सरकार छाडेर पार्टी सम्हाल्न कुलमानमाथि दबाब, प्रधानमन्त्रीसँग छलफलपछि निर्णय लिने « Khabarhub

सरकार छाडेर पार्टी सम्हाल्न कुलमानमाथि दबाब, प्रधानमन्त्रीसँग छलफलपछि निर्णय लिने

छलफलमा छन् रास्वपादेखि पहिचानवादी नेतासम्म



काठमाडौं- अर्कैलाई अध्यक्ष बनाएर उज्यालो नेपाल पार्टी दर्ता गराएका ऊर्जामन्त्री कुलमान घिसिङलाई राजीनामाको दबाब बढेको छ।

पूर्वऊर्जा सचिव अनुप उपाध्यायलाई अध्यक्ष बनाएर ५१ केन्द्रीय कमिटीसहितको पार्टी दर्ता गराएका उनीमाथि मन्त्री छाड्न दबाब बढेको हो ।

कुलमानले पार्टीमा अधिकांश नेताहरू डक्टर, इन्जिनियर र विभिन्न विषयका विज्ञहरू राखेका छन् । त्यस्तै उनले दोस्रो चरणमा अन्य व्यक्तिसहित केन्द्रीय कमिटी विस्तार गर्ने तयारी गरेका छन् ।

राजीनामा दिनुपर्ने मत

तर घिसिङले जतिसक्दो चाँडो अन्तरिम सरकारबाट राजीनामा दिएर पार्टी निर्माण अभियानमा लाग्नुपर्ने मत बलियो बन्दै गएको छ। शनिबार बौद्धको एक होटलमा बसेको केन्द्रीय कमिटी बैठकले कुलमानलाई जतिसक्दो चाँडो मन्त्रीबाट राजीनामा दिएर पार्टी जिम्मेवारी सम्हाल्न सुझाव दिएका छन्।

उज्यालो नेपाल पार्टीका एक केन्द्रीय सदस्यका अनुसार जनतामा कुलमानको या अरुको पार्टी हो भन्ने अलमल भएकाले त्यसलाई हटाउनलाई राजीनामा दिएर पार्टी सम्हाल्नु पर्ने आवाज उठेको हो ।

‘हामीले मन्त्रीज्यूलाई जति सक्दो चाँडो मन्त्री पदबाट राजीनामा दिएर पार्टीको जिम्मेवारी सम्हाल्नुस्, जनतालाई अलमलमा राखिरहनु हुँदैन भनेका छौँ । मन्त्री भइरहँदा उहाँले पार्टी दर्ता गराएको भन्ने सन्देश जनस्तरमा नजाने भएकाले चाँडोभन्दा चाँडो सरकार छाड्न भनिएको हो’, ती केन्द्रीय सदस्यले भने ।

उनका अनुसार कुलमान सरकार छाड्न तयार छन् । ‘उहाँले सकारात्मकत जवाफ दिनुभएको छ। सम्भव: मङ्सिरसम्म उहाँले राजीनामा दिनुहुन्छ । मिल्दै नमिल्ने परिस्थिति आए निर्वाचन अगाडि राजीनामा दिएर पार्टीमा देखिनुहुन्छ’, उनले भने ।

ऊर्जा नेपालका अर्का केन्द्रीय सदस्यका अनुसार मङ्सिरभित्रमा कुलमानले राजीनामा नदिए पनि उनी उज्यालो नेपाल पार्टीमा देखिने गरी सक्रिय हुनेछन् ।

कुलमान खुलेपछि अरू पनि जोडिने

कुलमानसँग काठमाडौँ महानगरपालिकाका बालेन्द्र साहनिकटहरू पनि सम्पर्कमा छन । कुलमाननिकटहरूका अनुसार बालेन्द्र पनि समर्थन गर्न तयार छन् । तर पार्टीमा बालेनले पठाउने प्रतिनिधि पनि कुलमानले राजीनामा दिनुपर्ने पक्षमा छन् ।

‘बालेनजीले हामीलाई नै समर्थन गरेर अगाडि बढ्ने कुरा भएको छ, उहाँ अहिले पार्टीमा देखिनुहुन्न’, उनले भने, ‘उहाँले केही समर्थक र निकटहरू हाम्रो पार्टीमा पठाइसक्नुभएको छ । अझै थप पठाउने तयारीमा हुनुहुन्छ।’

