काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न पाँचवटा समितिका बैठक बस्दै छन् । सोमबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समिति, विधायन व्यवस्थापन समिति र कानून, न्याय तथा मानवअधिकार समितिका बैठक बस्न लागेका हुन् ।
सबै समितिका बैठक बिहान १० देखि दिउँसो १ बजेसम्म सिंहदरबारस्थित आआफ्नै सभा कक्षमा बस्नेछन् ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ मा परेका संशोधनका सम्बन्धमा संशोधनकर्ता सांसद सदस्यसँग छलफल गर्ने कार्यसूची रहेको छ ।
यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० का सम्बन्धमा सरोकारवालाहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ ।
सार्वजनिक लेखा समितिको बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको उपस्थितिमा नेपाल सरकारका सबै सचिवहरूसँग छलफल गर्ने तयारी छ ।
यसैगरी, विधायन व्यवस्थापन समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ ।
कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा मानवअधिकार सम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना (आ.व.२०८२/०८३–२०८६/०८७ को मस्यौदामाथि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसँग छलफल गर्ने कार्यसूची रहेको छ ।
प्रतिक्रिया