काठमाडौं- गत भदौ २३ गते जेन-जी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर विद्यार्थीसहित १९ जनाको ज्यान गएपछि नेकपा एलेमानिकट अनेरास्ववियुका अध्यक्ष सुजन कडारियाले राजीनामा दिए ।
त्यसको केही दिनपछि आफूलाई एउटा समूहले नियन्त्रणमा लिएकाले राजीनामा दिन बाध्य भएको स्पष्टीकरण दिए । तर उनको यो स्पष्टीकरणलाई कार्यकर्ताले पत्याएनन्। उक्त स्पष्टीकरणसँगै उनी अनेरास्ववियुका गतिविधिमा सक्रिय भए पनि विरोधको सामना गर्नुपर्यो ।
कतिसम्म भने अनेरास्ववियुको कार्यालयमा रहेको उनको नेम प्लेटसमेत कार्यकर्ताले निकालेर फ्याँकिदिए । त्यसपछि मौन बसेका उनीबारे एमाले अध्यक्ष केपी शर्मा ओलीले ललितपुरको जावलाखेलमा बसेको १० औ केन्द्रीय कमिटी बैठकमा बोले ।
उनको राजीनामाबारे एमाले अध्यक्ष बोल्दै जेन-जी भनेरै अखिलको अध्यक्ष बनाएको सुजनले संगठनको जिम्मेवारी छोडेर भागेको उल्लेख गरे । ‘जेन-जी, जेन-जी भन्दैमा हुन्छ ? सुजन कडरियालाई जेन-जी भनेरै अखिलको अध्यक्ष बनाएको होइन ? उसैले छाडेर भाग्यो त !’, उनले बैठकमा भने ।
ओलीको कडा टिप्पणीपछि सुजनले शनिबार फेसबुकमा लेखेर संगठन छोड्नुको कारणबारे प्रष्टीकरण दिए । युनिफर्म लगाएको विद्यार्थी मारिँदै गर्दा नैतिकताले संगठनमा बस्न नदिएको जिकिर उनले गरे ।
‘अनेरास्ववियुको अध्यक्ष पदमा मेरो लागि युनिफर्म लगाएका विद्यार्थी मारिँदै गर्दा नैतिकताले रहन दिएन,आफ्नै पार्टी सरकारमा भएको कारण नै मेरो राजीनामाको मुख्य कारण हो’, उनले भने ।
सुजनले पार्टी नभई संगठन मात्रै छोडेको स्पष्टीकरण दिए । ‘पार्टी छोडेको थिइनँ, अध्यक्षमा मार्ग प्रशस्त गर्दा संकटको समयमा पार्टीलाई जोगाउन नसकेकोप्रति आफ्नो हिस्सामा परेको जिम्मेवारीबोध गर्दै दण्डित हुन तयार छु’, उनले भनेका छन् ।
गत जेठमा भएको अनेरास्ववियुको २४ औँ राष्ट्रिय महाधिवेशनमा एमाले महासचिव शंकर पोखरेल र जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालसमेतको बलमा सुजन अध्यक्ष भएका थिए ।
‘अनेरास्ववियु जस्तो गौरवशाली संगठनको केन्द्रीय अध्यक्षमा निर्वाचित हुनु मेरो जीवनको सबैभन्दा ठूलो उपलब्धि हो। विद्यार्थीहरूसँग प्रत्यक्ष सम्बन्ध भएकाले नैतिकताको आधारमा राजीनामा दिएको विषय सत्य हो, तर पार्टीको साधारण सदस्य म सधैं रहनेछु’, उनले भनेका छन् ।
त्यसबेला प्रतिस्पर्धी प्रकाश पौडेललाई सात मतले हराउँदै सुजन अध्यक्ष भए । तर भदौ २३ गतेको जेन-जी प्रदर्शनमा विद्यार्थीसहित १९ जना मारिएपछि सुजनले फेसबुकमै लेखेर संगठनबाट राजीनामा दिए । राजीनामा दिएको दुई दिनपछि सार्वजनिक भएका उनले कसैले नियन्त्रणमा लिएर दबाब दिएकाले राजीनामा दिन पुगेको भन्दै बचाउ गरेका थिए ।
सुजनले एमालेप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै भने, ‘म एमालेमा मदन भण्डारीको विचारबाट प्रेरित भएर लागेको हुँ। श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीको सक्रियता र नेतृत्वले पार्टीप्रति थप आकर्षण सिर्जना गरेको सत्य हो। म संगठन र पार्टीको हितका लागि सदैव तयार छु।’
प्रतिक्रिया