नेताहरू अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग डडेलधुरामा २०७९ सालमा चुनाव लडेका सागर ढकाल पनि कुलमानसँग निरन्तर संवादमा छन्।

कुलमान सक्रिय नभएकै कारण सागर पनि अन्योलल परेका हुन् । उनी पार्टीमा खुल्नेबित्तिकै सागर पनि जोडिने तयारीमा भएको स्रोतको दाबी छ।

यसबारे खबरहबले सागरलाई सोधेका थियो । उनले विभिन्न वैकल्पिक शक्तिसँग छलफल भएकाले कुनै न कुनैसँग जोडिएर जाने बताए । सागर जेन–जी आन्दोलन र त्यसअगाडि पनि चर्चामा रहेका व्यक्ति हुन् । पेशाले इन्जिनियर ढकालाई कुलमानले राम्रै हैसियतमा भित्र्याउने तयारीमा छन् ।

अर्कातिर नागरिक उन्मुक्ति पार्टीका केही नेताहरू पनि कुलमानसँग जोडिने तयारीमा छन् । पूर्वदेखि पश्चिमसम्मका पहिचानवादी छलफलमा भएकाले कुलनमाथि दबाब बढ्दै गएको हो ।

रास्वपा नेता पनि कुलमानको राजीनामा कुर्दै

राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजीनामा दिएका डा. भरतमणि देवकोटा पनि कुलमानसँग छलफलमा छन् । उक्त पार्टीका थुप्रै नेतासहित देवकोटाले कुलमानसँग छलफल गरिरहेका छन्।

वनस्थलीस्थित रास्वपाको केन्द्रीय कार्यालय देवकोटाकै घरमा छ । रास्वपाले घरभाडा नतिरेको भन्दै उनी असन्तुष्ट थिए । त्यसपछि उनले रास्वपा नै छाडिसकेका छन् । अनुशासन पूर्वअध्यक्ष उनले रास्वपा छाडे पनि राजनीतिक रुपमा कहीँ न कहीँ सक्रिय हुने बताइसकेका छन् ।

छलफलमा रहे पनि कुलमानले पार्टी दर्ता गरेको दिन उनी अटाएका छैनन् । उनले कुलमान उज्यालो नेपाल पार्टीको अध्यक्ष हुने गरी मन्त्रीबाट राजीनामा दिएर आउनुपर्ने बताइरहेका छन् ।

देवकोटा अहिले पनि कुलमानलाई उज्यालो नेपाल पार्टीको नेतृत्वमा ल्याएर आफू पनि सक्रिय हुने योजनामा छन् । उनी मात्रै होइन, राष्ट्रिय स्वतन्त्र पार्टीका केही शीर्ष तहका नेताहरू पनि कुलमानको पार्टीमा जाने तयारीमा छन् ।

स्रोतका अनुसार केन्द्रीय सदस्य गणेश कार्की र पूर्व सांसद ड.तोशीमा कार्की लगायतको टीम कुलमानसँग नियमित सम्पर्क र छलफलमा छ ।

यस विषयमा शनिबार बौद्धमा कुलमानले लामो छलफल गरेका थिए। काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरूको बैठकमा अधिकांश नेताहरूले कुलमानलाई मन्त्रालय छाडेर पार्टी सम्हाल्न सुझाव दिए ।

‘भरतमणिले रास्वपाका केही नेताहरूलाई सम्पर्कमा ल्याउनु भएकोछ । उहाँले कुलमानसँग छलफल गरिरहनु भएको छ । उहाँहरूले कुलमानजी मन्त्रीबाट राजीनामा दिएर पार्टी नेतृत्वमा आउनुपर्ने मत राखिरहनु भएको छ’, ऊर्जा नेपालका एक केन्द्रीय सदस्यले खबरहबलाई भने, ‘देवकोटाजीले त नागरिकका तर्फबाट पनि कुरा उठाइरहनु भएको छ।’

देवकोटाले नागरिकको आवाज पनि कुलमानजी देखिने गरी पार्टीमा लाग्नुपर्ने मत राखिरहेका ती केन्द्रीय सदस्यले बताए । ‘कुलमान आएपछि उहाँको पार्टीमा हामी पनि लाग्छौं भन्ने उहाँको आवाज छ’, ती नेताले भने, ‘हामीले पनि देवकोटाजीको आवाजलाई समर्थन जनाएर पार्टी सम्हाल्नुपर्ने सुझाव बौद्ध बैठकमा दिएका छौं।’

