सिंगापुर सूत्र : कडा कानून, योजनाबद्ध सोच र इमानी नेतृत्व « Khabarhub

सिंगापुर सूत्र : कडा कानून, योजनाबद्ध सोच र इमानी नेतृत्व



सुशासन र विकासका लागि सिंगापुरलाई विश्वले नै आदर्श मोडल मान्छ। आधुनिक सिंगापुरका निर्माता ली क्वान यू आफैं भने श्रीलंकाको वैभव र त्यहाँको सौन्दर्यबाट प्रभावित थिए। श्रीलंकाको भ्रमणबाट फर्किएपछि आफ्नो देशलाई त्यस्तै बनाउने अठोट लिएका थिए। २०४६ सालको राजनीतिक परिवर्तनपछि अन्तरिम सरकारका पहिलो प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले पनि नेपाललाई सिंगापुरजस्तै समृद्ध बनाउने अठोट सार्वजनिक गरेका थिए। त्यो फगतः राजनीतिक नारामा सीमित बन्यो।

ली क्वानले देश विकास कसरी विकास गरे ? उनका सहकर्मीका अनुभवमा ली मुलुक बनाउने एजेण्डामा घण्टौं बहस गर्थे। देशी विदेशीका कुरा सुन्थे। सरकारमा पदासीन मानिससँग बैठक बसेर जिज्ञासा राख्थे- ‘के यो निर्णय सिंगापुरको हितमा छ ?’ जवाफ आउँथ्यो- ‘धेरै प्रतिशत मुलुकको हितमा छ।’ क्वानको उर्दी हुन्थ्यो- ‘तत्काल कार्यान्वयनमा ल्याउनू।’

सिंगापुरमा अहिले विकासमाथि विकास छ। पूर्वाधारको त कुरै छोडौं, चिल्लोमाथि चिल्लो छ। चिकित्सा, शिक्षा, पर्यटन क्षेत्रमा उसको तुलना कसैसँग हुँदैन। सिंगापुरेले संसारका कुनै ठाउँ जान चाहेमा अनअराइभल भीसाको सुविधा छ।

सिंगापुरलाई दक्षिणपूर्वी एसियामा अवस्थित आधुनिक, समृद्ध र सुव्यवस्थित राज्य मानिन्छ। यो देश विश्वको प्रमुख व्यापार, वित्त र प्रविधि केन्द्रमध्ये एक मानिन्छ। सानो क्षेत्रफल भए पनि, सिंगापुरले सफा सडक, कडा कानुन, उच्चस्तरीय शिक्षा र उत्कृष्ट सार्वजनिक सेवा प्रणालीका कारण अन्तर्राष्ट्रिय रूपमा ठूलो पहिचान बनाएको छ। यहाँ विभिन्न संस्कृतिको मिश्रण देख्न पाइन्छ, जसले सिंगापुरलाई सांस्कृतिक रूपमा पनि समृद्ध बनाएको छ।

सिंगापुरको विकास कुनै चमत्कार होइन, बरु योजनाबद्ध सोच, कडा परिश्रम र इमान्दार नेतृत्वको परिणाम हो।

सिंगापुरको विकास कुनै चमत्कार होइन, बरु योजनाबद्ध सोच, कडा परिश्रम र इमान्दार नेतृत्वको परिणाम हो। १९६५ मा जब सिंगापुरले स्वतन्त्रता पायो, त्यो बेला उनीहरुसँग प्राकृतिक श्रोत थिएन। कुनै खनिज सम्पदा थिएन, न त जनशक्ति धेरै शिक्षित नै थियो। तर क्वान नेतृत्वमा सिंगापुरले शिक्षा, स्वास्थ्य, प्रविधि र पारदर्शी शासन प्रणालीलाई प्राथमिकता दियो। आज सिंगापुर एशियाको आर्थिक केन्द्र बनेको छ। यहाँको चामत्कारिक पूर्वाधार, स्मार्ट सिटी योजना, सुशासन र शून्य सहनशीलताको भ्रष्टाचार नीतिले विश्वभर चर्चा पाएको छ।

नेपालको प्राकृतिक श्रोत अपार छन्- जलश्रोत, वनजंगल, हिमाल, उपत्यका, जैविक विविधता। तर यी सबै सम्पदा सदुपयोग नभई बाँझो जस्तै छन्। राजनीतिक अस्थिरता, योजनको अस्थिरतामा कमजोरी र भ्रष्टाचार हाम्रो देशको प्रमुख बाधा हुन्। नेपालका सडकमा जाम, धूलो र खाल्डाखुल्डी देखिन्छ। सिंगापुरमा भने सडकमात्रै होइन, पक्की बाटोको छेउछाउ पनि फूल र हरियालीले भरिएको छ।

यो देश सानो भए पनि विश्वकै सबैभन्दा विकसित र सुन्दर राष्ट्रमध्ये एक हो। सिंगापुरका सफा सडक, आधुनिक भवन, व्यवस्थित यातायात व्यवस्था र उच्च प्राविधिक प्रणालीले मलाई निकै प्रभावित तुल्लायो। नेपाल र सिंगापुरको भौगोलिक अवस्थाबारे हेर्दा नेपाल ठूलो र प्राकृतिक श्रोतले धनी देश हो भने सिंगापुर सानो टापु देश हो। तर विकासका हिसाबले सिंगापुर धेरै अघि छ।

नेपाल र सिंगापुरको भौगोलिक अवस्थाबारे हेर्दा नेपाल ठूलो र प्राकृतिक श्रोतले धनी देश हो भने सिंगापुर सानो टापु देश हो। तर विकासका हिसाबले सिंगापुर धेरै अघि छ।

उनीहरुको शिक्षा, स्वास्थ्य र आर्थिक व्यवस्थापन निकै प्रभावकारी छ। नेपालमा सडक समस्या, भ्रष्टाचार र नीति स्थायीत्वको कमी जस्ता चुनौती अझै देखिन्छन्। यसैले हामीले सिंगापुरले अपनाएको योजनाबद्ध विकास र भ्रष्टारचार नियन्त्रणका उपायबाट धेरै कुरा सिक्न सकिन्छ। सिंगापुरको सफलताको मूल मन्त्र हो दीर्घकालीन योजना र जनताको सचेतना। नेपालले पनि यस्ता सकारात्मक परिवर्तनबाट आफ्नो विकास यात्रालाई तीव्र बनाउन सक्छ।

सिंगापुर चाङ्गी अन्तर्राष्ट्रिय विमानस्थल केवल एउटा विमानस्थल मात्र होइन, त्यो आफैंमा एक विश्वस्तरीय आकर्षण हो। यो लगातार धेरै वर्षदेखि विश्वकै उत्कृष्ट विमानस्थलको सूचीमा पर्छ। यो केवल यात्रु आउने-जाने स्थान होइन, एक अनुभव हो। विमानस्थल प्रवेश गर्दा नै सफा वातावरण, सुव्यवस्थित सुरक्षा प्रणाली र यात्रुलाई सहज बनाउने पूर्वाधारले स्वागत गर्छ। यहाँको मुख्य विशेषताको कुरा गर्दा यहाँको सबैभन्दा प्रसिद्ध फोहरा रेन भर्टेक्स हो। जुन ज्वेल चाङ्गी विमानस्थलमा अवस्थित छ। यो विश्वकै सबैभन्दा अग्लो इन्डोर झरना हो, जसको उचाई ४० मिटर छ। यसमा हरेक साँझ प्रकाश र ध्वनि कार्यक्रम पनि प्रस्तुत गरिन्छ, जुन अत्यन्त मनमोहक रहेको छ।

हरियालीयुक्त बगैंचा, सपिङ्ग मल, रेस्टुरेन्ट, सिनेमा, होटल सबै एउटै ठाउँमा छन्, जसले यात्रुलाई केवल ट्रान्जिट मात्र नभई विश्राम र आनन्द लिन सक्ने गन्तव्य जस्तै बनाइएको छ। स्वचालित पासपोर्ट स्क्यानिङ्ग, सामान चेक-इन, बोर्डिङ्ग पास प्रणाली, मोबाइल एपबाट रियल-टाइम उडान स्थिति ट्रयाक गर्न सकिन्छ। साथै यात्रुका लागि रोबोट सहायता, निःशुल्क वाइफाइ, चार्जिङ्ग पोइन्ट सर्वत्र व्यवस्था गरिएको छ।

