घरैपिच्छे तरकारी उत्पादन, बढ्दै मिर्गेको पहिचान « Khabarhub

घरैपिच्छे तरकारी उत्पादन, बढ्दै मिर्गेको पहिचान


१६ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

दोलखा– भौगोलिक र दूरीका हिसाबले सदरमुकाम चरिकोटदेखि करिब २५–३० किलोमिटर पूर्वतर्फ पर्ने वैतेश्वर गाउँपालिका–३ को मिर्गे कृषिमा आत्मनिर्भर गाउँ हो ।

खेतीपाती र उत्पादनको हिसाबले जिल्लाकै एक सम्भावना बोकेको गाउँको रूपमा परिचित मिर्गेका स्थानीयहरूले कृषि कर्मलाई आय–आर्जनको मुख्य स्रोतको रूपमा विस्तार गर्दै लगेका छन् ।

यहाँका सयौँ स्थानीयले ’एक घर– एक करेसा बारी’ विस्तार गर्दै कृषि उत्पादनमा जोड दिँदै आएका छन् । पछिल्ला वर्षहरूमा कृषि खेतीपातीमार्फत स्थानीयले लाखौँ आम्दानी लिँदै आएका छन् ।

करिब ४ हजार कुल सङ्ख्या रहेको मिर्गेमा ७० प्रतिशत समुदाय कृषिमा आत्मनिर्भर छन् ।

यहाँको जैँनालु, दोभान,  लहरेमाने, फलेघर–डाँडा टोल, कुलाफाँट, खानिगाउँ, पाइले, मजुवा यार्सा, पात्ले ठाडे, चिलाउनेखडग लगायतका गाउँका स्थानीयहरूको दैनिक खेतीपाती तथा कृषिमा बित्ने गरेको छ । 

मुख्यगरि यहाँको जैनालु र मिर्गे लहरेमाने आसपासका गाउँबस्तीबाट करोडौंको मौसमी तथा बेमौसमी तरकारी,फलफूल तथा खाद्यान्न र अलैँची तथा कुचो बिक्री हुँदै आएको छ ।

मिर्गेको फलेघर, डाँडाटोलमा पछिल्ला वर्षहरूमा घर–घरमा सिँचाइ पुगेसँगै कृषि खेती र उत्पादनमा वृद्धि आएको स्थानीय धन बहादुर तामाङले बताए ।

तामाङले घरसँगै जोडिएको करेसा बारीभरी थरीथरीको तरकारी लगाएका छन् । एउटै बारीमा उनले मिश्रित तरकारी खेती गरेका छन् । उनको बारीमा लसुन, हरियो सागपात, आलु, तोरी, खुर्सानी, प्याज, गहुँ तथा सुन्तला र किवी लगाएका छन् ।

तरकारी तथा फलफूल खेतीबाट राम्रो आम्दानी गर्दै आएका ७० वर्षीय तामाङ २०६२ साल देखि पुरानो ट्रेकिङ पेशा छोडेर कृषि कर्ममा रमाइरहेका छन् ।

त्यसैगरी सोही गाउँका अर्का स्थानीय प्रेम कुमार पाख्रिनले पनि बुढेसकालको पेशा कृषि बनाएका छन् । लामो समय जागिरे जीवन बिताएका उनले बुढेसकाल लागेसँगै तरकारी र फलफूल खेती गर्दै करेसाबारीलाई हराभरा बनाएका छन् ।

त्यसैगरी मिर्गेकै अगुवा कृषक दिनेश तामाङले पनि अलैँची, किवी तथा तरकारी खेतीबाट लाखौँ आम्दानी गर्दै आएका छन् ।

अलैँचीको खेती विस्तार र उत्पादनको हिसाबले प्रमुख थलो मानिने मिर्गे जैनालु, दोभान, कुलफाट्बाट वार्षिक दुई करोड बराबरको अलैँची निर्यात हुँदै आएको स्थानीय प्रेम कुमार तामाङले बताए । 

त्यसैगरी मिर्गेबाट अलैँची, कुचोमात्रै नभएर लसुन, फर्सी, खुर्सानी, आलु, किवी तथा अन्य तरकारीबाट पनि यहाँका स्थानीयले लाखौँ आम्दानी गर्दै आएका छन् ।

