भारत–तालिबान नजिकिँदा पाकिस्तान असन्तुष्ट « Khabarhub

भारत–तालिबान नजिकिँदा पाकिस्तान असन्तुष्ट


२ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- अफगानिस्तान र पाकिस्तानबीच हालै भएको दुर्लभ र रक्तपातपूर्ण झडपपछि इस्लामावादले भारतमाथि द्वन्द्व भड्काएको आरोप लगाउँदै कडा असन्तुष्टि प्रकट गरेको छ । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले भारतले अफगान तालिबानलाई ‘उक्साएको’ दाबी गरे भने रक्षामन्त्री ख्वाजा मुहम्मद आसिफले अफगान सरकारले भारतको ‘प्रोक्सी’ जस्तो व्यवहार गरेको आरोप लगाए । सन् १९४७ मा ब्रिटिश शासनको अन्त्यसँगै भएको विभाजनपछि भारत र पाकिस्तान कट्टर प्रतिद्वन्द्वी बनेका हुन् ।

यी दुवै मुलुकले बारम्बार युद्ध र एकअर्कामाथि आतङ्कवादको आरोप लगाउँदै आएका छन् । तर, पछिल्ला महिनाहरूमा अफगानिस्तानसँगको सम्बन्ध कमजोर हुँदै गए पनि पाकिस्तानले भारत–तालिबान सम्बन्धलाई सहज रूपमा बढ्दै गएको रूपमा हेरेको छ । गत अक्टोबर ९ मा तालिबानका विदेशमन्त्री आमिर खान मुत्ताकी नयाँ दिल्ली पुगेपछि भारत–तालिबानबीचको कूटनीतिक निकटता औपचारिक बन्यो ।

यो सन् २०२१ मा तालिबान पुनः सत्तामा फर्किएपछि उच्चस्तरीय तालिबान नेताको भारत भ्रमण हो । भारतले मुत्ताकीका लागि रातो कार्पेट ओछ्याएको दिनै काबुल र पाकिस्तान सीमासँगै बजार क्षेत्रमा विस्फोट भएको थियो । अफगान विशेषज्ञ वाहिद फकिरीका अनुसार भारत–तालिबानको यो मेलमिलापले पाकिस्तानलाई तीव्र प्रतिक्रिया दिन बाध्य बनाएको हो । उनका शब्दमा, “नयाँ दिल्लीले मुत्ताकीलाई आमन्त्रित गरेर पाकिस्तान र अफगानिस्तानबीचको तनाव झन् बढाउने उद्देश्य राखेको छ ।”

त्यो विस्फोटको जिम्मेवारी कसैले नलिए पनि तालिबान सरकारले इस्लामाबादमाथि ‘अभूतपूर्व आक्रमण’ गरेको आरोप लगायो र त्यसको प्रतिशोधस्वरूप आक्रमण गर्‍यो । यसपछि तोपखाना र ड्रोन आक्रमणको आदानप्रदान हुँदै दुवै मुलुकबीच वर्षौंयताकै भीषण हिंसा फैलियो । प्रारम्भिक युद्धविराम भङ्ग भएपछि अक्टोबर १९ (आज) मा दोस्रो युद्धविराम सम्झौता गरिएको छ ।

– छिमेकीलाई दोष दिने प्रवृत्ति –

एक समयका निकट सहयोगी अफगानिस्तान र पाकिस्तानबीचको सम्बन्ध अमेरिकी सेनाको फिर्ती र तालिबानको सत्तारोहणपछि चिसिँदै गएको हो । इस्लामावादले सुरुआती दिनहरूमा तत्कालीन गुप्तचर प्रमुख फैज हमीदमार्फत ‘सबै कुरा ठिक हुनेछ’ भन्दै आशावादी वक्तव्य दिएको थियो । तर पाकिस्तानमा बढ्दो आतङ्कवादी आक्रमणले त्यो विश्वास भत्कायो ।

