मेचीनगरका दुई महिलामा जापनिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि | Khabarhub Khabarhub

मेचीनगरका दुई महिलामा जापनिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि


१२ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

झापा– मेचीनगर नगरपालिकाका दुई महिलामा ‘जापनिज इन्सेफलाइटिस’ सङ्क्रमण पुष्टि भएको छ ।  मेचीनगर स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाका अनुसार वडा नं ३ की ३६ वर्षीया र वडा नं ५ की ५५ वर्षीया महिलामा जापनिज इन्सेफलाइटिसको सङ्क्रमण पुष्टि भएको हो। 

सङ्क्रमित दुवै जनाको विर्तामोडस्थित पूर्णटुङ्ग बिर्तासिटी अस्पतालमा उपचार गरिएको छ । उपचारपछि भर्खरै घर फर्किएका दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको शाखा प्रमुख सापकोटाले बताए।

जापनिज इन्सेफलाइटिस लामखुट्टेको टोकाइबाट सर्ने र मस्तिष्कमा सङ्क्रमण हुने एक प्रकारको भाइरसजन्य रोग हो । यसले सङ्क्रमितको स्नायु प्रणालीलाई अङ्गभङ्ग बनाउनुका साथै बिरामीको मृत्युसमेत हुनसक्ने स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटी बताउँछन्।

नगरमा जापनिज इन्सेफलाइटिसको सङ्क्रमण देखा परेपछि यसको रोकथाम र उपचारको बारेमा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बाराकोटी, काठमाडौँस्थित विश्व स्वास्थ्य सङ्गठनकी प्रतिनिधि डा. सोनिया भगत, प्रादेशिक अस्पताल भद्रपुरकी डा सङ्गीता साह लगायतको विज्ञ टोलीले मेचीनगरका जनप्रतिनिधि र स्वास्थ्य शाखाका कर्मचारीसँग छलफल गरेको नगरका प्रेस संयोजक अर्जुन कार्कीले जानकारी दिएका छन्  ।

विज्ञ टोलीले सङ्क्रमण फैलिन नदिन समुदायमा जनचेतना अभिवृद्धिका कार्यक्रम गर्न, बिरामीको खोजी र उपचारको व्यवस्था मिलाउन सुझाव दिएको कार्कीले बताए। छलफलमा सहभागी नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले सङ्क्रमण फैलिन नदिन स्वाथ्यकर्मीलाई घर–घर पुगेर सचेतना जगाउन र सङ्क्रमितको समयमा नै स्वास्थ्य उपचारको व्यवस्था मिलाउन निर्देशन दिए ।

सङ्क्रमणको अवस्था जटिल बनेमा प्रादेशिक अस्पताल भद्रपुरमासमेत उपचारको व्यवस्था मिलाउन आवश्यक समन्वय गरिने उपप्रमुख मीना उप्रेतीले बताए । जापनिज इन्सेफलाइटिस सार्ने भाइरसबाट सङ्क्रमित हाँस, कुखुरा, सुङ्गुर, बङ्गुर, घरपालुवा चरा, बकुल्ला आदिलाई टोकेको लामखुट्टेले मानिसलाई टोकेपछि रोगको सङ्क्रमण फैलिन्छ ।

स्वास्थ्य शाखाकी प्रमुख सापकोटाका अनुसार टाउको दुख्ने, उच्च ज्वरो आउने, बेहोस हुने, घाँटीमा गाह्रो भएर सास फेर्न कठिन हुने, कम्पन हुने र पक्षघात हुने यो रोगको प्रमुख लक्षण हुन् । जापनिज इन्सेफलाइटिसबाट जोगिने सबैभन्दा राम्रो उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु नै हो । शरीर ढाक्नेगरी कपडा लगाउने र झुलभित्र सुत्ने गरेमा रोगको सङ्क्रमणको जोखिम कम हुने उनको भनाइ छ ।

यो रोगबाट बच्नका लागि बालबालिकालाई १२ महिनाको उमेरमा खोप लगाउनुपर्छ। यदि यो खोप लगाउन छुटेको रहेछ, भने पाँच वर्षको उमेरमा पनि खोप लगाउन सकिने उनले जानकारी दिए ।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  १२ : २६ बजे

‘काजी’मा विपीन, केकी र गरिमा

काठमाडौं- नायक विपिन कार्की, नायिकाद्वय केकी अधिकारी र गरिमा शर्मालाई

राष्ट्रपति भेट्न पुगे विपिन जोशीका परिवार

काठमाडौं–  राष्ट्रपति रामचन्द्र पौडेलसँग प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका

बन्धक रिहाइ र युद्धविराम माग गर्दै इजरायलमा थप प्रदर्शन

एजेन्सी – गाजापट्टीमा सक्रिय लडाकु समूह हमासलाई निमिट्यान्न पार्ने भन्दै

एक महिनामा भारतबाट मात्र ८३ अर्बको आयात, बढी आयात हुने १० देश कुन-कुन ? 

काठमाडौं– चालु आर्थिक वर्ष २०८२/८३ को साउन महिनाको आयात निर्यातको

दाङमा टिपर र मोटरसाइकल एकापसमा ठोक्किँदा एकको मृत्यु

देउखुरी– दाङमा टिपर र मोटरसाइकल एक-आपसमा ठोक्किँदा एकको मृत्यु भएको