मिर्गेको उत्पादन काठमाडौं निर्यात

मिर्गे चोकमा व्यापार व्यवसाय गर्दै आएकी शान्ति तामाङले मिर्गेका गाउँ टोलबाट उत्पादन हुने हरेक कृषि उत्पादनलाई बजारसम्म पुर्‍याउने गरेकी छिन् ।

गाउँघरमा उत्पादन भएको कृषि उत्पादनलाई दैनिक संकलन गर्दै किसानलाई उचित मूल्य दिएर उनीहरूको उत्पादनलाई काठमाडौं निर्यात गर्दै आएको बताइन् ।

उनले लहरेमाने चोकमा आफ्नै पसलमा सामान स्टोर गर्दै दैनिक काठमाडौं–मिर्गे क्युको रूपमा चल्ने बसमा सामान राखेर बिक्रीको लागि काठमाडौं पठाउने गरेको बताइन् । 

गाउँका किसानले उत्पादन गरेको सागसब्जी, तरकारी फलफूलले सहज रूपमा उत्पादन मूल्य पाउन सकुन् भन्ने उद्देश्यले आफूले उनीहरूको उत्पादनलाई साँझ–बिहान बस छुट्नु अघि पसलमा ल्याउन लगाउने र भोलिपल्ट बसमा उक्त कृषि उत्पादनलाई काठमाडौं निर्यात गर्ने गरेको उनले बताइन् ।

तामाङले कृषकले उत्पादन गरेको तरकारीहरूमा खुर्सानी, लसुन, फर्सी, सागसब्जी, मुला, आलु, स्कुस,प्याज गोल्भेडा, सुन्तला, केरा, किवी र अम्रिसोको कुचो संकलन गर्दै काठमाडौं पठाउने गरेको सुनाइन् ।

कृषकलाई कृषि तालिमसँगै प्राविधिक ज्ञानको अभाव

मिर्गेका स्थानीय कृषकहरूले खेतीपातीमा प्राविधिक सल्लाह र कृषि तालिमको अभाव भएको बताएका छन् । उनीहरूले फलफूल तथा तरकारी खेती गर्दा प्राविधिक ज्ञानको कमीले कतिपय समय र सिजनमा लगाइएको तरकारी तथा फलफूल खेतीबाट ठुलो क्षतिसँगै समस्या खेप्नुपरेको बताए । 

प्राविधिक परामर्श र तालिम अभावले पुरानै शैलीमा तरकारी तथा फलफूल खेती गर्नुपर्ने बाध्यता रहेको उनीहरूले गुनासो गरे ।

मिर्गेको सबै क्षेत्रको जमिन खेतीयोग्य भए पनि कुन क्षेत्रमा के फल्छ र कुन समयमा कसरी खेती लगाउने भन्ने प्राविधिक ज्ञानको कमी हुँदा सबैले एकै प्रकारको खेती गर्नाले उत्पादनको गुणस्तर र रोग किराको समस्या झेल्नुपरेको कृषकहरू बताउँछ। सुवाश बस्नेत/दोलखा

प्रकाशित मिति : १६ पुस २०८२, बुधबार  ३ : ५१ बजे

नयाँ रास्वपालाई सुमनाको शुभकामना

काठमाडौं– सुमना श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत नयाँ रास्वपालाई शुभकामना दिएकी

तोकिएकै मितिमा निर्वाचन हुन्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै मितिमा निर्वाचन गर्ने अवस्थामा मुलुक

समाज कल्याण परिषद्को जग्गा र भवन प्रयोगको बक्यौता छिटो उठाउछौँ : मन्त्री श्रेष्ठ

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले भृकुटीमण्डपस्थित समाज

पूर्वमन्त्री राजकुमार गुप्ता कारागार चलान

काठमाडौं– विशेष अदालतको आदेशपछि पूर्वमन्त्री राजकुमार गुप्तालाई डिल्लीबजार कारागार चलान

भेडेटारमा तीन दिने खाना महोत्सव सुरु

धरान– सुनसरी र धनकुटाको सिमानामा रहेको पर्यटकीय क्षेत्र भेडेटारमा आजदेखि