काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिका बैठक आज (मंगलबार) बस्दै छन् । आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोेत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखासमिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।
विधायन व्यवस्थापन समितिको बैठक दिउँसो २ बजे र बाँकी सबै समितिका बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ ।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठमा ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ माथि संशोधन दर्ता गराउनुभएका सांसदहरुसँग छलफल गर्ने कार्यसूची छ ।
यस्तै, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ मा परेका संशोधनका सम्बन्धमा संशोधनकर्ता सांसदहरुसँग छलफल गर्ने कार्यक्रम छ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा मिडिया काउन्सिल विधेयक, २०८० का सम्बन्धमा सरोकारवालासँग छलफल गरिने छ ।
यसैगरी, लेखासमितिले उपप्रधानमन्त्री एवं अर्थमन्त्रीको उपस्थितिमा सरकारका सबै सचिवहरुसँग छलफल गर्ने कार्यक्रम छ ।
विधायन व्यवस्थापन समितिमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथि दफावार छलफल गरिने कार्यसूची छ ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा कानून, न्याय तथा संसदीय मामिलामनत्रीसँग छलफल गर्ने तयारी छ ।
प्रतिक्रिया