काश्मीर आक्रमणमा पाकिस्तान जिम्मेवार रहेको भारतीय अधिकारीहरुको ठहर « Khabarhub

काश्मीर आक्रमणमा पाकिस्तान जिम्मेवार रहेको भारतीय अधिकारीहरुको ठहर


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली – भारतको आतङ्कवाद विरोधी प्रमुख निकायले सोमबार भारत प्रशासित काश्मीरमा पर्यटकहरूलाई लक्षित गरी गरिएको घातक आक्रमणको घटनामा संलग्न भएको आरोपमा छ जनाविरुद्ध अभियोग दर्ता गरेको जानकारी दिएको छ । भारतीय अधिकारीहरूले उक्त आक्रमणका लागि पाकिस्तानलाई जिम्मेवार ठहर गरेको बताएका छन् ।

भारतीय अधिकारीहरूका अनुसार अभियोग लगाइएकामध्ये तीन जनाको मृत्यु भइसकेको छ भने दुई जना हाल भारतीय हिरासतमा रहेका छन् । गत अप्रिलमा भएको उक्त आक्रमणमा २६ जनाको ज्यान गएको थियो, जसमा अधिकांश हिन्दू पर्यटकहरू रहेका थिए । सो घटनापछि भारत र पाकिस्तानबीच तनाव चुलिँदै छोटो अवधिको तर तीव्र द्वन्द्वको अवस्था सिर्जना भएको थियो ।

नयाँदिल्लीले काश्मीरको प्रसिद्ध रिसोर्ट सहर पहलगाममा भएको आक्रमणलाई पाकिस्तानको समर्थनमा गरिएको आक्रमणका रूपमा व्याख्या गरेको छ । तर इस्लामाबादले भने यस आरोपलाई स्पष्ट रूपमा अस्वीकार गर्दै आएको छ । प्रारम्भमा ‘द रेजिस्टेन्स फ्रन्ट’ ९टिआरएफ० नामक समूहले आक्रमणको जिम्मेवारी लिएको दाबी गरेको थियो ।

संयुक्त राज्य अमेरिकाले टिआरएफलाई पाकिस्तानमा आधारित र संयुक्त राष्ट्रसङ्घद्वारा घोषित आतङ्कवादी सङ्गठन लश्कर–ए–तैयबा (एलइटी) को ‘फ्रन्ट र प्रोक्सी’ का रूपमा वर्णन गर्दै आएको छ । भारतको राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआइए) ले दर्ता गरेको आरोपपत्रमा ‘पाकिस्तानको षड्यन्त्रको विस्तृत विवरण’ समेटिएको बताइएको छ ।

एनआइएको विज्ञप्तिमा भनिएको छ, “पहलगाम आक्रमणको योजना, सुविधा र कार्यान्वयनमा भूमिकाका लागि प्रतिबन्धित लश्कर–ए–तैयबा तथा टिआरएफलाई एक आपराधिक संस्थाका रूपमा कानूनी कारबाहीको दायरामा ल्याइएको छ ।” एजेन्सीले ‘पाकिस्तानी ह्यान्डलर साजिद जट्ट’ लाई पनि अभियुक्तका रूपमा समावेश गरिएको जनाएको छ, यद्यपि उनी हाल कहाँ छन् भन्नेबारे थप विवरण सार्वजनिक गरिएको छैन ।

आरोपपत्रमा अन्य तीन जना ‘पाकिस्तानी’ आतङ्कवादीहरू—फैसल जट्ट उर्फ सुलेमान शाह, हबीब ताहिर उर्फ जिब्रान र हम्जा अफगानी—को नाम पनि उल्लेख गरिएको छ । एनआइएका अनुसार ती तीनै जना आक्रमण भएको केही हप्तापछि काश्मीरका जङ्गल क्षेत्रमा भारतीय सुरक्षा बलले मुठभेडमा मारिएका थिए ।

यसै क्रममा, आक्रमणकारीहरूलाई शरण दिएको आरोपमा जुन महिनामा पक्राउ परेका दुई जना स्थानीय बासिन्दा परवेज अहमद र बशीर अहमद जोथाटलाई पनि अभियोग लगाइएको एनआइएले जानकारी दिएको छ । उनीहरूमाथि आक्रमणकारीहरूलाई सहयोग पुर्‍याएको आरोप लगाइएको छ ।

अप्रिल २२ मा भएको सामूहिक हत्याकाण्डपछि आणविक हतियार सम्पन्न भारत र पाकिस्तानबीच कूटनीतिक तनाव अत्यन्त चर्किएको थियो । त्यसपछि दुवै पक्षबाट मिसाइल, ड्रोन र तोपखानाको प्रयोगसहित चार दिनसम्म चलेको तीव्र सैन्य झडप भएको थियो, जसमा दुवै तर्फ गरी ७० जनाभन्दा बढी मानिसको ज्यान गएको बताइएको छ ।

मुस्लिम बहुल काश्मीर सन् १९४७ मा ब्रिटिस शासन अन्त्य भई भारत र पाकिस्तान स्वतन्त्र भएदेखि नै विभाजित अवस्थामा रहेको छ । दुवै देशले काश्मीरमाथि पूर्ण दाबी गर्दै आएका छन् र यस क्षेत्रको नियन्त्रणलाई लिएर दुईवटा युद्धसमेत लडिसकेका छन् । विभाजित काश्मीरको स्वतन्त्रता वा पाकिस्तानसँग विलयको माग गर्दै विद्रोही समूहहरूले सन् १९८९ देखि सशस्त्र विद्रोह सञ्चालन गर्दै आएका छन्, जसका कारण यो क्षेत्र दशकौँदेखि अस्थिरतामा रहेको छ ।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  ९ : ३३ बजे

विवादित व्यापारीले दिएको करोडौँको गाडीबारे जवाफ नदिएरै पन्छिए बालेन्द्र

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह विभिन्न मुद्दासमेत

आगामी बुधबार काठमाडौँ महोत्सव हुँदै

काठमाडौं– नेपाल उद्योग वाणिज्य सङ्घले यही माघ १४ देखि १७

प्रतिनिधिसभा सदस्य निर्वाचन : संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना

‍काठमाडौं– निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना गरेको छ

श्रीकृष्ण बेभरेजको पिउने पानीमा भेटियो एमोनिया 

काठमाडौं– काठमाडौं उपत्यकामा वितरण हुँदै आएको जारको पिउने पानीमा  मानव स्वास्थ्यका

सर्वोच्चको कारण देखाउ आदेशसँगै रेशम चौधरीले चुनाव लड्न नपाउने

काठमाडौं- नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशमलाल चौधरीले फागुन २१