यात्रु अनुकूल डिजाइनका निम्ति भिजिटर फ्रेन्डली साइन बोर्ड, भाषाका विकल्प, पर्याप्त विश्राम स्थल, ट्रान्जिट होटल, बच्चा खेल्ने व्यवस्था गरिएको छ। त्यस्तै यहाँ यात्रुलाई आरामदायक र रमाइलो अनुभव प्रदान गर्न आकर्षक बगैंचा छन्। जसमा बटरफ्लाई गार्डेन, सनफ्लावर गार्डेन, क्याक्टस गार्डेन प्रमुख छन्।

सिंगापुरको यातायात प्रणालीको कुरा गर्दा मास -यापिड ट्रान्जिट यहाँको प्रमुख तथा अत्यधिक प्रभावकारी सार्वजनिक यातायात प्रणाली हो। सन् १९८७ बाट सुरु भएको एमआरटी प्रणालीले दैनिक लाखौं यात्रुलाई छिटो र सहज सेवा प्रदान गर्दै शहरका प्रमुख आवासीय, व्यापारिक, शैक्षिक र पर्यटकीय स्थललाई जोडेको छ। यो सेवा सफा, सुरक्षित र व्यवस्थित छ भने अपाङ्गता भएका व्यक्तिको पहुँचयोग्य यस सेवा प्रयोगका लागि यात्रीले कार्ड प्रयोग गरेर सजिलै यात्रा गर्न सक्छन्। जसले नगदको आवश्यकता हटाउँछ र यात्रुको अनुभवलाई अझ सजिलो बनाउँछ।

एमआरटी सेवा सिंगापुरको समग्र यातायात प्रणालीको नमूना हो। यसमा पाँच प्रमुख लाइनहरू फाइभ जी अर्थात् नर्थ साउथ लाइन (रातो रंग), इस्ट वेस्ट लाइन (हरियो रंग), सर्कल लाइन (पहेंलो रंग), डाउनटाउन लाइन (निलो रंग) र थम्सन इस्ट कोस्ट लाइन (खैरो रंग)। यी सबै लाइनले सिंगापुरका विभिन्न प्रमुख क्षेत्रलाई जोड्ने काम गर्छन् र यात्रुलाई अत्यन्त सस्तो र समयमै गन्तव्यमा पु-याउँछन्। हरेक २ देखि ५ मिनेटमा सञ्चालन हुने यो सेवा प्रयोगको लागि यात्रुले लामो समय पर्खनु पर्दैन।

स्टेशन र ट्रेन सबै सफा, आधुनिक र वातानुकूलित छन्। सुरक्षा प्रणालीले उच्चतम स्तरको सुरक्षा सुनिश्चित गर्दछ। यसरी सिंगापुरको एमआरटी सेवा पर्यटकीय आकर्षणदेखि लिएर दैनिक यात्राका लागि एक उत्तम र भरपर्दो विकल्प बनिसकेको छ।

नेपालले सिंगापुरबाट सरसफाइ र सुरक्षाको क्षेत्रमा थुप्रै महत्त्वपूर्ण शिक्षा लिन सक्छ। सिंगापुर एक सानो द्वीप राष्ट्र हो, जसले सीमित स्रोत साधन हुँदाहुँदै पनि अनुशासित जनशक्ति, प्रभावकारी नीति र प्रविधिको सही प्रयोगमार्फत संसारकै सबैभन्दा सफा र सुरक्षित देश बन्न सफल भएको छ।

नेपालको सन्दर्भमा, सावर्जनिक सरसफाइ अझै पनि चुनौतीपूर्ण विषय हो। सडक, नदी, पार्क र अन्य सार्वजनिक स्थलमा अनियमित फोहोरमैला व्यवस्थापन, जनचेतनाको कमी र कानुनी कार्यान्वयनको कमजोरी देखिन्छ। सिंगापुरजस्तै कडा नियम बनाई सार्वजनिक स्थलमा फोहोर फाल्नेलाई जरिवाना गर्ने, स्कुल स्तरदेखि नै सरसफाइको महत्त्वबारे शिक्षा दिने र जनसहभागितालाई प्राथमिकता दिने अभ्यास नेपालमा पनि लागू गर्न सकिन्छ।

