काठमााडौं– जन्मजात दृष्टिविहीन मोरङका रमेश सुवेदीलाई नेता बनेर देशको सेवा गर्ने ठूलो रहर थियो । बच्चैदेखि संसद् गतिविधि सुन्ने बानीले उनलाई नेता बनेर देशको सेवा गर्नुपर्छ भन्ने थियो । आफू जस्तैका हक अधिकारको लागि काम गर्छु भन्ने थियो । कानुन पढेर पीडितको न्यायको लागि लड्छु भन्ने थियो । तर जति हुर्किँदै गए, उति राजनीति र कानुनप्रति मोह कम हुँदै गयो ।
नाम भए पनि राजनीतिमा टिक्न निकै छलकपट र झुट बोल्नुपर्ने उनले देखे । हाम्रो जस्तो देशमा सामान्य नागरिकले राजनीति गर्न नसक्ने उनले बुझे । अझ शारीरिक रूपमा कमजोरका लागि राजनीति आकाशको फल रहेको छ । अर्को, राजनीतिज्ञप्रतिको आम नागरिकको दृष्टिकोण त्यति राम्रो नपाएपछि उनले राजनीतिको रुचि त्यागे ।
वकिल बनेर पीडितहरूका लागि लड्ने सपनाले बिझायो । कसैलाई नबिझाएर के काम गर्न सकिन्छ होला ? भनेर मनन गर्दा उनले बुझे त्यो थियो संगीत । उनले त्यसैलाई करिअरको रूपमा रोजे ।
बच्चा बेला धाराबाट बगेको पानीको आवाज गहन भएर उनी सुनिरहन्थे । आकाशबाट पानी पर्दाको आवाज पनि निकै ध्यान दिन्थे । घरमा भएका भाँडाहरू ठटाएर उनी आफैँ विभिन्न थरिका आवाज निकाल्थेँ । यो आवाज कसरी आउँछ ? कसरी बन्छ ? भन्नेमा उनलाई सानैदेखि जिज्ञासा थियो । त्यही जिज्ञासा आज उनको करिअर बनेको छ ।
१७० बढी गीतहरूमा संगीत भरेका सुवेदी स्कुलमा संगीत पढाउँछन् । विभिन्न कार्यक्रम साथै रेष्टुरेन्टमा उनी संगीत भर्न पुग्छन् । दृष्टिविहीन भनेर उनलाई काम नगरी बस्ने छुट छैन । परिवारको जिम्मेवारी काँधमा बोकेर संघर्षको मैदानमा उनी हाँसीखुसी नै भेटिन्छन् । शरीरको अशक्तताले मानिसले आफ्नो लक्ष्य पछ्याउनमा अल्छी गर्न नहुने उनी बताउँछन् । अभिप्रेरणाका पात्र उनै सुवेदीसँग गरिएको कुराकानीको अंश :
रमेश २०३५ फागुन ४ गते केराबारी–७ मोरङमा जन्मिएका हुन् । उनका बुवा विष्णुप्रसाद सुवेदी र आमा उमादेवी सुवेदीको जेठो सन्तानको रूपमा जन्म भयो । उनका एक भाइ र दुई दिदीबहिनी छन् । किसान परिवारमा जन्मिएका उनको बाल्यकाल सुखदुखमै बित्यो ।

जन्मजात दृष्टिविहीन
हेर्दा आँखा राम्रै देखिने बच्चा बेलामा देख्दैन भन्ने आमाबुवालाई लागेन । पछि ताते ताते हिँड्ने बेला अप्ठ्यारो गरेर हिँड्न थालेपछि शंका लाग्यो । ७ महिनामा जँचाउन जाँदा डाक्टरले देख्दैन भन्नुभयो । रिपोर्ट त्यस्तो आयो ।
नशामै समस्या भएको कारण उपचार गरे पनि सफल हुन्न । नशा निष्क्रिय भएकाले आँखाको उपचार गर्ने ठाउँ नै रहेन । यसको उपचारै हुँदैन । कहिलेकाहीँ सपना देख्छन् । कहिले नपुगेको ठाउँ पुग्छन् । साथीभाइ आफन्तसँग बोलेको हाँसेको यस्तै देख्छन् सपनामा ।
शिक्षा
८ वर्षको भएपछि पढ्न सुरु गरेको हो । ब्रेलिपी सिक्न समय लाग्छ । त्यो निकै कठिन छ । पहिलो शिक्षा ज्ञानचक्षु धरानबाटै भयो । त्यहाँ देशभरका दृष्टिविहीन विद्यार्थीहरूले मात्रै पढ्छन् । उनले पढ्दासम्म ८ सम्म थियो । हाल माध्यमिक तहसम्म छ ।
जनता धन माध्यमिक विद्यालय बागलुङबाट २०५५ सालमा प्रथम श्रेणीमा एसएलसी पास गरे । त्यहाँ देख्ने र दृष्टिविहीन दुवै पढ्छन् । विद्यालयदेखि नै घर बाहिर अभिभावकदेखि टाढा बसेर पढ्नुपर्यो ।
सुरुमा नराम्रो लागे पनि पछि बानी लाग्दै गयो । भेटिएका मानिसले सबैले माया गर्थे । दुनियाँ त्यति नराम्रो पनि छैन । धेरै राम्रा र सहयोगी मान्छेहरू छन् । एसएलसी पास गरेपछि २०५६ सालमा काठमाडौँ आएँ । ललितकला क्याम्पसमा ‘इन्ट्रास’ दिएँ । नाम निस्कियो । संगीतमा स्नातक पास गरे ।
बाल्यकालको लक्ष्य
बच्चा बेलामा नेता हुनु मन थियो । संसद् गतिविधि सुनिरहन्थेँ । फलानो नेताले यो भन्यो त्यो भन्यो । आफू पनि सांसद भएर हामी जस्ता दृष्टिविहीन तथा अपाङ्गता भएकाहरूका लागि काम गर्नुपर्छ भन्ने थियो । निम्न वर्गको सारथि बन्नुपर्छ भन्ने थियो ।
एसएलसी पास गरेपछि कानुन पढ्नुपर्छ । र समाजको अन्यायको विरुद्ध लड्न साहस जुट्छ । संगीतलाई रुचि विषय मात्रै बनाएको थिए । तर हाल संगीत नै मुख्य करिअर बन्यो । बागलुङमा रहँदा पढ्न पाएँ । ९ र १० कक्षाको विद्यार्थीलाई संगीत सिकाउँदै निःशुल्क पढेँ । गाडीभाडा, लुगाफाटो पनि पाउँथे ।
संगीतमा भिज्दै गएपछि कानुन पढ्ने र नेता बन्ने रहर हराउँदै गयो । कानुन पढेर वकिल बने भने पनि कसै न कसैको लागि छुच्चो हुनुपर्छ । नेता बन्यो दिनहुँ गाली गलौच, अपमान, तिरस्कार झेल्नुपर्ने । संगीतमा त्यस्तो केही पनि झेल्नु पर्दैन । यो साधना हो ।
यहाँ कसैले कसैलाई अपमान गर्दैन । मानसिक शान्तिको लागि संगीत जति उपयुक्त पेशा अरु केही छैन । नाम पनि हुने र दाम पनि हुने पेशा संगीत हो । घुम्न डुल्न पनि प्रशस्त पाइने । यहाँ गुरु र चेलाबीच सौहार्दयता हुन्छ । आलोचनै भयो भने पनि एक मूल्यमान्यता र सभ्यताको ख्याल राखिन्छ । नेताले जस्तो तल्लोस्तरको गाली खानुपर्दैन ।
हुन तः यो देशका नेताहरूले नागरिकहरूलाई चिढ्याएका छन् । तर नेता फाल्ने भोटले हो, गालीले होइन । देशको लागि घातक छन् भन्ने जानेर भोटबाटै बहिष्कार गर्ने हो । घुम्दै फिर्दै त्यही नेतालाई भोट हाल्ने । फेरि तल्लोस्तरको गालीगलौजमा पनि उत्रिने प्रवृत्ति राम्रो लाग्दैन । अवसर आएको खण्डमा राजनीतिमै जान्न भन्ने छैन ।
तर राजनीतिको तुलनामा संगीत मेरो लागि सुखदायी छ । आज जहाँ छु, त्यो संगीतले दिएको परिचय हो । सांसद हुनको लागि निर्वाचन लड्नुपर्यो । जनताको मन जित्नुपर्यो । समानुपातिक अवसर पाउनको लागि पार्टीको काममा खट्न सक्नुपर्यो । राजनीति गर्न पैसा पनि चाहिने । सबै कुराले मेरो लागि संगीत नै उपयुक्त भयो ।

पारिश्रमिक
संगीत भरेको ठ्याक्कै यति र उति भन्ने हुँदैन । कहिले निःशुल्क पनि गर्दिनुपर्ने हुन्छ । यही क्षेत्रमा काम गरेर जिविको चलेको छ । यसले मात्रै धान्न परेको छैन । स्कुलमा संगीत पढाउँछु । साथै विभिन्न कार्यक्रममा बोलाउँछन् । त्यहाँबाट पनि केही कमाइ हुन्छ । ठिकै छ भन्नुपर्छ यत्तिको जीवनलाई ।
