढ्दै गएको उनले बताए।

स्थानीय बजारमा नै डेरी सञ्चालन गरी स्वरोजगारको सृजना गर्दै जीवनशैली मात्र नभएर समुदायको धारण बदल्न ललित सफल भएको वडाध्यक्ष लालबहादुर ऐर बताउँछन्। 

‘स्वरोजगारमूलक व्यवसायलाई प्रोत्साहित गर्न तयार छौँ’, उनले भने, ‘डेरी व्यवसाय आत्मनिर्भरताको मेरुदण्डका रूपमा रहेको छ ।’
 

प्रकाशित मिति : २३ जेठ २०८२, शुक्रबार  ९ : ५५ बजे

पदयात्रा पर्यटनसँग जोडिदै सिङ्दी घरवास

गण्डकी– लमजुङको क्होलासोँथर गाउँपालिका वडा नं ५ सिङ्दीमा सञ्चालित सिङ्दी

राप्रपाको युवा संगठनले भन्यो– तरुण दलको भवन निर्माण गर्न राज्यकोषको रकम दुरुपयोग भयो

काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण

चीनमा भारी वर्षाको सम्भावना, सावधानी अपनाउन आग्रह

एजेन्सी – चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्रले शनिबार देशका विभिन्न

पहिरोले नेपाल–चीन सीमाको ७१ नम्बर स्तम्भ पुरियो

सङ्खुवासभा– सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्कामा बाढीले नेपाल–चीन सिमानाको सीमास्तम्भ पुरिएको

बाढीपहिरो पीडितको रकम गायब बनाएका गाउँपालिका अध्यक्षलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

सुर्खेत- कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिकाका बाढीपहिरो पीडितका नाममा सङ्कलन भएको