खल्लागोठवासीका लागि नदी नै जीवन, नदी नै पीडा « Khabarhub

खल्लागोठवासीका लागि नदी नै जीवन, नदी नै पीडा


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– गाउँ नजिकैको चुरे पर्वतमा सूर्य नउदाउँदै कृष्णपुर नगरपालिका–२ खल्लागोठका भीम गिरी श्रीमतीसँगै दोदा (मछेली) नदीको बगरमा पुगिसकेका हुन्छन् ।

हातमा फरुवा, गैँटी, कोदालो बोकेर नदीमा पुग्ने गिरी दम्पती बालुवा, गिट्टी निकाल्दै तारजालीमा छान्ने कार्य गर्नुहुन्छ । बालुवा एकातर्फ र गिट्टी अर्कातर्फ निकालेर थुप्रो लगाउँछन्। गिरी दम्पतीको यो कार्य झमक्क साँझ नपर्दासम्म जारी रहन्छ । दिउँसपख खाना खानका लागि दुई घण्टाको विश्राम मात्र गिरी दम्पतीले लिने गरेका छन् ।  एक दशकदेखि नदीको बालुवा र गिट्टी चाल्दै बेच्दै गर्ने कार्यले गिरी परिवारको जीविका चल्दै आएको छ ।

उन भन्छन्, ‘नदी नै एकमात्र बाँच्ने आधार हो, यसबाटै जीविका चलेको छ, पहिले भारत जान्थेँ, थोरै तलबले परिवारको गुजारा चलाउन मुस्किल हुन्थ्यो, बालुवा चाल्न थालेपछि भारत जान छाडे, अहिले थोरै कमाउँछु, तर परिवारसँगको सुखदुःखमा साथमा छु ।’

चारपाँच दिनमा एक ट्रली बालुवा त्यही परिणाम गिट्टी संकलन हुँदा दुई हजारदेखि रु तीन हजारसम्म कमाइ हुने गरेको उनी बताउँछन् । महिनामा रु १२ देखि १५ हजारसम्मको कमाइ हुने गरेको छ ।

गिरी दम्पतीसँग गाउँमा घरबाससँगै थोरै कमाइखाने जग्गा पनि छ । त्यो जग्गामा लगाएको अन्नले छ महिना पनि धान्दैन । बालुवा, गिट्टी बेचेर आएको कमाइले घरको नुनतेल, लत्ताकपडा र अन्नको जोहो मिलाउँछन् । भीमजस्तै खल्लागोठ गाउँका कृष्ण नाथ पनि दुई दशकदेखि नदीमा बालुवा, गिट्टी चाल्दै आएका छन्। बिहान बालुवा चाल्दै सुरु हुने दैनिकी बेलुका थकाइसँगै बन्द हुने गरेको उनी बताउँछन्।

आठ जनाको परिवारको खर्च बालुवा, गिट्टी बेचेरै चल्दै आएको छ ।

‘बालबालिका छाडेर घरका अरु सबै जना बालुवा, गिट्टी चाल्ने कार्य गर्छौँ, महिनामा रु २०–२५ हजार जति कमाइ हुन्छ, त्यही रकमबाट घरायसी खर्च धान्ने गर्दर्छौँ’, उनले भने।

नदीमा ठेक्का छिटो खुलेपछि धेरै दिनसम्म बालुवा, गिट्टी चाल्न पाइने गरेको उल्लेख गर्दै उनले ढिलो गरी ठेक्का खुले बालुवा, गिट्टी चाल्ने कार्य नहुँदा मजदुरी खोज्दै हिँड्नुपर्ने बाध्यता रहेको बताए।

नदीमा असोजदेखि जेठ मसान्तसम्म खल्लागोठका बासिन्दाले बालुवा, गिट्टी चालेर बिक्री गर्दै आएका छन् । असारदेखि भदौसम्मको बर्खायाममा नदीजन्य पदार्थ संकलन उत्खनन गर्न नपाइने भएकाले काम खोज्दै हिँड्नुपर्ने अवस्था रहेको न्यौटी नाथले बताए। खल्लागोठ गाउँमा ९० परिवारको बसोबास छ ।

गाउँका अधिकांश परिवारले गिट्टी, बालुवा चालेरै जीविका चलाउने गर्नुहुन्छ । गाउँका बासिन्दासँग थोरैमात्र जग्गा छ । त्यो पनि उब्जाउ नहुँदा बाध्यताले नदीमा बालुवा चाल्नुपरेको उनी बताउँछन्। जुन बालुवाले जीवन दियो, त्यसैले कहिलेकाहीँ ज्यानको जोखिम पनि ल्याएर आउने धनबहादुर विक बताउँछन्।

‘असारदेखि नै पानी दर्किन सुरू भएपछि नदीको बाढी गाउँभित्र पस्ने भएकाले तीन महिना अवधि त्रासमा बाँच्नुपर्ने हुन्छ’, उनले भने, ‘नदीजन्य पदार्थ उत्खननको प्रत्येक वर्ष ठेक्का लाग्ने भएकाले त्यसको केही हिस्सा नदी नियन्त्रणका लागि बलियो तटबन्ध बनाउनमा खर्च गर्नुपर्ने हो, त्यसका लागि आवाज उठाउँदै आए पनि सुनवाइ हुँदैन ।’

उनका अनुसार सो गाउँका ४५ घर बाढीको जोखिममा छन् । खल्लागोठका स्थानीय बासिन्दा नदी र बस्तीलाई असर नपर्ने गरी बालुवा, गिट्टी उत्खनन गर्दै आएको बताउँछन्। स्थानीय भन्छन्, ‘नदीलाई शत्रु होइन, सहयात्री ठान्छौँ, यसले जीवन जिउने आधार दिएको छ ।’ 

पहिला पहाडबाट तराई झर्नेहरूले खल्ला (पानी जम्ने ठाउँ)मा गोठ राख्ने भएकाले त्यस ठाउँलाई पछि खल्लागोठ भन्ने गरिएको गाउँका बासिन्दा बताउँछन् । गाउँका केही बासिन्दाले बालुवा चाल्ने कार्यसँगै नजिकै वन क्षेत्र भएकाले बाख्रापालनको काम गरी अतिरिक्त आम्दानी गर्दै आएका छन् ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ८ : ३४ बजे

गर्मी र वर्षायाममा सर्पदंशको जोखिम : सचेतना अपनाउन आग्रह

काठमाडौं– नेपालमा गर्मी र वर्षायाम सुरु भएसँगै तराई तथा पहाडी

प्रधानमन्त्री नआएपछि कांग्रेसले गर्‍यो संसदीय समितिको बैठक बहिष्कार

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसद् अन्तर्गत राज्य

दुआ लिपाको तस्बिर विवाद : सामसङविरुद्ध १ करोड ५० लाख डलरको मुद्दा

काठमाडौं– बेलायती पप गायिका दुआ लिपाले दक्षिण कोरियाली कम्पनी सामसङ इलेक्ट्रोनिक्सविरुद्ध १ करोड ५०

अमेरिकी एफ-३५ लडाकु जहाजले यूएईमा आकस्मिक अवतरण गरेको इरानी दाबी

तेहरान- इरानले अमेरिकी वायुसेनाको एउटा एफ-३५ लाइट्निङ आईआई लडाकु विमानले

सरकारी ठेक्का अलपत्र पारेको आरोपमा शर्मा एन्ड कम्पनीका अध्यक्ष पक्राउ

काठमाडौं- सरकारी ठेक्का अलपत्र पारेको आरोपमा नेपालको चर्चित निर्माण व्यवसायी