देवकोटाले आफूहरूसहित नागरिक समाजको ठूलो पंक्ति कुलमान जोडिएर नेतृत्व सम्हाल्ने प्रतिक्षामा रहेको कुरा राखेका थिए ।

‘यता-उता गरेर काम छैन, चुनाव आइसक्यो, तपाईं पार्टी जिम्मेवारी सम्हाल्न आउनुहोस्’, देवकोटाको भनाइ उद्धृत गर्दै एक केन्द्रीय कमिटी सदस्यले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीका असन्तुष्ट पक्षलाई ल्याउने काम मेरो भयो। तर तपाईं देखिनेगरी उज्यालोमा लाग्नुस् भन्नेन देवकोटाजीको आवाज छ ।’

उता रास्वपाकी पूर्सांसद तोससमाले पनि कुलमानलाई भेटेर त्यही कुरा दाबी नेताहरूले गरेका छन् । यद्यपि उनले अहिले आफूले कसैसँग संवाद गरेको कुरालाई अस्वीकार गरिरहेकी छन् ।

गत भदौ २३ र २४ गते आन्दोलन गरेका जेन-जी पनि कुलमानको पार्टीमा जोडिने तयारीमा छन्। प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको सम्झौतापत्रमा हस्ताक्षर गरेपछि कुलमानको पार्टीमा जोडिने तयारी जेन-जीहरूको समूहले गरेका छन् ।

उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिम आफूहरूले विभिन्न वैकल्पिक शक्तिहरूसँग छलफल गरिरहेको स्वीकार्छन् ।

तर कुलमानले अन्तरिम सरकारबाट राजीनामा दिने अथवा राजीनामा गराउने विषयमा आफूलाई जानकारी नभएको जवाफ उनले दिएका छन् ।

छलफलमै कुलमान

शनिबार केही केन्द्रीय सदस्यहरूले कुलमानलाई राजीनामा दिएर राजनीतिमा होमिन भनेपछि उनी छलफलमा जुटेका उनको सचिवालयले जनाएको छ।

कुलमानको सचिवालयका एक सदस्यका अनुसार उनी ढिलो-चाँडो मन्त्रीबाट राजीनामा दिएर पार्टी राजनीतिमा होमिने तयारीमा छन्। ‘कहिले राजीनिमा होमिनु हुन्छ, टुङ्गो लागेको छैन । तर सबैको आवाजका कारण उहाँ राजीनामा दिने मनस्थितिमा हुनु हुन्छ’, ती सचिवालय सदस्यले भने, ‘तत्काल राजीनामा नदिए पनि खुलेर पार्टीमा लाग्नुहुन्छ । चुनाव अगाडि राजीनामा दिएर नेतृत्वमै आउने तयारी छ। अहिले समस्यामा परिरहेको सरकारलाई धोका दिन मिलेन। प्रधानमन्त्री सुशीला कार्कीले उहाँबाट धेरै अपेक्षा गर्नुभएको छ।’

कुलमानिकट सहयोगीहरूले प्रधानमन्त्री कार्कीसँग पनि यसबारे छलफल गरेर मात्रै निचोडमा पुग्ने तयारी भएको छ । तर फागुन २१ को निर्वाचन नजिकिँदै गएकाले देशव्यापी संगठन निर्माण र मतदाता तान्न कुलमानका लागि समय भने साँघुरिँदै गएको छ।

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  ५ : ३८ बजे

संसद्को पहिलो बैठक बिहीबार बस्ने, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको पहिलो अधिवेशनको पहिलो

निफमा सहभागी हुन काठमाडौं आइपुगे ‘शोले’का निर्देशक सिप्पी

काठमाडौं – चर्चित बलिउड फिल्म ‘शोले’का निर्देशक रमेश सिप्पी बुधबार

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष

काठमाडौंबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौं – काठमाडौंबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

एमाले युवाहरूले पार्टी कार्यलय अगाडि जलाए महासचिव पोखरेलको पुत्ला

काठमाडौं – नेकपा एमाले निकट युवा नेताहरुले पार्टी महासचिव शंकर