लुभ्र सङ्ग्रहालयमा अमूल्य शाही गहना चोरी, फ्रान्सेली प्रहरीद्वारा तीव्र खोजी सुरु « Khabarhub

लुभ्र सङ्ग्रहालयमा अमूल्य शाही गहना चोरी, फ्रान्सेली प्रहरीद्वारा तीव्र खोजी सुरु


३ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

पेरिस- फ्रान्सको राजधानी पेरिसस्थित ऐतिहासिक लुभ्र सङ्ग्रहालयबाट दिनदहाडै आठवटा अमूल्य शाही गहना चोरी भएको घटनापछि फ्रान्सेली प्रहरीले चोरहरूको खोजी तीव्र बनाएको छ । अधिकारीहरूका अनुसार करिब ६० जना अनुसन्धानकर्ताको टोली उक्त घटनामा संलग्न आपराधिक गिरोहको सुराकीका लागि खटिएको छ । प्रारम्भिक अनुसन्धानले यो चोरी एक सङ्गठित अपराध समूहद्वारा योजनाबद्ध रूपमा गरिएको सङ्केत गरेको छ ।

फ्रान्सका न्यायमन्त्री जेराल्ड डार्मानिनले सोमबार लुभ्र सङ्ग्रहालयको सुरक्षामा कमजोरी भएको स्वीकार गर्दै भने, “हामी असफल भयौँ भन्ने निश्चित छ । किनभने कसैले पेरिसको बीचमा नै केही मिनेटभित्र अमूल्य गहना लुट्न सके र यसले फ्रान्सको छविलाई गम्भीर असर पुर्‍याएको छ ।”

यसैबीच, गृहमन्त्री लरेन्ट नुनेजले पनि हालै फ्रान्सका अन्य सङ्ग्रहालयहरूमा भएका डकैतीहरूलाई स्मरण गर्दै स्वीकार गरे । “सङ्ग्रहालयहरूमा सुरक्षाको अवस्था हाम्रो प्रमुख कमजोरी बनेको छ ।” अनुसन्धानका अनुसार, चोरहरूको टोली आइतबार बिहान ९ः३० देखि ९ः४० बजेसम्म (०७३०–०७४० जिएमटी) सङ्ग्रहालयमा प्रवेश गरेको थियो । उक्त सङ्ग्रहालय जनसाधारणका लागि बिहान ९ बजे मात्र खुलेको थियो ।

उनीहरूले शाही सङ्ग्रहहरू प्रदर्शनमा राखिएको ‘अपोलो ग्यालरी’ मा प्रवेश गर्नका लागि मुभरहरूले प्रयोग गर्ने जस्तै विस्तारयोग्य सिँढी भएको ट्रक प्रयोग गरेका थिए । त्यसपछि उनीहरूले झ्याल काटेर भित्र पस्न र डिस्प्ले केसहरू फोड्न उपकरणहरूको प्रयोग गरेका थिए ।

सङ्ग्रहालयमा रहेका एक आगन्तुकले मोबाइल फोनमा खिचेको छोटो भिडियो क्लिप फ्रान्सेली समाचार माध्यमहरूले प्रसारण गरेका छन् । मास्क लगाएका चोरहरूले १९औँ शताब्दीका नौवटा गहना चोरी गरेका थिए । तिनमा महारानी युजेनीको मुकुट समेत रहेको थियो ।

भाग्ने क्रममा उनीहरूले मुकुट खसाल्दा क्षति पुगेको बताइएको छ । लुभ्रको वेबसाइटका अनुसार उक्त मुकुटमा एक हजार ३५४ वटा हीरा र ५६ वटा पन्ना जडित छन् । संस्कृति मन्त्रालयका अनुसार चोरीमा आठवटा ‘अमूल्य’ गहना हराएका छन्, जसमा नेपोलियनले आफ्नी पत्नी महारानी मेरी–लुइसलाई दिएको पन्ना र हीराको हार पनि समावेश छ ।

चोरी भएका अन्य वस्तुहरूमा महारानी युजेनीको अर्को मुकुट र फ्रान्सकी अन्तिम रानी मेरी–एमेलीको हार पनि रहेको छ, जसमा आठ नीलम र ६३१ हीरा छन् । सम्पूर्ण चोरी प्रक्रिया करिब सात मिनेटमै सम्पन्न भएको र सम्भवतः ‘विदेशी’ अनुभवी टोलीले सञ्चालन गरेको बताइएको छ ।

सङ्ग्रहालयका कर्मचारीहरूले तत्काल हस्तक्षेप गरेपछि चोरहरूले केही उपकरण त्यहीँ छोडेर भागेका थिए । प्रसिद्ध लिलामी गृह ड्रुटका अध्यक्ष अलेक्जान्ड्रे गिकेलोले भने, “यी चोरी भएका गहनाहरूलाई हालको अवस्थामा बेच्नु लगभग असम्भव छ ।” यो घटना सन् १९९८ पछि लुभ्रबाट भएको पहिलो ठूलो चोरी हो । त्यसबेला चित्रकार क्यामिली कोरोटको चित्र हराएको थियो । सङ्ग्रहालयहरूको कमजोर सुरक्षा व्यवस्थामाथि पुनः प्रश्न उठेको छ ।

आलोचकहरूले सङ्ग्रहालयहरूलाई ‘बैंकभन्दा पनि कम सुरक्षित’ भएको भन्दै सरकारप्रतिको असन्तुष्टि व्यक्त गरेका छन् । गत महिनामात्रै अपराधीहरूले पेरिसको प्राकृतिक इतिहास सङ्ग्रहालयबाट करिब सात लाख डलर मूल्यको सुनको नमूना र लिमोजेस सहरको सङ्ग्रहालयबाट ७६ लाख डलर मूल्यका भाँडाकुँडाहरू चोरी गरेका थिए ।

आइतबारको लुटपाटले फ्रान्समा राजनीतिक प्रतिक्रियाहरू पनि जन्माएको छ । दक्षिणपन्थी नेता जोर्डन बार्डेलाले यस घटनालाई ‘राष्ट्रका लागि असहनीय अपमान’ भन्दै सरकारको असफलताको प्रतीक बताउनुभएको छ । राष्ट्रपति इमानुएल म्याक्रोनले भने सामाजिक सञ्जालमार्फत् अपराधीहरूलाई समात्न र चोरी गरिएका गहना पुनः प्राप्त गर्न ‘सबै प्रयास भइरहेको’ जनाएका छन् ।

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार  २ : २२ बजे

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका