काठमाडौं– नेपोकिटविरुद्ध सामाजिक सञ्जालमा विरोध ट्रेड चलाउँदै आएको जेन–जी पुस्ताले भदौ २३ गते देशका विभिन्न शहरमा सरकारविरुद्ध आन्दोलनको आह्वान गर्यो । भ्रष्टाचार अन्त्य र सुशासनको माग गर्दै युवाहरू स्वतःस्फूर्त सडकमा ओर्लिए । युवाहरूलाई साथ दिँदै हरेक उमेर समूहका मानिस उक्त दिन सडकमा आएका थिए ।
काठमाडौंको माइतीघर मण्डलाबाट सुरु भएको विरोध र्याली बबरमहल, बिजुली बजार हुँदै नयाँ बानेश्वरसम्म पुग्यो । जेन–जीको विरोध र्यालीमा देशभक्ति तथा पप गीतहरू बजिरहेको थियो । आधा दिनसम्म कन्सर्ट जस्तो देखिएको आन्दोलनमा गोली चलेपछि एकाएक माहौल बिग्रियो ।
स्कुल र कलेजको ड्रेसमा आन्दोलनमा आएका विद्यार्थीहरूमाथि गोली बर्सियो । जसमा ७४ बढीले ज्यान गुमाइसकेका छन् । त्यसैगरी चार सय बढी घाइते भएका छन् । दुई सय जना अझै उपचारत छन् । आन्दोलनमा शीर्षसहित विभिन्न नेताहरूको घर जल्यो । ठूला व्यापारिक घरानाहरु समेत आन्दोलनको सिकार बन्न पुगे । सामान्य आंकलन गरिएको आन्दोलनले सरकार ढाल्यो ।
इतिहास हेर्दा राजनीतिक व्यवस्था विरुद्धको हरेक आन्दोलनमा गाउँ, मध्यम तथा निम्न वर्गले सडकमा उपस्थिति जनाएको देखिन्छ । जेन–जी आन्दोलनमा पनि अधिकांश बाहिर जिल्लाबाट काठमाडौंमा पढ्न आएका विद्यार्थीको उपस्थिति थियो । विद्यार्थी सँगसँगै कामको सिलसिलामा आएकाहरू आन्दोलनमा सहभागी थिए ।

अधिकांश घाइतेहरू काठमाडौंमा एउटा कोठा भाडामा लिएर बसिरहेका छन् । यस्तो बेलामा नागरिकले अभिभावकको रूपमा सरकारलाई सम्झिन्छ । तर सरकार उनीहरूको अवस्था बुझ्नसम्म पुगेको छैन । के खाएका छन् ? के लगाएका छन् ? औषधोपचार के भएको छ ? घाइते तथा उनीहरूको परिवारलाई दिनुपर्ने परामर्श के हो ? आधारभूत स्तरको सहयोगसमेत बोकेर सरकार पुगेको छैन ।
तर यस्तो संकटको अवस्थामा घाइतेहरूको कोठा–कोठा र अस्पतालको वेडसम्म समाजसेवी आशिका तामाङ पुगेकी छिन् । खाना, नाना, पैसा र करुणा एकसाथ जुटाएर उनी पीडितहरूको दैलोमा पुगेकी छिन् ।
मायाले भरिएको लवज ‘भाइ कान्छा’ आत्मीयताले ओतप्रोत बोली र करुणाले उनले घाइतेहरूको मनोबल बढाएकी छिन् । किन आत्तिएको ? म दिदी छु त भनेर ढाडस दिएकी छिन् । सामाजिक सञ्जालमा लेखेर बिरामीहरूप्रति सद्भाव लेख्न सबैले सक्छन् । तर सबै थोक लिएर पीडितहरूको कोठा–कोठा पुग्न त्यति सजिलो छैन ।
घाइतेहरूको कोठा पत्ता लगाएर चामल र दालका बोरा बोकेर आशिका पुगेकी छिन् । उनी आफू पनि दुई सन्तानकी आमा हुन् । तर अहोरात्र उनी घाइतेहरूको सेवामा पुगेकी छिन् । आफ्नो व्यक्तिगत जीवन भुलेर खटिएकी छन् । बिरामीहरूका लागि खटिने मदर टेरेसाको झल्को दिने गरी गरेको उनको सेवा वास्तवमै सम्मान योग्य छ ।

मोरङकी एक किशोरी जो ट्रमा सेन्टरको वेड नम्बर ४३३ मा कोही भेट्न नआएपछि आशिकासँग भक्कानिएकी छिन् । उनको आँखाको आँसु पुछिदिँदै म दिदी छु नि भनेर हौसला दिएकी छन् । दिइराखेका पैसामा अझै थपिदिऊँ भनेर मनोबल बढाएकी छिन् ।
जोरपाटीमा बस्ने मोरङकी समिता कार्की एकल महिलालाई पनि आन्दोलनमा गोली लागेको छ । सम्बन्धविच्छेद नभए पनि श्रीमान्सँग अलग्गै बसेर एक छोरी हुर्काइरहेकी छिन् । छोरी स्कुल भएको फुर्सदको समयमा उनी आन्दोलनमा सहभागी भएकी थिइन् । उनी आफू पनि जेन–जी नै हुन् ।
कोठाभाडामा बसेर छोरी पठाएकी छिन् । ९१ हजार रुपैयाँ उनले समितालाई सहयोग गरेकी छिन् । आर्थिक सहयोग मात्रै नभएर उनले भोलि फेरि आउने आडभरोसा समेत बाँडेकी छिन् ।
त्यसैगरी, कपनमा बस्ने ललितमान तामाङको कोठामा उनी चामलका बोरा आफैँ बोकेर पुगेकी छिन् । उनका दुई बच्चा छन् । श्रीमती ८ महिनाको गर्भवती रहेकी छिन् । २४ गतेको आन्दोलनमा गौशालामा ललितलाई खुट्टामा गोली लाग्यो । एक कोठा भाडामा लिएर परिवारका सदस्य बस्दै आएका छन् ।
उनले हरेक कोठामा बस्ने घाइतेहरूलाई कोठा भाडासमेत सोधेकी छिन् । एक हजार १५ सय पनि लिन नमिल्ने कोठाहरूको ५ हजारदेखि ७ हजार भाडा लिएकोमा तामाङलाई पिरलो छ । टिनको छानो भएको कोठाको ७ हजार भाडा लिएर घरबेटीले श्रमिक मजदुरहरुमाथि अन्याय गरेको उनको भनाइ छ ।
केटाकेटीलाईसमेत उनले मायाले सुम्सुयाएकी छिन् । बर्खामा बाढी पस्ने कोठामा उनीहरू स–साना लालाबाला लिएर बसेका छन् । उनले ललितलाई ५० हजार रुपैयाँ सहयोग गरेकी छिन् ।
त्यसैगरी, गोरखाका पारस विकलाई नयाँ बानेश्वरमा २३ गते जेन–जी आन्दोलनमा गोली लाग्यो । उनको घाँटीमा गोली लागेको छ । गोली घाँटीमा वारपार भएको छ । उनको घाँटीको आधा भाग प्यारालाइसिस जस्तो भएको छ । तर सरकार उनलाई हालखबरसम्म सोध्न पुगेको छैन । सहयोग गर्न कोही पुगेको छैन ।

आशिकाले पारसलाई ४० हजार रुपैयाँ सहयोग गरेकी छिन् । आन्दोलनमा पारसलाई किशोरी कार्कीले बाइकमा हालेर अस्पताल पुर्याएकी थिइन् । उक्त दिन किशोरीले गोली लागेकाहरूलाई मोटरसाइकलमा हालेर अस्पताल पुर्याउन सहयोग गरेकी थिइन् । आशिकाले हरेक घाइतेहरूलाई कोठा भाडासमेत सोधेकी छिन् । दुई महिना भाडा तिर्न सहयोग हुन्छ भनेर उनले पैसा दिएकी छिन् । केही परे फोन गर्न भन्छिन् ।
रातोपुलमा बस्ने सोहन दाहाललाई २४ गते नयाँ बानेश्वरमा गोली लाग्यो । उनको हात र खुट्टामा गोली लागेको छ । नाक पनि चिरिएको छ । उनको दिसा पिसाबसम्म ओछ्यानमै गराउनुपर्ने भएपछि अस्पतालले आलो घाउमै डिस्चार्ज गरिदिएको छ ।
सोहनलाई ५० हजार रुपैयाँ सहयोग गरेकी छिन् । उनले फेरि सहयोग लिएर आउने आश्वासन दिएकी छिन् । सबै घाइतेकोमा पुगेको तर झनै धेरै नाजुक अवस्थामा भएको सोहनलाई भेट्न आउन ढिला गरेकोमा उनले माफीसमेत मागेकी छिन् । आशिकाले घाइतेहरूको फोन नम्बर सामाजिक सञ्जालमा राखेर सहयोगको लागि अपिल गरेकी छिन् ।
विकास यादवको आन्दोलनमा गोली आँखाभित्र लागेर दुवै आँखाको ज्योति गुमेको छ । उनले यादवको बहिनीका हातमा ५५ हजार थमाइदिएर फेरि आउने वाचासहित फर्किएकी छिन् । अस्पतालबाट निस्कने बेला यादवको अवस्था देखेर उनी भक्कानिएकी छिन् । युवावस्थामा आँखाको ज्योति गुमाएका युवकको अवस्थाले उनलाई द्रवित बनाएको छ ।
प्युठानका सुजल विकलाई पेटमा गोली लागेको छ । परिवर्तनको लागि लड्दा यस्तो भयो भनेर सम्झाएकी छिन् । विभिन्न संघसंस्थाबाट सहयोग जुटाएर आशिकाले घाइतेहरूको घाउमा मलम लगाउने प्रयास गरेकी छन् । सुजललाई ३५ हजार दिएकी छिन् ।
यस्ता सयौँ घाइतेहरूका लागि ‘आशिका दिदी’ साक्षात देवी बनेर पुगेकी छिन् । उनको कामलाई लिएर सबैले मुक्तकण्ठले प्रशंसा गरेका छन् । चाहना भयो भने एक व्यक्तिले यति धेरै काम गर्न सक्छ भन्ने उनी एक उदाहरण बनेकी छिन् ।
प्रतिक्रिया