सुरक्षाको दृष्टिकोणले हेर्दा पनि सिंगापुर एक अनुकरणीय उदाहरण हो। त्यहाँ अपराध दर निकै कम छ, जुन कडा कानुनी व्यवस्था, दक्ष प्रहरी बल, निगरानी प्रणाली र जनताको कानुनप्रतिको सम्मानका कारण सम्भव भएको हो। नेपालमा महिला हिंसा, चोरी, लागूपदार्थको दुरुपयोग र अन्य सामाजिक अपराध अझै चुनौतिका रुपमा छन्। यी समस्यालाई समाधान गर्न सिंगापुर जस्तै शून्य सहनशीलताको नीति अपनाउन सक्दछ। साथै प्रहरी प्रशासनलाई आधुनिक बनाउँदै सर्वसाधारणसँगको सम्बन्ध सुधार्नुपर्ने आवश्यकता छ।

त्यसैले सिंगापुरको सफलताको मुख्य सूत्र भनेको कडा तर न्यायसंगत नियम, जनताको सहभागिता र सरकारको प्रभावकारी कार्यान्वयन क्षमता हो। नेपालले यी अभ्यासबाट शिक्षा लिएर दीर्घकालीन रूपमा सफा, सुरक्षित र सुशासित समाज निर्माण गर्न सक्छ। नेपालको समृद्धि र स्थायित्वको यात्रामा यस्ता उदाहरण मार्गदर्शक बन्न सक्छन्। यहाँको प्रहरी प्रशासन विश्वकै सबैभन्दा प्रभावकारी, अनुशासित र प्रविधिमैत्री प्रणाली मध्ये एक हो।

यहाँको प्रहरी बलले शान्ति, सुरक्षा र कानुनको शासन कायम गर्न उच्च स्तरमा काम गर्दै आएको छ। प्रहरी उच्च तालिम प्राप्त, पेशागत र जनमैत्री छन्, जसले गर्दा जनतामाझ विश्वासको वातावरण निर्माण भएको छ। यस्तो प्रभावकारी प्रहरी प्रणाली नेपालका लागि प्रेरणादायी हुन सक्छ, जसले अपराध नियन्त्रण, जनविश्वास र सुरक्षित समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्न सक्छ।

सिंगापुर र नेपाल दुई भिन्न भौगोलिक, आर्थिक र सामाजिक संरचनामा आधारित मुलुक हुन्। सिंगापुर एक विकसित, आधुनिक र प्रविधिमा अगाडि रहेको सानो राष्ट्र हो भने नेपाल प्राकृतिक श्रोत साधनले भरिपूर्ण, सांस्कृतिक विविधता भएको विकासोन्मुख देश हो।

सिंगापुरले सुदृढ शिक्षा प्रणाली, कडा नियम कानुन र समृद्ध अर्थतन्त्रमार्फत् विश्वमा उच्च स्थान बनाउन सफल भएको छ। अर्कोतर्फ नेपाल अझै पनि पूर्वाधार विकास, शिक्षाको स्तर उकास्न र आर्थिक सुधारतर्फ अघि बढिरहेको छ। यद्यपि दुवै देशका आफ्नै विशेषता छन्। नेपालले सिंगापुरबाट शहरी योजना, सुशासन र प्रविधिको उपयोगजस्ता पक्षमा सिक्न सक्छ भने सिंगापुरले नेपालको सांस्कृतिक धरोहर र प्रकृति प्रतिको नजिकको सम्बन्धबाट पे्ररणा लिन सक्छ। यस्तो तुलना हामीलाई आफ्ना कमजोरी सुधार्न र सकारात्मक पक्षलाई अझ प्रोत्साहन गर्न मद्दत पु-याउँछ।

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  ८ : ४६ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि