दीपावलीको आतशबाजीपछि नयाँदिल्ली घना र खतरनाक धुवाँले ढाकियो « Khabarhub

दीपावलीको आतशबाजीपछि नयाँदिल्ली घना र खतरनाक धुवाँले ढाकियो


४ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- लाखौँ श्रद्धालुले हिन्दू पर्व दीपावली धुमधामका साथ आतशबाजी गरी मनाएपछि मंगलबार भारतको राजधानी नयाँदिल्ली घना र विषालु धुवाँले ढाकिएको छ। यो उत्सवले राजधानीको वायु प्रदूषणलाई खतरनाक स्तरसम्म पुर्‍याएको अधिकारीहरूले बताएका छन्।

सोमबार राति ढिलोसम्म फोडिएका पटाकाहरूले हावामा धुवाँ र सूक्ष्म कणहरूको मात्रा तीव्र रूपमा बढायो, जसले पहिल्यै मौसमी प्रदूषण र स्थिर मौसमको अवस्थासँग मिसिएर वातावरणलाई झन् विषाक्त बनायो। मंगलबार बिहानसम्म नयाँदिल्लीका अधिकांश क्षेत्रमा वायु गुणस्तर सूचकांक (एक्युआई) ३५० नाघेको थियो। जुन विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार ‘गम्भीर’ स्तर हो र सास फेर्न नै खतरनाक मानिन्छ।

सहरका धेरै भागमा दृश्यता घटेको, सडक र भवनहरू खैरो धुवाँले ढाकिएका र ऐतिहासिक स्मारकहरू समेत धमिलो रूपमा देखिन थालेका थिए। ‘मैले यति बाक्लो प्रदूषण पहिले कहिल्यै देखेको थिइनँ। यहाँ त देख्नै नसकिने अवस्था छ’, नयाँदिल्ली भ्रमणमा रहेका पर्यटक वेदान्त पचकन्डेले भने।

भारतको सर्वोच्च अदालतले गत हप्ता कम प्रदूषण उत्सर्जन गर्ने ‘हरित पटाका’ को सीमित प्रयोगलाई अनुमति दिँदै दीपावलीका बेला पटाकामाथिको पूर्ण प्रतिबन्ध केही हदसम्म फुकुवा गरेको थियो। संघीय अनुसन्धान संस्थानहरूले विकास गरेका ती हरित पटाकाहरूले साधारण पटाकाको तुलनामा करिब ३० प्रतिशत कम कण र ग्यास उत्सर्जन गर्ने बताइएको छ। अदालतले शनिबारदेखि मंगलबारसम्म निश्चित समयमा मात्र ती पटाका प्रयोग गर्न सकिने व्यवस्था गरेको थियो, तर विगतका वर्षहरूजस्तै यस वर्ष पनि नियम व्यापक रूपमा उल्लंघन भएको देखियो।

नयाँदिल्ली र यसको वरिपरिका क्षेत्रमा तीन करोडभन्दा बढी जनसङ्ख्या बसोबास गर्छ। दीपावलीको आतशबाजी, चिसो मौसम र नजिकैका राज्यहरूमा किसानहरूले खेतमा लगाएको बालीको अवशेष जलाउँदा निस्कने धुवाँ एकैसाथ मिसिँदा यी क्षेत्रहरू जाडो मौसममा विश्वकै सबैभन्दा प्रदूषित सहरहरूमा पर्ने गरेका छन्।

राजधानीका अधिकारीहरूले प्रदूषण नियन्त्रण गर्न विभिन्न उपाय लागू गरेका छन्, जसमा निर्माण गतिविधिमा प्रतिबन्ध, डिजेल जेनेरेटरको प्रयोगमा नियन्त्रण तथा सवारी साधनमा कडा निगरानी समावेश छ। तर पर्यावरणविद्हरूले यो वार्षिक संकट अन्त्य गर्नका लागि वच्छ ऊर्जा प्रवर्द्धन, सार्वजनिक यातायात सुधार र सवारी उत्सर्जन नियन्त्रण जस्ता दीर्घकालीन समाधान अनिवार्य रहेको बताएका छन्।

हालैको एक वैज्ञानिक अध्ययनले वायु प्रदूषणको वृद्धिले भारतमा सूर्यको प्रकाशको मात्रा घटाएको चेतावनी दिएको छ। नेचर पोर्टफोलियोको जर्नल साइन्टिफिक रिपोर्ट्समा प्रकाशित अध्ययन अनुसार बढ्दो औद्योगिक उत्सर्जन, बायोमास जलाउने र सवारी साधनबाट निस्कने एरोसोल कणहरूले सूर्यको किरण पृथ्वीमा पुग्ने समय घटाइरहेका छन्।

‘हामीले विशेषगरी उत्तरी भारतका बढी प्रदूषित क्षेत्रमा सूर्यको प्रकाशमा ठूलो कमी देखेका छौँ’, अध्ययनका सहलेखक तथा बनारस हिन्दू विश्वविद्यालयका वैज्ञानिक मनोज के. श्रीवास्तवले भने। उनका अनुसार, सूर्यको प्रकाशमा आएको यो कमीले भारतको सौर्य ऊर्जाको उत्पादन मात्र घटाउने नभई स्थानीय वातावरण, जनस्वास्थ्य र कृषि उत्पादकत्वमा समेत दीर्घकालीन नकारात्मक प्रभाव पार्नेछ।

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलबार  १० : २४ बजे

ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

ढोरपाटन– नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा पहिलोपटक केन्द्रीय प्रसारण लाइनले

अन्तरिम अवस्थामा राहदानी सेवा अवरुद्ध हुनसक्ने : परराष्ट्र

काठमाडौं– परराष्ट्र मन्त्रालयमातहतका राहदानी विभागले अन्तरिम अवस्थामा राहदानी वितरण प्रणाली

मौसममा पश्चिमी प्रणालीको प्रभाव : केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ – हाल मुलुकमा पश्चिमी न्यूनचापीय प्रणाली, उपल्लो वायूमण्डलमा रहेको

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल फागुन २९ गते शुक्रबार चैत