पाकिस्तानी अधिकारीहरूका अनुसार तालिबान सरकारले आतङ्ककारी समूहहरूलाई सुरक्षित आश्रय दिइरहेको छ । यी मध्ये पाकिस्तानी तालिबान (टिटिपी) र यसका सम्बद्धहरू मुख्य रूपमा सुरक्षा बलहरूमाथिका आक्रमणका लागि जिम्मेवार छन् । पाकिस्तानी सुरक्षास्रोतका अनुसार अक्टोबर महिनामै अफगानतर्फबाट भएका आक्रमणमा १०० भन्दा बढी सुरक्षाकर्मी र प्रहरी अधिकारी मारिएका छन् ।

यो हिंसाले पाकिस्तानमा अफगान शरणार्थीहरूलाई लक्षित गर्दै सामूहिक निर्वासन अभियानलाई तीव्र बनाएको छ । पूर्वपाकिस्तानी कूटनीतिज्ञ मलिहा लोधीका अनुसार मुत्ताकीको नयाँ दिल्ली भ्रमण ‘आक्रोश निम्त्याउने’ विषय त हो, तर पाकिस्तानका लागि ‘प्रतिशोधको कारण होइन’ । उनले भने, “तालिबानले टिटिपीमाथि नियन्त्रण गर्न अस्वीकार गर्नु नै पाकिस्तानको वास्तविक असन्तोष हो ।”

पाकिस्तानी सेनाले पनि भारतमाथि टिटिपीलाई समर्थन गरेको आरोप लगाएको छ तर भारतको विदेश मन्त्रालयले ती दाबीहरूलाई अस्वीकार गर्दै प्रतिक्रिया दिएको छ, “पाकिस्तानले आफ्नै असफलताको जिम्मेवारीबाट पन्छिन छिमेकीमाथि दोष थोपर्ने पुरानो बानी दोहोर्‍याएको छ ।”

– एकता र रणनीतिक परिवर्तन –

भारत–तालिबान सम्बन्ध सुरुआती रूपमा भारतको हिन्दू राष्ट्रवादी सरकारका लागि ‘संवेदनशील’ विषय मानिएको थियो । तर अन्तर्राष्ट्रिय क्राइसिस ग्रुप (आइसिजी) का विश्लेषक प्रवीण डोन्टीका अनुसार मुत्ताकीले भारतप्रति ‘एकता’ देखाएपछि जनमत परिवर्तन भयो ।

उनका अनुसार अप्रिल २२ मा जम्मु–काश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि मुत्ताकीले भारतप्रति ऐक्यबद्धता जनाए । यसले उनलाई भारतभित्र केही लोकप्रियता दिलायो । तर उक्त वक्तव्यमा काश्मीरलाई ‘जम्मू र कश्मीर, भारत’ भनेर उल्लेख गरिएकोले पाकिस्तानलाई झन् आक्रोशित बनाएको छ ।

भारत भ्रमणको अन्त्यमा नयाँ दिल्लीले काबुलस्थित आफ्नो कूटनीतिक कार्यालयलाई पूर्ण दूतावासमा स्तरोन्नति गर्ने घोषणा गर्‍यो । विश्लेषकहरूका अनुसार यस कदमले तालिबान सरकारलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने दिशातर्फ ठूलो कदम चालिएको हो — यद्यपि यो प्रक्रिया अझै लामो छ । अहिलेका लागि यो सम्बन्ध तालिबानका लागि राजनैतिक विजय हो भने भारत–पाकिस्तान–अफगानिस्तान त्रिकोणीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत भएको सङ्केत हो ।

प्रकाशित मिति : २ कार्तिक २०८२, आइतबार  ४ : ०२ बजे

सिंहदरबारमा निर्वाचन तयारीबारे सर्वपक्षीय छलफल सुरु (तस्बिरहरू)

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको संसारमा

धनुषामा एक अस्पतालसहित चार वटा औषधि पसललाई कारबाही

जनकपुरधाम– सरकारले तोकेको मापदण्ड विपरीत अवैध रूपमा, दर्ता नगरी सञ्चालित

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन