नयाँ दिल्ली– दिल्लीमा बम विस्फोट गरेको आरोप लागेका डा. उमरसहित डा. शाहिन र उनका साथी डा. मुज्जम्मिल फरिदाबादको अल फलाह विश्वविद्यालयमा काम गर्ने खुलेको छ।
दिल्ली लालकिला ब्लास्ट केसमा संलग्न लखनऊकी डा. शाहिन सईद १० वर्षदेखि पाकिस्तान समर्थित चरमपन्थी संगठन जैश–ए–मोहम्मदसँग जोडिएकी पाइएको छ।
भारतको राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) का एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएअनुसार शाहिन २०१५ मा जैशसँग जोडिएकी थिइन्।
अधिकारीका अनुसार शाहिनले एक वर्षसम्म जैशलाई सम्वेदनशील सूचनाहरू पठाएइको पाइएको छ ।
सन् २०१६ मा उनी संगठनकी सक्रिय सदस्य बनेको भेटिएको छ। सुरक्षा एजेन्सीहरू अब १० वर्षको अवधिमा उनी कहाँ–कहाँ बसिन् र उनको नेटवर्कमा को–को जोडियो भन्नेबारे पत्ता लगाइरहेका छन्।
सन् २०२१ मा एक नातेदारले डा. शाहिनलाई श्रीमान्, बच्चा र जागिर छोडेकोबारे सोधेपछि उनले भनेकी थिइन्, ‘परिवार र जागिरमा के राखिएको छ? आफ्नै लागि धेरै बाँचियो। अब कौमको ऋण बुझाउने समय हो। सबै छोडेर यही काममा लागेकी छु। मेरो चिन्ता छोडिदिनु। केही ठूलो तयारी चलिरहेको छ। जे गर्नेछु, त्यसमा तपाईंहरूलाई गर्व हुनेछ।’
दिल्लीको सुभाष मार्ग सिग्नलमा १० नोभेम्बरमा भएको विस्फोटमा १३ जनाको मृत्यु भएको थियो। २० भन्दा बढी घाइते उपचाररत छन्। ३ जनाको अवस्था गम्भीर छ। चरमपन्थी समूहका उमरले नूहँमा १० दिनका लागि घर भाडामा लिएका थिए ।
डा. उमर नबिले नूहँको दिल्ली–अलवर रोडस्थित हिदायत कोलोनीमा कोठा भाडामा लिएको भेटिएको छ । विस्फोटअघि उमर १० दिन त्यही बसेको पुष्टि भएको छ।
उनले १० नोभेम्बरमा उमर यहीबाट आई-२० कारमा विस्फोटक लिएर निस्किएको भेटिएको छ । यो घर अल–फलाह विश्वविद्यालयका इलेक्ट्रिसियन शोएबकी सालीको हो। शोएब पहिल्यबाटै प्रहरी हिरासतमा छन्।
घर भाडामा लिन पनि शोएबले नै सहयोग गरेको बताइएको छ। शोएबकी साली मूलतः नूहँको गोलपुरी गाउँकी हुन्। उनको ससुराल खिल्लुका गाउँमा छ। हाल उनी फरार छिन्। १५ नोभेम्बरमा प्रहरी घर पुगेको थियो, तर कोही भेटिएन। प्रहरीले खोजी जारी राखेको छ।
उमर नबीको नूहँमा एटीएम बाहिरको सीसीटीभी फुटेज प्राप्त भएको छ। विस्फोट (१० नोभेम्बर) का झण्डै १८ घण्टा पहिले उमर आई-२० कार लिएर एटीएममा पैसा निकाल्न पुगेको देखिन्छ।
एटीएमबाट पैसा नपाएपछि उनले त्यहाँ ड्युटीमा रहेका गार्डलाई लोभ देखाएर अर्को एटीएमसम्म लगेर पैसा निकाल्न लगाए। करिब २० मिनेटपछि उमर फेरि उही एटीएमनजिकै आए र गार्डलाई छोडेर हिँडे।
करिब १० मिनेटपछि उमरको कार दिल्ली–मुम्बई वडोदरा एक्सप्रेसवेमा देखिएको थियो। टोल प्लाजाका क्यामेरामा उनी दिल्लीतर्फ जाँदै गरेको देखियो। यही दिन साँझ ६:५२ बजे लालकिलाको नजिकै आई-२० कारमा विस्फोट हुँदा १३ जनाको मृत्यु भयो।
२० लाख पठाइएको खुलासा
लालकिला कार विस्फोट प्रकरणमा प्रहरीको अनुसन्धानले ठूलो सफलता पाएको बताइएको छ। जासुसी एजेन्सीले तीन चिकित्सकहरू उमर, मुज्जम्मिल र शाहिनलाई २० लाख रुपैयाँ उपलब्ध गराइएको ट्रेल पत्ता लगाएको छ। सम्भवतः यो रकम हवाला नेटवर्कमार्फत जैश–ए–मोहम्मदका एक सदस्यले पठाएको बताइएको छ।
अधिकारीहरूका अनुसार यही पैसाको खर्चबारे उमर–उन–नबी र शाहिनबीच झगडा भएको भेटिएको छ।
सीआईके अनन्तनागको एक टोलीले नौगाम केससँग सम्बन्धित छानबिनका क्रममा डा. खालिद अजीज टाकको मलकनागस्थित घरमा छापा मारेको थियो ।
छापामा एक महिला चिकित्सक फेला परिन्, जसको पहिचान प्रियंका शर्मा रहेको खुलेको छ। उनी मूलतः हरियाणाको रोहतक, जनता कोलोनीकी बसाइँसराइ भएर आएकी हुन्।
उनी अनिरुद्ध कौशिककी श्रीमती हुन्। अक्टोबर २०२३ देखि त्यही घरमा भाडामा बसिरहेकी छिन्। उनी एमबीबीएस पास गरेकी डाक्टर हुन् । हाल जीएमसी अनन्तनागमा जनरल मेडिसिनको फाइनल वर्षमा अध्ययनरत छन्।
दिल्ली कार विस्फोटो कडी उत्तर प्रदेशसम्म पुगेको छ। अनुसन्धानले आतंकको ‘डाक्टर मोड्युल’ धेरै सक्रिय बनेको देखाएको छ।
एकपछि अर्को गर्दै जम्मु–कश्मीर प्रहरी र एटीएसले ५ जना चिकित्सकलाई पक्रिएको छ। विस्फोटकी मास्टरमाइन्ड भनिएकी डा. शाहिन पनि लखनऊमै समातिएकी हुन्। उनका दाजु डा. परवेजसँग पनि अनुसन्धान चलिरहेको छ।
कहिले सिमी, कहिले इन्डियन मुजाहिदीन, कहिले पीएफटीआई हरेक पटक आतंकको धागो युपीमै जोडिन्छन्। तर यसपटक धेरै पढेलेखेका, मेडिकल पेसाका व्यक्तिहरू कट्टरपन्थी बनेको कुराले सुरक्षा एजेन्सीलाई चिन्तित बनाएको छ।
अब उनीहरूका लागि ठूलो प्रश्न उठेको छ– के सन् २०२० को दशकमा देशमा कुनै नयाँ कट्टर संगठन सक्रिय भएको त होइन, जसले साधारण कलेज होइन, मेडिकल क्षेत्रमा काम गर्नेहरूलाई लक्ष्य बनाएको छ ?













प्रतिक्रिया