लेब्रोटरी सेकेण्डरी स्कुल, कीर्तिपुर संगीत पढाउँछु । आँखा देख्ने र दृष्टिविहीन दुवै बालबालिकालाई संगीत पढाउँछु । अलि पहिले दृष्टिविहीन बालबालिकालाई ब्रेल पनि पढाउँथे । बेलुका एक रेष्टुरेन्टमा किबोर्ड बजाउन जान्छु । खर्च र महँगीले धेरैतिर काम गर्नुपरेको छ । काठमाडौँ कालीमाटीमा एक फ्ल्याट लिएर बसेका छन् ।
विवाह
२०६३ सालमा गरे । प्रेम र मागी दुवै होइन । एक जना मान्छेले फलानो केटीसँग बिहे गर भने । हाँसो मजाक गर्दै गर्दा बिहे नै भयो । श्रीमती देवी अधिकारी हुन् । उनको माइत कास्की लाहाचोक हो । अल्पदृष्टि (लो–भिजन) हुन् । मधुरो देख्छिन् । उनी गृहिणी हुन् । एक छोरा जो १२ मा पढ्दै छन् ।
जीवन सोचे भन्दा राम्रो बन्यो । किसानको छोरा काठमाडौँ जान्छु, पढ्छु, काम गरेर आत्मनिर्भर हुन्छु भनेर सोचेकै थिइन् । फ्याल्ट लिएर बच्चा पढाएर, सम्पूर्ण घरको म्यानेज गरेर बस्नु राम्रै हो । घरको सहायता छैन, आफै कमाएर यत्तिको गर्नु राम्रै मानेको छु ।
मानिसको जीवनमा विवाह एकदम धेरै आवश्यक छ । स–सानो कुराको ख्याल गर्ने साथी भनेकै श्रीमती हुने रहिछन् । मैले आर्थिक पाटो सम्हाल्दिएको छु । बाँकी सबै उनी चलाउँछिन् । घरको अरु व्यवहारको बारेमा सोच्न पर्दैन ।
संगीतले दिएको सन्तुष्टि
सबैभन्दा धेरै सन्तुष्टि दियो । धेरै ठाउँहरू घुम्न पाए । कार्यक्रमको सिलसिलामा ५२ जिल्ला पुगेको छु । नेपालका प्रख्यात व्यक्तित्वहरूसँग भेटघाट गर्न पाएँ । मानसम्मान पाएँ ।
तर कतिपय ठाउँमा दृष्टिविहीन भएकै कारण धेरै ठाउँमा जागिर पाइन । क्षमता हेर्नु भन्दा पनि कसले डोर्याउने, कसले समाइदिने किबोर्ड कसले खोल्दिने, टोनहरू कसले मिलाइदिने, जस्ता कुरा गर्थे । त्यस्ता समस्या चिर्दै गइयो । जीवन भनेको भोगाई सँगसँगै बग्नु रहेछ ।
म ‘ख’ वर्गको अपाङ्गता हो । सरकारले दिएको राहत नाम मात्रैको छ । दृष्टिविहीनको लागि छुट्टै अपार्टमेन्ट बनाइदिए हुन्थ्यो । बरु हामीले केही शुल्क तिर्ने थियौ । सामूहिक रूपमा एक गाडी राखिदिएर जागिरमा जाऊ– आउको लागि सहज बनाइदिए सहज हुने थियो । हामीसँग कर लिएर सेवा सुविधा दिए के बिग्रन्थ्यो ?
शिक्षा, स्वास्थ्य, दृष्टिविहिनमैत्री सडक, फुटपाथ, बसपार्क लगायतका सेवा सुविधा दिनुपर्छ । हामीले काम गर्ने कार्यालय, परिवार तथा समाजमा अपाङ्गतालाई हेर्ने दृष्टिकोणमै सचेतना ल्याउने कार्यक्रम गर्नुपर्यो । धेरै मानिस अपाङ्गतालाई कस्तो व्यवहार गर्ने भन्ने कुराको ज्ञान छैन ।
नाटक, फिल्म र साहित्य जुनसुकै माध्यमबाट यस्तो शिक्षा दिन आवश्यक छ । स्टिकले लाग्यो, ठोकियो भन्छन् । सबलहरुले थोरै पनि सहन नगर्दा हामीलाई नराम्रो लाग्छ । सरकारी तथा निजी क्षेत्रमा अपाङ्गता कोटा छुट्याइदिए आत्मनिर्भर भएर बाँच्न पाइने थियो ।
भिडियाेमा पनि हेर्नुहाेस्:
प्रतिक्रिया