काठमाडौं– तिहारमा पटाका पड्काउनेलाई प्रहरीले कारवाही गर्ने बताएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले रमाइलोको नाममा पटाका पड्काउनेलाई कारवाही गरिने बताए ।
खबरहबसँग कुरा गर्दै उनले भने, ‘महिनादिन अगाडी जेन–जी आन्दोलनमा प्रहरीको लुटिएको धेरै हातहतियार जमानत हुन सकेको छैन । नागरिकस्तरमा एक किसिमको डर छ । पटाका पड्किँदा पनि उनीहरूमा गहिरो असर पर्न सक्छ । त्यसकारण रमाइलोको लागि भनेर पटाका नपड्काउन अनुरोध गरिन्छ ।’
‘पटाकाको आवाजले मानिसलाई मात्रै नभएर घरपालुवादेखि सडक कुकुर र पन्क्षीहरुलाई निकै असर गर्छ । पृथ्वी मानिसको मात्रै होइन, हरेक पशुपन्क्षीले सौहार्दपूर्ण रहन पाउने अधिकार छ, उनले थपे, ‘चाडपर्व भनेको खुसी, प्रेम र स्नेह बाढ्ने हो । त्यसकारण अरुलाई डराउन र तेर्साउन नहुने मानिसको नैतिक जिम्मेवारी हो ।’
साथै, सामाजिक सञ्जालमार्फत कुकुर पाल्नेहरूले पटाका नपड्काउन अनुरोध गरेको कुरालाई मध्यनजर गर्न पनि घिमिरेले अपिल गरेका छन् ।
भन्छन्, ‘पटाकाको आवाजले कुकुर डराएर लुकेको तथा बिरामी भएको भन्दै केही सर्वसाधारणले सञ्जालमा भनिरहेका छन् । त्यस अपिललाई सामान्य नलिनु होला ।’
त्यसैगरी तिहारमा जुवातास र मादक पदार्थ सेवन गरी होहल्ला नगर्न र सवारी नचलाउन पनि प्रवक्ताले सुझाव दिएका छन् ।
‘जुवातासको लतले मानिसको सर्वश्व सकिएको इतिहास छ । रमाइलोको नाममा जुवातास खेल्दा घरबारविहिनसम्म हुन पुगेको घटना छन् । त्यसैगरी मादक पदार्थ सेवन गरी सवारी हाक्दा नसोचेको दुर्घटना हुन सक्छ । आफू पनि सुरक्षित रहि, अरुलाई पनि सुरक्षित राख्नुपर्छ, उनले भने ।
चाडपर्व लक्षित सुरक्षा नीति तयार भइसकेको घिमिरेको भनाइ छ । ‘बाँकी अझै ५६ सय कैदी पनि छिटै पक्राउ गरिन्छ ।
जेन–जी आन्दोलनको दोस्रो दिन ठूलो सङ्ख्यामा कैदीहरू कारागारबाट भागेका छन् । खुङ्खार कैदी जो कारागारमै रहनुपर्ने थियो, उनी थप भन्छन्, ‘तिनीहरु यतिबेला बाहिर छन् । हातहतियारहरू लुटिएका छन् । त्यसले गर्दा प्रशासनलाई थप चुनौती थपिएको छ ।’
‘सुरक्षा प्रत्याभूतिका लागि प्रहरीले ‘विशेष सुरक्षा रणनीति’ बनाएको छ । काठमाडौं उपत्यका लगायत सातै प्रदेशमा विशेष डेस्क खडा गरी टोली परिचालन गरिएको छ । तर प्रहरीले सबै जिल्लामा पत्राचार गरेको छ ।’
‘साथै, जिल्लाले तल्लो तहसम्म सूचना सम्प्रेषण गरिरहेको छ । नागरिक तहमा पनि शंकास्पद व्यक्तिको निगरानी गर्न आह्वान गरिएको छ । ह्वासएप ग्रुप बनाएर प्रहरीले काम गरिरहेको छ । अहिले नागरिक र प्रहरी दुवैले राती ड्युटी गरिरहेका छन्, घिमिरेले भने ।
प्रतिक्रिया